इटालीका प्रोफेसनल ३६ वर्षीय खेलाडी लियोनार्दाे बोनुची जो युभेन्ट्सका लागी डिफेन्डरको साथै कप्तानको भूमिकाको रुपमा खेल्छन, उनले यो सिजनको अन्त्यसँगै व्यवसायिक खेलबाट सन्यास लिने बताएका छन् ।
युभेन्ट्सबाट उनले ५ सय खेल पूरा गरेका छन् । उनले इटालीबाट १२० क्याप जितेका छन् । उनले इटालीबाट सन् २०२१ मा भएको युरो २०२० को उपाधि जितेका छन् ।
उनले युभेन्टसको युट्युब च्यानललाई भने, ‘यो शर्ट लगाउनु १२ वर्षदेखि सपनामा बाँच्नु जस्तै हो । मैले गरेको सबै कुरा एक शर्टको लागि हो जुन मेरो लागि दोस्रो छाला जस्तै हो । अझै पनि म भित्र यो शर्ट लगाएर मैदानमा जान पाउँदा खुसी लाग्छ ।
’बोनुचीले सन् २००५ मा इन्टर मिलानबाट आफ्नो व्यवसायिक खेल करिअर सुरु गरेका थिए । उनले सन् २००५–०६ को सिजनमा नै पहिलो सिरी ‘ए’ को उपाधि जित्न सफल भएका थिए ।
सन् २०१० मा युभेन्ट्समा आउनुअघि बोनुचीले ट्रेभिसो, पिसा, जेनोवा र बारीमा सानदार प्रदर्शन गरेका थिए । एन्ड्रिया बार्जागली, जर्जियो चिलिनी र गोलकिपर जियानलुइगी बुफोनको साथमा उनले एक दशकसम्म इटालियन फुटबलमा प्रभुत्व जमाउने युभेन्ट्सको प्रख्यात ब्याकलाइनको हिस्सा बने।
बोनुचीले २०१० मार्चमा इटालीका लागि डेब्यु गरे । चार वर्षपछि पहिलोपटक टोलीको कप्तानी गरे । उनले दुई विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा इटालीको प्रतिनिधित्व गरे ।
युरो २०१२ मा उपविजेता बनेर नौ वर्षपछि वेम्बलीमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा जितेर ट्रफी उचाल्यो । ‘जब म अर्को वर्ष खेल्न बन्द गर्छु, यो रक्षात्मक युगको अन्त्य हुनेछ ।’ बोनुचीले भने ।
Discussion about this post