२०८० वैशाख १० गते
१० वैशाख, काठमाडौं । शिक्षा पत्रकार समुहले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको प्रमुख समस्या को रुपमा रहेको र छानबिन गर्ने हो भने समकालीन सबै नेता एक आपसमा आरोप लगाउदै जेल जाने दाबी गरेका छन् ।
उनले नेपालका नेता सबै पैसै कमाउन नेता बनेको मानक स्थापना गरेको बताए । उनले पार्टी सम्बद्ध ट्रेड युनियन वा सङ्गठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए ।
‘०६४/०६५ पछि म के देख्छु भने हरेक सङ्गठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो । विद्यार्थी सङ्गठनको नेता अध्यक्ष बन्ने भनेको काठमाडौंमा घर हाल्न पाउने हो भनेको जस्तो बन्न गयो । जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भने पनि उसले भर्खर काठमाडौँमा घरको सपना देख्दैन । भविष्यमा चाहिँ देख्छ तर अहिले नेपालका प्रायजसो ट्रेड युनियनहरू या सङ्गठनमा नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो । त्यो विद्यार्थीहरूको दोष होइन पार्टीको दोष हो’ उनले भने, ‘विद्यार्थीहरूले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरू तयार हुन्थे । मैले आरोप लगाएको होइन नेपालका मान्छेहरू यदि छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो ।’
अहिले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण सुरु भएपछि त्यसले सबैतिर हानेको उनले बताए । ‘अहिले विद्यार्थी सङ्गठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहीँ प्रशिक्षण सुन्नुभएको छ तपाईँहरूले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन’ महासचिव विप्लवले भने, ‘बरु अर्कोलाई आरोप लगाएर आफू फुत्किने दाउ मात्रै खोज्छ । यो नेपालको राजनीतिक आन्दोलनको सबभन्दा विडम्बना हो ।’
उनले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । आफ्नो पार्टी र सङ्गठनहरूमा भ्रष्टाचार नभएको दाबी गर्दै उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
Discussion about this post