गएराति डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो। भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् |
उनले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिएका छन्।
उनले भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्री खाणले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
Discussion about this post