बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको छ।
काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो। घाइते सात जनाको रुकुमपूर्व रुकुमकोट अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा दुई गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो। जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका एक छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो। लक्ष्मीका दुई वर्षीय छोरा सिजन खड्काको मृत्यु भएको हो। यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको छ।
Discussion about this post