ललितपुर, ख्रीष्टियन मिडिया सोसाइटीद्वारा पादरी गंगाप्रसाद प्रधानको १७१औं जन्मस्मृति दिवस मनाइयो। गत जुलाई ४ मा भएको सो समारोहमा बृहत साहित्यिक कार्यक्रम पनि भएको थियो। सो स्मृति दिवसमा ख्रीष्टियन साहित्यकारहरूका साथै पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ख्रीष्टिय कला संघ नेपालमा बिगत २५ वर्षदेखि कार्यसमितिमा रहेर कार्य गर्दै आउनु भएका एल्डर विश्व कर्माचार्य तथा राष्ट्रिय ख्रीष्टियन महासंघका सह अध्यक्ष उद्धव चिमोरियाको मुख्य अतिथित्वमा सो सभा भएको थियो। सो सभामा बोल्नु हुँदै मुख्य अतिथि विश्व कर्माचार्यले पादरी गंगा प्रसाद प्रधानको बृतचित्र निर्माण तथा उहाँको सबै कृतिहरू संकलन गरी एउटा सोध केन्द्र बनाउने योजना रहेको जानकारी दिनुभयो। साथै उहाँले पादरी गंगाप्रसाद प्रधानले गरेका कार्यहरू इसाईहरूको लागि मात्र नभइ गैर इसाईहरूको लागि पनि भएकोले सबै नेपालीहरूलाई उहाँको योगदानको बारेमा जानकारी दिनु पर्ने बताउनु भयो।
सभामा पादरी गंगाप्रसाद प्रधानको कृतित्व तथा व्यक्तित्वको बारे समयकुमार रम्तेलले बिस्तारमा प्रकाश पार्नुभएको थियो। सो अवसरमा बिराज बर्मा, रिता बर्मा, एन.पि. खतिवडा, पास्टर रेशम कुमार सुनुवार, समिर रिमाल, विक्रम राना मगर, अर्जुन डुलस, हरि जिज्ञासु तथा निगम सुन्दासले आ-आफ्ना रचनाहरू पाठ गर्नुभएको थियो। कार्यक्रममा ख्रीष्टियन मिडिया सोसाइटी CMS को परिचय तथा पृष्ठभूमिका बारेमा केन्द्रिय सदस्य पत्रकार सामुयल कैनीले प्रकाश पार्नुभएको थियो। सहभागीहरू मध्ये केहीले मनमोहक तरिकाबाट गजलहरू सुनाउनु भएको थियो। कार्यक्रम पत्रकार सिमियोन रोकाले संचालन गर्नुभएको थियो भने अन्जन घलेले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।
पादरी गंगाप्रसाद प्रधान नेपाली भाषामा बाइबल अनुबाद गर्ने पहिला नेपाली हुनुहुन्छ। उहाँले सन् १९२० मा नै गोर्खे खबर कागत पत्रिका निकालेर नेपाली भाषाको पत्रकारिता इतिहासमा उल्लेखनिय योगदान पुर्याउनु भएको थियो, यो पत्रिका नेपाली भाषामा प्रकाशित पहिलो समाचार प्रधान पत्रिका थियो। पादरी गंगाप्रसाद प्रधानको पुरा जीवन नै हरेक नेपालीका लागि प्रेरणा हो। उनलाई नेपाली भाषा तथा नेपालीहरू प्रति गहिरो माया थियो। पादरी गंगाप्रसाद प्रधानको जन्म .बिक्रम सम्बत १९०८ आषाढ २२ गते काठमाडौंको ठमेलमा हालको भगवान बहालमा भएको थियो। ठमेलको पुरानो नाम थँबहिल हो। १० वर्षको हुँदा उनी आफ्नो बुबासँग दार्जिलिङ गएका थिए। उनले दार्जिलिङमा बसेर नेपाली भाषाको उत्थानको लागि गरेको अमूल्य योगदानलाई विश्वभरका नेपालीहरूले सराहना गर्दछन्। उहाँको सम्झनामा हरेक वर्ष जुलाई ४ मा उहाँको स्मृति दिवस मनाइने गरिन्छ। कार्यक्रमको अन्तमा ख्रीष्टियन मिडिया सोसाइटीका अध्यक्ष सुमित नेपालीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
Discussion about this post