काठमाडौं। अन्तरधार्मिक शान्ति महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। देशमा शान्ति र मेलमिलाप कायम गर्न विभिन्न धार्मिक समुहको संलग्नता रहेको अन्तरधार्मिक शान्ति महासंघको तेस्रो वार्षिक साधारण सभा महासंघका अध्यक्ष रामभक्त कुरुम्वाङको अध्यक्षतामा सम्पन्न भएको हो।
सबै धर्मका धर्मगुरुहरुले पालैपालो आ-आफनो धार्मिक विश्वासअनुसार प्रार्थना गरि सभाको सरुवात गरिएको सो सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व गृहराज्य मन्त्री दिपक बोहोराले देशमा शान्ति र मेलमिलाप कायम गर्न सबै धर्मको प्रमुख कर्तव्य भएको बताउनुभयो। उहाँले देश धर्मनिरपेक्ष भएपनि सबै धर्मले स्वतन्त्रपूर्वक आफनो धार्मिक अभ्यास र अधिकार नपाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए।
सभाका अध्यक्ष कुरुम्वाङले महासंघ स्थापनाको औचित्य प्रष्ट पार्दै सबै धार्मिक समुदायबीच शान्ति र मेलामिलाप कायम गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुभयो। उहाँले हालसम्म महासंघले विभिन्न धार्मिक समुदायमा आइपरेका विभिन्न समस्यामा पैरवी गर्दै आएको हुँदा महासंघले आगामी दिनमा सबै धर्महरुलाई एक ठाउँमा ल्याउन सहकार्य समन्वय गर्ने योजना रहेको बताए।
कार्यक्रममा ख्रीष्टियन, हिन्दु, बुद्धिष्ट, मुस्लिम, बहाई, श्री शाही, किराँत, मष्ठो लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि एवं धार्मिक अगुवाहरुको उपस्थिती रहेको थियो। यसैबीच संस्थाले धार्मिक स्वतन्त्रताको विषयमा एकदिने अन्तरक्रिया गरेको छ।
सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा अन्तराष्ट्रिय सन्धी सम्झौता, यूएनका नीति नियम र अन्तरराष्ट्रिय कानुन, नेपालको संविधान र कानुनको विषयमा प्रश्नोत्तर गरिएको थियो। देशमा धार्मिक सहिष्णुताका लागि अन्तरधार्मिक शान्ति महासंघ नेपाल विशेष क्रियाशिल रहेको छ।
Discussion about this post