आज शनिवार दिउँसो इम्मानुएल एक्लेसिया – भैँसेपाटीको चर्च भवन समर्पण कार्यक्रम सम्पन्न गरियो ।
भैँसेपटी मगरगाउँमा पारिलो पहाड देखिने गरी पाखामा मेटल स्ट्रक्चर प्रविधि प्रयोग गरी पुराना फलामका सामग्रीसाथ निर्माण गरिएको उक्त भवन अत्यन्तै बलियो, भूकम्प प्रतिरोधी, तथा पछि अन्यत्र सार्नुपरेको खण्डमा समेत थोरैमात्र सामग्री खेरजाने वा टुट्नेफुट्ने हुनाले अति उपयोगी रहेको कुरा चर्च भवन निर्माणका बारेमा जानकारी दिनुहुँदै इम्मानुएल एक्लेसियाका संस्थापक पाष्टर फिलिप सुवेदीज्युले यो भवन निर्माण अाफ्नो हृदयको बोझ रहेको जानकारी दिनुभयो भने यसको लागि आवश्यक सरसामग्री खोज्ने जुटाउने र निर्माण कार्यमा सक्रिय भूमिका खेल्नुभएका निर्माणकर्मी दिपक थापाले पनि यस्तै अस्थायी तर स्थायीको सुविधा दिने भवन निर्माणगरी सेवा पुर्याउन आफू तयार रहेको बताउनुभएको छ ।
हाल एकतले यो भवनमा पछिबाट क्रमशः अर्को तला पनि थप्न सकिनेछ, र त्यसो गर्ने योजना रहेको कुरा उक्त चर्चका संस्थापक पाष्टर मोहन राईले बताउनुभयो ।
जोय चर्चका एल्डर सोम लामाले चर्च भवनको ढोकाबाहिर सुरूवाती प्रार्थना गर्नुभई, कार्यक्रम सञ्चालक एल्डर विदुर अधिकारीले भजन १०० बाट परमप्रभुको भवनमा आनन्दसाथ प्रवेश गराैँ भनी माहाेल सृजना गरेपछि पाष्टर फिलिप सुवेदीज्युले ढोकाको ताल्चा खोल्ने र रिबन काटी प्रवेशका लागि मार्ग प्रशस्त गर्नुभएको थियो ।
चर्च भवन समर्पण सेवामा छिमेकका चर्चहरूबाट अगुवा पाष्टरहरूको पनि उपस्थिति
रहेको थियो । यूहन्ना १२ बाट मरियमले बहुमूल्य अत्तर येशूका पाउमा खन्याएको खण्डबाट उत्साह दिनुहुँदै अनन्त आशा चर्चका पाष्टर हर्क खड्काले परमेश्वरको लागि आफ्नो जीवन नै समर्पण गर्न उपस्थित जनलाई चुनाैती दिनुभयो भने एकता चर्चका पाष्टर उदय भाटले आफ्नो संघर्षका दिन स्मरण गर्नुहुँदै स्थानीय चर्चका पाष्टर र समुदायलाई अगि बढिरहन उत्साह दिनुभयो ।
अोन्नुरी कोरियन चर्चबाट आउनुभएका पाष्टर भरत रसाइलीले आफ्नो परिवारको तर्फबाट चर्चलाई निश्चित रकम सहायता गर्ने बताउनुहुँदै कतिपय इतिहास समेत स्मरण गर्नुहुँदै मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सेवक सुनिल राईले अर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो भने विवश राईले अराधनामा अगुवाइ गर्नुभएको थियो अनि जानुका मगर र मित्रहरूले रिबन काट्ने र भेटी संकलनको काममा सहायता पुर्याउनुभएको थियो ।
अन्त्यमा स्थानीय चर्चका पाष्टर मोहन राईकी श्रीमती निस्ता राईले सबै जनलाइ धन्यवाद दिनुहुँदै सर्वप्रथम त यो सबै सम्भव तुल्याउनुहुने परमेश्वरलाईनै धन्यवाद दिनुपर्छ भन्दै उहाँले चलाउनुभएका सबै सहयोगी मित्रहरू, काममा खट्ने जन लगायत उपस्थित समुदायलाई धन्यवाद दिनुभएपछि पाष्टर फिलिप सुवेदीले अन्तिम तथा आशिषको प्रार्थना गर्नुभई सभा समापन गरिएको थियो।
करिब ३० वर्ष पहिले पाष्टर फिलिप सुवेदीको दर्शन बोझअनुसार कैलालीको टीकापुरबाट सुरू भएको इम्मानुएल एक्लेसियाको सेवाकार्य विस्तार हुँदै बर्दिया, सुर्खेत आदि जिल्ला हुँदै हाल ललितपुरको कुसुन्ती र भैँसेपाटीमा दुइवटा चर्चहरू छन् भने सम्पूर्ण इम्मानुएल एक्लेसिया परिषद्का चर्चहरूको संख्या १८ पुगेको छ ।
Discussion about this post