सिन्धुपाल्चोक – २३ जेठ । आनन्दित उपकार केन्द्रले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ६, ब्वाँसेका ७ परिवारलाई शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त वडामा अपाङगता भएका बालबालिकाका परिवारका लागि निर्माण गरिएका ती शौचालयहरु ब्वाँसेमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै बलेफी गाउँपालिका वडा नं. ६ का अध्यक्ष चित्र बहादुर तामाङले संस्थाले यस ठाउँमा पुर्याएको सहायताको लागि धन्यवाद दिंदै आगामी दिनमा पनि अपाङ्गता भएका बालबालिकाहरुका लागि कुनै कार्यक्रम भए यस वडालाई सम्झन अनुरोध गर्नुभयो । संस्थाकी कार्यकारी निर्देशक शुष्मा के.सी.ले संस्थाको परिचय दिंदै यस वडामा संस्थाले शुरु देखि सेवा पर्याउँदै आएको र स्रोत उपलब्ध भएसम्म आगामी दिनमा पनि सहायता जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय सेवाग्राहीहरुका तर्फबाट बोल्दै जय बहादुर तामाङले संस्थाले भुकम्प प्रभावितहरुलाई राहत, अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति र अन्य विभिन्न माध्यमबाट सहायता पुर्याएको स्मरण गर्दै आगामी दिनमा स्थानीय बासिन्दालाई आयआर्जनका कार्यक्रममा सहायता पुर्याउन संस्थालाई अनुरोध गर्नुभयो ।
संस्थाकी अध्यक्ष सुशिला अधिकारीले परियोजना सम्पन्न गर्न प्रत्यक्ष परोक्ष सहायता पुर्याउनुहुने स्थानीय सरकार, स्थानीय वासिन्दा र सम्बन्धीत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा जय बहादुर तामाङले उद्घोषण गर्नुभएको थियो । कार्यक्रममा सेवाग्राहीहरुलाई शौचालय सरसफाई सम्बन्धी विविध सामग्रीहरु वितरण गरिएको थियो ।
महालक्ष्मी ३, ललितपूरमा कार्यालय रहेको आनन्दित उपकार केन्द्रले ललितपूर, सिन्धुपाल्चोक र सिन्धुलीमा मुलत: जीविकोपार्जन र महिला तथा बालबालिकाको उत्थानसम्बन्धी विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।
राम बहादुर पाण्डे
Discussion about this post