अंकलमा फेन्जोले चढाएँ है येशूवा प्रभुमा शालोम । तपाईसँग गुनासो, गनगन गर्नु मन लाग्छ । हजूरले हो पैले मलाई गिडेन संस्थाको नयाँ करार दिनुभा । त्यहींबाट मेरो विश्वासको दियो बल्यो,साँघुरो बाटोको यात्रा सुरु भो अंकल । जानेको र नजानेको कुरालाई नि हजूरसँग भन्नु, बाँटनु,सोध्नु मन लाग्छ । समय मिल्यो भने मलाई केही कुनै कतै तलका कुरा बुझाइ दिनुहोला भन्ने अनुरोध राखेँ । अंकल, कुरा क्रिसमसको हो । नबुझेर सोधेको । क्रिसमसको विदा पायौं भने हामी ढुक्क हुनु अंकल ? पाएनौं भने लाचार हुनु अनि विक्षिप्त हुनु ? यो देशको सरकारले छुट्टी दियो भने हामी क्रिस्चेन हुन्छौं अंकल अनि देशको नागरिक बन्छौं ? अबुइ …
बेबी जिजसले मान्यता पायो भने चर्चको मान्यता ठान्नु अंकल ? अनि ठूला जिजसले भनेको कुरा ? पिताको राज्य आओस् भनेको के गर्ने ? कि बालुवाटारमा घरिघरि डेरा सर्ने मान्छे हाम्रो बाउ बनिसक्यो हौ अंकल ? मेरो राज्य यस पृथ्वीको हैन भन्नुभा थ्यो उहाँले स्वर्गको राज्य खानु पिउनु हैन, राज्य पुराक्रम र महिमा सदा सर्वदा तपाई पिताको, भनी पढेको हो मैले त । हाम्रो मूल्यांकन देशको सरकारले गर्ने र हाम्लाई मान्यता र इज्जत दिने कुरो तेती एउटा विदा भएछ हौ अंकल ।
खेतमा गाडी राखेको गाडधन जस्तो भन्छ नि स्वर्गको राज्यलाई । मलाई त क्रिसमस भन्दा त्यो पो दामी लाग्छ नि । गाडधन, आहा । बालुवाटारे मान्यतालाई त सल्यानटारे घटनाले क्वाप्पै निल्यो नि अंकल नचपाई । क्रिसमस विदा पायौं भने पुग्यो त हामीलाई ? चर्च चर्च थेन र अंकल, पञ्चयत कालभरि अनि बहुदल काल भरि ? ३३ कैदी भित्र अनि २०० मुद्दा बाहिर खेप्ने प्रभुका जनहरूको देशको चर्च र क्रिस्चेन कुन परिभाषाको विश्वासमा परे ? अंकलले सुरुसुरुमा भन्नुभा थ्यो, सम्झाउनु भा थ्यो म कलिलो, काँचो, सिकुटे विश्वासीलाई, “यो विश्वास हो, विचार अनि घोषणा, जीवन जिउने पद्धति हो, धर्म हैन” भन्नुभा जस्तो लाग्छ।
अहिले नेपालमा ख्र्रीष्ट विश्वासलाई पनि अरू धर्म मध्ये एउटा धर्मको स्थान चाहिन्छ भन्ने आन्दोलनको आवाजले नयाँ करारकै बाटो अप्नाको कि पोलिटिकल चोरबाटो पैलाको हँ अंकल ?क्रिसमस केक, क्रिसमस बेबी, क्रिसमस डे, क्रिसमस हल्ला र झलमल इक्वल टु नयाँ करार, इक्वल टु येशूवा राजा इक्वल टु क्रिङ्गडम अफ गड, इक्वल टु इटिर्नल लाइफ, अनन्त जीवन भइसक्यो अंकल ? कस्तो दुःख लाग्यो । डेली आफ्नो क्रुस उठाऊ र मेरो पछि लाग भन्ने हुकुम के गर्ने ?ढोका साँघुरो र बाटो कठिन हुन्छ जसले जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै हुन्छन् भन्ने नयाँ करार मत्तीको वाक्य कता मिल्काउने होला अंकल ? मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन भनी येशूवा प्रभुले भन्नुभा थ्यो । अब त संविधानकै धारैधारा गए भने पुगिन्छ कि क्या हो येशूवाको अनन्त राज्य । हैन भने चर्चका पास्टरहरूले केही बोल्नु परो । जाने त पिताको राज्यमा हो नि हैन र अंकल? कि के हो ?
कुरा केके हो केके । नयाँ करारमा एक थरी कुरा, नयाँ नेपालमा थरी थरी । हन एस्ता नौला आवाज एतिका दिन कता थे हँ अंकल? गणतन्त्र, राजा जाने दिन कुरी रा थे ? अब फेरि राजा ल्याउने भन्दैछन्, फेरि भेष, भाषा, भाका, गाना सब बद्लने हो कि ?
Discussion about this post