NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
सहनु नम्रता कि कायरता? PDF Print E-mail
User Rating: / 1
PoorBest 
Wednesday, 11 June 2008 Written by Mr. Loknath Manaen

गहन, गहकिलो, भव्य भड्किलो - मीठो, मसिनो रचनाको प्रतीक्षा बोकी पत्रिका सम्पादक कुर्छन।चमक्क चम्काई, गहना सजाई पत्रिकालाई फिटफाट, चिटिक्क बनाई सबको अघि प्रस्तुत गरी गमक्क गम्कने रहरमा लठ्ठ पर्छन।

 इसाई-पत्र पत्रिकाको चौडिन्दै गएको मैदानमाथि देखा परेको गतिविधिले हामीलाई के भन्दैछ  हाम्रो साहित्यको फाँटमाथि आशालु विरुवा बोट पला छन् कि निस्काम झारपात? छ्यास्स केही? कोर्दैमा लेखक? अनुशासनको अभ्यासलाई बेवास्ता ?

आज त कतैबाट भुकम्पै ल्याउने लेखादि आइपुग्लान् कि भनी उनीहरू बाटो हेर्छन्? तर धेरैजसो त्यही पुरानो आलाप, शब्द चुलिएको, अर्थ नखुलिएको कविता, कथा, निबन्धको आगमनले उनलाई दिक्क बनाइदिन्छ।कुन दिनमा सम्पादक बनेछु हाय। इसाई पत्रिकाहरूले घतलाग्दो चलन यहाँ बसाइदिए। रचनामा प्रभु, प्रभु भनेको खण्डमा पत्रिकामा विनाप्रश्न स्थान। रचनाको अभाव ? लेखकको मन दुख्ला ? कुन कारणले त्यो छापियो कुन्नि ? असंख्यले आफ्नो नाम र लेख (र फोटो) कहीँ छापिएको आधारमा कलम बोकेको बोकेकै छन्। पाठकले केही पायो पाएन सरोकारै छैन।

रेष्टुरेण्टमा बसेपछि सेवा, स्वाद, स्तर खोजिन्छ।वाह्य सभा, गोष्ठीमा वक्ता, विषय, सञ्चालकलाई कठोर मूल्याङ्कन गर्ने हामीलाई हक हुन्छ, बानी हुन्छ।सायद पैसा खर्च भएको छ, समय खर्च भएको छ।इसाई पत्रिका, इसाई सभालाई त्यस्तै स्तर खोजेर प्रश्न गर्नु हामीलाई मन पर्दैन।प्रभु येशू रिसाउनुहुन्छ कि भनी हामी भयभीत बन्छौं।थोत्रे काम देखेर प्रभु रिसाउनुहुन्छ कि भनी भयभित बन्दैनौं।स्तरहीनतालाई पचाउनु हाम्रो नम्रताको चिनु हो।हामीलाई नम्र र आत्मिक बन्नु मनलाग्छ, समुदायको भविष्य जेसुकै होस्।

भगवान नामको डण्डा उचालेर हवलदार प्रवृतिका धर्मगुरुहरू जनतालाई  तर्साउछन्।अन्धविश्वासले ग्रस्त धर्ममा पुरेतले भगवानको डर देखाएपछि मान्छेहरू खुरुक्क दानदक्षिणा निकालिहाल्छन्।त्यहाँ प्रश्न गर्नै पाइँदैन।चर्चको हालत पनि त्यस्तै हुँदैछ कि ? येशूको नामको पछि लुकेर हल्का र निम्नस्तरीय काम गर्ने मान्छेलाई 'यो के गरेको ? के भनेको ?' भनी हामीले सोध्न थाल्यौ भने के होला ? धार्मिकताको ढकनीले ढाकेर कामचलाउ परिपाटीमा काम गर्दै जाने हो भने चर्चलाई भोलि लाज हुन्छ।जे पनि सहनु धार्मिकता होइन कायरता हो। सत्यको निम्ति विवाद उठाउनुपर्छ।छिट्टो नाक दुख्ने र मन दुख्ने नेपाली स्वभावलाई हामीले उपेक्षा गर्नुपर्छ। हे हाम्रा लेखक मित्र, प्रचारक साथी, 'प्रभु', 'ख्रीष्ट', 'ज्योति', 'मुक्ति', 'पाप', 'कलवरी' भन्ने शब्द पानामाथि लेख्दा र पुलपिटमाथि पोख्दा त्यो चीज पवित्र बनिहाल्दैन।हामी स्तरको भोका छौं।

कस्तो विडम्बना, सभाको शुरुमा वक्ताको धुमधाम परिचय हुन्छ, उनका गतिविधि र उपलब्धिको घोषणा हुन्छ अनि उनको प्रवचनमाथि प्रार्थना गरेर आशिष् माग्ने काम पनि हुन्छ। सबले आमिन भन्छन्।तर मित्र हो, सभाको अन्त्यमा अपेक्षित आशिष आयो, आएन भनी कसले खोज्ने र सोध्ने ? जब बेकारको प्रवचन सुनिन्छ तब हामीले आफैलाई भए पनि सोध्नुपर्छ, वक्ताको अक्षमता हो कि प्रार्थनाको उत्तर नआ'को? कारण प्रार्थना रिवाज होइन।परमेश्वरसँग गरिएको एउटा गम्भीर छलफल हो।विश्लेषण, विवेचना, आलोचना, समालोचना विना हामी एक दिन यो समाजमा फाल्टु जोकर हुनेछौं।

इसाई समाजमा प्रगतिको कमी हुनुको कारण यो पनि हो कि बाहिरको समाजमा अपच र अमान्य कामहरूलाई र कथित अगुवाहरूलाई हामी सजिलै पचाइदिन्छौं र गुनगान गरिदिन्छौं।यो रोग सायद, ख्रीष्टेली साहित्यको संसारमा पनि सरेको छ। पत्रिकामा छापिएका लेखादि बाहिरको तुलनामा कहाँ छन् ? हामीसँग एउटा प्राइभेट मन्त्र  छ, चाबी छ।त्यो मन्त्र, 'प्रभु जान्नुहुन्छ', 'प्रार्थना गरिदिनुहोस्' 'शैतानको आक्रमण' इत्यादि।बाहिर समाजमा त्यही कुरोलाई छ्या भन्ने तर उस्तै काम यो समाजभित्र गर्दा प्रभु नामको छाता।

हाम्रो छाती कति चौडा।सब अटाउँछन्।जो पनि वक्ता, जो पनि गायक, जो पनि लेखक।जस्तोलाई पनि जेलाई पनि माया छ, स्वागत छ। हामी अनौठो मूल्य मान्यतामा बाँचिरहेकाछौं।प्रार्थना गरिसक्नुबित्तिकै आजकल 'जय मसिह'।यो के हो ? कहाँबाट आयो, किन आयो, कसरी, कसले - -- केही सोध्नै नपर्ने ? अनौठो परिभाषा र आदर्शहरू लिएर बाँचिरहेकाछौं।न डाक्टर बोल्छन् न पास्टर लेख्छन्।किनभने हामीलाई हाम्रो स्तरसँग र बातव्यवहारसँग झंझट लाग्दैन।प्रभुको इच्छा भन्ने उदेकलाग्दो, कसैले बुझन बुझाउन नसक्ने उच्चारणले हामीलाई सघाइरहेको हुन्छ।प्रभुले देखाउनुभयो, प्रभुले बोल्नुभयो भनेपछि त कुरै साफ।उनी यशैया, मोशा अनि पौलुस जत्रै भए कि भएनन् ? प्रभुले बोल्नु हुँदा रहेछन् उनीसँग।बाइबलमा उनको नाउँ लेखे पनि त भो। त्यहाँ त्यस्तै घटना थुप्रै छन्।प्रभुले मान्छेसँग हाकाहाकी बोलेको।प्रभुको नाउँ लिएपछि प्रश्न गर्ने ठाउँ नै चट्। हाम्रो सोच्ने, जोख्ने, सोध्ने, खोज्ने क्षमता स्वाहा।हाम्रो हठले हामीलाई मूर्ख बनाउँदै।युग हामीलाई छाडेर डाँडा काट्दैछ।

गैर इसाई व्यक्तिले मञ्चमा चढेर ढङ्ग नमिलाई कुनै सेक्यूलर (संसारको) गीत गाएको खण्डमा वा भाषण गरेको खण्डमा ऊ हुटिङ्गको निम्ति तयार बन्नुपर्दछ। उसको भविष्य डुब्नसक्छ। तर चर्चभित्र नो हुटिङ्ग। सबलाई आम माफी। सजाय नै हुँदैन। यो स्वर्गीय कृपा हो कि नरकीय धोका हो त्यो चैं केलाउनु राम्रो हुन्छ होला।

बीच बीचमा प्रभु प्रभु भन्दैमा गीत र लेख बनिने भए र हृदय स्पर्शी प्रवचनहरू बोलिने भए, चर्च र संस्थाका काम पनि बनिने भए - पौलसले परिश्रम शब्द आफ्ना पत्रहरूमा किन प्रयोग गर्थे ? वरदान, वरदानको रट किन लगाउँथे ? उनले इसाई कार्यकर्ता र विश्वासीलाई प्रार्थना गर्ने जादुवाला पनि त भन्न सक्थे।परिश्रम, साधना, तपस्या, उत्कृष्टता भन्ने शब्द र मान्यताहरूलाई इसाई भन्ने बित्तिकै मिल्काउने चलन कहिले बन्द हुने होला ?

चर्च सभामा मानिसहरू पैसा तिरेर बस्दैनन्।उनीहरू त्यहाँ परमेश्वरको नाममा आउँछन् र भक्तिसँग बस्छन्।त्यहाँ प्रभु आउनुभएको छ भनी धेरैले विश्वास गरेका छन्।यसकारण बोर लागेर अधमरो भइसक्दा पनि विचराहरू मौन बस्छन्।यसरी हामी वर्षौं वर्ष चुपचाप बस्छौं। एउटा जिन्दगी गुज्रिन्छ।मनले हजार कुरा देखाइसकेको हुन्छ तर मुखले बोल्नै हुन्न।बोरलाई बोर भनेको खण्डमा 'शारिरिक, संसारिक' भनिमागेर आफै बदनाम। परमेश्वरको नाममा भएको काम पनि कहिले बोर लाग्दो हुन्छ र ?

म तपाईंसँग एउटा कल्पना गर्न चाहन्छु मानौं .... भोलिदेखि चर्चको सङ्गति, रोचकता र प्रभावशालीताको आधारमा आफैले छानेर जान पाइन्छ रे।पाष्टरको र चर्चको आत्मिक र बौद्धिक स्तर हेरेर जहीँ पनि सदस्यता लिन पाइन्छ भन्ने चलन शुरु भयो रे, ... चर्चमा गाइने विशेष  गीतहरूको निम्ति र बोलिने वचनको निम्ति मानिसहरूले विशेष रकम नै तिर्नुपर्नेछ भन्ने नियम बनियो रे ... - उसो भए हाम्रो बीचमा पुलपिटमाथि उभिने मानिसहरूको संख्यामा कमी आउने थिएन र ? निर्धक्क चर्च र सङ्गति छान्न पाइएको खण्डमा परिमार्जित र प्रतिभाशाली मानिसहरूले मात्र हाम्रो नेतृत्व गर्ने थिएनन् र ? मानौं अब उसो सन्देशहीन कथा कविता र लेख छापिएका पत्रिकालाई खुलेआम आलोचना गर्न पाइन्छ भन्ने घोषणा भयो रे - सम्पादकको क्षमता र योग्यतालाई प्रश्न गर्न पाइने भयो रे।त्यसो भए पत्र-पत्रिकामा केही लेख्दा हामीले गुणस्तर र गोरु खटाइ भन्ने शब्दलाई आज जस्तै अवहेलना गर्ने थियौं कि ? बीबीसीले आयोजना गरेको जस्तो सार्वजनिक सुनुवाइ गरेर संस्था प्रमुखहरूसँग लेखाजोखा माग्न सकिन्छ भन्ने चलन बसाइयो भने हाम्रो अवस्था र स्तर आफैआफ सुध्रिने थिएन र ? आज जस्तै "अगुवाइ" र "प्रभुको इच्छा" भन्ने सजिलो पर्दा र पर्खालहरूको पछाडि छेलिएर खुशी खुशी गर्ने थियौ र ? लाजैको कारणले पनि हामी अझ बढी खट्ने थिएनौं र ? यो कसैप्रति लक्षित प्रश्न होइन।मैले मेरो आत्मा र तपाईंले आफ्नो आत्मालाई सोध्ने प्रश्न हो।

हाम्रो प्रथम कर्तव्य हुन्छ हामीले टेकेको धरातललाई चिन्नु।सिद्ध छैनौं हामी कोही पनि।तर अशुद्ध र असिद्ध स्तरसँग सम्झौता गरेर नबाँच्ने हाम्रो प्रण हुनुपर्दछ।निम्नतालाई निन्दा गर्नुपर्दछ। मूल्यहीनलाई महिमा मिल्नु हुँदैन।सृजना, कला र रचना भन्ने कुरा दरिलो परम्परा र छुच्चो अनुशासनमा अडिएको छैन भने मान्छे हाँसेको दिन हाम्रो मात्र होइन, महान् प्रभुको पनि खिसी हुन्छ। जसको निम्ति हामी यो सब गरिरहेछौं।उत्कृष्टतालाई उपेक्षा गर्ने कोही उम्कन्न।स्वर्गीय छन्, स्वर्णीम छन् र सदाकालीन् छन् हाम्रा सिद्धान्त र शिक्षाहरू।तिनको गरिमा र अस्मितालाई धर्तीको धुलोबाट जोगाउने जिम्मा पनि त छ हाम्रो।येशूलाई उचाल्ने र फैलाउने हाम्रो प्रतिवद्धता हो भने, खेलाइँची र खेलवाड खत्तम हुनुपर्छ।यथास्थितिवादी सहनशीलता ठप्प बन्नुपर्छ।वाह्य संसारका प्रभावशाली प्रतियोगी, परिश्रमी मित्रहरूको बेजोड उत्साह र उत्सर्गलाई हामीले पनि अनुकरण गर्नै पर्छ।

सिर्जनशील प्रभावशाली युवा हो, अघि बढ्नुहोस्, तपाईंहरू केही आँट्नुहोस्, गर्नुहोस्।तर त्यो गर्दा त्यहाँ दुई थोपा नुनिलो पसीना चुहाउनुहोस्।सबै कामलाई गम्भीरतापूर्वक गर्नुहोस्।रातको निन्द्रा र दिनको भोकलाई लगाम लाउनुहोस्।अरूले नाम र दामको निम्ति मरिमेटेर बाजी जितिरहेछन्। पुरस्कारको रहर गर्नेले दिनहुँ आफूलाई मारिरहेछन्।तपाईं र मैले पनि राजा येशूको निम्ति ठीक त्यसरी नै काम गर्न लाग्यौं भने यहाँ कत्रो परिवर्तन आउने थियो मानिस जति नै आत्मिक होस् सस्तो, सुस्त चालले कोही कहीँपुग्न सक्दैन।सजिलो, छिट्टो एउटा अजिङ्गर हो त्यसले लटपटाएको जीवन अन्त्यमा निष्फल र निरुद्देश्य बन्छ। जाँगर, जोश र परिश्रम मान्छेले उच्चारण गर्ने मन्त्र हुन्, व्यवहारमा बाल्ने ज्वलन्त ज्वाला हुन्।

'म आफ्नो शरीरलाई कुट्दछु, र वशमा राख्छु' भन्दै पौलसले आफ्नो शरीरमा धारण गरेको ख्रीष्टका डामहरूको जिकिर गर्छन्। इनामको निम्ति मरिमेट्ने नम्बरी योद्धा हो पौलस।पौलसले कुन्नि कता कताका मानिसहरूको वयानमा आफ्नो जुनी फालेनन्।तर हामीलाई विदेश कति प्यारो। त्यहाँको रकम, मान्छे, जीवन, घटना, किताब, शिक्षा सबै अति प्यारो।विदेशी विद्वानका कथाहरू उपदेशहरू कागजमा छापेर फिलिममा हालेर हामी बाँडिदिन्छौं। प्रभु येशूले नेपाली किताबभित्र पसेर अर्कै नाम, नक्सा र घटनाद्वारा यो देशवासीसँग सधैं बोल्नुपरिरहेको छ।किनभने हामीलाई लाजै लाग्दैन।पैंचो मागेको आशिषमा जिउनुपर्दा हामी लाजले भुतुक्क हुँदैनौ।आफै चम्किने, झुल्किने र उदाउने हाम्रो कार्यक्रम अहिले छैन।प्रभुले 'तिमीहरू ज्योति हौ' भन्नुभएको थियो तर अहिलेलाई अरूहरूकै ज्योतिले काम चलाउनु परेकोछ।आफ्नो दायित्व उठाउन पनि नसक्ने गरी हामी नम्र भइसकेका छौं। हामी यो देशभित्र एक आदरणीय 'धार्मिक समूह' बनिसकेका छौं। 'संसारलाई उलटपुलट गर्ने समूह' भनेर हामी चिनिन्दैनौं। हाम्रो अस्तित्वले र उपस्थितिले समाजमा कुनै असर परेको छ कि छैन ? हाम्रा भजन, गीत, संगीतले स्वर्ग थर्काउँछन्, हाम्रा आवाज र बोलीले पाताल हकार्छन्, तर प्रायः एउटा हल र कोठाभित्र मात्र।भीडभाडमा गीत, भजन गाउने र प्रार्थना गर्ने बानी परेर हामी आफैभित्र दुर्बल बन्दैछौं ? समय हामीदेखि अगि, समाज हामीभन्दा माथि।इसाई समाज पछौटे पर्दै गइरहेको भीषण वास्तविकताको निम्ति जिम्मा कसको ? हामी यो मुलुकभित्र छुट्टिन्छौं, छोडिन्छौं र पछिल्तिर धकेलिन्छौं भने त्यसको मूल्याङ्कन भएको दिन नेतृत्व गर्नेसँग राम्रो उत्तर हुनुपर्छ। हो, हामी प्रभुलाई पर्खने मानिसहरू हौं। यो संसारमा धुमधाम घर जमाएर सदाकालीन किल्ला बनाएर बस्ने हाम्रो योजना छैन।तर बादलमा आउनुहुने प्रभुले एकदिन हाम्रा वरदान र सीप, कला र योग्यता, जीवनको स्तर, साक्षीको अवस्थाको विषयमा हिसाब लिनुहुन्छ भनी हामीले भुल्नुहुँदैन।प्रभु येशूले चेताउनी दिनुभएको छ उहाँले मानिसहरूको उपलब्धि र उन्नतिको हिसाब लिन आउनुहुँदैछ।उहाँले हामीलाई के दिनुभयो र त्यसलाई हामीले कति बनायौं ?

आउनुहोस् आजदेखि एउटा प्रण गरौं - हाम्रो समयभरिमा येशूको काम हामी अझ दामी र सुन्दर तरिकाले गर्नेछौं।जीवन ठीकसँग बाँच्नेछौं।इसाई शब्द जोडिएको काम र कुरालाई गौरवशाली र मर्यादित बनाउनेछौं।हामी कोही भन्दा पछि पर्नेछैनौं।किनभने जीवन एकपल्ट मात्र मिल्दछ सबैलाई।त्यही एउटा जीवनलाई पूर्ण रूपले किन नजिउने ? नेपालमा ३३ कोटीको स्पर्श पर्‍यो र यो यति गरीब बन्यो, रोगी बन्यो।अब एक येशूको स्पर्शद्वारा यो देशलाई जगाउने र नयाँ जीवन दिने बेला आएको छ।तर पहिले हामी नै नयाँ र ताजा बन्नुपर्छ नि होइन र ?

Newer...
Older...
          Next >>
Hits: 828
Trackback(0)
Comments (3)add comment
कामचलाउ भैहाल्यो भन्दा गुणस्तरनै नआएको होला नी
written by Paulas Panday , June 28, 2008

आउनुहोस् आजदेखि एउटा प्रण गरौं - हाम्रो समयभरिमा येशूको काम हामी अझ दामी र सुन्दर तरिकाले गर्नेछौं।जीवन ठीकसँग बाँच्नेछौं।इसाई शब्द जोडिएको काम र कुरालाई गौरवशाली र मर्यादित बनाउनेछौं।हामी कोही भन्दा पछि पर्नेछैनौं।किनभने जीवन एकपल्ट मात्र मिल्दछ सबैलाई।त्यही एउटा जीवनलाई पूर्ण रूपले किन नजिउने ?
============
मलाइ यो कुरा मन पर्यो।

धन्यबाद ।

report abuse
vote down
vote up

Votes: +1

yes
written by vijay thada magar,kingdom of b , June 16, 2008

Loknanth sir jaimashiha
Dherai khushi lagyo ra ma agree chhu hajurko bichar parti,hope garchhu tyo samaye chhittai aaoss,
Dhanebaad.

report abuse
vote down
vote up

Votes: +0

Yes!!
written by Bhojraj Bhatta , June 13, 2008

Loknatha Daju,
Thank you for writing at lest and I agree with your statement "Neither the doctor speaks nor the pastor writes". I hope and pray that the day will come when the believers will have the opportunity to evaluate their pastors.

report abuse
vote down
vote up

Votes: -1


Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement