| मेरो सपना? |
|
|
|
| |||
|
मेरो अभिवादन स्वीकार्नुहोस् । टाढा समयकोनादिनाले उसलाई ठाडो प्रश्न गरी, "तिम्रो जाति हिब्बी हो ?" "हो ।" " तिम्रो नाउँ एदान हो ?" "हो ।" नादिना त्यसपछि मुसुक्क हाँस्छे । ती पुरुषतिर मदिराको कचौरा उचालेर तिरमिर आँखाले हेर्छे एदान उसलाई निर्निमेष हेरिरहन्छ, केही नबुझी । यो हिब्बी जातिको मान्छे यहाँ आएको एक महिनाजति भयो । आज यो गाउँमा ऊन कत्रनेहरूको वाषिर्क चाडको जात्रा लागेको छ । चारैतिर होहल्ला । घरघरले दाखमद्यको घ्याम्पा खोलेका छन् । कोही नाच्छन्, कोही गाउँछन्, कोही गफमा तल्लिन, कोही हल्ला गर्दै घुमिरहेका । साँझको अँध्यारोमा पनि राँको बालीबाली हाट बजार लागेको छ । यो गाउँको नाउँ तकेला । नादिना र उनकी बहिनीहरू एदान हिब्बीलाई घेरेर र्याकर्याक पारिरहेका छन् । तकेला गाउँको आजको चाडमा सबलाई पिउने अनुमति छ, के स्त्री, के पुरुष सब एक अर्कामा बोल्न पाउँछन्, जिस्किन पाउँछन् । दोष, अपराध गरेर मानिसहरू वरिपरिका गाउँ-घर, जिल्लाबाट तकेलामा प्रवेश गर्ने चलन पुरानै हो । भगुवाहरू एउटा न एउटा कथा बनाएर आउँछन् । पत्यार लाग्दो वयान, व्याख्या लिई आउँछन् । रोग, महामारी फैलियो, डाँका लाग्यो, खेतबारीमा सुख्खा लाग्यो, कीराले बारी सखाप पार्यो, ऋण तिर्न सकिएन, कमारामा बेच्न खोजे, यस्तैयस्तै कथा कहानी बोकी आउँछन् । तर नादिना एदानलाई सताउन आज राति कम्मर कसेकी छे हातमा रातो मद्यको कचौरा बोकेको एदान उतै हेर्छ । चाडको रमाइलोले उसको उदास जीवनमा आज रङ्ग भरेको छ । नदिनाका बहिनीहरू उसँग जिस्कन रुचाउँछन्, "हेर्यौ हैन फेटालाई - अब उसको छेउको रातो बर्की ओडने र उसकै छेउमा कचौरा थामेर टिल्ल परेको मझौला कदको कालो लबेदालाई हेर ।" परदेशी पुरुषसँग जिस्किरहिछ कोकसलाई देखाउँदै नादिना । ऊ वाक्क मान्छ, "हेत्तेरी, सधैं देखिरहेको अल्छिलाग्दा गोठालाहरूलाई किन हेर्नु - फेटा लाउँदैमा, लबेदा कस्दैमा हेर्नै पर्ने कि क्या हो ?" नादिना बैनीहरूसँग हाँसोमा मुख छोप्दै भन्छे, "तिमीलाई किन हेर भनेको भने नि - उनीहरू पनि तिमीजस्तै एदान नै हुन् ।" सबै दिदी बहिनीहरू एकैचोटी हाँस्दा एदान सजग बन्छ र गलल हाँसी रहेका केटीहरूलाई नियालेर हेर्छ, "के भनेको - मजस्तै एदान, हिब्बी - उनीहरूको नाउँ पनि एदान ?" नादिनाकी अर्की बहिनी परूवाको पालो, "तिमीले हामीकहाँ आएर, मेरो नाउँ एदान हिब्बी भन्नु बित्तिकै हाम्रो घरमा सबले पत्यार गरे भनी ठान्यौ हैन - एदानजी, तिम्रो अभिनय तिम्रो झोलामा राख है । उताबाट भागेर आउनेहरू यस्तै नाउँ बनाउँदै, कथा बुन्दै आउँछन् । ती तीन पनि पारिबाट केही न केही अपराध गरेर आएका हुन् । हामीलाई अलिअलि थाहा पनि लागिसकेको छ । उनीहरूले आफूलाई एउटाएउटा नाउँ दिएका छन्, एउटाएउटा पत्यार लाग्ने कथा कोरेका छन्, अनि ढुक्कै यहाँ बाँचेका छन् । " नादिना थप्छे, "भनन एदान, तिम्रो खास नाउँ के हो ? खास कथा के हो ? हामी कसैलाई भन्दैनौं नि । नपत्याको ? लौ त हाम्रा बूढा बाको कसम, कसैलाई भन्दैनौं । अर्को भाषा बोल्ने, अर्को रीति मान्नेको बीचमा आछौ, हामीले पत्याको जस्तै तिमीले पनि हाम्लाई पत्याउन पर्दैन ?" एदान केही बेर सोचमा डुब्यो । भन्न लाग्यो भक्भकिँदै, "ए नादिना, मीठो दाखमद्य खुवाउँछौ अनि तीतो प्रश्न गर्र्छौ । मैले पहिले भनेको जस्तै म कमारा होइन, मालिक्नीको दामी हार कूवामा डुबाएकोले म उताबाट भागेको भन्ने मेरो कथा पनि साँचो होइन । साँचो कुरो यस्तो हो - धनी बुवाको धर्म पुत्र हुँ । उहाँले मलाई दुइ वर्षो उमेरदेखि पाल्नु भएको हो । उहाँ हाम्रो इलाकाको कर उठाउने हाकिम हुनुहुन्छ । सुखसयलमै हुर्केको हुँ । उहाँका आफ्ना छोराहरूले करमा उठेको ठूलो रकम बिगारेका हुनाले सरकारबाट कार्वाही हुनैलाग्दा उहाँले मलाई भाग्ने सल्लाह दिनु भएको थियो । तिमी भाग्यौ भने म यो ठूलो रकमको दोष तिमीलाई लगाउनसक्छु, छोरो, तिमी भागे जस्तो गरिदेऊ । यो सब साम्य भएपछि म तिमीलाई आफै खोज्न, बोलाउन आउँछु भन्नु भएको छ, मेरा बुवाले ।" केटीहरूले गम्भीर मुहार बनाएर एदानको कथा सुने । नादिना उठेर आइन्, एदानको मुहारको नजिकै आफ्नो मुहार लगेर आँखामा आँखा गाडिन् र बैनीहरूलाई भनिन्, "यो कातर एदानको यो नौलो कथाचाहिँ आधाउधी पत्याए हुन्छ कि जस्तो लाग्यो केटी हो, तिमीहरू के भन्छौ - तर यो भगुवाको यो कथामा पनि केही न केही गडबड छ ।" रात बितिसक्यो । मिद्यानको तकेलामा घाम उदाउन अब दुइ घडीमात्र बाँकी छ । अब सबका आँखा लोलाउन लागे, मात लागेर अनि नींद लागेर । "जाऊँ, जाउँ सुत्न अब, विहान हुनै लाग्यो । ए एदान, तिमीनि जाऊ सुत्न । ढँटुवा मोरा हो, ढाँट्दै बस । यो गाउँको रोटी खाऊ, मदिरा पिऊ, भेडा चराऊ, आफ्नो इतिहास लुकाऊ । मोज तिमीहरू कै छ । हामी त कसको सपना देख्ने अब यो सिपीले आज पनि यै ढँटुवा एदानको सपना देख्ने होली ।" सिपा लाजले रातो बनी । उसले सुटुक्क बताएको कुरा यसरी दिदै नादिनाले सबको अघि मातेको बेलामा खुलुस्त गरिदेलिन् भनी उसले सोचेकी थिइन । दिदीलाई कराउन नसकेर घुम्टोले मुख छोपी जुरुक्क उठेर हिँडी, आधा लाजमा, आधा रिसमा । एदान उतिरै हेरेर झस्केर सोच्न लाग्यो, मेरो सपना ? एदानको मनमा यो घटनाले, यो कुराले तुफान उठाउन लाग्यो । सिपीप्रतिको भावना र दृष्टिकोण यही दुइ पलभित्र फेरियो । भोलिपल्ट कूवामा आई सिपी । खुट्टा धोइरहेको एदानलाई भनी, "अलि पर र्सर्नु त, पानी उघाउनु छ ।" रातको ग्लानी यथावत छ उभित्र । पुरुष जानीजानी अप्ठेरो तरिकाले बसेको छ, "पहिले भनन, यो एदानलाई सपनामा देख्यौ कि देखिनौ ?" ठिटीको मुखै रातो भयो । उसलाई अप्ठेरो बनाईबनाई कूवामा आएर पिरोल्ने यो मान्छेको नियत ठिक लागेन । परतिर हेरेर रिसमा बोली, "देखेकी थें, सपनामा देखेकी थें । तिमी जैले पनि कुवामा, खोलामा, नदीमा पानी खेलिरहन्छौ नि होइन एदान ?" एदानलाई सपना सुन्न मन लाग्यो, हाँस्दै उठ्यो, उसको बाटोदेखि पन्सेर सजिलो गरिदियो पानी उघाउन, "हो मलाई पानीसँग लगाउ छ, नदी खोलामा सानैदेखि खेल्ने बानी परेको छ । भनन सपना के देख्यौ ?" सिपीले क्रोधित आँखाले एदानतिर हेरी र विष वमन गरी, "यै वस्तीको तल भेंडे खोला छ नि त्यहीको पानीले तिमीलाई बगाउँदै लगेको सपना देखेकी थिएँ । हामी दिदी बहिनीचाहिँ मस्तसँग तिमीलाई हेर्दै नाँच्दै थियौं । पुग्यो अब सपना ?" उघाएको गाग्रोलाई आफ्नो हातले खोसी एदानले गाग्रो एकातिर थचारिदियो । अबलाको हात पक्रेर उसलाई तान्दै पल्ला झाडीतिर लाग्यो । के गरेको, के गरेको भनी ठिटी हात तान्दै थिई र विवश एदानको बलिष्ट बाहुलीमा तानिन्दै थिई । रूखपौधाको पछिल्तिर कसैले नदेख्ने गरी आफूलाई छेलेर एदान हिब्बी स्वाँस्वाँ बनेर केही भन्न खोज्यो । उसको उग्र आवेग अनि बोल्दा भक्भकाउने समस्याले उसलाई अल्झाइरहेको थियो । उसको कुमलाई कसेर दुइ हातले पक्रियो र एदान बोल्न लाग्यो, "हो मलाई पानी मन पर्छ । म जन्मँदा पानीमा फेकिएको थिएँ । पानीमा फालिएको, बगाइएको मेरो जीवन कहानी जानेकी भए त्यस्तो सपना भनेर मलाई खिज्याउने थिइनौ । म तिमीलाई मन पराउँछु । हिजो रातिदेखि मैले तिमीलाई छाने, मन पराएँ । विहानदेखि कुरिरहेछु । मेरो साँचो कथा अर्कै छ । मिश्रकी अधिराजकुमारीको छोरो हुँ । महलमा हुर्केको हुँ । मेरो नाउँ मोशा हो । हिब्बी जाति भनेर, एदान बनेर, कथाहरूको ओत लागेर दुनियादेखि लुकिरहेछु । मिद्यानको यो देशमा आज मेरो जीवन खोलामा अर्की राजकुमारीलाई मैले भेटेको छुं । भन, मलाई बचाउने र छातीमा टाँस्ने, कि बग्दै, डुब्दै जान दिने - भन सिपा ...मेरो सपनालाई के गर्ने ?" सिप्पोरा अकबक्क बनी । यो एदान यतिको आवेशमा आउनसक्छ, आफ्नैलाई जस्तो अंगालेर आफ्नो साँचो कथा उसको अघि संकोच नमानी ओकल्न सक्छ भनी उसले सोचेकी थिइन । उसले मनमनै मन पराएको यो हिब्बीले पनि उसलाई मन पराउँछ भनी उसले ठानेकी थिइन । तर आज, यो विहान ...। उसले विस्तारै मोशाको बाहुपास आफ्नो कुमबाट फुस्काई । गएर चुपचाप गाग्रो शिरमा उचाली र उकालो लागी । मोशा केही नबुझी हेरिरह्यो । माथ्लो डिलमा पुगेर सिप्पोरा फर्केर हेर्छे र उसलाई अब अर्कै तरिकाले र भन्छे अलि उच्च आवाजमा, "ए एदान, ए मोशा, तिम्रो मनमा के कुरा छ ? मलाई होइन, बुवालाई भन्नु है, हाम्रा बुवा यित्रो पूजारीलाई ..." मुखमा घुम्टोको एक छेऊ टोकेर घरतिर छिटोछिटो लम्की मुटु ढुकढुक भइरहेको सिपा । एदान हिब्बी, उर्फ हिब्रु मोशा ... के गरोस् । बोल्ने कि ? गाउने कि ? उफ्रने कि ? के गर्ने - खुशीमा के गर्नेगर्ने बनी उ त कुवाको पानीलाई गोठाले लौराले झ्यामझ्याम पिट्न लाग्यो । Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 2766 Comments (1)
![]() Write comment
|
|||
| Last Updated ( Friday, 24 October 2008 ) | |||
| < Prev | Next > |
|---|


















