| मेरो छोरो |
|
|
|
| ||||||
Page 1 of 4 मेरो अभिवादन स्वीकार्नुहोस् । टाढा समयको बाँध, बन्धनलाई नाघेर एउटी आमा, एउटी नारीको हैसियतले लेख्दैछु । मेरो नाउँ सारा । मेरा दुइओटा नाउँ तपाईले बाइबलमा पढ्नु भएको छ । साराइ र सारा । मेरो बारेमा सुन्नुभएको छ । हागारसँग जलन, सन्तानको रहर, उमेरको सुन्दरता, बाँझीपनको बोझ, बुढेस्कालको एकलोपन, परमेश्वरको प्रतिज्ञा, आदि, आदिमा लटपटिएर म घरी सामान्य घरी असामान्य व्यवहारहरू देखाउँथे । मेरो इसहाक जन्मँदा म कति खुशी भएँ, के बताउँ । तर आज भने मेरो जीवनको प्रलयकारी एक हप्ताको बारेमा केही भन्न चाहन्छु । परमेश्वरले इसहाकलाई माग्नुभयो । अब्रहाम मेरा पतिले यो कुरो मलाई सुनाए । मलाई नमिठो चोट लाग्यो, छक्क लाग्यो । तपाई आमाहरूले बुझ्नुहुन्छ । परमेश्वरले मानव बलि रुचाउनुहुन्छ भन्ने मलाई थाहा थिएन । कुरा बुझ्न नसकेर अब्रहामको अंगालोभित्र मैले धेरै बेर आश्रय लिएँ । जाने बेलामा इसहाकलाई छातीमा टाँसेको टाँसेकै गरें । मेरो अंगालो उनीहरूले जोडजुलुमले फुस्काएर मेरो राजकुमारलाई लगें । बाहिर देखाइनँ तर भित्रभित्र म र्सवस्व गुमाएकी पगली बनें । आज ऊ परमेश्वरको निम्ति बलिदान बन्ने बेलामा मुहारका चाउरीलाई आँसुको खोल्सा नबनाउने निर्णय गरें । तर मैले जब्बरजस्ती बाँधेर सम्हालेको मन इसहाकले रुवाइदियो, "आमा, बलिदान चढाएर आइहाल्छौं है, सुर्ता नमानी बस्नू । बुवा पनि जानुपर्ने, म पनि जानुपर्ने रे । दिनदिन सम्झन्छु है -" ऊ हाँस्दै, उफ्रदै, हात हल्लाउ“दै गयो । सधैंका लागि गयो । मतिर हेर्न नसकी अब्रहाम चुपचाप, छिटोछिटो हिँडे । मेरो हालतमा इतिहास रोएको छैन । सब जे लेखिएको र देखिएको छ अब्रहाम मेरा पति र इसहाकका बाबा मात्रै । म, उसकी आमालाई के भयो कसले सोचिदिने - कोख फेरि शून्य भो । तारा र बालुवा भनेको कति हो - त्यस्तै असंख्य सन्तान मेरो हुन्छ भनी भन्नुभएको थियो परमेश्वरले । मलाई थुप्रै किन चाहियो - एउटा इसहाकले मेरो सिङ्गो आकाश ढाकेको थियो । मेरो बालकले मेरो धरती छपक्क छोपेको थियो । मेरो इसहाक । परमेश्वरले कति वर्षघि म एउटी बाँझीलाई बिनासित्ती जिस्काउनु भयो । सन्तानको वरदान दिनुभो । अनि आज एउटी आमालाई जमिनमा पछार्नु भयो । म ठीकै थिएँ । इसहाक बिना ठीकै थिए“ नि । किन मलाई सन्तान दिनुपर्यो - परमेश्वरले मानव बलिदान खोज्नुहुन्छ भन्दा मलाई उहाँसँगै डर लाग्यो । पशु प्राणीले उहाँलाई नपुग्दो रहेछ । इसहाकका बुवाले भन्नुभएको थियो, "म रुन्न“, तिमी पनि नरुनू है - बलिदान भनेको रुँदै, सराप्दै, करकापमा चढाउने कुरो होइन । विश्वासमा स्वेच्छास“ग, खुशीसाथ चढाउनुपर्छ । उहाँको योजना के हो के हो ....यता त्रि्रो कुनै सोच बिचारले उता बलिदानको काममा खलल नहोस् है -" पेट नबोक्ने, दूध नखुवाउने, मातृत्वको स्वभावबाट बञ्चित पुरुषको बोली । महान अब्रहामको बोली । म आमा होइनँ, म नारी होइनँ, म केही होइनँ, मेरो मुटु छैन । तर अब्रहामको भनाइ र बोलीलाई मैले आदर गर्नुपर्छ । मैले जब्बरजस्ती आफूलाई सम्झाएँ । म आमा होइन, म परमेश्वरको आफ्नो मान्छे अब्रहामकी स्वास्नी हुँ । उहाँ अब्रहामसँग बोल्नुहुन्छ । उहाँहरू दुइजना हाकाहाकी कुराकानी गर्नुहुन्छ । मेरो इसहाकको बलिदानले परमेश्वरको हृदय प्रफुल्लित हुनुपर्छ । सायद यो बलिदानले पृथ्वीमा केही राम्रो हुन्छ । हे परमप्रभु परमेश्वर, इसहाकलाई लैजानु होस् । जीवनले दिन नसकेको कुरो उसको मृत्युले दिन सकोस् । हाम्रो इसहाकलाई ग्रहण गर्नुहोस् प्रभु । मेरो इसहाक त्यसरी इतिहास बन्यो । जब उनीहरू फर्की आए त्यसबेलाको कुरा सुनाउँछु । मैले उनीहरूसँग इसहाकलाई देख्ने कुरै थिएन, देखिनँ । थाकेर आउनेहरूको अघि चुपचाप खानेकुरो राखें । केही बोलिन । के बोल्नु - के भन्नु - सबै त शून्य भइसक्यो । अचानक मेरो कानमा परिचित आवाज, "आमा ...-" दिनमा बीसौंचोटी मेरो कानमा आउने आवाज फेरि मेरो पछिल्तिरबाट आयो । मैले आवाजतिर हेरिन“ । पहिले अब्रहामलाई हेरें । यो आवाज ममात्र सुन्दैछु कि अरू पनि सुन्दैछन् - मैले उनीहरूलाई हेरें । अब्रहामको मुहारमा बदमासीको मुस्कान देखें । किन उनीहरू हाँस्दैछन् - यी बूढा जहिले पनि जिस्किन्छन मसँग । त्यस्तो बेलामा पनि जिस्किने हो त - भ्रम हो, साँचो हो, के हो भनी मैले नआत्ती पछाडि फर्केर हेरें । ऊ पनि त आएको रहेछ यो हूलसँग । ऊ त्यही थियो । हाँसीरहेको । मेरो छोरो इसहाक । मेरो छोरो ? उसलाई मेरो भन्नु मलाई कताकता अप्ठेरो महसुस भयो । ममा, हामीमा, संसारमा केही ठूलो फरक आइसकेको थियो । इसहाकको बलिदान मेरो मनले चढाइसकेको थियो । त्यहाँ इसहाक थिएन । एउटा राष्ट्र थियो, मैले देख्नै नपाउने एउटा जाति थियो । थुप्रै तारा र रासरास बालुवजस्तै संख्यामा एक दिन पृथ्वी भरिने मानिसहरू मध्ये पहिलो व्यक्ति मेरो अघि हाँसिरहेको थियो । म बूढीसँग मेरो प्यारो इसहाक कति छक्क पर्यो होला त्यस दिन । खुशीले चिच्याउनु, कराउनु, उफ्रनुको साटो म त लाटीजस्तै, मूर्तिजस्तै डिङरिङ्ग उभिरहें । आँसु बगाउँदै उसलाई र उसको अर्थलाई हेरिरहें ।
|
||||||
| < Prev | Next > |
|---|













