NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
चाहे दाखको बोटमा.... PDF Print E-mail
User Rating: / 5
PoorBest 
Monday, 21 April 2008 Written by Mr. Loknath Manaen

नेपाली इसाई जगतमा र्सवाधिक लोकप्रिय गीत चाहे दाखको बोटमा फूल नफुलोस् माथि आधारित यो कथामा मान्छेको मनमा उब्जने द्वन्द्वलाई अगाडि ल्याउने काम भएको छ।ईश्वरको घरमा हामी सबै जाँदैछौं भने पृथ्वीमा रहूञ्जेल उहाँसँग हामी झगडा गर्न सक्दैनौं।कठीन पर्छ तर उहाँको उद्देश्य र योजनामा पर्ने अप्ठेरा घटनालाई पनि हामीले स्वीकार गर्नुपर्छ।एउटी आमाको विरहसँग परिचित हुने मौका यो कथाले हामीलाई दिन्छ ...

 

चाहे दाखको बोटमा....

झ्यालपारि हिमाल चम्किरहेछ।आकाश निस्चल। यो बिहान पनि बाटो मास्तिर धुप्पीघारीका रूख मगमग, सुगन्धित हावामा घमण्डी बनी उभिरहेछन्।गौंथलीहरू मच्ची-मच्ची उड्छन्।मुहारभरि हाँसो अनि चिरबिरे बोलीको हल्ले गफ मचाउँदै स्कूले केटा-केटीहरू यूनिर्फममा सजिएर स्कूलको संसारतिर लम्कँदैछन्।परिचित यूनिर्फम।एक साताअघि त हो दुवै आमा-छोरी ड्रेस किन्न, सिलाउन गएका थियौं।गौंथली, भंगेराहरू खुब उत्ताउलिएर उडदै थिए।दिन खुलेर, हिमाल चमक्क चम्किएको थियो, दार्जीलिङ्ग पहाड अनौठो उज्यालो थियो त्यो दिन।लिजाको यूनिर्फम सिलाउन गएका थियौं।चीसो फेन्टा पियौं, चाट, जलेबी खायौं।त्यो दिन त उसको साथी नै बनेर हाँस्दै, जिस्कँदै गफ गर्दै लिजासँग हिँडेकी।

 

तीन दिनपछि छोरी लिजा पल्लो घरकी सीता बैनीसँगबिहानै गएर टेलर मास्टरकहाँ गई।बिहान उसलाई उठ भन्नु नै परेन।युनिर्फमलिएर आई, हतपत्त लगाई, गजक्क परी, मेरोअगि आएर लजाउँदै हेरी।नयाँ कपडाको वासना, चिटिक्क इस्तिरीको धार, सुकिली, चञ्चली लिजा।जामा फिरिरि पारेर कुदेर गई हाली।कहिले स्कूल पुगौं भइरहेको।झ्यालबाट आमाले हेर्दैछिन् भनी थाहा छ, फनक्क फर्केर हेरी, टक्क अडिई, मुसुक्क हाँसी अनि छरितो ढङ्गले हात हल्लाई र स्कूलतिर  दौडी।त्यस्तै यूनिर्फम लगाउने अर्की सानी केटीसँग पर उसको भेट भयो।दुवै टाँसिएर, अँगालो हालेर गए।
घुम्तिले उनीहरूलाई छेल्यो।मलाई घरको कामले बोलायो।छोरीको नयाँ स्कूल, नयाँ यूनिर्फम, उज्यालो दिन सबै कुरोले म प्रफुल्लित थिएँ।जगमग हाँसिरहेको आकाशतिर हेरी प्रभुलाई सम्झें।यति धेरै आनन्दले यो हृदय भरियो के भनूँ।प्रभुप्रति धन्यवाद र प्रशंसाको बाँध नै फुटेजस्तो भो।'यो दिन तपाईको हो प्रभु, यी सब हामीलाई तपाईले दिनुभएको प्रभु, धन्यवाद।'  किचनको मुढामा बसेर म ध्यानमग्न बन्नलागें।धत् यति धेरै काम छ।यसरी प्रार्थना, प्रशंसामा नै सबै समय दिने हो त ?
तर लुगा धुँदा, चुल्हो-चौको गर्दा, भाँडा माझ्दै थान्को-मन्को गर्दा, प्रभुको उपासना कति पनि निस्तेज बनेन।धन्यवादको कचौरा भरिरह्यो, छचल्किरहयो।के हो, के हो त्यो दिन।छोरी लिजाको निम्ति यति धेरै धन्यवाद चढाएँ, साध्यै छैन।हँसिलो अनुहारको लागि, मीठो बोलीको लागि, सुन्दर, प्रेमी चरित्रको लागि प्रभुमा कृतज्ञ बनिरहे।दिनमा दशचोटि ऊ आउँदैछ कि भनी यही झयालबाट पुलुक्क, पुलुक्क हेरें, सधैं जस्तै।घरीघरी धुप्पी रूखमा नै आँखा ठोकिए, फर्कि आए।
लिजाको जिउबाट मैले मेरै हातले त्यो यूनिर्फम फुकालिदिएँ।ऊ चूप थिई र अचल।रगतमा मुछिएको त्यो यूनिर्फम खोलेर उसको जिउको घाउ भिजेको तौलियाले पुछ्नखोजें, उसलाई सुमसुम्याएँ।उसलाई दुखेको थिएन, दुःख्न छोडेको थियो।त्यति ठूलो गाडीले कुल्चेपछि बाँच्ने आशै थिएन।ऊ त त्यही यूनिर्फम लगाएकै दिन पो हिँडी, कस्तो ? हातको रक्ताम्मे यूनिर्फमले मलाई अस्ति बजार गएको कुरो याद गराइरहेथ्यो'।त्यति नै रहेछ अन्तिम रमाइलो।दिनभरिको धन्यवाद, स्तुति, प्रशंसालाई सम्झें।मैले आज दिनभरि नै प्रभुलाई किन हो स्तुति, उपासना चढाइरहें।लिजा तपाईको वरदान हो, तपाईको नासो हो, प्रभु तपाईको उपहार हो  भनिरहेथें' बारम्बार, अब के भनूँ ?
भोलिपल्ट - उसको सानो शरीर राखिएको त्यो सानो बाकसलाई उनीहरूले बोकेर लगे।मैले यही झ्यालबाट हेरिरहें।उसँगसँगै गएर उसको दफन कसरी हेर्नु ? उसलाई खाडलको गर्भभित्र कसरी बुझाउनु ? ऊ त मेरो गर्भकी बालिका हो।पेटभित्र छटपटिन्थी।मसँगजिस्किन्थी।म उसलाई कराउँथे।उसलाई छ वर्ष स्याहारेको यहि हातले मैले उसको खाडलमा कसरी माटो फेक्नु।सडकको किनारमा धुप्पी रूखकै आडमा पर्खिरहेको त्यो कालो गाडामा लिजाको बाक्सा बिसाए अनि ठेल्न लागे।मैले हेर्न पनि सकिनँ र नहेरी पनि सकिनँ।पर पुगेपछि बाकसलाई, मलामीलाई घुम्तीले छेल्यो।ठूलो धुप्पी छाती तानेर सडकछेउ उभिरह्यो।म छट्पटी रहें, रोइरहें।
एक हफ्ता भयो आज।गौंथलीहरूलाई थाहै छैन, पर्वाह छैन।कसलाई, के फरक पर्‍यो खै ? खिलखिल हाँसिरहेकै छ हिमाल।त्यो धुप्पी मलाई हेर्दै, नहेरी उभिरहेको छ।फूलहरू ढकमक फुलिरहेछन्।अघि बिहान लिजाको यूनिर्फम धुने कोशिश गरें।सकिनँ।उसको जिउबाट खनिएको रगतलाई पखालेर मैलो नालीमा कसरी बगाइदिनु ? हातमा समातेर एकझरी फेरि रोएँ।यो सब के होला ? फूलै, फूल छ चारैतिर तर ऊ छैन।उज्यालै, उज्यालो छ, तर ऊ छैन, कतै छैन।बथानका बथान गौंथलीहरू मलाई निच्याएर आकाशभरि खेदा, खेद गर्छन् एकअर्कालाई।लिजालाई कोही सम्झँदैनन्।
रिस उठ्छ, मन दुख्छ।सारा संसारको बत्ती निभाइदिनु मनपर्छ।साँझले दिनमा पर्दा तानेपछि मनमा शीतल लाग्छ।मलाई उदासी मनपर्छ, अध्यारो ठीक लाग्छ।पश्चिमआकाशमा ल्याप्पै पोतिएको रातोले मलाई जिस्काउँछ।पंक्तिका पंक्ति पहाडहरू उब्रेको एक मुठ्ठी प्रकाश खोसाखोस गर्दै कालो फौजी पोशाकमा मलाई मुक हेर्छन्।एउटा लहरले म हुँ क्षितिज भन्छ अनि अर्को लहरले त्यो हैन, म हुँ भन्दै पछिल्तिरबाट मलाई चियाउँछ।परमेश्वरको अनन्तताले मलाई घोंच्छ।ऊ छैन। तर ... तर ... उहाँ हुनुहुन्छ।ऊ नहुनु सत्य हो अनि उहाँ हुनु पनि त सत्य।यी दुइटा सत्यको दुइटा ढुङ्गा टेकेर मैले जीवनको सन्तुलन खोज्नु परेको छ।लिजाको मृत्यु संसारको पहिलो मृत्यु होइन।अन्तिम पनि होइन।तर मेरो लागि त ऊ मात्रै मरेकी छ।अरु सब जिउँदै छन्, सब जीवित छन्।
आवाज, आकृति आँखाअघि आइरहन्छन्।झ्यालबाहिरबाट जाने प्रत्येक यूनिर्फमभित्र म उसलाई देख्छु।त्यो दिन उसले अन्तिमपल्ट मलाई हात हल्लाई र साँच्चिकै बिदा पनि भई, सधैंको लागि।उसले हाँसेर हात हल्लाई र कुदेर गई।तर म हाँस्न सक्दिनँ।"हाँसिदेऊन आमा" भनिजस्तै ऊ त्यो झ्याल बाहिर हाँसिरहन्छे।मलाई पर्खिरहन्छे।परमेश्वरको नासो नै रहिछ यो लिजा।उतै फर्केर गई।मेरो बगान उजाड, शून्य भयो।स्वर्गको फूलबारीमा ऊ फक्रेकी होली।मेरो जीवनको सब संगीत बन्द भयो, स्वर्गमा उसको गीत आरम्भ भयो होला।यहाँ सब रोकिएको छ, अचल छ, त्यहाँ उसको नाँच शुरु भयो कि ?
उसको मायामा म बेस्सरी रुन्छु।सिरानी लफ्रक्क बन्छ।अनि म सोच्छु मैले परमेश्वरको मर्यादालाई भुल्नु हुन्न।अब मेरोलागि लिजाको सम्झना नआउने पलै छैन, तर परमेश्वरलाई इन्कार गर्ने दिन पनि आउनुहुन्न।मेरो चित्त फाट्छ घरीघरी।एक पल उसलाई सम्झन्छु, धरधर रुन्छु, अर्को क्षण फेरि बल गरेर परमेश्वर सम्झन्छु।कसिएको गलाभित्रको च्यातिँदै र टुक्रिँदै म ध..न्य..वा...द .भन्छु उहाँलाई।मेरी लिजाको लागि उहाँलाई धन्यवाद भन्छु।मेरी छोरी प्रभुलाई धन्यवाद भनिनु लायककी छै्न र ?
उसले इत्रु सोरले, इत्रु ओंठले उहाँलाई सुत्नअघि, खानुअघि प्रार्थन गरेकी कसरी भुल्नु र्? ईश्वरलाई सरापेर म लिजालाई अपमान गर्न माग्दिनँ।लिजालाई मरिमेटेर स्वर्गीय निर्णयको बाधक बन्न माग्दिनँ।म उसकी आमा अनि म उहाँकी छोरी।जुन राज्यमा लिजा गई त्यो राज्यको राजासँगमैले लड्नु हुँदैन।उसलाई भेट्ने हो भने म त्यहाँ एक दिन पुग्नुपर्छ।त्यो राज्यको बाहिर भए भने उसलाई कसरी देख्छु ?
यो ठाडो उकालो चढने मलाई स्वर्गको हुकुम भएको छ, यो (हिमाल, फूल, घाम, रूख अनि चराले भरिएको) यो कठीन मरुभूमिमा हिँड्ने मलाई आदेश भएको छ।लछेप्रै प्रश्नको बाढले मलाई छोप्न खोज्छ।के म परमेश्वरको सुखको साथी मात्र हुँ ? हरियाली खर्कमा मात्रै म रमाउनु ? घोर अन्धकारमा मृत्युको छाया परेको गोरेटोमा चैं गनगनाउनु ?
म धेरै सोच्न सक्दिनँ।मनै थाकेर आउँछ।विरक्तै लाग्छ।छाती खोर्सिरहन्छन् सम्झना र झझल्कोले।दिन-दिन जिउँदै मर्ने र मर्दै जिउने आज्ञा भएको छ।मैले अब एक, एक मिनट गरी बाँच्नुपर्छ।म केही जान्दिनँ, म केही बुझ्दिनँ, म केही भन्दिनँ।म के भनूँ ? म ता यति मात्र भन्नसक्छु,.....चाहे दाखको बोटमा फुल न फुलोस् चाहे मेरो स्थितिमा सुधार न होस्.....मैले निश्चय गरेको छु, रमाउनु येशूमा....। अरु के भनूँ..?    

Newer...
Older...
&lt&lt Previous          
Hits: 5104
Comments (1)add comment
...
written by deelu , February 14, 2010

jai mashi n god bless u am so happy ho hami ma dhairye hunu abasyakta 6 hami ayubko jindaki lai herna sak6u hainara dukha pani lagyo malai tapaiko ghatna bata tara parmeshwor le j garnuhun6 ramrai garnuhun6 don't worry gob help u god care u



Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Wednesday, 04 June 2008 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement