|
केही समय अघि प्राप्त इ-मेल अनुसार, हालसालै भारतको हैदरबाद स्थित एउटा क्लिनिक संचालन गर्ने डाक्टरले आफू एच.आई.भी. संक्रमित भएको थाहा पाएपछि, उनले आफ्नो क्लिनिकमा आउने सबै विरामीहरूमा यो प्राणघातक रोग सार्ने अठोट गरिन्।उनले त्यहाँ जाँच्न आउने विरामीहरूलाई औषधीमा आफ्नो रगत मिसाएर सूई दिने गर्न थालिन्।उनको क्लिनिकमा प्रयोग गरिने कुनै सामानहरू निर्मलीकरण (स्टरलाइज) गरिएका हुँदैनन्।यसको फलस्वरूप गएको दुई वर्षमा उनीकहाँ उपचार गर्न आउने विरामीहरूमध्ये २२ जना एच.आई.भी. संक्रमित भएको प्रमाणित भएको छ र उनीसँगै काम गर्ने गरेकी नर्सका अनुसार यी डक्टरको उपचारका कारण आफूलाई पनि एच.आई.भी. भएको बताउँछिन्।यो ईमेल शायदै सत्य होला।यद्यपि, एकछिन विचार गरौं डाक्टरले यस्तो किन गरिन् ? के उनी बौलाहा हुन् ? कि के हुन् ? …….
हामी यही घटनालाई आधार बनाएर बाइबलले के भन्छ हेरौं । "...तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ।नघबराओ, किनकि यी हुनु आवश्यक नै छन, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन।किनभने जातिको विरूद्धमा जाति, र राज्यको विरूद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्।तर यी सब त प्रसववेदनाको शुरू मात्र हो।तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्।तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ।धेरै झूटा अगमवक्ताहरू खडा हुनेछन्, र धेरैलाई बहकाउनेछन्।दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ।अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।(मत्ती २४:१-१४) तब तिमीहरूलाई कसैले हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन् भन्यो भने विश्वास नगर।किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू खडा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। '' (मत्ती २४:२३-२५)
के २००० वर्ष अघि येशूले बोल्नुभएको वचन आज पूरा हुँदै गरेको हामीले अनुभव गर्न सक्छौं ? केही वर्ष अघि हामीले यस्ता कुराहरू सुन्ने मात्र गरेका थियौं।तर अब यी कुराहरू हाम्रै आँखा अगाडि घटिरहेकाछन्।जातिको विरूद्धमा जाति उठेका छन्। हाम्रै देशको सन्दर्भमा हेर्ने हो भने पनि यो वचन पूरा हुँदै गरेको हामी देख्छौं अब नेपाली भन्ने हराए जस्तो देखिन्छ – जाति जातिको विरुद्धमा हाम्रै नेपाली दाजुभाइहरू उठिरहेका छन्। कहिं मधेशी त कतै थारू कतै लिम्वूवान त कतै पहाडी, यस्ता अरू धेरै...।तर येशूले भन्नुहुन्छ यो त प्रशववेदनाको शुरू मात्र हो, त के हामी यी र यी भन्दा भयानक स्थितिको लागि तयार छौं ? 'बाइबलमा येशूले स्पष्ट भन्नुभएको छ "...जातिको विरूद्धमा जाति, र राज्यको विरूद्धमा राज्य उठ्नेछ...।'' मत्ती २४:७ यी सबै कुराहरू हामीले आज हाम्रै आँखा अगाडि देखिरहेका छौं। टि. भीमा यस्तो कुनै समाचार हुन्न जहाँ युद्धको समाचार नहोस्, वा हत्या र हिंसाको समाचार नहोस् नता रेडियोमा नै शान्ति र समृद्धिको समाचार सुन्न पाइन्छ।
हो, हामीले यी कुराहरू देखेका छौं भोगेका छौं र परमेश्वरको वचनले पनि हामीलाई सचेत पारेको छ।के त्यो डाक्टरलाई पनि एच.आई.भी. को ज्ञान थिएन होला र ? उनलाई उपचारार्थ कुनै पनि समय विरामीबाट एच.आई.भी. सर्न सक्छ भन्ने कुराको ज्ञान थिएन होला र? उनले यो खतराको बारेमा सिकेकी थिइन्, जानेकी थिइन्, तर के भयो ? उनको अवस्थाबाट हामीले यो अड्कल काट्न सक्छौं कि उनमा ज्ञान भएर पनि उनी तयार थिइनन्।जसको फलस्वरूप, उनले यस्तो भयानक र डरलाग्दो अपराध गर्न पुगिन् अथवा अरु मानिसको ज्यान बचाउने डाक्टर आफै उनीहरूको ज्यानको दुश्मन बनिन्।यो सब किन भयो ? कारण एउटै मात्र छ- उनी तयार थिइनन्।आज हामी प्रभुका दासदासीहरूलाई यो घटनाले सचेत गराओस् किनकि हामी सबैलाई अन्त्यका दिनहरू यस्तो हुन्छ वा उस्तो हुन्छ भन्ने ज्ञान छ – डाक्टरको जस्तै; तर के हामी ती दिनहरूको सामना गर्न तयार छौं ?
निश्चय ज्ञान र बुद्धिमा हामी तयार छौं पनि होला तर शारीरिक रूपमा र आत्मिकी रूपमा हामी कति तयार छौं किनभने सङ्कष्ट निश्चय आउँछ र त्यो आउने नै छ र यदि हामीले यी कुराहरू जानेका मात्र छौं तर सम्पूर्ण रूपमा मनमा, शरीरमा र आत्मामा सामना गर्न तयार छैनौं भने हाम्रो अवस्था त्यही डाक्टरको जस्तै हुन पुग्छ र हामी हाम्रो मिशनमा असफल बन्न पुग्छौं।
हामीले स्वस्थकर खाना खाएर ठीक व्यायाम गरेर हाम्रो शरीरलाई तन्दुरूस्त राखेर- शारीरिक तयार गर्न सक्छौं।बाइबलले हामीलाई मनमा तयार कसरी रहन सक्छौं भनेर फिलिप्पी ४:८ मा सिकाउँछ। ''अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्याय-सङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रंशसाको योग्य केही छ भने यी नै कुराका विचार गर ।'' हो यिनै कुराहरूले हामीलाई उहाँको दोस्रो आगमनको लागि तयार हुन सहायता मिल्छ।बाइबल पढेर, अन्य ख्रीष्टियन पुस्तकहरू पढेर, आफ्नो वरपरका घटना र अवस्थालाई विचार गरेर समसामयिक विषयहरूमा सचेत रहेर हामी मनमा तयार रहन सक्छौं भने आत्मिक रूपमा कसरी तयार हुन सक्छौं ? के प्रार्थना गरेर मात्र पुग्नेवाला छ र ? "हाम्रो युद्ध रगत र मासुको होइन" भनी पावल प्रेरितले भन्नुभएको छ।"हाम्रो युद्ध त अन्धकारका सांसारिक शक्तिहरूको विरूद्धमा हो।" एफिसी ६:१२ के हामी निहत्थे युद्ध लड्न सक्छौं र ? के हामी निहत्थे रणभूमिमा गयौं भने हाम्रो हार निश्चित हुन्न र ? हो, रणभूमिमा निहत्थे गयौं भने हार निश्चित हुन्छ र हामी हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौं। उसो भए यो आत्मिकी युद्धको लागि कसरी तयार गर्ने त ? एफिसी ६:१४-१८ मा प्रेरित पावलले हामीलाई आत्मिकी हतियारको बारेमा बताउनुहुन्छ – हामीले यो खण्डलाई हेरौं र आफैलाई जाँचौं। ''यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खडा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर।यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।'' (एफिसी ६:१४-१८)
के हामी तयार छौं ? के हामीले यी सबै आत्मिकी हातहतियारलाई धारण गरेका छौं? होशियार रहौं ! हामी कहाँसम्म सत्य छौं ? हामीले धार्मिकताको वस्त्र पहिरेका छौं कि छैनौं? हामी मिलाप गराउनेहरू भएका छौं कि झगडाको कारण बनेका छौं ? दुष्टको अग्निबाण निभाउन सक्ने विश्वासको ढाल हामीले उठाएका छौं कि छैनौं ? प्रभु येशू विजयी हुनुहुन्छ।युद्ध उहाँले जितिसक्नु भएको छ।उहाँमा हाम्रो जय छ।के हामीमा यो विश्वास प्रबल छ ? येशूको रगतमा हामीले पाएको छुटकारामा कति ढुक्क हुनुहुन्छ ? र परमेश्वरको वचनमा कतिको गम्भीर हुनुहुन्छ ? हामी आफै एकछिन विचार गरौं के हामी तयार छौं –
(I) येशूको दोस्रो आगमनको लागि? (II) संसारिक अन्धकारका शक्तिहरूसँग युद्ध गर्न र विजयी हुनका लागि? वा त्यही डाक्टर जस्तै छौं – हारेको ? निराशाले ढाकेको ?? लक्ष्यबाट विमुख भएको ??
Newer...
Older...
Trackback(0)
|