| व्यभिचार (continued) |
|
|
|
| |||
|
"तपाई बाइबल पढ्नु हुन्न कि क्या हो ? त्यसबारे केही पनि लेख्नु हुन्न ..." उसले श्रीलाई कोरियामा लेखेकी थिई एकपल्ट, "म भने प्रत्येक आशिष् बाँड्छु।के, के पढ्दैछु,, देख्दैछु लेखी, लेखी वाक्क बनाउँछु हगि तपाईलाई ?" उत्तर आएथ्यो, "कैले, कैले पढ्छु।पूरै पापी त कहाँ हुँ र कान्ता ? बेला बखत प्रार्थना पनि गरिहाल्छु।तिमीले मेरो लागि पनि पढ्नू है, अनि मेरो हिस्साको प्रार्थना पनि तिमीले गरिदिनू है ? कोरियामा त बियर, सियरको पनि चलन छ, कहिले कहिले त ..." श्रीको पत्रमा यो सब पढ्दा, देख्दा, र श्रीले कहिले पनि प्रभुको कुरा उल्लेख नगर्दा कान्ताको मन औडाहाले भरिन्थ्यो।प्रार्थना गर्न लाग्थी।कोरिया पुगेपछि श्रीकान्तले पठाएको पहिलो पत्रको याद ताजा छ कान्तालाई।पहिलो पत्र।श्रीले उसलाई लेख्छ भनी उसले चिताएकै थिइन।मैत्रीपूर्ण भावमा लेखिएको पत्रको उसले पनि सरल उत्तर लेखी, चर्चको हाल खबर, सभा, संगतिको चर्चा गरी र एक, दुई प्रार्थनाको विषय पनि लेखी। यो निर्दोष आदान-प्रदानले एक दिन उनीहरूलाई प्रणयको सम्बन्धसम्मै डोर्याउने छ भनी उसले कल्पना गरेकी थिइन।श्रीले पाँचौं पत्रमा त्यो कदम उचाली छाड्यो। "म तिम्रै यादमा डुबेर बस्ने भएको छु, दिन रात कान्ता, तिम्रो निर्णय के छ ? मलाई तिम्रो हृदयमा स्थान दिनसक्छयौ ? नेपालदेखि दूर देशमा आएर मेरो मनको कुरो बताउँदैछु, म तिमीलाई धेरै माया गर्छु यो जीवन तिम्रो साथसाथ बिताउन पाए म आफैलाई पृथ्वीमा सबैभन्दा लकी मान्छे सम्झन्थे।" श्रीको प्रेम-प्रस्ताव यसरी आएको थियो।कान्तालाई आफै आकाशबाट खसेजस्तो लाग्यो त्यो दिन।दशचोटी पढी अनि दशैपल्ट उसलाई विश्वास लागेन उसले के पढिरहिछ। कान्ताजस्ती प्रभु भक्तिनीको निम्ति यो साधारण घटना थिएन।हरेक विषयमा प्रार्थना गरेर प्रभुको इच्छा धुँइपत्तो लाउने कान्ताले मौका नै पाइन आफूलाई यो अप्रत्याशित निवेदनको लागि तयार पार्ने।मनको तुलबुली बोकेर मनले खाएको चर्चकै एक साथी सुनीताकहाँ दौडी।दशचोटी सुनीतालाई भन्न लगाई उसले सुन्न लागेको कुरा कसैलाई बताउने छैन उसले।सुनीताले उसलाई पूरा ढाडस दिलाएपछि कान्ताले मुख खोली।तर सुनीता कति पनि आत्तिएकी देखिन कान्ताले उसले त शान्त, सहज रूपमा यति ठूलो विषयवस्तुलाई विश्लेषण गरिदिई, "चर्चभरिकीी युवतीहरूमा तिमीलाई नै यो कुरो लेख्नुको अर्थ के हो भन त कान्ता ? उसले तिमीजस्ती सोझी, आत्मिक, गम्भीर व्यक्तिलाई जीवन साथी बनाउने बिचार गरेको छ।पिरोलिन्छौ किन ? प्रभुलाई चिनेको मान्छे हो, बप्तिस्मा पनि भएको, आर्थिकमा पनि बलियो... अरु के चाहियो ? स्वर्गैबाट आवाज आउँछ भन्छौ कि क्या हो ? कोरिया पुगेको मान्छे त भाग्यको कुरो हो कान्ता ..." "क्या हो यो सुनीता त" कान्ताले बोर मानी, "प्रभुका जनहरूले भाग्य, दूर्भाग्य मान्छ कि क्या हो ? कोरिया, अमेरिकाको प्रश्न होइन, प्रभुको इच्छाको कुरा पो गरेकी मैले।कोरिया आफ्नो ठाउँमा छ, तर परमेश्वरको इच्छा नकेलाई धन-सम्पत्ति हेरिन्छ र ?" "हुन्छ भन लाटी, हुन्छ भनेर लेख, त्यही हो प्रभुको इच्छा ...तिमीभन्दा त बरु लाटोकोसेरोको बढी बुद्धि छ कान्ता।महा लाटी छौ तिमी, धेरै मूर्ूख नबन" भनेर सुनीताले उसको कोखिला चिमोटी। दश दिनको लामो सोच-बिचार, प्रार्थना, प्रभुमा पर्खाइ र सुनीतासँगको सरसल्लाहपछि उसले श्रीकान्तलाई ढुकढुक हुँदै पत्रको जवाफ पठाई।कलम समातेको औंलाभरि पसीना आएको थियो, "दाइ, म के भनूँ।मैले हुन्छ भन्दा तपाई मलाई सिरियसली नलिनुहोस् है ? के भन्नु, नभन्नु मैले ढुक्क बनेर भन्न सकिरहेकी छैन।मलाई पनि त तपाईको सम्झना आइरहन्छ हिजो,आज।म यति मात्र भन्छु प्रभुको इच्छा रहेछ भने हाम्रो सम्बन्ध गहिरो र बलियो बन्दै जानेछ।यो सम्बन्धलाई हुर्काउनु उहाँको आत्माले हामीलाई मद्दत गर्नुहुनेछ।प्रभुको आत्मा दिन, दिन तपाईसँग र मसँग यस विषयमा बोलून्।तपाईलाई पनि माया गर्ने, कान्ता श्रीले गद्गद बनेर कान्तालाई लेखीहाल्यो।उसको स्वीकृतिले उसलाई कति ठूलो आनन्द मिल्यो, कति धेरै उसले प्रभु, परमेश्वरलाई धन्यवाद भन्यो र कसरी ऊ त कान्ताको पत्र पाएदेखि आकाशमा उडिरहेको छ भनी श्रीले आफ्नो पत्रमा आफ्नो उत्साहको वर्णन गर्दा कान्ता बेस्सरी रमाएर मुखभरि मुस्कान छरेर सबैसँग बोलेकी थिई त्यो दिन।उसँग दिन र समय मिलाएर श्रीले एक हप्तापछि एउटा नम्बरमा कान्तालाई फोन पनि गर्यो।कान्ता त थोरथोरै बोलेर लाजले कति रातो बनेकी थिई।पत्रको आदान-प्रदान चलिरह्यो। तर सुनीताको अघि त कान्ता साँच्चै महा लाटी नै हो।छक्क परी कान्ता।कोरियाबाट श्रीले लेखेको थियो, "सुनीतालाई बर्थ डे कार्डको लागि धन्यवाद भनिदिनू है।खै तिम्रो ?" सोझी कान्ता झसङ्ग बनी।पर्सिपल्ट चर्च सेवाको दिन उसले प्यारसँग सुनीताको चुल्ठो पक्री, "अर्काको मान्छेलाई कार्ड पठाउनु लाज लाग्दैन ?" सुनीता पुरानो, सहज शैलीमा बोली, "सरप्राइज दिएको नि।किन भोक, निन्द्रै गुमाकी ? फर्केर आउँदा दाइले हामीलाई पनि प्रेजेन्ट ल्याइदेलान् नि ? श्री दाइको मुटु, कलेजो सब तिम्रै भइहाल्यो नि मोरी, किन आत्तेकी ?" कान्ताले दुई सेकेण्ड मुख फुलाई, आँखातरी अनि हाँसो थाम्न नसकेर खिलखिल हाँसी।श्रीकान्त अब उसकी भन्ने वाक्यले उसको कल्पनालाई नै कता उडाइदियो, गर्व लाग्यो, सन्तोष पनि।मनको काउकुती लुकाउन नसकेर सुनीतालाई अङ्गालेर उसको गालामा गाला जोडेर कानमा भनी, "पाउलिस् प्रेजेन्ट .." चोखो, शान्त मिजासमा आफ्नो जीवन-डुङ्गा सुस्तरी बढाइरहेकी कान्तालाई थाहा भएन कि सुनीता र श्रीकान्तको बीचमा दुईचार इमेल र दुईचार कार्डको आदान-प्रदान भइसक्यो।श्रीकान्तबाट आउने पत्रको संख्या घट्दै जाँदा पनि राम्रो भेउ भएन कान्तालाई।हजार, हजार चुम्बन भनेर लेख्ने र उसलाई के-के लेखेर लाज र संकोचको तालमा डुबाउने पत्रहरूका भाषा र भाका फेरिन लागेको कुरोमा आवश्यक ध्यान गएन कान्ताको।उसलाई मरिमेट्छु भनी शून्य रातमा कविता कोरि पठाउने व्यक्तिले सरल, संक्षिप्त भलाकुसारी मात्र लेखिपठाउँदा कान्ताले त्यो कुरोलाई श्रीकान्तमा आइरहेको परिपक्वताको चिन्ह ठानी।उसले अरुलाई आफूजस्तै ठान्दा के, कति अनर्थ भइसकेको छ, फेरि पनि बिर्सी एक दिन उसको मुटु-कलेजो सबै एकैचोटि काप्यो।कसैले उसलाई श्रीकान्तको हातेपत्र थमाइदियो।श्रीले लेखेको थियो, "यो हप्ता म काठमाडौ आउँदैछु..." श्री आउँदैछ ? हे प्रभु, के गर्ने ? कसरी भेट्ने ? के भन्ने ? आफ्नै श्रीलाई साक्षात, आमने-सामने भेट्नुपर्छ भनी सोच्दा उसका गाला, कान, सब तात्तिए, हात, गोडा फतक्क भए।खुशीले ऊ मग्न बनी।आफ्नो दशासँगआफै दङ्ग परी। "एयरपोर्ट आउनुपर्दैन।मै सम्पर्क गर्छु जरुरी कुरो छ।यो पत्र उतै जाने साथीको हातमा पठाउँदैछु।अरु भेटमा ..." उता गएको दश महिनामा नै श्री आउन लागेको ? अस्तिनै किन नबताएको होला ? आफै आउने रैछ र पो पत्रहरू पनि छोटो, छोटो लेखेको .. ... खुशी लाग्यो, डर लाग्यो, लाज लाग्यो, सब एकैचोटि।उनीहरूको माया प्रीति, लभ, प्रेम, प्रणय जे भने पनि आजसम्म पत्रमा नै सीमित थियो।अब त मान्छेलाई साक्षात भेट्नुपर्ने उफ यो मन किन यसरी आत्तिएको ? किन उताउलो बनेको ? जरुरी कुरो के होला त्यस्तो ? खुब रहस्यमयी बनिटोपलेको होला नि।केही त अवश्य ल्याइदिएकै हुनुपर्छ।नल्याए पनि के त ? मान्छे नै आफ्नो।प्रभुको योजनामा यो सम्बन्ध गाँसिएको छ, त्यो मुल कुरो हो।ऊ आउने दिन अलि श्रृंगार गर्ने कि ? खै के हो के हो।कान्ताले त्यो दिन आफूलाई धेरै पटक ऐनामा हेरेकी पत्तै पाइन। श्रीले उसलाई एउटा आकर्षक टेबल क्लक र लेडिज ब्याग ल्याइदियो।लाजले पानी पानी बनेकी कान्ताले उसलाई सोझै हेर्न पनि सकिन।उपहार हातमा लिँदालिँदै उसले सुनी, "कान्ता, यो हाम्रो मिलनको उपहार नठान्नू है।यसलाई बिदाइको चिनारी सम्झ।तिम्रो र मेरो अब सम्बन्ध छैन।मैले मेरो योजना परिवर्तन गरें।मलाई माफ गर ..." भेट भएपछि पहिलोपल्ट झसङ्गै बनेर उसले श्रीलाई पुलुक्क हेरी।केही आँखामा लाएकी थिई, केही गालामा पनि।अलि बढी दुःख गरेर कपाल मिलाएकी थिई।लाउँदै, उतार्दै, ऐनामा दशचोटि हेरेर उसले यो नीलो कुर्ता बल्ल, बल्ल छानेकी।के भनेको उसले ? कान्ताको विह्वल, अलमल्ल हेराइले श्रीकान्त दच्कियो, कान्ताका आँखाभरिको अबोध, अनभिज्ञ प्रश्नले उसको विवेकलाई पोलिदियो।के बोलुँ, के भनुँको दोधारमा श्रीकान्तको ओठले यतिमात्र उच्चारण गर्नसक्यो, "मलाई माफ गर कान्ता ..." फनक्क फर्केर श्री हिँडिहाल्यो।एक शब्द बोल्ने मौका पाइन आश्चर्यको संगिन गिरफ्तारीमा परेकी कान्ताले।ऊ गएको ढोकातिर हेरि रही धेरै बेर । दुई घन्टापछि सुनीतालाई आफ्नो ढोकामा देख्दा किंमकर्तव्यविमूड कान्तालाई हल्का लाग्यो... धेरै हल्का। "श्री दाइले पठाउनुभएको मलाई।तिमीलाई सम्झाउनु आएकी " थकित आँखाले उसले उसलाई हेरी।श्री हिँडेपछि पहिलोपल्ट उसको घाँटीबाट आवाज निस्कियो, हल्का, मधुर, "के हो कुरो सुनीता ? कुरो के हो ?" कान्ताको विचलित मुहार हेर्ने ताकत सुनीतामा थिएन।घुमौरो कुराले कान्ताको यातना बढाउनु हुँदैन भन्ने सत्य उसलाई स्पष्ट भयो।भूइँतिरै आँखाझुकाएर सुनीताले भनी, "कान्ता, सुन, तिम्रो पीडा र वेदनाको कारण म हुँ।आजकल श्रीले मलाई मन पराउँछ ..." आफूले सधैं बोल्ने भाषाको यो सरल वाक्य बुझ्न धेरै बेर लाग्यो कान्तालाई, एक युग नै लाग्यो।भूइँमा केही खोजेझै यता, उता हेनलागी।अपरिचित व्यक्तिलाई ठम्याउन खोजेजस्तैगरी उसले सुनीतालाई हेरी, "तिमी ?" श्रीको एउटा अनि सुनीताको अर्को गरी उसले दुवै गालामा दुईटा थप्पड खाई आज।त्यही काम पूरा गर्न सुनीता आएकी होजस्तो लाग्यो कान्तालाई। तनमा ओडेको नयाँ कपडा अनि नयाँ कपडामाथि सुनीताले छरेको नौलो सेन्टको वास्तविकताले बल्ल पो कान्तालाई गिज्यायो।कान्ता झस्की। कुरा बुझ्नलागी उसले।आँखामा उर्ली आएको पानी सुनीताको अघि नपोखाऊँ भनी झट्ट किचनतिर हिँडी।भित्र पुगेर बिहान दशचोटि मिलाएको त्यो आकाशे रङ्गको चुन्नीले आँखाछयाप्प छोपी, दाँत बाँधेर आँसुलाई रोक्न खोजी ... सुनीताको आवाज पल्लो कोठाबाट आयो, "कान्ता, म गएँ।फेरि भेट्छु।प्लीज ...हामीलाई माफ गर ..." विवाहको दिन ...कान्ता चर्च भवनपछाडि युवा संगतिका भाइ, बैनीसँगमिलेर ठूल्ठूला दाउरा मिलाइरही, ठूल्ठूला डेक्चीबाट बाटाहरूमा भात, मासु पस्कँदै पठाइरही।जनताको सामु देखाहा परिन्।राति जीउ दुख्दा थाहा भयो कति धेरै काम गरिएछु।जीउभन्दा मन अझ बढी दुखिरहेथ्यो।कोठाको अँध्यारोलाई विश्वास गर्न नसकी सिरकको सहारा पक्रेर रोई कान्ता, भरपूर रोई।कत्रो धोका।त्यति दिन उनीहरूको बीचमा के के चलिरहेको रैछ।हाँसेर बोल्थी, जिस्केर बोल्थी, चिमोटेर बोल्थी सुनीता।बताएको भए हुन्थ्यो।मन बुझाउँथें।श्रीले आउँदैछु मात्र भनेथ्यो त्यो छोटो पत्रमा।सुनीतासँग विवाह गर्न आउँदैछु भनिदेको भए कति वेश हुन्थ्यो।अन्तिम घडीसम्म त्यसरी लाटी, मूर्ख बनेर त पर्खने थिइनँ ... बाटो नै हेर्ने थिइनँ, जानी, नजानी सिँगार गरी पर्खने थिइनँ। श्रीकान्त सुनीताको लागि पनि भिसा मिलाएर आएको थियो।उनीहरू कोरियाको लागि उडेकै साँझ नाइट बसमा कान्ता कालेम्पोङ हिँडी।साथीकहाँ मन भुलाउन गएकी झनै नियास्रो लाग्यो।श्रीकान्तको यादले सताइ नै रह्यो।माया होइन जलन थियो उसको हृदयमा।रिस, क्रोध र ग्लानीको अग्निमा जलिरही, जलीरही कान्ता।उसको सरल जीवनमाथि उनीहरूले निर्धक्क खेलेको त्यो विभत्स नाटक सम्झेर कान्ताको आक्रोश मौन विष्फोट बोकेर आकाशसम्म पुग्थ्यो।विश्वासी इसाई जनहरूबाट यस्तो क्रूर खेलाइँची ? सकी, नसकी प्रभुलाई पुकार्थी।वेदना देखाउँथी ... पास्टरबाबुलाई राम्रो निन्द्रा लागेन।छटपटीको बीचमा उनले प्रभुलाई प्रार्थनामा पुकारि रहे।बिहान कान्तालाई व्यक्तिगत भेट्ने र कुरा गर्ने निर्णय गरे उनले। बाटोभर विवेकको मनमा तूफान मच्चिरहयो।पाँच वर्ष पास्टरी सेवामा उनले यस्तो स्थितिको सामना गर्नु परेको थिएन।कान्ताले जाहेर गरेको अप्रत्याशित उद्गार सुनेपछि चुपचाप दुई घुट चिया पिएर उनले बिदा मागे।कान्ताको घरबाहिर निस्कँदा कता जानपर्ने त्यो कुरोको पनि उनलाई ख्याल भएन।ज्ञानशून्य अवस्थामा उनी हिँडिरहे। २ कोरिन्थी १०:१३, उत्पत्ति ३४
Newer...
Older...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (1)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|













