ख्रीष्टियानहरू को हुन् ?

[ 14 ] September 5, 2015 |
Rev. Dr. Bal Krishna Sharma

रेभ. डा. बाल कृष्ण शर्मा, पिएचडी

१७ भदौ २०७२ मा प्रकाशित एक लेख मैले मेरा एक ख्रीष्‍टियान मित्र मार्फत फेसबुकमा प्राप्‍त गरेँ । त्यो लेख डा. शास्त्रदत्त पन्तज्यूले “इसाईहरूको चलखेल” नामक पुस्तकको ‘नेपालमा इसाईको प्रचार अभियान’बाट लिइएको एक अंश रहेछ । यस लेखमा ख्रीष्‍टियानहरूलाई सक्दो गलत आरोप लगाइएको छ । ख्रीष्‍टियानहरू को हुन् भन्‍ने यथार्थको कुनै अध्ययन बिना नै कपोकल्पित लाञ्छना लगाउनु ख्रीष्‍टियानहरूमाथिको चरम अन्याय हो र पुस्तकका लेखक नैतिक र कानूनी रूपमा दोषी छन् । जसले जे पायो त्यो भन्‍ने अधिकार कुनै व्यक्तिसँग पनि छैन र यसो गर्नु दण्डनीय हुन्छ भन्‍ने हेक्‍का यस्ता विद्धानलाई हुनुपर्ने हो । उनको होस् र बुद्धि खुलोस् भन्‍ने मेरो शुभकामना र प्रार्थना छ ।उनले आरोप लगाएका कुराहरू सरासर गल्ती भएका हुनाले उनका कुराहरूलाई आधार बनाई जवाफ दिनुको सट्टा वास्तवमा ख्रीष्‍टियान भनेको को हो र ऊ केको लागि संसारमा रहेको छ भन्‍ने बारेमा म यस लेखमा प्रष्‍ट पार्न चाहन्छु र उनको लेखाइका गलत सूचनाबाट कसैको मन भरिएको छ भने, यस लेखलाई पढी आफ्नो मन ठीक ठाउँमा ल्याउनका लागि पनि म आग्रह गर्न चाहन्छु ।

ख्रीष्‍टियान को हो भन्‍ने बारेमा बुझ्नका लागि हामी उनीहरूले पढने र यसका आज्ञापालन गर्ने बाइबलमा जानुपर्छ । बाइबलले ख्रीष्‍टियान को हो र उसले के गर्नुपर्छ भन्‍ने बारेमा स्पष्‍ट शिक्षा प्रदान गरेको छ । बाइबललाई नपढी र नबुझी ख्रीष्‍टियानहरूलाई बुझ्न सकिँदैन । मेरो विचारमा ख्रीष्‍टियानलाई दोष्याने यी विद्धानले बाइबल पढेकाछन् जस्तो मलाई लाग्दैन । पूरै बाइबल पढ्ने समय भएन भने पनि नयाँ करार खण्डलाई जहाँ येशूले ख्रीष्‍टियान को हो भन्‍ने बारेमा बताउनुभएको छ (मत्ती ५‑७ अध्याय) सो पढनका लागि म आग्रह गर्दछु । डा. शास्त्रदत्त पन्तले ख्रीष्‍टियानहरूलाई लगाएका कुनै पनि आरोपजस्ता कुराहरू ख्रीष्‍टियानहरूले गर्नुनै हुँदैन । त्यसैले उनका आरोपहरू यथार्थ नभई प्रतिशोध र ख्रीष्‍टियानहरूका चरित्रहत्यागर्ने नियतबाट उत्प्रेरित भएका कुरा बुझिदिनका लागि म सबैसँग अपिल गर्न चाहन्छु ।

म अंग्रेजी साहित्यको विद्यार्थी हुँ । मैले त्रिभुवन विश्‍वविद्यालयबाट अंग्रेजी साहित्यमा एमए गरेको हुँ र कलेजमा अंग्रेजी पढाउने काम पनि गर्छु । मैले अध्ययन गरेका विषयहरूमध्ये एउटा विषय बाइबल थियो । हामीलाई अनिवार्य रूपमा बाइबल पढ्नुपर्‍थ्यो । बाइबल पढ्नुको उद्देश्य बुद्धिप्राप्‍त गर्नु हो भन्‍ने मैले बुझेको थिएँ । विश्वमा सबैभन्दा बढी छापिने र बिक्री हुने र विश्‍वका धेरै भाषाहरूमा प्रकाशित भएको यस पुस्तक बाइबल नै ख्रीष्‍टियानहरूको जिउने आधार हो ।

अब उनले लगाएको आरोपलाई बाइबलीय आधारमा कसरी खण्डन गर्न सकिन्छ सो कुरालाई विश्‍लेषण गरौँ । उनले ख्रीष्‍टियानहरूलाई मओवादीका मतियार हुन् भन्‍ने आरोप लगाएका छन् ।

१ सिद्धान्तगत रूपमा माओवादीसँग ख्रीष्‍टियान अति अलग छन् । नास्तिक र आस्तिक दुइ विपरीत ध्रूब । एउटा अधिकारको लागि हिँसा गर्नुपर्छ भन्‍ने अर्को कसैले एउटा गालोमा चड्कायो भने अर्को गाला पनि थापिदिनुपर्ने सहनशीलता । द्वन्द्व कालमा माओवादी समूहले गरेका धार्मिक, भौतिक, शारीरिक आक्रमणमा ख्रीष्‍टियानहरूको कुनै संलग्‍नता छैन । धेरै ख्रीष्‍टियानहरू पनि माओवादीका आक्रमणबाट पीडित बनेका थिए ।

आफूलाई दुःख दिनेलाई पनि सेवा गर्नुपर्छ भन्‍ने बाइबलको मान्यता अनुसार ख्रीष्टियानहरूले कसैसँग पनि प्रतिशोध राख्दैनन् र क्षमा दिन्छन् । बाइबलले आफ्नो छिमेकीलाई आफैलाईझैँ प्रेम गर्न सिकाएको छ । आफ्नो छिमेकी भनेको सबै मानिसहरू हुन् । उनीहरू कुनै पनि जाति, धर्म, क्षेत्र, भाषा, देशका हुनसक्छन् र उनीहरू सबैलाई प्रेम गर्नुपर्छ र उनीहरू सबैको सेवा गर्नुपर्छ । यही दृष्टिकोणबाट हेर्दा संसारमा सबैभन्दा बढी सेवा गर्ने संस्थाहरू चर्चहरू नै हुन् । मदर टेरेसा, नेलसन मण्डेलाजस्ता विश्वविख्यात व्यक्तित्वहरूले बाइबलकै सिद्धान्तका आधारमा आफ्ना जीवन र सेवालाई अगाडि बढाएका थिए । ख्रीष्टियानहरू सबैसँगको मेलमिलाप र शान्तिमा जिउन चाहन्छन् र समाजमा शान्ति कायम गर्नका लागि क्रियाशील छन् । ख्रीष्‍टियानहरूले कसैको धर्म र संस्कृतिमा प्रहार गरेका छैनन् । उनीहरूका आफ्ना धर्म मान्‍नका लागि कसैलाई मनाही गरेका छैनन् ।

२  ख्रीष्टियानहरूलाई प्रेमको सन्देश बाँड्ने आज्ञा र अधिकार उनीहरूका प्रभु येशूले दिएका छन् । चर्च इतिहासको शुरूबाट नै ख्रीष्टियानहरूलाई दुःख दिने कार्य भइरहेको छ । तर पनि मानिसहरूले ख्रीष्टियानहरूको भलाइ वा बुराइ जे सोचे पनि उनीहरूले प्रेम र मिलापको सन्देशको घोषणा गर्न छोड्नुहुँदैन । आज नेपाललाई चाहिएको कुरा शान्ति, मिलाप र प्रेम हो । मिलापको वकालत गर्ने र यसको लागि काम गर्ने ख्रीष्‍टियानहरूलाई जातिय सदभाव खल्बल्याउने व्यक्तिहरू हुन् भनी भन्‍नु कति ठूलो अपराध हो । आज चर्चहरूमा जातिय सदभावको बारेमा प्रचार भइरहेको छ । ख्रीष्टियान चर्चहरूभित्र सबै जातका मानिसहरू अटाउँछन् र सबैलाई मानव बनेर जिउन पाउने इज्‍जत र सम्मान उपलब्ध छ । येशूको शिक्षाको कारण आफ्नो जीवन परिवर्तन भएको अनुभूति भइरहेको छ । यही प्रेम र क्षमाको शिक्षाले नै यो देशमा परिवर्तन ल्याउँछ । एउटा हिँसाले सयवटा हिँसा फलाउँछ भने एउटा प्रेम र क्षमाले सयवटा प्रेम र क्षमा फलाउँछ । विधि र धर्मकर्म भन्दा आन्तरिक परिवर्तन बाइबलको शिक्षा हो । यस किसिमको परिवर्तन गर्ने शिक्षा स्वीकार गरेर ख्रीष्टियानहरूले के गल्ती गरेका छन् । उनीहरू देशका सच्‍चा नागरिक बनिरहेका छन् । मानिसको मानसिकता परिवर्तन भएपछि मात्र उसको व्यवहार परिवर्तन हुन्छ र त्यही अनुसारको नतीजा पनि आउँछ । बाइबलको शिक्षाले मानिसको मनलाई परिवर्तन गर्छ र जसले गर्दा व्यवहारमा परिवर्तन हुन्छ ।

३ ख्रीष्टियानहरूले बाइबलको शिक्षाअनुसार पवित्रतामा जोड दिन्छन् । बाइबलले मानिसलाई परिश्रम गर्न, इमानदार हुन, सहयोगी भई पवित्र जीवन जिएर उदाहरण बन्‍न सिकाएको छ । बाइबलले सिकाएअनुसार ख्रीष्‍टियानहरूले बालविवाह, बहुविवाह, अनैतिक शारीरिक सम्बन्ध, व्यभिचार, समलिङ्गी अभ्यासलाई अस्वीकार गर्छन् । यस किसिमका अभ्यासहरू ख्रीष्टियानहरूबाट आएका हुन् भनी ख्रीष्टियानहरूलाई आरोप लगाउनुभनेको ख्रीष्टियानका बारेमा यथार्थ नभई भ्रम पालेर बस्‍नु हो ।

ख्रीष्टियानहरूले कुनै पनि राज्यका कुनै पनि राजनीतिज्ञहरूका सहयोग प्राप्‍त गरेका छैनन् । ती राजनीतिज्ञहरूले केवल धर्मका सम्बन्धमा मानव अधिकारको अभ्यासलाई जोड दिएका मात्र हुन् । विश्वमा मानव अधिकारको उद्देश्य सबै धर्महरूले एकसाथ जिउन पाउने अधिकार प्राप्‍त गर्नपर्छ र कुनै पनि धार्मिक अभ्यासमा बन्देज लगाउन मिल्दैन ।

ख्रीष्टियानहरूको धर्मशास्त्र बाइबलले परमेश्‍वरलाई एकमात्र सर्वशक्तिमान, सर्वव्यापी,सर्वज्ञानी, अनन्त, जीवित भनी व्याख्या गरेको र कुनै पनि आकारलाई पूजा नगर्नू भनी आज्ञा गरेको हुनेले ख्रीष्टियानहरूले मूर्तिपूजा गर्नुहुँदैन । यसो भन्दैमा ख्रीष्टियानहरूले संस्कृतिलाई नाश गरे भन्‍ने आरोपमा कुनै तुक छैन । संस्कृति भनेको मूर्तिपूजा होइन, यो त सेवा हो । नेपाली ख्रीष्टियानहरूले नेपाली भाषा लगायत मातृ भाषाहरू बोल्छन् र आफ्ना भाषाहरूमा बाइबल पढन पाएका छन् । उनीहरूले रोटी, भात, तरकारी, दाल, ढीँडो, गुन्द्रक खान्छन् । उनीहरूले अतिथि सत्कार गर्छन् र अरूहरूलाई सहयोग गर्छन् । एक अर्कासँग मिलेर खेतबारीमा काम गर्छन् । ऐँचो पैँचो गर्छन् । दुखः बिमारमा साथ दिन्छन् । अन्य धर्मालम्बीहरूसँग एकसाथ बस्छन् । उनीहरू बिरामी पर्दा बोकेर अस्पताल पुर्‍याउँछन् । के यो नेपाली संस्कृतिको भाग होइन ? अब संस्कृति बिगारे भनी आरोपको खातिर आरोप लगाउन मिल्छ त ? ख्रीष्टियानहरूको मुटु छोएर हेर्नुहोस् उनीहरू यस देशमा सबैभन्दा बढी देशप्रेमी छन् । यस देश आन्तरिक रूपमा परिवर्तन भएको उनीहरू देख्‍न र अनुभव गर्न चाहन्छन् ।

धर्महरूका बारेमा बहस गर्ने हो भने, सबैभन्दा बढी विकृति भएको धर्म हिन्दू धर्म नै हो । यो कुरालाई ख्रीष्टियानहरू वा मुस्लिमहरूले भनेका होइनन् तर यही धर्मबाट छुटेर गएका सिद्धार्थ गौतम र महावीरले भनेका हुन् । हिन्दूधर्मको हिँसावादले गर्दा उनीहरूले वेदको अधिकार र अस्तित्वलाई पूर्ण रूपमा अस्वीकार गरी नास्तिकहरूका रूपमा चिनिएका छन् । उनीहरूले शुरू गरेका बौद्ध धर्म र जैन धर्मको पहिचान नास्तिक छ । यी धर्महरूमा कुनै पनि ईश्‍वरको अस्तित्वलाई स्वीकार गरिएको छैन । हिन्दूधर्मको पूजाहारीपन, मूर्तिपूजा, जातप्रथालाई सबैभन्दा पहिले विरोध गर्ने र त्यसबाट अलग हुनेहरू ऊँकार समूहका नै हुन् । अनि अरू धर्मालम्बीहरूलाई त्यतिकै आरोप लगाउने ! यस विषयमा अझै गहन छलफल र बहस हुन आवश्यक छ ।

कुनै ख्रीष्टियानले गल्ती गरी बाइबलको शिक्षा अनुसार नचलेको पनि हुनसक्छ । उसको गल्तीलाई देखेर सबै ख्रीष्टियानहरूलाई एउटो भाँडोमा राख्‍नु अति नै अनुचित छ । आज हिन्दू धर्म, बौद्ध धर्म, इस्लाम धर्म मान्‍नेहरू पनि अपराधी छन् । उनीहरूले हिँसा, हत्या, अराजकता फैलाई रहेका छन् । यी धर्महरूभित्र समलिङ्गीहरू पनि छन्, फटाहाहरू पनि छन्, जँड्या, र गुण्डाहरू पनि छन् । यस्ता उदाहरणहरू लिएर सबै हिन्दूहरू अपराधीहरू हुन्, सबै बौद्धमार्गीहरू, सबै मुस्लिमहरू अपराधीहरू हुन् भन्‍न मिल्छ ? यस किसिमको विश्‍लेषण तर्कसंगत हुन्छ ? कदापि हुँदैन । यो सिद्धान्त ख्रीष्टियानहरूका लागि पनि लागू हुन्छ । आवेशमा आएर कसैलाई पनि दोष्याउनु न्यासंगत हुँदैन । हामीहरू सबैका आ‑आफ्ना धार्मिक आस्थाहरू छन् र यसलाई यसरी नै सहअस्तित्वमा रहन दिनुपर्छ । सबैलाई सहयोग गर्नपर्छ, त्यसो गर्न सकिएन भने कसैलाई पनि हानी गर्नुहुँदैन ।

(रेभ.डा.बाल कृष्ण शर्माले विभिन्‍न सेवाहरू प्रदान गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्‍वविद्यालयबाट अंग्रजी साहित्यमा एमए गर्नुभएको छ । उहाँले संयुक्त अधिराज्य बेलायतको वेल्स युनिभर्सिटीबाट सन् २०१० मा नेपालमा मृत्युसंस्कारः दहन, दफन, र ख्रीष्‍टियन पहिचान विषयमा विद्यावारिधि वा पिएचडी गर्नुभएको छ । उहाँले नेपालका प्रथम सम्माननीय राष्‍ट्रपति डा. रामवरण यादब ज्युका बाहुलीबाट सन् २०११ को सेप्टेम्बर महिनामा उहाँको विद्यावारिधि वा पिएचडी उपाधिको निम्ति सम्मानजनक शिक्षापदक र प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ । उहाँ नेपाल पिएचडी एशोशियसनका आजीवन सदस्य हुनुहुन्छ र हाल उहाँ नेपाल थियोलोजिकल कलेजका प्रिन्सिपल हुनुहुन्छ । उहाँसँग यस लेख सम्बन्धि र अन्य विषयमा परमर्श, छलफल गर्नुपरेमा उहाँको इमेलमा सम्पर्क राख्‍नुहुन विनम्र अनुरोध गरिन्छ । उहाँको इमेल यस प्रकार छः (balkrishnasharma60@gmail.com)

 

Facebook Comments

Category: Articles