नेपालमा ख्रीष्‍टियान डाक्टरहरूको बिगबिगी

Rev. Dr. Bal Krishna Sharma

Rev. Dr. Bal Krishna Sharma, PhD

रेभ. डा. बाल कृष्ण शर्मा, पिचडिमलाई धेरैपल्ट मित्रहरू र पत्रकार साथीहरूले नेपालमा भएका ख्रीष्‍टियान डाक्टरहरूका बारेमा एक लेख लेखिदिनका लागि अनुरोध गर्नुभयो तर लेख्‍ने कि नलेख्‍ने सम्बन्धमा लामो समयसम्म मलाई दुबिधा रह्यो । यो विषय संवेदनशिल भएको र अरूले प्राप्‍त गरेको ‘उपाधि’ मा प्रश्‍न गर्नु आवश्यक हो वा होइन भन्‍ने लाग्यो । एकातिर उपाधिको मोह र अर्कोतिर नैतिकता र यसको गहन जिम्मेवारीको बोध गर्नुपर्ने एक ख्रीष्‍टियान अगुवाको दायित्व गम्भिर भएको हुनाले लामो समयको संघर्ष र प्रार्थनापछि मैले यो लेख लेख्‍ने जमर्को गरेँ । यसलाई कसैले पनि व्यक्तिगत आक्रमणको रूपमा नलिदिनुहुन र तपाईंले प्राप्‍त गर्नुभएको डाक्टरको उपाधिले तपाईंलाई बेचैन गरिरहेको अवस्थामा तपाईंको सेवामा यसले सयहोग गर्नुको सट्टा अवरोध ल्याइरहेको हुनाले यसलाई त्याग्‍न र अध्ययनबाट डाक्टर उपाधि प्राप्‍त गर्न म विनम्र अनुरोध गर्न चाहन्छ । अहिले डाक्टरको उपाधिको मुकुट लगाउनेहरूमध्ये धेरैले अध्ययनको मार्फत सो उपाधि प्राप्‍त गर्नसक्‍नुहुन्छ र त्यसमा हामी सबै मिलेर सहयोग गर्न तयार छौँ भनी अनुरोध गर्न चाहन्छु । विगतमा डाक्टर लेखाउने कोही व्यक्तित्वहरूले डाक्टर शब्दको महत्व बुझेपछि वास्तवमै अध्ययनको मार्फत सो उपाधि प्राप्‍त गर्ने निर्णय र परिश्रम गरेका कारण आज त्यो उपाधि प्राप्‍त गर्नु भएकाहरूलाई म बधाई पनि दिन चाहन्छु ।

सन् १९९३ मा मैले भारतको श्रीरामपुर कलेज(विश्‍वविद्यालय)बाट हिन्दूइज्ममा एमटिएच प्राप्‍त गरेर नेपाल फर्केपछि धेरै जनाले मलाई पत्रमा डाक्टर बाल कृष्ण शर्मा भनी लेख्‍न लागे । यद्यपि म शिक्षाको क्षेत्रमा सन् १९८१ देखि नै संलग्‍न भएको हुनाले धेरैले मलाई त्यस हिसाबले सम्मान गर्न चाहन्थे । तर मेरो विवेकले कहिल्यै मलाई त्यो ‘डाक्टर उपाधि’ स्वीकार गर्न दिएन । मैले मेरो मनमा अठोट गरे अनुसार अध्ययनको माध्यमबाट नै त्यो उपलब्धि हासिल गर्नुपर्छ भन्‍ने निर्णले मलाई त्यसो गर्न लगायो र यसमा प्रभु येशूको अनुग्रह पनि प्रशस्त रह्यो ।

आज विश्‍वमा डाक्टर शब्दको दुरूपयोग गर्नेहरूमा ख्रीष्‍टियाहरू अग्रपंक्तिमा देखिएका छन् । ख्रीष्‍टियान अगुवाहरूले यसो गर्नुका कारणहरू विविध हुनसक्छन् । तीमध्ये एउटाचाहिँ मेहनत विनानै अरूहरूसँग प्रतिस्पर्धा गर्नु हो । नेपालमा ख्रीष्‍टियान अगुवाहरूले डाक्टर लेखाउने चलनको इतिहास त्यति लामो छैन । उनीहरूलाई यो शब्दले सामाजिक मान्यता दिने र अरूहरूका सामु आदरणीय हुनपाउने लोभले नै यसो गरिएको हो भन्‍ने मलाई लाग्छ । यो शब्द शैक्षिक उपलब्धीसँग सम्बन्धित भएको हुनाले यसलाई ध्यान पुर्‍याइएन भने यसले हाम्रो ख्रीष्‍टियान साक्षीमा ठूलो नकारात्मक प्रभाव पार्छ ।

ख्रीष्‍टियानहरूले अध्ययनबाट प्राप्‍त गर्ने डाक्टरका उपाधिहरू पनि विभिन्‍न किसिमका छन् । डाक्टर अफ मिनिष्‍ट्रि, डाक्टर अफ मिसियोलोजी बढी सेवासँग सम्बन्धित छन्, तर यी उपाधिहरू पनि अध्ययन र थेसिसका आधारमा प्रदान गरिन्छन् र मान्यताप्राप्‍त कलेज, विश्‍वविद्यालय वा सेमिनरीबाट प्राप्‍त गरिनुपर्छ । डाक्टर अफ थियोलोजी र डाक्टर अफ फिलोसोफी विशेषगरी शिक्षामा प्राप्‍त दखलसँग सम्बन्धित छन् र अध्ययन र थेसिसमा आधारित छन् ।

कुनै व्यक्तिले आफ्नो शैक्षिक उपाधि लेख्दा धेरै ठाउँमा डाक्टर लेखेर मात्र पुग्दैन । उनले कुन डाक्टर गरेका हुन् भनी लेख्‍नुपर्ने हुन्छ । उनले डिमिस गरेका हुन् वा पिएचडि गरेका हुन सो पनि लेखिने चलन छ । यसो गर्नुको कारणचाहिँ कुन क्षेत्रमा उनले शैक्षिक रूपमा अरूहरूलाई सहयोग गर्न सक्छन् भन्‍ने उद्देश्यले हो । यस शैक्षिक उपलब्धिको उद्देश्य डाक्टर लेखेर गदगद हुनका लागि होइन तर शैक्षिक क्षेत्रमा अरूहरूलाई कसरी सहयोग पुर्‍याउन सक्छन् भन्‍ने यो पहिलो जानकारी हो । यसैले डाक्टर लेख्‍नमा हतार नगरौँ । यदि तपाईंले अध्ययन गरेर पनि तपाईंको डाक्टरको तहमा उपाधि हासिल गर्न सम्भव भएन भने डाक्टर नलेखौँ तर अझै मेहनतसाथ अध्ययन गरी यस उद्देश्यलाई प्राप्‍त गरौँ । यसको मर्मलाई बुझौँ र शैक्षिक उपलब्धि हासिल गरी यसको महत्वलाई कायम राखौँ । ख्रीष्‍टियानहरू अफ्ना नैतिकतामा इमान्दार हुनुपर्छ र बाइबलको सन्देश पनि यही नै छ ।

मैले पिएचडि प्राप्‍त गरेपछि धेरैलाई एमटिएच, डिमिन, र पिएचडिमा उनीहरूका थेसिस लेखनमा सहयोग गरिरहेको छु र अरूहरूले पनि यसो गरिरहनुभएको छ । तपाईंको डाक्टरको लक्ष्य शैक्षिक क्षेत्रमा अरूहरूलाई सहयोग गर्नु होइन भने र आफू त्यो उपलब्धि हासिलको अझै योग्य नभएको अनुभूति भइरहेको बेलामा त्यस उपाधिलाई अहिल्यै त्याग्‍नुहोस् र विगतमा कोही ख्रीष्‍टियान अगुवाहरूले गरेझै आज देखिनै त्यो डाक्टरको उपाधि हासिल गर्नका लागि अध्ययन थाल्नुहोस् । अवश्य पनि तपाईंले इज्‍जतसाथ त्यो हासिल गर्नुभई नेपालमा ख्रीष्‍टियान जगतमा र अन्य स्थानहरूमा तपाईंको योगदान शैक्षिक क्षेत्रमा बलियो हुनेछ ।

अर्को सतर्कता अपनाउनु पनि आवश्यक छ । यदि तपाईंले लेख्‍नुभएको डाक्टर उपाधिलाई वैधानिक किसिमले प्रमाणित गर्न सक्‍नुभएन भने तपाईंलाई मुद्दा लाग्‍नसक्छ । त्यो वैधानिक प्रमाण भनेको तपाईंले मान्यताप्राप्‍त विश्‍वविद्यालय वा सेमिनरी वा कलेजबाट अध्ययन पछि प्राप्‍त प्रमाणपत्र हो ।

मेरो यस छोटो लेख मार्फत नेपालको ख्रीष्‍टियान जगतमा डाक्टर उपाधिको महत्वलाई बुझ्न र गलत किसिमले यसलाई प्रयोग गरिएको छ भने त्यसलाई त्याग्‍न र अरूहरूले गरेका कारण डाक्टर लेख्‍न आतुर भएकाहरूलाई एकपल्ट फेरि सोच्न र अध्ययन र अनुसन्धान मार्फत नेपालमा धेरै ख्रीष्‍टियानहरूले आउने दिनहरूमा डाक्टर प्राप्‍त गर्न म हौसला दिन चाहन्छु र आफूले गर्नसक्‍ने सहयोग गर्न तयार छु । सबैलाई धेरै धन्यवाद ।

(रेभ.डा.बाल कृष्ण शर्माले विभिन्‍न सेवाहरू प्रदान गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्‍वविद्यालयबाट अंग्रजी साहित्यमा एमए गर्नुभएको छ । उहाँले संयुक्त अधिराज्य बेलायतको वेल्स युनिभर्सिटीबाट सन् २०१० मा नेपालमा मृत्युसंस्कारः दहन, दफन, र ख्रीष्‍टियन पहिचान विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले सम्माननीय राष्‍ट्रपति डा. रामवरण यादब ज्युका बाहुलीबाट सन् २०११ को सेप्टेम्बर महिनामा उहाँको विद्यावारिधि वा पिएजडी उपाधिको निम्ति सम्मानजनक शिक्षापदक र प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ । उहाँ नेपाल पिएचडी एशोशियसनका आजीवन सदस्य हुनुहुन्छ र हाल उहाँ नेपाल थियोलोजिकल कलेजका प्रिन्सिपल हुनुहुन्छ । उहाँसँग यस लेख सम्बन्धि र अन्य विषयमा परमर्श, छलफल गर्नुपरेमा उहाँको इमेलमा सम्पर्क राख्‍नुहुन विनम्र अनुरोध गरिन्छ । उहाँको इमेल यस प्रकार छः balkrishnasharma60@gmail.com)

Facebook Comments

Category: Articles