नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

[ 3 ] April 2, 2015 |

 

Agni Punja

Hari Prakash Chanda “Agni Punja”
हरि प्रकाश चन्द “अग्निपुन्ज”

कुटनीतिक शिक्षाको पृष्ठभूमी:

एक्काइशौं शताब्दीमा राज्यहरु एक-अर्काबाट पुरै स्वतन्त्र र सार्बभौम भएतापनि ब्यबहारिक हिसाबले अन्तर-निर्भरताको स्थिति बिद्द्यामान छ | एकले अरु राष्ट्रहरुसंगको सम्बन्ध, सहकार्य र चासो प्रति बेखबर हुने स्थिति छैन | विश्व जगतको सवालमा हरेक देशको राष्ट्रिय निर्णय र त्यसको कार्यान्वयनले अन्य देशहरु संगको सम्बन्ध, सह-अस्तित्व, सदभाव र अन्तरनिर्भरतालाई प्रभाव पारिरहेको हुन्छ | निर्णय कार्यान्वयनको लागि गरिने सहकार्य, पहलकदमी र आवश्यक सम्झौताले अन्तर्राष्ट्रिय राज्य पद्दतिको निर्माण गरिराखेको हुन्छ | यहि राज्य पद्दति भित्रका बिभिन्न राज्यहरु, बहु-राष्ट्रीय कम्पनीहरु, अन्तराष्ट्रिय संघ संस्थाहरु, अन्तर-सरकारी संस्थाहरु, राज्यविहीन शक्तिहरु, संचार जगत, नागरिक समाज र अन्य थुप्रै संस्थाहरु बिचको सम्बन्धलाई परिवर्तित विश्व अनुकुल ढाल्न वा उक्त सम्बन्धले पुरानो विश्वलाई नयाँ रुप दिन अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक बिषयको अध्ययनको अभ्यास गरिदै आएको हो |

 

अन्तर्राष्ट्रिय सम्बन्धको बिकास युगअनुसार आफ्नै ढंगले हुदै आएको मानिन्छ | जतिबेला पुरै विश्व बिभिन्न औपेनिबेशिक शक्तिहरुको उपनिवेश बनेको थियो, त्यो समयको अन्तरराष्ट्रिय सम्बन्ध विशेषगरी तिनै शक्तिहरुबिचमै तनावपूर्ण ढंगमा केन्द्रित हुने गर्थ्यो | तर जब राष्ट्रहरु एकपछि अर्को गर्दै स्वतन्त्र हुदै गए, अन्तर्राष्ट्रिय सम्बन्धको बिकासले पनि नयाँ मोड लिदै गयो र यसको दायरा पनि फराकिलो हुदै गयो | तर एक्काइशौं शताब्दीको वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको छुट्टै अध्ययनको आधारभूत जग भने पहिलो बिश्वयुद्द र त्यसले निम्त्याएको परिश्थितिलाई नै मान्ने गरिन्छ |

नेपालमा यसको सुरुवात:

विश्वमा सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनको झन्डै आधा शताब्दीपछि दक्षिण एसियामा सुरु भयो भने झन्डै एक शताब्दीपछि नेपालमा गत वर्षबाट सुरु भयो | त्रिभुवन बिश्वबिद्द्यालयको मानविकी संकायअन्तर्गत यो बिषयको अध्ययन भने बुद्दनगरमा संचालन हुदै आएको छ |

चालु शताब्दीमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिलाई युग अनुसार विकास र बिस्तार गर्दै बाँकी विश्वसंगको सम्बन्धलाई नयाँ ढंगमा अगाडी बढाएर देशको राष्ट्रिय स्वार्थ पुरा गर्ने प्रमुख लक्षमा योगदान पुर्याउने खालको जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो बिषयको पढाई सुरु गरिएको कुरा त्रिभुवन विश्वबिद्द्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका कार्यक्रम संयोजक डा. खड्ग के. सी. बताउनुहुन्छ |

नेपालको कुटनीतिको क्षेत्रमा हुने बहस, अध्ययन, अनुसन्धान, नीति निर्माण र यसको कार्यान्वयनको संस्थागत विकास हुन नसकेको र केहि बिशेषज्ञहरुको व्यक्तिगत प्रयास सामुहिक प्रयत्नमा रुपान्तरण नभैरहेको अवस्थामा यसको सुरुवातले आशाको संचार गराएको कुरा यस कार्यक्रमका ‘भिजिटिंग प्रोफेसर’ समेत रहनुभएका परराष्ट्रबिद डा. शम्भुराम सिम्खडा बताउनुहुन्छ |

राम्रा अभ्यासहरु:

नेपालस्थित अन्य मुलुकका राजदुतहरु आएर अन्तर्राष्ट्रिय सम्बन्धका बिभिन्न पाटोहरुमा अन्तरक्रिया गरि बिद्द्यार्थीको बुझाईलाई फराकिलो पार्ने र चालु विश्वमा चलायमान कुटनीतिक अभ्यासबारे जानकारी गराउने यस विषयका अध्यापक शिब प्रसाद तिवारी बताउनुहुन्छ | “दक्षिण एसियाली हेर्ने अमेरिकी सहायकमन्त्रीदेखि रुस, बेलायत, जर्मनलगायतका मुलुकका राजदुतहरुको ‘गेष्ट लेक्चर’बाट बिद्द्यार्थीको ज्ञानको दायरा फराकिलो पार्ने अभ्यास साच्चै नै सुन्दर छ”, उहाँ भन्नुहुन्छ | हालसम्म झन्डै साठीवटा ‘गेष्ट लेक्चर’मा भएका अन्तरक्रियाले बिद्द्यार्थीको बुझाईमा अन्तर्राष्ट्रिय ऐतिहासिक कुटनीतिक अभ्यासदेखि आधुनिक अभ्याससम्मको कुरालाई जोड्ने प्रयास गर्दै आएको डा. के. सी. बताउनुहुन्छ |

विभिन्न मुलुकमा नेपाली राजदुत बनिसकेका नेपालको परराष्ट्र मामिलाका जानकारहरु र नेपालका शिक्षाबिदको ‘भिजिटिंग लेक्चर’ आयोजना गर्दै बिद्द्यार्थीहरुको बहुआयामिक सिकाईको लागि अनकुल वातावरण तयार गर्ने पद्दती यस कार्यक्रमको अर्को महत्वपूर्ण बिशेषता बनेको छ | परराष्ट्रविद् डा. शम्भुराम सिम्खडा, डा. भेष बहादुर थापा, डा. जयराज आचार्य, प्रा. डा. लोकराज बराल, डा. हिरा बहादुर थापा, डा. दिनेश भट्टराई, डा. राजन भट्टराई, प्रा. श्रीधर खत्री जस्ता ब्येक्तिहरुको ‘लेक्चर’ले पछिल्लो पुस्ताका युवा बिद्द्यार्थीहरुलाई अघिल्लो पुस्ताको कुटनीतिक र शैक्षिक अभ्याससंग परिचित गराउने शिलशिला निकै राम्रो भएको कुरा त्यहाँ अध्ययनरत एकजना बिद्द्यार्थी बिकाश ढकाल बताउनुहुन्छ |

सञ्चार पनि कुटनीतिकै एक क्षेत्र भएकोले सञ्चार कुटनीति (Media Diplomacy) को तर्फबाट सञ्चारक्षेत्रका केहि बिज्ञ ब्येक्तिहरुसंग बिद्द्यार्थीहरुको अन्तरक्रिया आयोजना गरिने अभ्यासलाई पनि एउटा राम्रो अभ्यासको रुपमा लिन सकिन्छ भन्नुहुन्छ सञ्चार क्षेत्रसंग सम्बन्धित त्यहाँ अध्ययनरत एक जना बिद्द्यार्थी अशोक पौडेल | कान्तिपुर दैनिकका सम्पादक तथा चर्चित पुस्तक “प्रयोगशाला”का लेखक सुधिर शर्मा जस्ता पत्रकारहरुसंगको अन्तरक्रियाले कुटनीति र सञ्चार क्षेत्र बिचको अटुट सम्बन्धलाई उजागर गरेको पौडेल बताउनुहुन्छ |

अनुसन्धान, सेमिनार र प्रकाशन गरि तिन चिजहरु यो बिषयको प्रमुख खम्बा भएतापनि सुरुको समयमा सेमिनारतिर अलि बढी केन्द्रित भएको कुरा कार्यक्रम संयोजक डा. खड्ग के. सी. ले बताउनुभयो | मोदीको उदयसंगै भारतको नेपालसंगको डिलिंग कर्मचारी तहबाट राजनीतिक तहमा पुग्दै गर्दा एम.आई.आर.डी. (Masters in International Relations and Diplomacy) विभागले पछिल्लो पटक ‘भारत-नेपाल सम्बन्ध-अगाडिको बाटो’ बिषयमा राष्ट्रिय सेमिनारको आयोजना गर्यो | उक्त आयोजनाले बिद्द्यार्थीहरुलाई बिज्ञहरुसंगको अन्तरक्रियामा सामेल बनाएको र एकै स्थानमा बहु-आयामिक सिकाई हुने भएकोले सेमिनारको शिलशिला अर्को एउटा राम्रो अभ्यास बन्न पुगेको छ |

सामाजिक पूंजी नै मुख्य उपलब्धि:

यस कार्यक्रमले पहिलो बर्ष पुरा गर्दै गरेको अवसरमा प्रमुख उपलब्धि केलाई ठान्नुहुन्छ भनि पंक्तिकारले राखेको जिज्ञाशामा डा. के. सी. ले भन्नुभयो, “एकै बर्षको निकै छोटो समयमा हामीले ठुलै उपलब्धि हाँशिल गर्यौं त भन्न मिल्दैन तरपनि यसले निकै छोटो समयमा पनि देशको कुटनीतिक क्षेत्र, शैक्षिक तथा प्राज्ञिक क्षेत्र, सामाजिक क्षेत्र, प्रशाशनिक क्षेत्र, सुरक्षा क्षेत्र, संचार क्षेत्र र अन्तर्राष्ट्रिय स्तरमा मिलेको पहिचान नै सबै भन्दा ठुलो कुरा हो | अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यो कार्यक्रममाथि जागेको बिस्वास र सकारात्मक प्रतिक्रियाबाट थप प्रेरणा मिलेको छ | भर्खरै भर्ना लिईएको दोस्रो ‘ब्याच’मा एक चिनिया बिद्द्यार्थीले अध्ययन गरिरहेको र मौरिसस, माल्दिभ्स र श्रीलंकाका बिद्द्यार्थीहरुले समेत यहाँ पढ्नलाई रुचि देखाइरहेको कुराले यस कार्यक्रमको अन्तर्राष्ट्रिय प्रभावलाई पुष्टि गर्दछ |” उहाँकै कुरासंग मिल्दोजुल्दो छ डा. सिम्खडाको कुरापनि | उहाँ भन्नुहुन्छ, “निकै छोटो समयमा पनि अन्तर्राष्ट्रिय रुपमा नेपाली कुटनीतिक शिक्षाको अभ्यासले आफ्नो पहिचान स्थापित गर्नु चानचुने कुरा होइन |”

“नेपाल स्थित बिभिन्न कुटनीतिक नियोगबाट कार्यक्रमको भौतिक पूर्वाधार निर्माणको लागि बेला-बेलामा आउने आर्थिक सहयोगको प्रस्ताबले अन्तर्राष्ट्रिय तहमा यसले पारेको प्रभावलाई थप पुष्टि गरेकोले छोटो समयमा कमाएको सaखाले सामाजिक पूंजीलाई नै प्रमुख उपलब्धि मान्न सकिन्छ”, डा. के. सी. भन्नुहुन्छ |

चुनौतीहरुबारे:

एकातिर तत्काल सम्पन्न गर्नुपर्ने कामहरु र अर्कातिर सरकारी प्रक्रिया र बिश्वबिद्द्यालयको नियम-विनियमहरुले रोकिदिने अवस्था | कामको ‘स्पिरिट’लाई बाधा खडा गर्ने खालको प्रक्रियाको कारण गर्न चाहेका धेरै कामहरु अपुरो रहेको कुरा डा. के. सी. ले बताउनुभयो |

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिषय अनुसन्धान र प्रकाशनबिना प्रभावकारी नहुने भएकोले यसलाई तत्काल अगाडी बढाउन तुरुन्तै JSTOR राख्न चाहेको भएतापनि आवश्यक प्रक्रियाले निकै लामो समय लिने भएकोले त्यो पुरा नभएको अवस्था देखियो | पुस्तकालय अर्को एउटा नभैनहुने कुरा भएतापनि आवश्यक पर्ने बृहत पुस्तकालयको स्थापना पनि खरिद प्रक्रियामा कार्यक्रम संयोजकको सिमित अधिकारक्षेत्र र ठुलो परिमाणका पुस्तकहरुको ब्यबस्थापन गर्नुपर्ने आवश्यकताको बिचमा तालमेल नमिल्दा सो काममा केहि ढिलाई भएको कुरा उहाँले बताउनुभयो |

अर्कातिर नेपाल यो शिक्षा सुरु गर्न झन्डै एक शताब्दी पछी परेकोले संसारको ‘स्पिरिट’लाई पकड्न छोटो समयमा सबैले निकै ठुलो मेहनत गर्नुपर्ने आवश्यकता छ र त्यो पुरा गर्ने काम प्रधान चुनौती हो भन्नुहुन्छ डा. सिम्खडा | नियमित अध्यापक शिब तिवारी पनि यहि कुरालाई समर्थन गर्दै नेपालको समग्र अध्ययनको संस्कृती चित्त बुझ्दो नभएकोले यहाँ अध्ययनरत बिद्द्यार्थीहरुले उक्त संस्कृतीलाई बदल्दै थप मेहनत गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ |

भौतिक संरचना अर्को एउटा चुनौतीको रुपमा देखा परेको देखियो | देशको कुटनीतिक शैक्षिक संस्था परनिर्भर भयो भने भविष्यमा त्यसबाट उत्पादन हुने जनशक्तिमा पर्नसक्ने मनोबैज्ञानिक असरलाई हृदयंगम गर्दै सम्भव भएसम्म आफ्नै आन्तरिक श्रोत र सरकारी लगानीबाट यस शिक्षाको लागि आबश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको कुरा डा. के. सी. ले बताउनुभयो |

अगाडिको बाटो:

अध्ययनरत बिद्द्यार्थीहरुको लागि कोर्ष पुरा भएपछि रुची अनुसार एउटा बाटो परराष्ट्र सेवातिर र अर्को बाटो थप अध्ययन-अनुसन्धान सहित बिद्द्यावारिधी तर्फ गरि दुइवटा स्पष्ट बाटो तयार गर्न सकियो भने सन्तुष्टी महशुस हुनेथियो भन्ने कुरा कुराकानीको अन्तमा उहाँले व्यक्त गर्नुभयो | एकातिर भर्खरै सुरु भएको बिषयको लागि लोकसेवाको पुरानो मापदण्ड हेरफेर हुन आवश्यक छ र अर्कातिर दक्षिण एसिया र विश्वका केहि बिश्वबिद्द्यालयसंगको साझेदारितामा बिद्द्यावारिधीको लागि संस्थागत सहकार्यको बाटो बनाउन पनि त्येतिकै जरुरि भएकोले यी दुवै कुरातर्फ केन्द्रित हुने कुरा डा. के. सी. ले बताउनुभयो |

बिश्वबिद्द्यालयले यसको परिसरमै भर्खरै उपलब्ध गराएको जग्गामा भौतिक संरचना निर्माण गरि, आबश्यक जनशक्ति, नियमित प्रकाशन, अनुसन्धान तथा आवधिक छलफलका योजना कार्यान्वयन गर्दै एम. आई. आर. डी. लाई एक सक्षम प्राज्ञिक तथा विचार निर्माण संस्था (थिंक ट्यांक) का रुपमा विकास गरी नेपालको कुटनीति र परराष्ट्र नीति निर्माणको लागि अध्ययन-अनुसन्धानको क्षेत्रमा एक केन्द्र बनाउने यस कार्यक्रमको लक्ष तथा सपना रहेको कुरा डा. के. सी. ले बताउनुभयो |

निष्कर्ष:

डा. सिम्खडाले भन्नु भएजस्तै संसारले सय बर्षमा पुरा गरेको यात्रा नेपालले चालु दशकमा पुरा गर्नुपर्ने भएकोले यस क्षेत्रसंग सम्बन्धित साझेदारहरु सचेत हुदै आ-आफ्नो ठाउँबाट गम्भिरतापुर्बक लाग्ने हो भने संसार संगको सहयात्रामा नेपाल पछी कदापी पर्ने छैन | यस बर्षका पहिलो र तेस्रो ठुला आर्थिक शक्तिहरुको मझधारमा रहेर डुब्नै लागेको नेपाली अर्थतन्त्रको उद्दार गर्दै नेपालकेन्द्रित बहु-धुर्बिय विश्वशक्तिकेन्द्रको चासोमा सन्तुलन कायम गरी आफ्नो प्रभावशाली पहिचान स्थापना गर्ने खालको जनशक्ति उत्पादन गर्न सकियो भने यस कार्यक्रमले सार्थकता पाउने छ |

लेखक एम. आई. आर. डी., टि. यू. मा स्नातकोत्तर गर्दैछन् |

hari.chand14@mirdtu.edu.np

Facebook Comments

Category: Socio-political