वृद्धि र परिवर्तन: प्राणको उद्धार

[ 0 ] April 24, 2015 |

 

Peter Kamaleshwar Sing

Dr. Peter Kamaleshwar Sing
डा․ पीटर कमलेश्वर सिंह

पाठ २ पत्रुस ३: १८

“तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ”।

 

परीचय:

मण्डलीमा जब हामी बढ्दैजाने अथवा वृद्धि र परीवर्तनको कुरा गर्छौं, यसले हाम्रो व्यक्तिगत आत्मिक प्रगति देखि लिएर सामुहिक रूपमा सम्पूर्ण मण्डलीको लागि परमेश्वरले राख्नु भएको उद्देश्य प्राप्तिको लागि हामीसबैले पवित्र आत्माको सहायताले गरी राख्नु पर्ने प्रयासलाई जनाउँछ। यस प्रयासमा परमेश्वरको इच्छा आफ्नो स्थानमा छँदैछ, हाम्रो व्यक्तिगत चाहनाको उत्तिकै महत्त्व छ। यसैकारण उपरोक्त पदमा पत्रुसले पहिलो शताब्दीको मण्डलीलाई प्रभु येशू ख्रीष्टको अनुग्रह र उहाँको ज्ञानमा बढ्दैजाने अर्ती दिएका छन्। यसको कारण के छ भने येशूमा विश्वास गरेर उद्धार वा मुक्ति प्राप्त गर्न सजिलो छ, हामीले विश्वास मात्र गरे पुग्छ तर प्राप्त गरेको मुक्तिलाई थामी राख्न र पूर्णतामा पुर्याउन कठीन छ, त्यसको लागि प्रसस्त त्याग, बलिदान र संघर्षको आवश्यकता पर्दछ।

 

विश्वासीको रूपमा मण्डलीले कुन कुरालाई महत्त्वपूर्ण ठान्ने र अङगाल्ने र कुन कुरालाई आफ्नो जीवन बाट अस्वीकार गर्ने र निर्मूल पार्ने हो, यो बुझ्नु पर्ने र त्यसै अनुसारको जीवन शैली अपनाउनु पर्ने आवश्यक छ। विश्वासीको रूपमा वृद्धि वा बढ्दै जाने हाम्रोलागि परमेश्वरको इच्छा हो – जीवनको हरेक क्षेत्रमा। सृष्टीको आरम्भमा परमेश्वरले स्वयम् यो आशिष दिनु भएको थियो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) बृद्धी र विकाश प्राकृतिक प्रकृया हुन् र हाम्रो वरि परि का साथै हाम्रो आफ्नै भौतिक र आत्मिक जीवनमा हामीले परिवर्तन र बृद्धी सधैं भैरहेको देख्छौं। यो जीवनको हरेक क्षेत्रमा देखिन्छ, खासगरी भौतिक क्षेत्रमा। निरन्तर भएको विकाश, परीवर्तन र बृद्धी हाम्रो अगाडि प्रष्ट छ। देशमा जनसंख्याको अनियन्त्रीत वृद्धी का साथै पूर्वाधार को विकाश पनि भैरहेको छ, शिक्षाको क्षेत्रमा प्रगति भैरहेको छ, स्वास्थ्यसेवामा सुधार भैरहेको छ, मानिसको ग्यान र चेतनामा अभिवृद्धि भैरहेको छ। यी सबै कुरा विचार गर्दा देशमा प्रगति भएको छ।

 

तर एउटा विश्वासी व्यक्ति र मण्डलीको परिपेक्षमा बृद्धीको कुरा गर्दा कस्तो वृद्धि को चर्चा गर्नलागेका छौं? अथवा कस्तो किसीमको परीवर्तन को कुरा गर्दैछौं?

 

सकारात्मक र नकारात्मक वृद्धी:

 

बाईबल धर्मशास्त्रमा दुई प्रकारको बृद्धीको कुरा गरीएको छ, सकारात्मक र नकारात्मक। मानिसको रुपमा हामीले दुवै किसीमको वृद्धी को विषयमा बुझ्नु पर्ने आवश्यक छ किनभने दुवै वृद्धी हाम्रो आफनैलागि र मण्डलीको लागि अपरिहार्य छन्।

 

नकारात्मक बृद्धी यस्तो परिवर्तन वा वृद्धी हो जो अन्तमा गएर नष्ट हुन्छ। यस्तो बृद्धी उमेर अनुसार आफै हुने हो, र यसमा मानिसको आफ्नो अधिकार हुँदैन। उमेर बढ्दै जाँदा यो परीवर्तन स्वत: भै रहन्छ र अन्तमा त्यो वस्तु या प्राणी नष्ट हुन्छ। उदाहरणको लागि:

 

‘तिनीहरू त नष्‍ट हुनेछन्‌, तर तपाईंचाहिँ रहिरहनुहुन्‍छ।

तिनीहरू वस्‍त्रझैँ पुराना भइहाल्‍नेछन्‌,

खास्‍टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‌नुहुन्‍छ,

वस्‍त्रझैँ ती फेरिनेछन्‌।

तर तपाईं एकैनास हुनुहुन्‍छ,

र तपाईंका वर्षहरूको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।” (हिब्रू १:११,१२)।

 

पृथ्वी र आकाशको कुरा गर्दा हिब्रूको पत्रको लेखकले भन्दैछन्, ती त नष्टहुनको लागि परीवर्तन हुँदैछन् र एकदिन परमेश्वरले निर्धारण गर्नुभए अनुसार ती नष्ट भएर जाने छन्। वास्तवमा यो सन्सार र यस संग सम्बन्धित सबै कुरोमा भएको वा हुनलागेको भौतिक वृद्धी वा परीवर्तन अन्तमा नष्ट हुनका लागि नै हो।

 

दृश्य र अदृश्य कुराहरु:

 

सृष्टीमा विद्यमान् यावत् थोकलाई बाइबल धर्मशास्त्रले दुई श्रेणीमा विभाजित गरेको छ, दृश्य र अदृश्य। हाम्रो आँखाले देख्न सकिने सबै थोक ‘दृश्य’ कुरा को श्रेणीमा र देख्न नसकिने सबै कुरा ‘अदृश्य’ कुराको श्रेणीमा पर्दछन्। देखिने सबै थोक अन्तमा नष्ट हुन्छन् र नदेखिने सबैकुरा अनन्तको लागि हुन्। ‘हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्‌, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌ (२कोरि ४:१८)।’ उदाहरणको लागि हाम्रो आफ्नै शरीर, र हाम्रो वरि परि यस्ता असंख्य वस्तु छन्, सजीव र निर्जीव, जसमा समय बित्दै जाँदा उमेर अनुसार स्वत: परीवर्तन, वृद्धी र विकाश हुन्छन् तर अन्तमा यी नष्ट भएर जाने छन्। यसकारण विश्वासीहरुको रुपमा हामीलाई अदृश्य कुराहरुमा मनलगाउन अर्ति दिइएको छ। अर्थात् हाम्रो वृद्धी भित्री वा आत्मिक वृद्धी होस, बाहिरी वा शारीरिक वृद्धी त स्वाभाविक रुपमा आफै हुँदैजाने हो।

 

यस संसारमा प्राय: सबै प्राणीमा वृद्धी स्वाभाविकरुपमा आवश्यक ठहर्याइएकोछ।

 

सकारात्मक वृद्धी:

 

मण्डली को परिप्रेक्षमा वृद्धीको कुरा गर्दा दुवै किसिमको वृद्धी – शरीर अनुसारको या भौतिक र भित्री या आत्मिक वृद्धीको कुरा विचार गर्नु पर्छ। मत्ती रचित सुसमाचारको १३ अध्यायमा प्रभु येशुले विभीन्न दृष्टान्तहरु द्वारा मण्डली वा परमेश्वरको राज्यको वर्तमान् अवस्था र त्यसमा हुनु पर्ने वृद्धीको कुरा गर्नु भएको छ। सरसर्ती हेर्दा ३ पद देखि २३ पदसम्म दृष्टान्तको उपयोगिता का साथै बिउ छर्नेको दृष्टान्त द्वारा परमेश्वरको वचनको प्रचार र त्यसबाट मानिसको हृदयको विभीन्न अवस्था, परमेश्वरको वचनले त्यसमा गर्ने गहिरो काम, हुने परीवर्तन, र त्यसको फलस्वरुप हुने आत्मिक वृद्धीको कुरा गरीएको छ, २४ पद देखि ३० पद सम्म सामाको दृष्टान्त र पुन: ३६ पद देखि ४३ पद सम्म यस दृष्टान्तको अर्थ प्रष्ट पार्नुभएर व्यक्तिगत विश्वासी जीवनमा परमेश्वरको इच्छा अनुसार यस संसारमा जीवन व्यतीत गर्ने आवश्यकता र अन्तमा परमेश्वरको राज्यमा पाइने पुरस्कारकोप निश्चयतालाई देखाइएको छ।

 

यसै बीच ३१ पद देखि ३२ पद मा रायोको दाना को दृष्टान्त द्वारा परमेश्वरको राज्यको संख्यात्मक वृद्धीको कुरा गरिएको छ भने ३३ पदमा खमीरको दृष्टान्त द्वारा प्रत्येक विश्वासीको जीवनमा आत्मिक वृद्धी र विस्तारको कुरा सिकाइएको छ।

 

यसकारण सकारात्मक वृद्धीको कुरा गर्दा हामी मण्डलीमा हुनु पर्ने संख्यात्मक वृद्धी का साथै मण्डलीका प्रत्येक विश्वासीमा हुनु पर्ने आत्मिक प्रगति, परिवर्तन वा वृद्धीको कुरा गर्दछौं।

 

प्राणको उद्धार:

 

प्राय: जसो विश्वासीको विचारमा एक पटक प्रभु येशूमा विश्वास गरेर उहाँलाई आफ्नो मुक्तिदाता स्वीकार गरेपछि पुग्यो, स्वर्ग जानकालागि हामी तैयार छौं र अब उपरान्त हामी आफ्नो इच्छा अनुसारको जीवनशैली अंगाल्न सक्छौं। तर हामीले एउटा सत्यता बिर्सि दिन्छौं। प्रभु येशूमा विश्वास गर्दा हाम्रो नयाँ जन्म मात्र हुन्छ अर्थात् हाम्रो आत्माले मात्र उद्धार पाएको हुन्छ। यस संसारमा हसमीले पाएको बाकी समय समर्पित र आग्याकरी जीवन व्यतीत गरेर हाम्रो प्राणको उद्धार प्राप्त गर्न आवश्क छ।पत्रुसले यस मुक्तिको विषयमा लेख्दै विश्वासीहरुलाई उत्साहित पार्छन्,“तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ। आगोबाट खारिने तर नष्‍ट भएर जाने सुनभन्‍दा पनि तिमीहरूको विश्‍वास मूल्‍यवान्‌ छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्‌, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्‍य बनोस्‌। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्‍दैनौ, तापनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्‍दमा रमाउँछौ। तिमीहरूका विश्‍वासको प्रतिफलस्‍वरूप तिमीहरूले आफ्‍ना आत्‍माको (प्राणको) मुक्ति पाउँछौ (१ पत्रुस १:६-९)”।

 

हाम्रो सम्पूर्ण उद्धार:

 

माथि उद्धार वा मुक्तिको विषयमा संक्षिप्त कुरा गरीएको छ। यस सम्बन्धमा हाम्रो सोच वा धारणामा आमूल परीवर्तन आउनु पर्ने आवश्यक छ।

हामीले प्रभु येशूमा विश्वास गरेर उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ता स्वीकार गर्दा हाम्रो व्यक्तित्वको महत्वपूर्ण तर एक भाग मात्र अर्थात् हाम्रो आत्माले पवित्र आत्माको सहायताले उद्धार पाउँछ र हाम्रो नयाँ जन्म हुन्छ या हृदय परीवर्तन हुन्छ। हाम्रो विश्वासी जीवन यहींबाट आरम्भ हुन्छ। यसमा हाम्रो व्यक्तिगत पश्चाताप र विश्वास, प्रभु येशूले क्रूसमा गर्नुभएको बलिदान र पवित्र आत्माको हाम्रो हृदयमा भएको गहीरो काम, यी सबैकुरा संयुक्तरुपमा काम गरेका हुन्छन्। यस प्रकारले विश्वास द्वारा उद्धार या नयाँ जन्म पाएका व्यक्तिहरु बाट मण्डली आरम्भ हुन्छ। यसको संग संगै यस संसारमा हाम्रो विश्वासी जीवन यात्रा आरम्भ हुन्छ। यस घटनाको लागि जे पनि गर्नु भएको छ, प्रभु येशूले मात्र क्रूसमा आफूलाई बलिदान गर्दा गर्नु भएको छ। हामीले उहाँमा विश्वास गर्दा विगतमा हामीले गरेका सबै पाप कर्मबाट क्षमा पाउँछौं। परमेश्वरले हामीलाई दोष मुक्त गर्नु हुन्छ, धर्मी ठहर्याउनु हुन्छ र दण्ड मुक्त गर्नु हुन्छ। यो विश्वासबाट पाइने धार्मिकता हो। यो एकै क्षणमा, येशूमा विश्वास गर्न बितिकै पवित्र आत्माको सहायताले हाम्रो आत्माले पाउने उद्धार हो, जो प्रत्येक विश्वासीको लागि आवश्यक बुनियादी कुरा हो। आत्मिक जीवनको आरम्भ हो यो।

 

तर उद्धारको यस घटनामा हामीले विश्वासीको रुपमा आफुले गरेका पापहरुको क्षमा मात्र पाउंछौं। यसले हामीलाई भविष्यमा पाप गर्नदेखि सुरक्षित राख्न सक्दैन, किनभने हामी भित्रको पाप स्वभावले हामीलाई पाप गर्न बाध्य पार्छ। यसकारण हाम्रो पाप स्वभावलाई हाम्रो व्यकतित्व बाट पूर्णरुपले निर्मूल पार्न पनि उतिकै आवश्यक छ जो पूर्णरुपले बाकी नै छ। हामी भित्र रहेको पाप स्वभाव को कारणले हामी बाध्य भएर पापपूर्ण काम गर्छौं। यसकारण हामीले बुझ्नु पर्ने कुरो के हो भने हामी पाप गरेको कारण पापी भएका होइनौं, तर हामी भित्र पाप स्वभाव भएको कारण हामी पापी मानिस हौं र पाप गर्न हाम्रो बाध्यता हो। विश्वासी जीवनमा यो पाप स्वभावलाई निर्मूल पार्नेकाम पवित्र आत्माको सहायताले हामीले निरन्तर गरी रहनुपर्ने काम हो, यो काम हामीले जीवन पर्यन्त गरी रहनु पर्ने हुन्छ। यो हामीले आफ्नो मनोमान राजी खुशीले गर्नु पर्नेकाम हो किनभने यसैले हाम्रो भित्री मानिसमा सुधार हुन्छ।

 

पवित्र आत्माको सहायता:

 

प्रभु येशूको क्रूसको मृत्यु, उहाँलाई गाडीएको र तेश्रो दिनमा भएको उहाँको पुनरुत्थान को महत्त्वपूर्ण घटनाहरु पछि पेन्तीकोसको दिनमा पवित्र आत्माको आगमन यस संसार र खासगरी मण्डलीको लागि अत्यन्त महत्वपूर्ण थियो। उद्धार पाउने समयमा पवित्र आत्माले विश्वास गर्ने व्यक्तिलाई नयाँजन्मको काममा सघाउनु हुन्थ्यो भने अब उपरान्त पवित्र आत्माको बप्तिस्मा वा भरपूरी पाएर हरेक विश्वासीले पवित्र आत्माको सहायताले पाप स्वभावलाई निर्मूल पार्नेकाममा सफलता पाउन सम्भव भएको छ। पवित्र आत्माले प्रत्येक विश्वासीलाई पिताको इच्छामा डोर्याउन र शरीरको इच्छाको विरुद्ध संघर्ष गर्ने काममा सहायता गर्नु हुन्छ। “तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर। किनकि पापमय स्‍वभावका लालसा पवित्र आत्‍माको विरुद्ध हुन्‍छन्‌, अनि पवित्र आत्‍माको इच्‍छा पापमय स्‍वभावको विरुद्ध। तिमी जे गर्न चाहन्‍छौ त्‍यसबाट तिमीहरूलाई रोक्‍नका निम्‍ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्‍छन्‌ (गलाती ५:१६-१७)”। फेरि रोमीको पत्रमा लेखिएको छ, “यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं। किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ (रोमी ८:१२-१३)”।

 

यसकारण पापमय स्वभावलाई निर्मूल पार्ने, पवित्र आत्माको फल आफ्नो जीवनमा फलाउने र हाम्रो प्राणको उद्धार, यी सबै एक अर्का सित गाँसिएका कुराहरु हुन्। हाम्रो विश्वासी जीवनमा प्रभु प्रतिको समर्पण र आग्याकारिता, पवित्र आत्माको अगुवाईमा जिईने जीवन, मण्डलीको सुधारको लागि उपयोग गरिने पवित्र आत्माका वरदानहरु, सुसमाचार प्रचारको लागि दिईएको महान् आग्याको विश्वासयोग्य रुपमा गरिने पालना, यी सबैले हाम्रो पापमय स्वभावलाई निर्मूल पार्न हामीलाई सघाउँछन्। जब हामी अफ्नो आत्मिक जीवनमा वृद्धि, प्रगति वा परिवर्तनको कुरा गर्छौं, यस कार्यमा हाम्रो आफ्नो व्यक्तिगत इच्छा या उत्कट इच्छा र पवित्र आत्माको भरपुरी र सहायताको आवश्यकता पर्दछ। उद्धार एकै क्षणमा पूर्ण हुने प्रकृया हो, तर पापमय स्वभावलाई निर्मूल पार्ने काम क्रमिकरूपमा (यस संसारमा हाम्रो समय वा उमेर बित्दै जाँदा) हुँदैजाने प्रकृया हो। यसको लागि निरन्तरको प्रयास, प्रार्थना र परिश्रमको आवश्यकता पर्दछ।

 

आन्तरिक संघर्ष – प्राणको उद्धार:

 

हाम्रो प्राणको उद्धार भन्नाले वास्तवमा हामीले के भन्न खोजेको हो? यो हाम्रो त्रिएक व्यक्तित्व (शरीर, प्राण र आत्मा) मध्ये दोश्रो अर्थात् हाम्रो प्राणको उद्धार हो। कुनै पनि व्यक्ति नयाँ जन्म पाउन भन्दा अघि यस संसारमा उसको सम्पूर्ण सोच र व्यवहार शरीरको इच्छा वा पापमय स्वभाव बाट प्रेरित हुन्छ। मानिसको प्राणले कार्य गर्ने सबै क्षेत्र अर्थात् मन (सोच विचार गर्ने क्षेत्र), इच्छा (अर्थात् निर्णय गर्ने क्षेत्र) र भावनाहरु (अर्थात् खुशी व्यक्त गर्ने, वेदना व्यक्त गर्ने, रिस व्यक्त गर्ने लगायतका सम्पूर्ण भावनत्मक अभिव्यक्तिहरु) शारीरिक इच्छाको नियन्त्रणमा हुन्छन्। हाम्रो आत्माले उद्धार नपाएको कारणले सम्वेदनहीनताको अवस्थामा वा निस्कृय हुन्छ। पवित्र आत्मा प्रति वा परमेश्वरका कुराहरु प्रति सम्वेदनशीलताको अभावमा परमेश्वरलाई मन पर्नेकुराहरु ठम्याउन नसकेर हाम्रा निर्णयहरु प्राय: अभिलाषाले प्रेरित हुन्छन्। “तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं (एफिसी २:३)”।

 

तर नयाँ जन्म पाएपछि हाम्रो आत्मा सकृय हुन्छ र आत्माको सम्पूर्ण कार्यक्षेत्रले काम गर्न आरम्भ गर्छ: हाम्रो विवेक ले असल र खराब मा फरक छुट्याएर असल कुरा या काम रोज्न सहायता गर्छ, प्रकाश प्राप्त गर्न सम्भव हुन्छ र पूर्व आभास पाउन सम्भव हुन्छ। पवित्र आत्माको सबै कार्य र गतिविधी प्रति हाम्रो आत्मा सम्वेदनशील हुन्छ र वचनको गहीरो अर्थहरु पनि बुझ्न सजिलो र सम्भव हुन्छ। शरीरको अभिलाषा र पवित्र आत्माको इच्छा बीच हाम्रो हृदयमा अन्तरद्वन्द आरम्भ हुन्छ र हामीले के रोज्ने हो त्यो रोज्छौं – शरीरको अभिलाषा वा पवित्र आत्माको इच्छा। यही संघर्षमा हाम्रो आत्मिक विजय वा पराजय निर्भर गर्छ। अभिलाषा रोज्दा पराजय र पवित्र आत्माको निर्देशन अनुसारको निर्णय गर्दा विजय! शरीरले बल गर्छ तर पवित्र आत्माले शक्ति र निर्देशन दिनुहुन्छ। हामी वास्तवमा के चाहन्छौं? त्यसैले हाम्रो विजय वा पराजय निर्धारण गर्ने हो। यो आन्तरिक संघर्ष नै हाम्रो प्राणको उद्धार गर्ने प्रकृया हो र पवित्र आत्माको इच्छा अनुसारको निर्णय नै प्राणको उद्धारमा हुने क्रमिक प्रगति।

 

प्राणको उद्धार – ख्रीष्टको स्वरुप:

 

यस संसारमा दैनिक जीवन यापनको लागि हामीलाई भौतिक शरीर र अन्य व्यावहारिक कुराहरु परमेश्वर द्वारा दिईएका छन्। यी सबै कुराहरुको एउटा सिमित समय तोकिएको छ र त्यस पछि यी सकिन्छन्। तर हाम्रोलागि परमेश्वरको एउटै लक्ष्य छ – “मानिसलाई हामी आफ्नै स्वरुपमा बनाऔं” भनेर उहाँ स्वयम् लेनै सृष्टीको आरम्भमा प्रष्ट पार्नु भएको छ। यसकारण यस संसारमा बाँचुन्जेल हाम्रो शरीरको वास्ता गर्न र हेर चाह गर्न आवश्यक छ तर हाम्रो प्राण वा भित्री मानिसको उद्धारको लागि परिश्रम गर्न झन् बढी आवश्यक छ। भित्री मानिस नै हो जो परमेश्वरको स्वरुपमा परिवर्तन हुंदै जाने हो। यसै कामलाई पूर्ण गर्न हामीलाई यस संसारको जीवन दिईएको छ। यो काम हाम्रो नयाँ जन्म संगै अरम्भ भएर प्रभु येशू प्रतिको आग्याकारिता र सर्मपण संग संगै क्रमिक रुपमा अघि बढ्दै जान्छ र हाम्रो शारीरिक मृत्यु संगै टुंगिन्छ। जुन अनुपातमा हाम्रो समर्पणमा वृद्धी हुन्छ, त्यही अनुपातमा हाम्रो पापमय स्वभाव निर्मूल हुन्छ र सोही अनुपातमा हाम्रो जीवनमा पवित्र आत्माको फल देखिन्छ। जुन अनुपातमा हाम्रो जीवनमा पवित्र आत्माको फल देखिन्छ सोही अनुपातमा हाम्रो भित्री मानिस (प्राण) यीशुको स्वरुपमा परीवर्तन हुन्छ अर्थात् उद्धार पाउँछ र सोही अनुपातमा हाम्रो चरित्र ख्रीष्टको चरित्रमा परिवर्तन हुन्छ।

 

यसकारण परमेश्वर को स्वरुप भन्नाले येशूको स्वरुपलाई जनाउँछ, “किनभने उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहन्छ” (कलस्सी १:१५)। पवित्र आत्माको फल हाम्रो जीवनमा फलाउने कुरा त्यही अंशमा सम्भव हुन्छ जुन अंशमा हामी व्यक्तिगतरुपमा वचन प्रति आग्याकारी भएर शरीरको अभिलाषालाई इन्कार गर्दछौं। सोही अनुपातमा हाम्रो आत्मिक वृद्धि हुन्छ र ख्रीष्टको स्वरुपमा वृद्धि हुन्छ। यसकारण परमेश्वरको स्वरुप भनेको ख्रीष्टको स्वरुप हो र हाम्रो आत्माको उद्धार भन्नाले हाम्रो भित्री मानिस वा हाम्रो प्राण ख्रीष्टको स्वरुपमा बनिंदै, विकशीत हुँदै वा परिवर्तित हुँदै जाने हो। आत्माको उद्धार बाट आरम्भ भएको हाम्रो विश्वासी जीवनमा हाम्रो प्राण वा भित्री मानिस क्रमिक रुपमा ख्रीष्टको स्वरुपमा परिवर्तन हुँदै जान्छ। हाम्रो शरीरले प्रभु येशूको दोश्रो आगमनमा स्वर्गीय शरीर धारण गर्दा हाम्रो सम्पूर्ण उद्धारको काम पूरा हुन्छ।

 

पाठकवर्गको लागि मेरो प्रर्थना यही छ कि प्रभुले हाम्रो आत्मिक युद्धमा सहायता गरुन् र हाम्रो उद्धार पूर्ण होस्।

 

 

 

Facebook Comments

Category: Articles