मन्दिरको शुद्धता

[ 0 ] April 17, 2015 |
Peter Kamaleshwar Sing

Dr. Peter Kamaleshwar Sing
डा․ पीटर कमलेश्वर सिंह

परीचय: मन्दिरको इतिहाससोलोमनको मन्दिर

सृष्टीको आरम्भ देखि नै परमेश्वरले आफ्ना लोगहरुको माझमा वास गर्न र संगति गर्न चाहना गर्नु भएको हो। आदम देखि लिएर नोआ, अब्राहम, इसहाक र याकुब संग उहाँले व्यक्तिगत रूपमा कुरा कानी गर्नु भएको र मोसाले परमेश्वर ले देखाउनु भएको नमूना अनुसार उहांको वास स्थानको रुपमा तम्बु निर्माण गरेका थिये। पछि राजा दाउद ले परमेश्वरको निम्ती एउटा भव्य मन्दिर नर्माण गर्ने इच्छा गरे र त्यसको लागि चाहिने सबै सामग्री जम्मा गरे तर निर्माण चाहिं राजा सोलोमनले मात्र गर्न पाए। मन्दिरको निर्माण समाप्त भए पछि सम्पूर्ण इस्राएलीहरु को उपस्थीतिमा यसको समर्पण गर्दा राजा सोलोमन ले स्वीकार गरेका थिए, “तर के परमेश्‍वर निश्‍चय नै पृथ्‍वीमा वास गर्नुहुन्‍छ र? स्‍वर्गहरू, स्‍वर्गभन्‍दा पनि उच्‍च स्‍वर्गमा तपाईं अटाउनुहुन्‍न भने, मैले निर्माण गरेको यो मन्‍दिरमा त झन्‌ कसरी अटाउनुहुन्‍छ!” (१ राजा ८:७)। सर्वोच्च परमेश्वर जो स्वर्ग र स्वर्ग भन्दा पनि उच्च स्वर्गमा अटाउनु हुन्न, आफ्नै प्रेम र कोमल कृपामा मानिसहरुको बीचमा आफ्नो महीमित उपस्थीति राख्न मन पराउनु भएको हो।

राजा सोलोमन को छोरा रेहोबाम को पालामा इस्राएल देश दुई भागमा विभाजित भयो: इस्राएल र यहूदा। इस्राएलीहरु प्राय: परमेश्वरलाई मन न पर्ने काम गरे र अस्सूर देशमा बंधूआईमा गए र कैले पनि आफ्नो देश फर्केनन्। यहूदा का राजाहरु मध्ये कोही राम्रा भए र परमेश्वरको भयमा आग्याकारी जीवन बिताए, र कोही न राम्रा भए र परमेश्वरको भय नमानी अनाग्याकारी जीवन जिए। पछि बेबीलोनका सेनाले ५८६ ई․पू․ मा यरुशलेमलाई कब्जा गरे र यहूदाका मानिसहरूलाई पनि निर्वासनमा लगे। त्यती बेलानै बेबीलोनी सेनाले सोलोमन ले निर्माण गरेका मन्दिरलाई पूरै ध्वस्त पारी दिएका थिए। “बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए। उनले परमप्रभुको मन्‍दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए। सबै मुख्‍य-मुख्‍य भवनहरूलाई उनले जलाइदिए। राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्‍वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्‍काइदिए। सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे। तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्‍ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्‍यहाँ छोड़े। बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌नेआधारहरू, र काँसाको विशाल खड्‌कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे। उनीहरूले भाँड़ाहरू, बेल्‍चाहरू, सलेदाका चिम्‍टाहरू, र कचौराहरू, र मन्‍दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे। राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्‍चन सुन वा चाँदीले बनाइएका जति सबै लगे” (२राजा २५: ८-१५)।

जेरुबाबेल को मन्दिर

बेबीलोनको ७० वर्षको निर्वासन ताका राजा कोरेस ले यरुशलेमको मन्दिर पुनर्निर्माणको लागि हुकुम गरेका थिये। त्यसको सबै खर्च राज्यकोष बाट बेहोरिने भएको थियो र मन्दिरको आकार र नाप समेत तोकियेको थियो। नबुकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सबै सामग्रीहरु पनि फिर्ता गर्नु पर्ने आदेश थियो। “कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्‍वरको मन्‍दिरबारे यो उर्दी निकाल्‍नुभयो: ‘त्‍यो मन्‍दिर बलिदान चढ़ाउनका निम्‍ति पुनर्निर्माण गरिओस्‌ र त्‍यसका जगहरू बसालिऊन्‌। त्‍यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको, र ठूला-ठूला ढुङ्गाका तीन लहर र काठको एक लहर होस्‌। त्‍यसको खर्चचाहिँ राजकीय कोषबाट दिइनुपर्छ। नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट निकालेर बेबिलोनमा ल्‍याएका परमेश्‍वरको भवनका सुन र चाँदीका भाँड़ाहरू पनि फेरि यरूशलेमको मन्‍दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्‍वरको भवनमा आफ्‍नो-आफ्‍नो स्‍थानमा राखिदिनुपर्दछ’ (एज्रा६: ३-५)। सोही आग्या अनुसार सामरीहरू बाट धेरै विरोध हुँदा हुँदै पनि ५२० ई․पू․ मा निर्माण को काम आरम्भ भै ५१५ ई․पू․ मा समाप्त भएको थियो।

हेरोदको मन्दिर

जेरुबाबेलले निर्मण गरेको मन्दिर पुरानो भएपछि राजा हेरोदले यहूदीहरुलाई खुशी पार्न पहिले को भन्दा ठूलो र भव्य मन्दिरको निर्माण गरेका थिए। हेरोद राजा को शासन कालको १८ औं वर्ष अर्थात् ई․पू․ २०-१९ मा निर्माण आरम्भ भै ई․सन् ६२-६४ मा यसको निर्माण सम्पन्न भएको थियो। यसै मन्दिरको भव्यता चेलाहरुले प्रभु येशुलाई वर्णन गरे का थिए। पछि ई․ सन् ७० मा रोमीहरुले यरुशलेमको घेराबन्दी गरेको बेला एउटा रोमी सिपाहीले मन्दिर को मुख्य भागमा आगो लगाई जलाई दिएका थिए।

येशु को सेवकाईको समय मा हेरोदको मन्दिरको पूर्व पट्टीको चोकलाई सोलोमोन को मन्दिरको अवशेष भएको स्थान भएको विश्वासको कारण सोलोमन को बारदली भनिन्थ्यो। यसै चोकमा रुपया पैसा साट्ने हरु ले आफ्नो टेबल राख्थे र व्यापारीहरुले बिक्रीको लागि पशु पक्षीहरु राख्थे। र यसरी मन्दिरको दुरुपयोग भै रहेको र अपवित्र पारीएको थियो।

मन्दिरको उद्देश्य

सृष्टिको आरम्भ देखि नै परमेश्वरले मानिस संग वास गर्न र संगति गर्न इच्छा गर्नु भएको हो तर पाप ले गर्दा त्यो संगति बिथोलियो र डरले मानिस परमेश्वर देखि लुक्न थाल्यो। तैपनि परमेश्वरले उहाँको इच्छा छोड़नु भएन। इस्राएलीहरुलाई मिश्र देश बाट निकालेर ल्याउँदा परमेश्वरले फेरि मोशा सित कुरा गर्नु हुँदा आफ्नो इच्छा दोहोर्याउनु भएको थियो। परमेश्वरले मोशालाई भन्नु भयो, “म तिनीहरूका मध्‍यमा बस्‍नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्‍थान बनाऊन्‌। मैले तँलाई देखाउने नमूनाबमोजिम पवित्र वासस्‍थान र त्‍यसका सबै सामानहरू तैंले बनाउनू” (प्रस्थान २५:८-९)। स्वर्ग परमेश्वरको वासस्थान हो र त्यहां एउटा मन्दिर छ – स्थायी मन्दिर। परमेश्वरले मोशालाई उहाँको वासस्थानको रूपमा पवित्र स्थान निर्माण गर्न आग्या गर्दा स्वर्गमा भएको मन्दिरको नमूनाबमोजिम बनाउने आग्या गर्नु भएको थियो। मन्दिरका सबै कुरा पनि सोही नमूनाबमोजिम हुनु पर्ने थियो। “पर्वतमा तँलाई देखाएको नमूनाबमोजिम तैंले होश गरी ती बनाउनू” (प्रस्थान २५:४०)। हिब्रूको पुस्तकमा स्वर्गमा रहेको मन्दिरलाई अझ प्रष्ट पारिएको छ। ‘तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्‌, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू” (हिब्रू ८:५)। मन्दिर परमेश्वरको वासस्थान हो र यस संसारमा उहाँ मानिसहरुको माझमा वास गर्न चाहनु भएको कारण मोशा, सोलोमन, जेरुबाबेल र हेरोदले मन्दिर निर्माण गरेका थिए।

सभाघरको प्रचलन

यहूदाका मानिस हरू ७०वर्ष बेबीलोनमा प्रवासी वा बंधआईमा बस्दा व्यवस्था अनुसार पालन गर्नु पर्ने रीति थीति र बलिदानहरु मन्दिरको अभावमा अर्पण गर्न कठीन र अव्यावहारीक भएको कारण सोको सट्टा सभाघरमा परमेश्वरको वचन पढेर सुन्ने र कसैले त्यसको व्याख्या गर्ने प्रचलन विस्तारै आइसकेको थियो। ७० वर्ष पछि एज्रा र नहेम्याहको अगुवाईमा यहूदीहरू आफ्नो देश फर्कि आउँदा बेबिलोनमा स्थापित परम्पराले नै निरन्तरता पाएको थियो। यरुशलेममा मुख्य सभाघर र गाऊँहरुमा साना साना सभाघरहरु निर्माण गरिए र सबथको दिनमा धर्मशास्त्र बाट वचनको पढाई र त्यसको व्यख्या सुन्न यहूदीहरु प्राय: सबै सभाघरहरुमा भेला हुन्थे। यही परम्परा अनुसारनै येशु प्रभु पनि सभाघरहरुमा शिक्षा दिंदै हिंड्नु हुन्थ्यो। नाजरथमा पनि येशुले सोही अनुसार यशायाह अगमवक्ताको पुस्तकको एक भाग पढेर सुनाउनु भएको थियो। “उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्‍नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्‌नलाई खड़ा हुनुभयो” (लुका ४: १५, १६)।

येशुले मन्दिरलाई शुद्ध पार्नु भएको

नयाँ नियम मा येशुले दुई पटक मन्दिरलाई शुद्ध पार्नु भएको घटना उल्लेख गरीएको छ। आफ्नो सेवकाईको आरम्भमा काना को विवाहमा येशुले पहिलो चिन्ह गर्नु भए पछि उहाँको आमा, भाईहरु र चेलाहरू संग कपर्नहूम जानु भयो। त्यहाँ केही दिन बस्नु भए पछि यहूदी हरुको निस्तार चाड को समय नजिकै रहेको कारण उहाँ यरुशलेम जानु भयो। यरुशलेममा “उहाँले मन्‍दिरमा गोरु, भेड़ा र ढुकुर बेच्‍नेहरू र पैसा साट्‌नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्‍दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्‍दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्‌नेहरूको रेचकी घोप्‍ट्याएर तिनीहरूका टेबिल पल्‍टाइदिनुभयो। ढुकुर बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्‍यापारको घर नतुल्‍याओ”(यूहन्ना २:१४-१६)। परमेश्वरको वासस्थानलाई उहाँकै विशेष जातिले व्यापार गर्ने घरमा परिवर्तन गरी दिएका थिए। येशुले यो सह्न सक्नु भएन र सबैलाई त्यहाँबाट निकालेर परमेश्वरको भवनलाई शुद्ध पार्नु भयो।

दोश्रो घटना मत्ती को २१ अध्यायमा वर्णन गरीएको छ। येशु आफ्नो सेवकाईको अन्तमा आई सक्नु भएको थियो। ठूलो भिडको स्वागत र “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!” भन्नेनाराका साथ बडो धुमधाम साथ उहाँ यरुशलेमको आखिरी यात्रा गर्नु भएको थियो। मन्दिर नै उहाँको पहिलो गन्तव्य थियो! “येशू परमेश्‍वरको मन्‍दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्‍दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ,‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ”(मत्ती २१:१२,१३)। मन्दिर, जो परमेश्वरको वासस्थानको रुपमा स्थापित गरीएको थियो, परमेश्वरको उपस्थिति थाह गर्ने स्थान, उहाँको आराधना गर्ने स्थान र प्रार्थनाको भेंटी अर्पण गर्ने स्थानको रूपमा उपयोग गरीएको थियो, मानिसको लोभ र स्वार्थले त्यसको दुरुपयोग गरीरहेका थिये। येशुले परमेश्वरको उपस्थिति उहाँको भवनमा पुन: स्थापित गर्न मन्दिरलाई शुद्ध पार्नुभएको थियो।

शरीर: परमेश्वरको मन्दिर

मन्दिरलाई येशुले शुद्ध पार्नु भएको पहिलो घटनामा यहूदीहरुले उहाँलाई उहाँको अधिकारको बारेमा प्रश्न गर्दै सोधेका थिए, “तपाईं यी काम गर्नुहुन्‍छ, त यिनका निम्‍ति हामीलाई के चिन्‍ह देखाउनुहुन्‍छ” (यूहन्ना २:१८)? येशुले जवाफ दिनु भएको थियो, “यस मन्‍दिरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु” (यूहन्ना २:१९)। तीन दिनमा! यहूदीहरु छक्क परेका थिए। त्यो मन्दिर निर्माण गर्न ४६ वर्ष लागेको थियो र येशुले तीन दिनमा पुन: निर्माण गरी दिने कुरा गरी रहनु भएको थियो। “तर जुन मन्‍दिरको विषयमा उहाँ बोल्‍नुभएको थियो, त्‍यो उहाँको शरीर थियो” (यूहन्ना २:२१)। उहाँको पुनरुत्थान पछि चेलाहरुले पनि यो सत्यता बुझे।

येशुको आगमन संगै मानव जातिको निम्ति एउटा नयाँ युगको आरम्भ भैसके को थियो। पुराना कुरा हरु बिति सकेका थिये। परमेश्वरले क्रमिक प्रकाशको सिद्धान्त अनुसार आफ्नो वासस्थान पनि क्रमिकरुपमा परीवर्तन गर्दै हुनुहन्थ्यो। पहिले व्यक्तिगत रुपमा आदम, नोआ, अब्राहम, इसहाक, याकुब, मोशा, यहोशू आदि संग व्यवहार गर्नु भयो, त्यस पछि तम्बु, सोलोमन को मन्दिर, जेरुबाबेलको मन्दिर र अन्तमा हेरोदको मन्दिरमा आफ्ना लोगहरु बीच वास गर्नु भयो। तर सृष्टिको आरम्भ देखि नै परमेश्वर मानिस संग गहिरो संगति गर्न इच्छा गर्नु भएको थियो।

वर्तमान् युग अनुग्रहको युग हो र यस नयाँ युगमा प्रभु येशुमा विश्वास गरी नयाँ जन्म पाएका हरेक विश्वासीको शरीरलाई उहाँले आफ्नो वासस्थान बनाउनु भएको छ। विश्वासीको रूपमा हामीले यस कुरा लाई गम्भीरता पूर्वक बुझ्नु पर्ने र एउटा सौभाग्यको रूपमा लिनु पर्ने हो। ‘के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ? कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ” (१कोरिन्थी ३:१६,१७)। फेरि १ कोरिन्थी ६: १९ मा पनि पौलुसले यही कुरा दोहोर्याएका छन्, ‘तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।‘

मानिसको रूपमा हामीले यस्तो अनुग्रह बुझ्न र स्वीकार गर्न कठीन हुन सक्छ। परमेश्वर आफ्नो सर्वोच्च इच्छामा मानिस को माझ बाट आफ्नो वास स्थान परीवर्तन गरी मानिसको शरीरलाई आफ्नो वासस्थान बनाउनु भएको छ। यो एउटा रहस्य पनि हो, जुन रहस्यलाई पवित्र आत्माले अहिले प्रस्ट पार्नु भएको छ। ‘युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ। यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो’ (कलस्सी १:२६, २७)। पवित्र आत्माले पावललाई यो रहस्य प्रकट गर्नु भएको थियो र हामीले पनि यस सत्यतालाई गहिरो गरी स्वीकार गरौं भनेर धर्मशास्त्रमा लेखिएको छ। ‘मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु,र तिनीहरूकाबीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌” (२कोरिन्थी ६:१६)

मन्दिरको शुद्धता

यहूदी हरूले येशुलाई प्रश्न गर्दा उहाँले आफ्नै शरीर रूपी मन्दिरको कुरा गर्नु भएको थियो। त्यति बेला मन्दिरको उपयोगिता पनि थिएन, विश्रामको दिनमा मानिसहरु सभाघरमा भेला हुन्थे र परमेश्वरको वचन पढेर सुन्थे। फेरि येशुले मन्दिरबाट व्यापार गर्नेहरुलाई किन धपाउनु भयो? मलाई लाग्छ उहाँले गर्नु भएको यो काम पनि अरु चिन्हहरु जस्तै सांकेतिक थियो।

येशुले आफ्नो सेवकाईको आरम्भमा र अन्तमा गरी दुई पटक मन्दिरलाई शुद्ध पार्नु भएको थियो। उहाँको वास स्थान अर्थात् हाम्रो शरीर रुपी मन्दिरको शुद्धता या पवित्रतालाई निरन्तरता दिनु पर्ने आवश्यक छ। हाम्रो शरीर संग गाँसिएको पापमय स्वभावले हाम्रो अभिलाषालाई दुरुपयोग गर्न सक्छ। अर्को कुरा, शरीरलाई मन पर्ने सबै कुरा दुष्टलाई उत्तिकै मन पर्छ। यस संसारमा हाम्रो जीवनको एउटा महत्वपूर्ण उद्देश्य छ – पवित्र आत्माको सहायताले शरीरको कामलाई निर्मूल पार्ने। “किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ” (रोमी ८:१३)। स्नान गरीसकेको मानिसले घरी घरी खुटा मात्रै धोए पुग्छ तर त्यो पवित्रताको लागि आवश्यक छ। ‘येशूले तिनलाई भन्‍नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्‍यो सम्‍पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन” ( यूहन्ना १३:१०)।

मन्दिरलाई शुद्ध पार्ने पहिलो घटनामा येशुले भन्नु भएको थियो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्‍यापारको घर नतुल्‍याओ” (यूहन्ना २:१६)। मन्दिर भित्र विभीन्न व्यक्तिहरुले गोरु, भेडा र ढुकुर बिक्री गर्दै थिए र कति जना रुपैया साट्ने व्यवसाय गरी रहेका थिए। भेडा विश्वासीहरु लाई जनाउँछ र ढुकुर पवित्र आत्मा लाई। येशुले यीनको व्यापार भैरहेको हेरी सक्नु भएन। आज हाम्रो शरीर रुपी परमेश्वरको मन्दिरको अवस्था कस्तो छ? मण्डली जो स्वयम् येशु ख्रीष्टको शरीर हो, यसको पवित्रता कस्तो छ? प्रभुको ईच्छा हरेक मणडली र प्रत्येक विश्वासीको लागि यही हो, उहाँको वासस्थानलाई व्यापारीकरण न गरेर पवित्र राखौं र उहाँको उपस्थिती हाम्रो हृदयमा र मण्डलीमा रही रहोस्। हामी सबैको सोच येशु जस्तै हुन सकोस्, “तपाईंका भवनको जोशले मलाई जलाउनेछ” (यूहन्ना २: १७)। उहाँका लोगहरु र उहाँको शरीरका अंगहरुको रुपमा हमीले पनि यस संसारमा परमेश्वरको भवन वा हाम्रो आफ्नै शरीरको पवित्रताको लागि पवित्र आत्माको सहायताले परीश्रम गरौं। हाम्रो मनको जोश कस्तो छ? वचनमा लेखिएको छ, ‘तिमीहरूमा यस्‍तो मन होस्‌, जो ख्रीष्‍ट येशूमा पनि थियो’ (फिलिपी २:५)। येशुले पिताको इच्छा पुरा गर्ने एकमात्र उद्देश्यले यस संसारमा आउनु भयो, पिताको वचन बोल्नु भयो, पिताले अह्राउनु भएको काम गर्नु भयो, पिताले येशुमा वास गर्नु भयो र पिताले येशुलाई महिमीत पार्नु भयो। येशुले आफ्नो प्रार्थनामा पितालाई बिन्ती चढाउँदा प्रष्ट पार्दै भन्नु भएको छ, ‘जुन काम तपाईंले मलाई दिनुभयो, त्‍यो पूरा गरी तपाईंलाई पृथ्‍वीमा मैले महिमित तुल्‍याएको छु। अब हे पिता, संसारको सृष्‍टि हुन अघि तपाईंको सम्‍मुख मेरो जुन महिमा थियो, त्‍यसैले आफ्‍नो उपस्‍थितिमा मलाई महिमित पार्नुहोस्‌’ (यूहन्ना १७:४५)। मेरो र तपाईंको लागि परमेश्वरको इच्छा के हो?

हामी सबैको लागि परमेश्वरको साधारण इच्छा एक समान छन्। ‘किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस। पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान, तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस। यस विषयमा कसैले अपराध गरेर आफ्‍नो भाइलाई खराबी नगरोस्‌, किनकि यस्‍ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्‍छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्‍भीर चेताउनी दिएका छौं। किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको निम्‍ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ’ (१ थिस्सलोनिकी ४: ३-७)। हम्रो लागि परमेश्वर विशेष इच्छा हाम्रो बोलावट अनुसार फरक फरक हुन सक्छन्। यो हामी हरेक ले जाँचेर पत्ता लगाउनु पर्ने हुन्छ। तर यसको लागि हामीले पहिले आफ्नो शरीरलाई परमेश्वरलाई मन पर्ने र जीवित बलिदानको रुपमा अर्पण गर्न र संसार को चालामा न हिंड़ने निश्चय गर्नु पर्ने आवश्यक छ। ‘यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक’ (रोमी १२: १-२)।

मन्दिरलाई शुद्ध पार्ने दोश्रो घटना मा मन्दिरको दुरावस्थालाई हेरेर आफ्नो रिसलाई थाम्न सक्नु भएन। मन्दिर भित्र व्यापार गर्ने सबैलाई धपाइ दिनु भयो र रुपया पैसाको कारोबार गर्नेहरुको टेबल पल्टाइ दिनु भयो। परमेश्वरको भवन जहाँ उहाँका मानिसहरुले आपसमा संगति गर्नु पर्ने र प्रार्थनामा समय बिताउनु पर्ने (पुरानो व्यवस्था अनुसार विभीन्न बलिदान चढाउनु पर्ने) थियो, त्यो पवित्र स्थानको दुरुपयोग भैरहेको थियो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ” (मत्ती २१:१३)।

येशुको अभिव्यक्तिले दुईटा कुरालाई प्रष्ट पारेको छ – प्रथम: परमेश्वरको इच्छा अनुसार उहाँको भवन उहाँको अराधना गर्न उपयोग भैरहनु पर्ने, दोश्रो: तर उहाँका आफ्नै मनिसहरुले यसलाई डाँकूहरूको अड्डा बनाएका छन्। उहाँले अनुभव गर्नु भएको दुरावस्था र दिनु भएको अभिव्यक्ति आजपनि उत्तिकै सान्दर्भिक छन्। परमेश्वरको इच्छा अनुसार हाम्रो शरीर उहाँको वासस्थान भएको छ जहाँ उहाँ आफनो आत्मा द्वारा वास गर्नु हुन्छ। उहाँ संग हाम्रो व्यक्तिगत सम्बन्ध कस्तो छ? कति गहिरो छ? छ पनि कि छैन? स्वर्गमा वास्तविक मन्दिरमा सधैं परमेश्वरको आराधना भैरहेको छ, हाम्रो मनमा के चलीरहेको छ? येशुले भन्नु भएको छ, ‘तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्‌, ती हृदयबाट निस्‍कन्‍छन्‌, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌। किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌’ (मत्ती १५: १८-१९)। आज व्यक्तिगत रूपमा हाम्रो हृदय प्रभु येशु संग जोड़िएको छ? पावल ले थिस्सलोनिकीहरुलाई उत्साहित गर्दै भनेका छन् ‘सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो’ (१थिस्सलोनिकी ५: १६-१८)।

हामी यस संसारमा राखिएका छौं एउटा विशेष उद्देश्यले। येशुले आरम्भ गर्नु भएको परमेश्वरको राज्यको सुसमाचारलाई हामीले निरन्तरता दिन लाई हो। हामी एउटा युद्धमा छौं – यस संसारको देवको विरुद्धमा। यस युद्धको विषयमा पावलले एफिसी को छैठौं अध्यायमा विस्तारमा वर्णन गरेका छन्। त्यसै क्रममा उनी भन्छन्, ‘सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो। मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्‌, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ’ (एफिसी ६: १८-२०)। दुष्टको विरुद्ध चलीरहेको युद्ध पहिले प्रार्थना मा जितन्छ र सबै सन्तहरुले सुसमाचार प्रचारको निम्ति साहस पाउन्छन्। यस संसारमा हामीले प्रभुको इच्छा पूरा गर्नेहो भने उहाँको भवनलाई प्रार्थनाको भवन बनाउनै पर्छ।

मन्दिरमा व्यापार गर्ने व्यक्तिहरु लाई येशुले डाँकाहरु जस्तै हेर्नु भएको थियो। व्यापारको उद्देश्य लाभ अर्जन गर्नु हो। संसारमा अनगिन्ती व्यापारीहरु र उद्योगपतिहरु छन्। यो आफैमा नराम्रो काम हैन। तर जब परमेश्वरको आराधना स्थल व्यापार गर्ने थलोमा परिणत हुन्छ, पवित्र आत्मा दुखी हुनुहुन्छ, प्रभु येशुलाई मन पर्दैन र पिताको महिमा धुमिल हुन्छ। डाँकाहरुको काम एउटै हुन्छ, अरुले परीश्रम गरेर आर्जन गरेको सम्पति जबर्दस्ती खोसेर ल्याउने र आफु कुनै परिश्म नै नगरी अकुत सम्पतिको जगेर्ना गर्ने। वचनमा धन सम्पतिको विषयमा धेरै कुरा लेखिएका छन्।

येशुले स्पष्ट गरी चेतावनी दिंदै भन्नु भएको छ, “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ” (मत्ती ६:२४)। यस संसारमा रुपैया पैसा आवश्यक पर्छ तर यसमा धेरै ठूलो अकर्षण छ। यसको उपयोग दैनिक जीवन यापनको लागि आवश्यक छ र यसैको लागि हामी विभीन्न किसीमको व्वसाय वा जागीर गर्छौं। अफ्नो आयले आफ्नो परीवारको पालनपोषण गर्न उचित र आवश्यक पनि छ। वचनमा अफ्नो हातले काम गरी खाने जीवन शैलीलाई प्रोत्साहित पनि गरीएको छ र ‘काम न गर्नेले खाना पनि न खाओस’ भनेर अर्ति पनि दिइएको छ। जब रुपैया पैसाले हाम्रो जीवनमा मुख्य स्थान लिन्छन् र हामी त्यसैको पछि दगुर्न थाल्छौं , यसले हाम्रो जीवनमा समस्या उत्पन्न गर्छ। हामी सबै कुरा लाई आर्थिक दृष्टिकोणले हेर्न थाल्छौ र प्रभु संगको हाम्रो हिंड़ाईमा शिथिलता आउन थाल्छ। पावलले तिमोथीलाई भन्छन्, ‘सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले न त यस संसारमा केही ल्‍यायौं न यहाँबाट केही लैजान नै सक्‍छौं। तर खान र लाउनसम्‍म छ भने हामी त्‍यसैमा सन्‍तुष्‍ट हुनेछौं। तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्‌, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दु:खदायी इच्‍छाहरूमा डुब्‍छन्‌, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्‌, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌’ (१तिमोथी ६: ६-१०)।

हामी प्रभुको शरीरका अंगहरुको रुपमा चनाखो हुनु पर्ने आवश्यक छ। हाम्रो शत्रुले हाम्रो विरुद्ध उपयोग गर्ने हतियारहरु हामीलाई शरीर अनुसार मन पर्ने कुरा हरुनै हुन्। येशुले परमेश्वरको भवनलाई शुद्ध पार्नु भएको जस्तै हाम्रो शरीर रुपी मन्दिर पनि हामी उहाँको वासस्थानको रुपमा पवित्र राखौं। शरीर, संसार र शैतान देखि आफूलाई पवित्र आत्माको सहायताले सधैं जोगाई राख्न आवश्क छ। प्रभुले हामी सबैलाई अन्तरदृष्टि दिउन्।

Facebook Comments

Category: Articles