कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान

[ 0 ] February 23, 2015 |
Resham Kumar Sunuwar

Resham Kumar Sunuwar

कविता
शिर्षक : प्रेमको घनचक्करमा जीतमान

ओईलिन लागेको
गुलाबको फूलको एक थुङ्गा
समाएर हातमा
कसैलाई पर्खीरहेछ जीतमान
अप्ठयारो भीरको डीलमा उभिएर
कुनै प्रेमिकाको प्रतिक्षामा बस्दा बस्दै
ओईलिदै गएछ
जीतमानको गुलाबी फूलको थुङ्गा
फुङ्ग उडदै गएछ
फूलको गुलाबी रङ्ग
र सुक्दै गएछ
फूलका हरिया पात
हरेक साल प्रेम दिवसको मौसममा
यस्तरी नै सल्बलाउँछ मनभरी
जीतमानको प्रेमको मधुर रस
कति भन्नु
नओईलिने प्रेम
जो येशूको प्रेम
पर्खीरहेछ सबैको निम्ति
र पनि सन्तुष्टिको गलत खोजीमा
भौतरिन्छ कता कता जीतमान !
इश्वरीय प्रेमको गहिराईमा
डुबे पो सफल हुन्छ
प्रेमको अनेकन् किस्सा
र अर्थपूर्ण हुन्छ मान्छेको जीवन ।

खोई ! हरेक साल जीतमानको
प्रेम दिवसकै दिन
नयाँ प्रेमको किस्सा
अंकुररिन्छ गुलाबी कोपिला झैं
र क्रमशः उसका प्रेमका कोपिला
फक्रिन नपाउँदै
अकालमै ओईलिएर जान्छ
उसको प्रेमको फूल ।

जीतमान एक असफल प्रेमी
या प्रेमकै परिभाषाको गलत विन्दुमा उभिने
एउटा अनिश्चित पात्र?
एउटा वहस चर्किन्छ
के प्रेम हाँसी, मजाक र ठट्टाको पोको हो?
या गम्भीर्यताको बोध ?
यही अनुत्तरित प्रश्नंले खेदीरहन्छ
प्रेम दिवसको रौकनतामा
हरेक साल जीतमानलाई
सफल प्रेमको इतिहास
असफल प्रेमको कहानी
अनगिन्ती घटना र इतिहासको थाकमा
असरल्ल छरिएका प्रेमका परिभाषाहरुमाझ
अलमलिएका देखिन्छन् जीतमान
अस्थिर प्रेमको बेगवान छालम हुत्तिदै
यो संसारिक प्रेमको माकुरे जालमा
कतिसम्म जेलिन्छ कुन्नी !
कहाँ शुरु हुन्छ
कहाँ अन्त हुन्छ
कहाँ जोडिन्छ
कहाँ टुक्रिन्छ
कहाँ टुसाउँछ
कहाँ विलाउँछ
एउटा तीतो घनचक्करमा
चक्कर मारीरहन्छ जीतमान
मानौ प्रेमको घनचक्कर
टुक्रिने र चुँडिने प्रेमको कच्चा डोरीमा
कति मार्ने प्रेमको घनचक्कर
एउटा प्रेम
जो मान्छेको लागि अनन्त छ
एउटा प्रेम जसले मान्छेको जीवनमा
जिउन सिकाउँछ
आत्मादेखि आत्माको सम्बन्ध
पृथ्बीदेखि स्वर्गसम्म गाँसिने सम्बन्धको पुल
मानिस र इश्वरबीचको सम्बन्ध
यो हो अद्धितीय येशूको प्रेम
स्वर्ग छोडेर धर्तीमा आई
क्रुसमा चढेर गरिएको बलिदानिक प्रेम
मानबकै लागि गरिएको निस्वार्थी प्रेम
ए जीतमान
मैले भनेकै हो
आउ येशूको अनन्त प्रेमको तलाउमा
डुबुल्की मार
जहाँ मान्छेले प्रेमको
अनन्त तरङ्ग स्पर्श गर्दछन्
र जिन्दगीको अर्थ भेटदछन् ।
सम्झाई रहेछु
बताई रहेछु
जीतमानलाई येशूको प्रेम
यो सालको प्रेम दिवसमा पनि ।
–रेशम कुमार सुनुवार

Facebook Comments

Category: कबीता