कविता शीर्षक : चिसो याम र ख्रीष्टमस

[ 0 ] December 23, 2014 |
Resham Kumar Sunuwar

Resham Kumar Sunuwar

कविता
शीर्षक : चिसो याम र ख्रीष्टमस
हिमाली डाँडाहरुमा
हिउँ थुप्रिदै गर्दा
पहाडी वस्तीहरुमा
चिसो हावा चल्दै गर्दा
तराईको फाँटहरुमा
शीतलहर झर्दै गर्दा
यो हिउँदको चिसो याममा
केही प्रश्नं.हरु
केही जिज्ञासाका थाकहरुमाझ
मान्छेहरु रुमल्लिदै गर्दा
एउटा खशीको लहर
एउटा आन्नदको प्रहर
पृथ्वीको कुना कुनासम्म
सामुद्रिक छाल झैं
हरेक वर्ष
तरङ्गिएर आउँछ

चिसो ठिहीको घनचक्करमा
जोरसाथ पिल्सिएर
बारीका कान्लाका रुखहरु
कक्रक्क कक्रिएर
आफ्ना रङ्ग हराएको बेला
हरेक वस्ती र शहरका पसलहरुमा
केही नक्कली स–साना
हरिया ख्रीष्टमस रुखहरु सजिन्छन्
बूढो सान्त क्लोज
रातो टोपी लगाएर
गजधुम्म पर्छ
एकतमासले बेचिन्छन् र किनिन्छन्
नक्कली हरिया साना ख्रीष्टमस रुख
र बूढो सन्त क्लोज
प्रत्येक घरहरु
अनि मण्डलीहरु
सजाईन्छन् झिलीमिली बत्तीहरुले
रङ्गीन तुल्याईन्छन्
केही नक्कली रबरका फूलहरुले
के यहुदी
के इसाई
के गैह्र इसाई
के आस्तिक
के नास्तिक
हरेक वर्ष
दिसेम्बरको चिसो मौसमले
जब मुटु कमाउँछ
र सम्झनाका लहरमा
बग्दै आउँछ
एउटा अचम्मको इतिहास
महान येशू
उद्धारकर्ता
जसको जन्मको अमर इतिहास
ख्रीष्टमस अर्थात ख्रीष्ट जन्मोत्सव
परमेश्वरको पुत्र
येशू स्वर्गको वैभव त्यागेर
मानव जातिको लागि
जन्मिएको पल
जहाँ मान्छेले खुशी बाँडीरहन्छन्
नदी सुसाउछ
चराहरु चिबिराउँछन्
चिसो हावाको झोक्काहरुमा
ठोक्किदै जाँदा
जम्छन् पानीका थोपाहरु
र फेरी मन्द घामको तातो किरणले
फुस्स निस्कन्छन् धुवाँरुपी बाफहरु
र आउँछन्
यी घर आँगनहरुमा
क्यारोल झुण्डहरु
डाँडा काँढा गुन्जाउँदै
ख्रीष्टमसका गीत संगीतका
चर्को सुसेलीहरुमा
ख्रीष्ट जन्मको यथार्थ बाँड्दै
केही मिठा मसिना खानपिन
केही उपहार लेन देन
आफन्तहरुसँग भेटघाट
संगति अनि प्रार्थना
भजन र प्रबचन
बाँडदै खुशीका पोकाहरु
सकिन्छ हरेक साल
ख्रीष्टमसको उत्सव
र फेरी अर्को सालको
प्रतिक्षामा
मान्छे आफ्नो दैनिकीमा
गुमनाम हुन्छन्
जब जब चर्किन्छ चिसो याम
आउँछ र जान्छ
वडादिन
ख्रीष्ट जन्मोत्सव ख्रीष्टमस् ।
–रेशम कुमार सुनुवार

Facebook Comments

Category: कबीता