फेन्जोले भनेको, ती केटी गल फेन हैनन् रे

[ 6 ] November 19, 2014 |
Aadan Pradaan

Aadan Pradaan
आदान प्रदान

“अंकल, हजूरको पाँच मिनेट फूर्सद छ ?” फोन । उसको बोली नै मीठो, लय हालेको जस्तो आवाज । “आऊन फेन्जो, भेटौं न…”

आइपुग्यो । अभिवादन पछि शान्त बनेर बस्यो । अनुमति पर्खेजस्तो ।

म बसेँ. । उ गम्भीर थियो । म पनि तेस्तै बनें, “भनन फेन्जो तिम्रो मनमा के छ ?”

“अंकल, मलाई एउटा मदत दिनू न । एउटी केटी छिन् अंकल । त्योे गिडियनको सानु बाइबल ती केटीको लागि दिनुहुन्छ कि ?”

मैले अलिकता अडकल गरेर उसलाई जिस्काए, “केटी मात्र भन्यौ, गल फेन होला”

“नभनौं अंकल त्यो शब्द नभनौं” म अलिक सतर्क बनें । मेरो हल्का, गफाडी तरिकामा अलि लाज पनि लाग्यो । म चुप्प लागेर उसलाई हेर्न लागे,

“अंकल यो शब्द म चारैतिर सुन्छु तर यो केटीको बारेमा म यो चलाउनु माग्दिनँ । किनभने यो शब्द सस्तो शब्द भइसक्यो । म उनलाई इजेत गर्छु अनि उनलाई ….”

“लभ गर्छु, माया गर्छु भनन फेन्जो ।” मैले उसको अप्ठोरोमा मदत गरें ।

“होइन अंकल, त्यो मेरो लागि धेरै मोडन कुरो भयो । त्यो पनि नभनौं होला, हजूरको कुरो नटेरेजस्तो भयो अंकल ।” अब भने म लज्जित नै हुन थाले मेरो हल्का पनामा । फेन्जोलाई केही त चिन्छु, केटो एकदम, सतर्क छ, समझदार छ । जीवनलाई उसले गम्भीर रूपमा लिएको छ । म मेरै कुर्सीमा एक छिन छटपट गरेर आरामसँग बसें ।

“फेन्जो, मनमा लागेको कुरा सुनाऊ । मलाई अप्ठेरो नमानी भन ।”

उसले बताउन थाल्यो, “मलाई यी केटीको कुरो र व्यवहार मन पर्यो । तर उसलाई नै मन पर्यो भन्ने मेरो अधिकार छ जस्तो लाग्दैनँ । पसलको सामान हामी मन पराउन र मन नपराउन सक्छौं तर नारी भनेको त आमा हो । म यी केटीको बारेमा केही पनि जान्दिनँ । भोलि ममा अर्को विचार आउला म उसलाई मन नपराउने, अर्कीलाई मन पराउने मान्छे बन्छु । यस्तो विचारले अरूलाई पनि हल्का बनाउँछ, र मेरो भावनालाई पनि सस्तो बनाउँछ नि अंकल ।

“मन पराउने शब्द भन्दा मलाई इजेत भन्ने शब्द ठीक लाग्छ । केटीहरू भनेको त पहिलो कुरो आमा हुन् अंकल । बच्चा जन्मेपछि उनीहरूको बिजोग हेर्नुपर्छ । मेरी आमाले भाइ जन्मेको पाँच दिनमा घाँस, दाउरा, चुला, चौका गरेर किनमेल, मेलापात सब भ्याएको । म भाइलाई बोक्थे, याद गर्थे आमा आधा घन्टा बीस मिनेट टाइम मिलाएर दूध खुवाउन आउनुहुन्थ्यो । कि बच्चा बोकेर जानु हुन्थ्यो । झर्को नमानी, आँसु नझारी सब गर्नु हुन्थ्यो चुपचाप । सुत्केरी शब्द मैले पछि सुने, सिकें अंकल । आराम गर्ने, तङ्गरिने, मिठो, तातो खाने बेला रैछ अंकल । मेरो बाउलाई जाँड खाए पुगिहाल्ने । साँचो भन्छु अंकल, कुरा बुझेपछि, उमेर टेकेपछि मैले हरेक केटी जातिभित्र आमा देख्न थाले, हेरक केटीभित्रको आमालाई मैले नमस्कार चढाएरै बोले, हाँसे ।”

“एक छिन है फेन्जो…”

म उठे, भित्र चौकामा तातो पानी कफी, दूध पाउडर खोज्न गएँ । बहाना थियो । फेन्जोले पोखेको आदर्शको अभिव्यक्तिले मलाई  हायल, कायल बनाउन थाल्यो । थर्कमान बनायो यसले त मलाई समेत सिकाउन लाग्यो । पक्का सोचमा बाँच्ने यो जवानले मलाई आज त जान, अन्जानमा थर्काइदियो । किचेनमा खान्द्राङ्ग खिन्द्रिङ्ग गर्दै आफूलाई बेसरी गाली गरे, “ए मूर्ख यो केटोबाट सिक, स्त्रीलाई हेर्नु, देख्नु र मान गर्नु बरू तैंले सिक् आदर गर्’ भनी आफैलाई हकारें । कफी लिएर आएँ ।

फेन्जो बताउँदै गयो, “अंकल यी केटी मेरो छेउ आइन्, मलाई सीधै भनिन्, ‘म तपाई जस्तो व्यक्तिसँग जीवन बिताउन चाहन्छु, म जस्तीलाई तपाई ठीक ठान्नुहुन्छ हुन्न म जान्दिनँ । अंकल, यी केटीलाई मन पर्यो परेन भन्न चाहन्न, म सबै मान्छेलाई मन पराउँछु, कसैलाई घृणा गर्दिनँ, आदर गर्छु । तर उसको कुरो मलाई घत लाग्यो । मुहारै रातौ पारेर, शिर झुकाएर तेसो भनी, सोर पनि कामीराथ्यो । मैले उसलाई सोझै सोधे, ‘किन त्यसो भन्नुहुन्छ ? म जस्तो व्यक्ति भनेको अर्थ के हो ?’ उनले भनिन्, ‘तपाई गम्भीर हुनुहुन्छ अनि जीवनलाई हाउडे तालले चलाउनु हुन्न, जे सुकै बोल्नुहुन्न अनि केटीहरूलाई फुरुक्क पार्ने, आफूतिर तान्ने किसिमको बात व्यवहार देखाउनु हुन्न’”

फेन्जो भूइँतिर हेरेर चुप्प लाग्यो । मैले उसलाई सजिलो गराएँ, “भनन फेन्जो, यो केटीको व्यवहार, बोली मलाई पनि छक्क लाग्यो र राम्रो लाग्यो ।”
फेन्जोले स्वाभाविकै केही अप्ठोरो पनि मानिरहेको थियो, “खै अंकल के भन्ने न भन्ने मलाई थाहा भएन । केही बेर मेरो मुटु कस्तो कस्तो भयो । गाला, गर्दन तातिएको जस्तो केके भयो । आत्तेको जस्तो । मैले त्यो सब कुरा लुकाएँ, जतिसक्दो शान्त बनें उनको अघि । अंकल हजूरलाई बताउनु पर्दा, पहिले नजानेका भावनाहरू मनमा आउन थाले ।” उ चुप्प लागी भूँइमा हेर्न लाग्यो ।

“भन फेन्जो, म के गरूँ, तिमी के चाहन्छौ ?”

सफा, स्पष्ट सोच्ने क्षमता भएको यो व्यक्ति आज अलमल, असुरक्षित जस्तो देखिन्दै थियो । उसले केही बेर घोरिएर भन्यो,
“अंकल, म नयाँ करार पढिरहेको छु र यसको पाना पानामा म येशू गुरुलाई भेटिरहेछु, उहाँका चेलाहरूको दिलदिमाग छामिरहेछु, खोतलिरहेछु । म त उहाँकै पछि लाग्ने अनुयायी बन्न लगभग तयार बनें । हजूरलाई धन्यवाद भन्छु त्यो किताब मलाई दिनुभो । गिडियन कम्पनी र बाइबल सोसाइटी कम्पनीलाई पनि धन्यवाद, कति राम्रो कुरो छापेको, सित्तैमा वितरण गरेको ।”

मौक यही थियो, मैले पहिले नै सोधेको प्रश्न फेरि फेन्जोलाई सोधे, “विश्वास नगर्ने फेन्जो ? ग्रहण नगर्ने ?” उसको उत्तर, “अंकल मलाई पिट्नु मन लागे पिट्नु है अंकल । त्यो मेरो लागि प्यार हुन्छ, आशिष् हुन्छ । म बोल्न जान्दिनँ, ठूलो मान्छेको कुरो काटेजस्तो हुन्छ अंकल, तर .. ..यो विश्वास र ग्रहण भन्ने शब्द त बाइरतिरको त्यो गल फेन, बोइ फेन शब्दजस्तै सस्तो भइसक्यो । कुनै मूल्य र राप नभाको शब्द । एती महान प्रभुको राज्यलाई ग्रहण भन्छ, विश्वास भन्छ अनि त्यो किताबको जस्तो कुनै बात व्यवहार नै छैन । अंकल फिक्री नगर्नू । म प्रभुको अनुयायी बन्नु तयार हुँदैछु । शिक्षा लिइरहेछु । एक दिन दीक्षा अवश्य लिनेछु र आफूलाई उहाँको लागि अर्पण गर्नेछु । मसँग उहाँको बारेमा, ख्रीष्ट प्रभुको बारेमा सुरुमा उन्नाइसओटा प्रश्न थियो । आएर सोधूँ भन्दै थे अंकलहजूर, पढ्दै लाँदा १५ प्रश्नको उत्तर त त्यहींभित्र भेटे नि । खुब स्वाद लाग्यो । आफै गजक्क परें । सब त्यहीं रैछ अंकल, ती कम्पनीहरू भन्दा हजूरलाई सब भन्दा बढी धन्यवाद । त्यही भरोसामा मैले ती केटीलाई पनि यो पुस्तक दिऊँ भनेको ।”

मैले मनमनै प्रार्थना गर्दै, आफ्नै हालतहरूलाई पनि समीक्षा गर्दै, गिडियनको नयाँ करार, भजन र हितोपदेशको सानो खल्ती–बाइबल फेन्जोलाई दिएँ । फेन्जो उकालो गइरहेको थियो । म ढोकाबाट ती महान आत्मालाई हेरिरहेछु । उसको भनाइ मेरो कानमा गुञ्जिरहेको,

“अंकल यो किताब म उनलाई दिन्छु र भन्छु, यो पढ्नू । यो के हो म भन्दिनँ, यहाँ के छ पनि भन्दिनँ, केही छ भने तपाईले नै देख्नुहुन्छ, मैले पनि आफै हेरेको र आफैले पाएको । केही पाउनुभो भने मलाई बताउनुहोस्, पाउनु भएन भने यो मलाई फर्काउनुहोस् । बाँकी कुरा त्यति बेला गरौंला ।”

मेरो कानमा गुञ्जिएको खास वाक्य त्यो होइन यो हो,
“अंकल यो परमेश्वरको वचन हो यसले आफै बोल्छ । ती केटी गम्भीर, सरल स्वाभावकी हुन् । उनले जीवनको पुस्तकबाट जीवनदातालाई चिन्नेछिन्, म स्योर छु अंकल । तर म कुनै जब्बरजस्ती गर्न माग्दिनँ । उनले पाउने हो भने प्रभुलाई पहिले पाउनुपर्छ त्यो खास कुरा हो । अनि त्यसपछि मलाई त त्यागे पनि हुन्छ, अथवा हाम्रो बारेमा सानुठूलो केही डिसकस गर्न सकिन्छ नि अंकल हैन र ?

म हुरुक्क हुन्न । पछि कुरा मिलेन भने दुःख हुन्छ, पिडा हुन्छ ।  उनी पनि हुरुक्क नबनून् । जीवनको मालिक, आदि र अन्त्य येशू प्रभुलाई भेट्नु ठूलो कुरो हो । अरू कुरो हुँदै गर्छ ।

मैले धेरै अंकल, आन्टी, दाजु, भाउजू देखेको छु । एउटै परिवार तर अलग अलग बाटो, अलग अलग गाडी । उनीहरूको गाडी साझा बाटोमाथि आउनु बित्तिकै ठोक्किहाल्ने । यसकारण फरक, फरक बाटो गडाउँदा रछन् । येशू भन्ने बाटोमा हिँडने हो भने त येशू भन्ने गाडी पनि चढ्नुपर्छ हौ अंकल मलाई त तेस्तो लाग्छ । लौ त अंकल आशिष् दिनुस, बाटो लागें । कफी दिनुभो, टाइम दिनु भो, पुस्तक दिनु भो, धन्यवाद ।”

Facebook Comments

Category: Story