जिन्दगी कुछ भि नही…

[ 4 ] September 7, 2014 |
Loknath Manaen

Loknath Manaen

विसञ्चो छु । के भो मलाई ? होश हराजस्तै । काम गर्न नसक्ने, मन नलाग्ने । सानु काम नि ठूलो लाग्ने । कुरा खेलिरहने । भविष्यसँग पनि डर लागिराको । बरबराइरहन्छु । कुन्नि के कुन्नि के । पत्रिका पढ्ने आँट छैन । नेपालको अख्तियार दुरोपयोग आयोगले धेरै धेरै कागज पत्र उठाइसक्यो, जफत गर्यो । प्रमाण । अपराधको प्रमाण । प्रणाम पाउनेहरूबारे असली प्रमाण । ठूला, ठालूहरू प्रलोभन, लोभलालचमा फँसे । यस्तो बेलामा उनीहरूको जात र धर्मको चर्चा गर्नु सभ्यता होइन । मान्छे हो मान्छेले त्यसो गर्छ । यो घटनाभित्र धर्मलाई तान्नु क्षुद्रता हो । देशको काम गर्ने तलबी कर्मचारी र उच्चतम हाकिम ।

 

पक्राउ पर्ने घिचुवा । पक्राउ नपर्ने बाउको छोरा । कुन धर्म ? कुन जात ? नो चर्चा । चर्चभित्र बाइबल पल्टिँदा र इसुको गाना गाउँदामात्र  विधर्मी, इसाई, विदेशी, थुक्का लोभी, गाई कटुवा, भ्रष्टाचारी, पापी, प्रलोभन, लोभलालची । प्रलाप । मेजोरिटी धर्मलाई माइनोरिटीहरू सम्मानको साथ हेर्न चाहन्छन् । अख्तियारले छोडेन । बहुसंख्यामा उदाहरण, आदर्श, नैतिकता र शिक्षाको कमी ।

 

नेपालमा कमनिस्टहरू पनि छन्, छ सात थरी । थरीथरी । सबले कार्ल माक्र्सको चरणमा कसम खाएर, माओ वेदीमा धूप बालेर ३३ कोटीलाई विदा । त्यस्तो भयानक राष्ट्रव्यापी धर्म त्यागसँग नो प्रबलेम । धर्म परिवर्तनमा भने निद्रा खराब । ऐठन । नीदँ चेट । ए गाँठे, धर्मत्याग ओके । धर्म परिवर्तन नोके । कत्रो सहनशीलता धर्मत्यागप्रति । कत्रो चिन्ता धर्मपरिवर्तनप्रति । ठीकै छ । यस्तै रहेछ यहाँको चलन ।

 

प्रेमी, शान्तिप्रिय, विश्वाव्यापी नाम कमाको धर्मले सबलाई अशान्ति । माक्र्स घरघर, सहरसहर पसेर कसैलाइै चिलाइ न कनाइ । क्राइस्ट पस्दा सबलाई एलर्जी । लोभलालचमा त जिजसकाहरू मात्र लाग्या छन् अरू सब ठीकठाक, चिरिच्याट्ट, फिट्टफाट्ट । भित्रभित्रै स्वाट्टसुट्ट ।

 

जनवरीमा संविधान लेखिनेछ । यो जोकलाई जोक भन्नसकिन्छ तर गम्भीर घोषणाको रूपमा लिन सकिँदैन  । यतिका अग्रज नेताहरूले संविधान लेखिसिध्याउने किसिमको सुसाइड गर्न चाहन्छन् र आफूलाई नामेट गर्ने चाहना राख्छन् भनी हाम्लाई पत्यार लाग्दैन ।

 

त्यही डरमा अघिल्लोचोटी नौलो निर्वाचनको उदेकको घोषणा गर्दै माननीयहरूलाई हाउस बाहिरै राखेर संसदको ढोकामा हतारको साथ मध्यरातमा ताला । पूर्व पहाडले, पश्चिम थारूले अनि दक्षिण मधेसले देशको निद्रा भगाउने दिन आउँदैछ । लेख्ने कसम घरीघरी किन खाको ? विधान लेख्ने मिति ट्याउँट्याउँ गरेर कसलाई उल्लु बनाको ? संविधान लेखिसक्दा नेपाल राजनीतिक होइन बाझनीतिक भुकम्पमा लितिकलितिक हल्लिएको हेर्नुहोला । कुन निद्रामा धताएर प्रतिज्ञाको वर्षात गर्दैछन् सभासदहरू ?

 

लेख्ने त कामै हो । भत्ता र सत्ता त्यतिकै लागि देको हो । तर त्यो संविधानको लागि जिम्मा, अडान र स्वामित्व लिने कि नलिने ? त्यसको चौकिदारी र रखवाली गर्न लेखेको कि लेख्नुको लागि लेखेको ? कथा लेखेको हैन, कानुन लेखेको हो । काभ्रेको सीमाना कोरेर पुग्दैन, सीमाना नटेर्नेलाई घोक्रेठयाक लाउनुपर्दा खुट्टा कमाउनु हुन्न । ऐले काभ्रे मात्र भनौ । लिम्नुवान, थारूहट भन्ने भयानक शब्द लेखेर किन लेखकहरूलाई डिसटप गर्नु । संविधान पुस्तकको कागज छाम्नेहरूले भोलि अटेरीको कठालो सुम्सुम्याउने आँट गर्नुपर्छ । लेखनभित्रै पर्ने दायित्व । त्यसको लागि वर्तमान नेताहरूमा यथेष्ट इतिहास, क्षमता छ जस्तो लाग्दैन ।

 

संविधान लेखन किटान र अडान हो, कागजमाथिको लेखन मात्र होइन । कानुनी कार्वाही अघि बढाउने प्रतिबद्धता पनि हो । भोलि जनताको अघि आर्मी, पुलिसको पर्खाल लाएर छेलिनु हुन्न है ।

सायद यति भन्न सकिन्छ, “सहमति” को अनन्त, अद्भूत खोजीमा जनवरी, फरवरी, मार्च खर्च हुनसक्छ ।

 

अर्को एउटा सानु हैन ठूलो चिन्ताको विषय । राष्ट्रपतिको मर्यादा र अफिसलाई अश्लील, अशोभनीय राजनीतिक फोहोरबाट जोगाउनुपर्छ ।  त्यो सबै जनाको निम्ति भरपर्दो सुरक्षा र सल्लाहको सर्वोच्च केन्द्र हो । कचिङ्गले बेलाको एकल, निर्दल, निर्मल थलो । भोलि देश अशान्त बनेको बेलामा झण्डा नबोकेको, डन्डा नबोकेको व्यक्तिले सबलाई सम्झाउनुपर्दा राष्ट्रपतिले बोल्ने कि कसले बोल्ने ? कसको कुरा सबले सुन्ने र कसको कुरा सबले ठण्डा मनले सोच्ने ? प्रधानमन्त्री, पूर्व प्रम र कथित वरिष्ठहरू त भोलि लुक्ने, भाग्ने दिन आउँदैछ । (त्यसबेलासम्म धीरज धारण गरेको खण्डमा ज्ञानेन्द्र सरको समेत फलिफाप हुने देखिन्छ ।) दिक्क र वाक्क हुँदा मान्छेले पछुतो गर्न बेर छैन । अब अन्तिम कुरो ।

 

फेसबुकका साथीहरूलाई थाहा छ । फिलिम । यो कलमले किन फिलिम, फिलम भनेको ? किन रट लगाको ? यो मूर्खले रङ्गमञ्च, मनोरञ्जन र डान्स, डायलग खोजेकै हो ? हो । विकट बेलामा देश र जनताको ध्यान कसैले मास मिडियाद्वारा फनक्क फर्काउनसक्छ भने फिल्मी कथा, व्यथा, गीत संगीत र सजीव, सचित्र सन्देशले मात्र हो ।

 

पत्यार लाग्दो परिचित व्यक्तित्व, हिरो, हिरोनीहरू जब बोल्छन्, खेल्छन्, रुँदै, हाँस्दै, दौडँदै, पौडँदै केही सिकाउँछन् त्यो घत लाग्दो हुन्छ । फिलिम हेरेर सोच्ने अब सबलाई बानी भो । जाति, देश, राष्ट्र, कलचर, एकता, मान्यता, माटो, खेत, धनी गरीब, प्रेम, माया, असल, गलत आदि सिकाउन र सोच्न बाध्य तुल्याउने हो भने क्वालिटी फिलिम निर्माण छोडी अर्को विकल्प छैन ।

 

नेताहरूले खेलिरहेको पर्दामा ठूलाठूला भ्वाङ्ग परिसकेको छ । उनेर्को स्तुति कार्यकर्ताबाट मात्र आइरैछ । त्यै पनि केही पाउने आशमा । पुराना निस्वार्थ भक्तहरू उनीहरूसँग छैनन् । शक्ति सम्पत्ति, व्यापार, कमिसनभोगी लिप्सुहरू मात्र लिप्सेका छन् । लोभको नाङ्गो नागले देशलाई लपेटिसक्यो । चरम असुरक्षाले जगाएको लोभ । पैसै हो सबै कुरो भन्ने भ्रान्तिले नेपाललाई पक्रेको छ । नेतालाई समातेको छ । उनको वरिपरि कार्यकर्तालाई समेटेको छ ।

 

देशको जय–विजय, देशको सम्पत्ति, मान इज्जत, खेलाडी, गायक, विभूति र कलाकार, लिडर, उद्योग, वाणिज्य, व्यापार, सफलता, उपलब्धि, सडक, विद्यूत, बिल्डिङ्ग, डाँडा, नदी, पाखा, भित्ता, जितको कप र शिल्डहरू, आदिमा जनताले घमण्ड गर्छ । गर्नुपर्छ ।

 

त्यो सब छैन भने देशवासी धन सम्पत्तिको अथक, अनन्त र मरूञ्जेलको खोजीमा अहोरात्र । असुरक्षाको चपेटमा सुरक्षाको खोजी । सुरक्षाको नाम पैसा । जसरी आउँछ आओस्, पैसा आओस् ।

 

पर्दा । पर्दामा संगीत हुन्छ, डान्स, रोमान्स, कथा, द्वन्द्व, समस्या, तृष्णा, वितृष्णा, व्यावधान, समाधान । हिरोले सबलाई बचाउँछ । अभिनेताले मिठो बोल्छ, राम्रो गर्छ, ठिक गर्छ, सुरिलो गाउँछ । सफलताको रहस्य सिकाउँछ । नेता होइन अभिनेतामा प्रभावशाली सन्देश प्रसारणको केही अवशेष सायद लुकिबसेको होला । कथाबाट, कहानीबाट धेरै बुझाउन सकिन्छ । हालत बताउन, उपचार पत्तो लाउन सकिन्छ । बलियो, सफा पर्दामा देशलाई फर्काउनुपर्छ । घरघरमा डिभिडि पठाउनुपर्छ । अर्थपूर्ण, महत्वपूर्ण गीत घरघरले गुनगुनाउनुपर्छ । मालिकको कर्तव्य, मजदूरको मन्तव्य, बुवाको वेदना, छोरीको कल्पना, नेताको नेतृत्व, जनताको कृतित्व । सिनेमा हलजत्रो क्लासरूम अर्को छैन ।  सन्देश बताउने र सन्देश सिकाउने अर्को तरिका, अर्को विकल्प, स्टेज चढेको, (विश्वास गुमाइसकेको) नेता मात्र हो । सोच्नुहोस् ।

 

एउटा गीत छ । “जिन्दगी कुछ भि नही तेरीमेरी कहानी” भन्ने गीत छ । सबै जागरूक नेपालीले केही बेर शान्त, ठण्डा दिमागले सोच्नु परेको छ । जिन्दगी यो हो भने, नेपाल एउटा कथा हो भने – यो कहानीमा मेरो रोल के हो ? मेरो डायलग के हो ? अनि मेरो पुस्तामा र अर्को पुस्तामा यो कथाको अन्त्य के हो ?

Facebook Comments

Category: Articles, Story