मृत्युको छायाँबाट पार हुँदा…प्रत्येक सेकेण्ड- कहालीलाग्दो

[ 2 ] August 30, 2014 |
Bhuvan Devkota

Bhuvan Devkota

परमेश्वरको योजना र छनौट कस्तो अचम्म रहेछ भन्ने कुरा बुझ्न निकै कठिन रहेछ। परमेश्वरले सबै कुराबाट पक्कै भलाइ उत्पन्न गर्नुहुँदोरहेछ भन्ने कुराको स्वाद हामीले भर्खरै पायौं। तपाईं प्रिय पाठकहरूको उत्साहको लागि हामी दुवैले हाम्रो अनुभव बाँड्ने साहस गरेका छौं।

गत जुलाइ १९ तारिख शनिवार म भारतको सिलिगुडीबाट फर्किएँ। वास्तवमा मलाई लोक दाजु र परिणा भाउजूले शनिवार उतै बस्न निकै कर गर्दै हुनुहुन्थ्यो तर मैले फर्किने नै निर्णय गरेर शनिवार, बेलुका ५:३० बजेतिर म घरभित्र छिर्न पाएँ। मैले लोक दाजुको आदेश र आग्रहलाई सायदै इन्कार गरेको छु। तर यो पटक परमेश्वरको योजनै रहेछ। उहाँकै कृपाले यसो हुन सम्भव भयो।
करिब छ बजेतिर म र मेरी पत्नी घरबाहिर गएर करेसाबारीमा काम गर्दै गाफिदै थियौं। हाम्रो २२ महिनाको छोराले झ्यालबाट ‘मिमी आऊं’ भन्दै थियो। अकस्मात् छोरो रोएको आवाज आयो र मेरी पत्नी भित्र पसिन्। काखमा लिएर फकाउँदा पनि छोरो चुप लागेन हामीलाई कतै ठोक्किएको हो कि भन्ने लाग्यो। केही मिनेटपछि देब्रे हात उठाउन थाल्यो। मैले उसका दिदीहरूलाई ऊ रुनुअघि कता थियो भनेर सोधें। ढोकामा थियो भन्ने जवाफ आएपछि मैले ढोकाको कुनामा हेरें। यो प्रभुको अगुवाइ थियो। मैले कालो र माथि छिर्केमिर्के भएको सर्प गुँडुल्किएर बसेको देखें। त्यसलाई कुचोको पछाडिको भागले थिचेर छोराको चोर औंलामा हेर्दा त दुइटा डोब रहेछ। सर्पले टोकेको भनेर हामीलाई पक्का भयो।

मैले सबैलाई भनें कि छोरालाई सर्पले टोक्यो। मैले लगाएकै लुगामा तुरुन्तै मोटरसाइकल निकालें। सुनिरा पनि आफूले लगाएकै लुगामा हातमा रु.तीन हजार र मेरो मोबाइल लिएर निस्किइन्। मेरा बुबाले सर्प मार्नुभयो।

मैले बाइक कति स्पिडमा चलाएँ भनेर मलाई थाहा छैन। सुनिरा निकै आत्तिइन्, बाबु बेस्सरी रुँदै थियो। बाटोभरि हर्न बजाउँदै र कराउँदै हामी बि. एण्ड बी. अस्पताल पुग्यौं। सर्पले टोकेको उपचार त टेकु अस्पतालमा हुन्छ त्यहाँ जानूस् भन्ने जवाफ सो अस्पतालको इमर्जेन्सीबाट पाएपछि फेरि हावाको गतिमा टेकु अस्पताल पुग्यौं। बाबु रोएर खपिनसक्नु भएको थियो। सुनिराले बाटोमा जसोतसो काम्दै उनको भाइ सुवासलाई खबर गरिन्। टेकु पुग्ने समयसम्म छोरोको हात सुन्निएर हाम्रो जत्रै भयो। ऊ सायद विषको पीडाले होला, अत्यन्तै रोइरहेको थियो। जसोतसो ड्युटी डाक्टरसँग भेट भयो।

रगत जाँचेर हेर्दा विषको असर सुरु भइसकेको थाहा भयो। सो बेलासम्म सुनिराका मामा र सुवासमा दुइटी सानीमा सासूहरू आइपुगिसकेका थिए। हामीलाई ठूलो ढाडस भयो। टेकु अस्पतालमा बालबालिकाको लागि चाहिने सामाग्री नभएकोले हामीलाई पाटन अस्पताल पठाइयो। पाटन अस्पताल जान बाहिर निस्कियौं। ट्याक्सी पाइएन। अनि सिमसिम पानी परिरहेकै अवस्थामा भिज्दै बाइकमा पाटन अस्पताल पुग्यौं। हाम्रो अनेक अनुनयपछि पनि पाटन अस्पतालले हामीलाई टेकु अस्पताल नै फर्कायो। हामी दुवै रुँदै टेकु अस्पताल आइपुग्यौं।

बच्चाको हालत झनै बिग्रदै थियो। उसको हात पूरै सुन्नियो। हामीलाई केकसो गर्ने भन्ने कुराको ठूलो दोधार भइरहेको थियो। साथै रात पनि निकै छिप्पिँदै थियो। हाम्रो सहारा येशू बाहेक कोही थिएन।

सो समयमा हाम्रो साथमा सुनिराको मामा र उनको भाइकी दुइटी सानीमा सासूबाहेक अरू कोही थिएनन्। बच्चालाई कुनै औषधी प्रयोग गरिएको थिएन। राति करिब साढे दश बजेको थियो। डाक्टरले हामीलाई घर जाने सल्लाह दिइरहेका थिए र बच्चालाई केही पनि हु“दैन भनिरहेका थिए। मैले पनि घर लानुपर्छ कि भन्ने सोच्न थालें।

प्रभुको अगुवाइ र हस्तक्षेप यहँ पनि प्रकट भयो। मैले घर लाने कुरा गर्न थालेपछि बाबु अत्यन्तै रुन थाल्यो। मैले अब कान्ती अस्पताल लानुपर्छ भन्ने विचार गरेर डाक्टरलाई सिफारिस गरिदिन अनुरोध गरें। बाहिर निस्केर ट्याक्सी खोज्दा पाइएन। अब बाइकमै कान्ती अस्पताल लाने विचार गरेर निस्कियौं। अलि पर गएपछि ट्याक्सी भेटियो र सुनिरा, बाबु र मामालाई ट्याक्सीमा राखेर म पनि सिमसिम पानीमा रुदै कान्ती अस्पतालतिर हुइँकिएँ। कुन गतिमा कान्ती अस्पताल पुगियो, यादै भएन हृदय र प्राण अत्यन्तै विचलित थियो।

अस्पताल पुगेर इमर्जेन्सीमा हुतिँदै पुग्यौं। केही समयपछि बल्लतल्ल एकजना डाक्टर हाम्रो छोरालाई हेर्न आए। सर्पले टोकेको भनेपछि डाक्टरले टेकु अस्पताल नै लैजान भने। हामीले निकै अनुनयविनय गर्यौं। अन्तमा सो डाक्टरले आफूभन्दा सिनिएर डाक्टरसित सल्लाह गर्छु भने। उनले आफ्नो सिनियर डाक्टरलाई बोलाउँदा त हाम्रा साथी डा. कालेब बुढा पो रहेछन्। उनलाई सबै बेलिबिस्तार लगाएपछि उनले सबै परिस्थिति सम्हाले।

परमेश्वरले खटाउनुभएको दूतको रूपमा आएका डा. कालेब बुढालाई हाम्रो परिवारले जति धन्यवाद भने पनि अपूरै हुन्छ। यो पनि परमेश्वरले गर्नुभएको अर्को आर्श्चर्यकर्म थियो।

डाक्टरहरूको सल्लाहअनुसार बच्चालाई Anti-snake Venom (सर्पको बिख मार्ने औषधी) प्रयोग गर्ने निर्णय भयो। डा. कालेबले मलाई एउटा पत्र तयार पारिदिनुभयो र सो पत्र लिएर म राती ११:३० तिर कान्ती अस्पतालबाट टेकु अस्पताल तिर हुइँकिएँ। पानी परिरहेको कुरामा मलाई परवाह भएन। बाइक कति स्पिडमा बढाए कुनै ठेगान भएन। लाजिम्पाट आइपुगेपछि पानी अझै धेरै पर्न थाल्यो। त्यो बेलामा कसैको साथ र सहारा अत्यन्तै खट्खिएको थियो। साथीहरूलाई फोन गरौं कि भन्ने पनि लाग्यो। पानी दर्किएकोले डाक्टरले लेखेको पत्र जोगाउन फोहोरको थुप्रोमा गएर प्लास्टिकको झोला खोजें। झोलामा भएको फोहोर फाले र त्यही झोलामा चिठी हालेर टेकु अस्पतालतिर बढें।

मन बटारिइरहेको थियो। अँशु थामिएको थिएन। प्रभुलाई पुकार्दै, रुँदै टेकु अस्पताल पुगेपछि थाहा भयो कि ASV त दिउँसो मात्रै पाइनेरहेछ। कर्मचारीहरूलाई अनुरोध गरेपछि उहाँहरूले बिरामीहरूको बेडमा गएर खोजी मलाई ASV दिए। मेरो बाइकलाई त्यहीं छाडेर म ट्याक्सी लिएर म कान्ती अस्पतालतिर लागें। मनमा परेको वेदना आँखाबाट निस्किरहेको थियो। प्रभु येशूलाई मनैदेखि पुकारा गर्दै अस्पताल पुगें।

कान्ती अस्पताल पुगेपछि बाबुको हालत हेर्दा मन अझै भक्कानियो। आफैंलाई जसोतसो सम्हालेर। राति करिब १ बजेतिर बाबुलाई सघन उपचार कक्ष (आइसीयु) लगियो र ASV दिने तयारी गरियो। सो औषधी दिनुअघि मैले बच्चालाई सो औषधीले कुनै असर गरेमा अस्पताल दोषी हुनेछैन भनेर लेखिएको मञ्जुरीनामामा सही गरें। कति भारी मनले मैले त्यसमा सही गरें भन्ने कुरा अहिले अनुमान गर्नै सक्दिन। उसको रुवाइले पलपल मुटु छेडिरहेको थियो। मन अझै थामिएन। सुनिरा पनि बेहोसझैं बनिन्। हाम्रो हालत देखेर, परमेश्वरलाई कृपा लाग्यो अनि डा. कालेबले क्याबिन बुक गरिदिए। हातमा भएको पैसा सकिए पनि उहाँकै जमानीमा क्याबिन पाइयो।

क्याबिनमा गए पनि हामी दुवैलाई कुनै चैन भएन। मन रोइरहेको थियो। हृदय झनै गलिरहेको थियो। आइसीयुबाट कस्तो नरमाइलो खबर आउला भन्ने भयले मन भत्भती पोलिरहेको थियो। एकअर्कालाई सान्त्वना दिंदै, रुँदै हामी हरेक सेकेण्ड कहालिइरहेका थियौं। हाम्रा छोरीहरूले भाइ खै भनेर सोधे भने के जवाफ दिने भन्ने कुरा सम्भिँदा मन झनै भक्कानियो। हाम्रो सहारा येशू मात्रै हुनुहुन्थ्यो। त्यस समयसम्म कसैलाई खबर गर्न पाएको थिइनँ। बल्लतल्ल हिम्मत जुटाएर फेसबुकमा सो खबर स्टाटसको रूपमा राखिदिएँ। रातिको तीन बजिसकेको थियो। हामीलाई भोक, प्यास, निन्द्रा केही पनि लागेन। दुवै गह भर्दै अनि एकअर्कालाई हेर्दै रोइरह्यौं। मेरो फोनको ब्याटी पनि सकिएछ।

केही समय क्याबिनमा बसे पनि हाम्रो मनले मानेन। हामी फेरि आइसीयुको ढोकामा पुग्यौं। भित्र बाबु रोएको आवाज बाहिरै सुन्दा मन कति भक्कानियो। कसरी सम्हालियौं, अहिले सम्झदा कहाली लाग्छ। बिहान भयो, बाबुको हालत उस्तै थियो। उसको छेउमै राखिएका दुइजना बच्चा बिते। हामी त झनै मर्माहत बन्यौं। फेसबुक पढेर होला, बिहानै हाम्रा अनन्य मित्र लेखनाथजी आइपुगे। मनले ठूलो सान्त्वना पायो। पास्टर गुरुबा राजेन्द्र रोंगोंग तथा स्यारोन दिदीले पनि एसएमएस पठाउनुभएको रहेछ। अलि ढाडस भयो।

आइसीयुमा गएर हेर्दा बच्चाको जिउमा जोडिएका अनेकन् मेसिनका तारहरू देख्दा मन कति पागल बनेको थियो। उसको रुवाइ र उसले बाबा ममी भनेर पुकारेको सुन्दा प्रभुसित रुँदै जब्बरजस्ती विवाद पनि गर्यौं। किन यस्तो पीडा भन्ने प्रश्न र अन्तरआत्माको आर्तनाद प्रभुले सुनिरहनुभएको कुरा हामीले पछि मात्रै बुझ्यौं। भित्र बच्चा रुने, बाहिर हामी रुने, कस्तो असह्य र असीम पीडा। हामी दुवैले छाती पिट्दै, रुँदै, प्रभुलाई पुकारिरह्यौं।

मेरा बुबा पनि आइपुग्नुभो। डाक्टरलाई अनुरोध गरेर उहाँलाई बाबु देखाएँ। बुबा पनि डाँको छाडेर रुनुभयो। समय कति निष्ठुरी भएर बितिरहेको भन्ने हामीलाई पत्तै भएन। डाक्टरले सर्पको बिख मार्ने औषधी अझै थप्ने निष्कर्षनिकालेर मलाई अर्को पत्र थमाइदिए। प्रिय मित्र लेखनाथजीको बाइकमा हामी टेकु अस्पताल हान्नियौं। सबै प्रकृया पूरा गरेर औषधी ल्यायौं। लेखनाथजीको त्यो साथ मैले जीवनभरि भुल्नेछैन“।

दिउ“स सुनिराका बुबाआमा पनि आइपुगे, र्सलाहीबाट। सो दिन बेलुका छ बजेतिर बाबुलाई आइसीयुबाट निकाल्ने कुरा सुन्दा हामीले संसार जितेजस्तो ठान्यौं। उसलाई बाहिर निकाले पनि उसको नसाबाट एन्टिबायोटिक निरन्तर दिइयो। आइतवार बेलुका मेरो दाजुले रौतहटबाट फोन गरेर आउने विचार गरेको कुरा गर्नुभयो, मैले पनि आउनोस् भनें। यो प्रभुबाट भएको रहेछ।

सोमवार बिहान दाजु सिधै अस्पताल आइपुग्नुभयो। अभिषेक मामा र माइजू हेटौंडाबाट आइतवारै आइपुग्नुभएको थियो। सोमवार कार्यालय समयमा मन्त्रालय जानुपर्ने भएकोले दाजु जानुभयो, हामीले एकसाथ खाजा खाएपछि। बाबु पनि निकै राम्रो देखियो। दूध पनि खान थाल्यो। अब सबै कुरा ठीक हुन लागेको निष्कर्षनिकालेर हामी सम्हालिन सुरु गर्यौं। तर रगत परीक्षण गरेर हेर्दा त उसको रगत जम्नुपर्ने समयभित्र जमेन। सर्पको बिषले असर गर्ने तीन कुरा मुटु, गिदी र रगतमध्ये उसलाई रगतमा असर गरेर बिषले उसको रगत पातलो बनाइदिएको रहेछ।

उसलाई बिष मार्ने औषधी अझै थप्ने निष्कर्षा डाक्टरहरू पुगेर मलाई पुनः टेकु अस्पताल जानुपर्ने भयो। मैले दाजुलाई फोन गरें किनकि मेरो बाइक उहाँले लानुभएको थियो।

हामी सो औषधी लिन टेकु अस्पताल जाँदैगर्दा बाटोमा दाजुले तर्राईका डाक्टरहरूसित पनि फोन गरेर सोध्नुभयो। उनीहरूले अब सो औषधी प्रयोग गर्नुपर्ने कुरा गरे। टेकु अस्पताल पुगेपछि सर्पको बिष मार्ने औषधी लिने हाम्रो कागजमा तोक लाउनको लागि हामी माथिल्लो तलामा गयौं। परमेश्वरको अर्को आर्श्चर्यकर्म हामीले अनुभव गर्यौं। हाम्रो चिठीमा तोक लाउने व्यक्ति त सर्पको टोकाइको उपचार गर्ने डा. जितेन्द्रमान श्रेष्ठ नेपाल सरकारको सर्पको टोकाइको उपचार गर्ने मुख्य व्यक्ति हुनुहुँदोरहेछ। सो बेला उहाले सोही भवनमा भएको कार्यक्रममा सिकाउने समय रहेछ र केही समय विश्रामको लागि बसिरहनुभएको रहेछ। परमेश्वरको कृपा हामीमाथि थियो अनि उहाँले हाम्रो कुरा सुन्ने र हामीलाई विभिन्न कुरा बुझाउने समय लिनुभयो। उहाँले तोकेर भन्नुभयो कि हामीले अब सो औषधी प्रयोग गरेमा बच्चा अवश्यै मर्नेछ। तर पनि हामीले सर्पको विष मार्ने औषधी लाने नै निश्चय गरेपछि उहाँले रिसाएर तोक लाइदिनुभयो।

मैले बाइक चलाएको थिएँ, दाजुले चलाउन माग्दा मैले दिइनँ। तर मनको बाध थामिन सकेन। कान्ती अस्पतालको डाक्टरले भनेका थिए कि सर्पको विष मार्ने औषधी नचढाए बच्चा मर्छ, टेकु अस्पतालको डाक्टरले भनेका थिए कि सर्पको विष मार्ने औषधी चढाए बच्चा मर्छ। मेरो मनले अब थाम्नै सकेन।
रुँदै प्रभुलाई भनें, प्रभु, तपाईंका वचनमा लेखिएको छ कि हामीले सहन सक्नेभन्दा ठूलो परीक्षा तपाईंले हामीलाई दिन सक्नुहुन्न। अब म सहन सक्दिनँ। अब यो मेरो सहन सक्ने क्षमताभन्दा ठूलो भो। अब त मलाई आफैं थामिन गारो भो, कसरी सुनिरालाई सम्झाउने ?

बल्लतल्ल अस्पताल पुग्यौं। मन अब पागलै बन्न लागेको थियो। औषधी झोलामै राखेर नर्सलाई दिइएन। क्याबिनमा पुगेपछि मन थाम्नै सकिनँ। सुनिरालाई रुँदै सबै कुरा भनें। दुवैजना डाँको छाडेर रुँदै प्रभुसित पनि रिसायौं। अब हामी सक्दैनौं भनेर पुकारिरह्यौं। हामीले येशूलाई बरु हाम्रो प्राण लिनुहोस् भन्न थाल्यौं। सन्तानको माया कस्तो हुनेरहेछ भनेर हामीले बुझ्यौं। हामी आफ्नो सन्तानको लागि आफैं मर्नुपरे पनि राजी थियौं। मेरो सुसरा बुबा -ड्याडी) र दाजुले अब औषधी नचढाउने निष्कर्षनिकाल्नुभयो। म यति गलेको थिएँ कि केही भन्ने आँटै थिएन। अनि रुँदै प्रथना गरें कि दाजु र ड्याडीले जे निर्णयगर्नुहुन्छ, त्यो प्रभुबाट आओस्। नर्सलाई औषधी नचढाउने खबर गरेपछि डाक्टरहरूको समूह आएर सम्झाउने कोसिस गर्न थाल्यो। दाजुले नै अघि सरेर बोल्नुभयो। मैले केही भन्नै सकिनँ। मन अत्यन्तै विचलित थियो। अब के हुन्छ भनेर ठूलो त्रास लागेको थियो।

अन्त्यमा दाजुको अडान कायमै रह्यो। डाक्टरले फेरि बच्चालाई केही भएमा अस्पताल जिम्मेवार नहुने कुरा लेखिएको कागज बनाए। मैले विचलित मनले त्यसमा हस्ताक्षर गरिदिएँ। तर प्रभुको अनुग्रह थियो भन्ने कुराको प्रमाण प्रभुले दिनुभयो। हाम्रो आर्तनाद येशूको कानमा पुगेको कुरामा म निश्चय बनें। मैले हस्ताक्षर गरेको केही मिनेटमै मेरो मनमा असिम शान्ति आयो। मैले तुरुन्तै सुनिरालाई गएर भनें कि अब हाम्रो बाबुलाई केही पनि हुदैन। येशूले बचाइसक्नुभएको छ। मेरो मन फुरुगै भएको थियो। प्रभुलाई धन्यवाद भन्न सुरु गरें। यति कुरा भइसक्दा दिउँसोको चार बजिसकेको थियो। दाजुलाई मन्त्रालयबाट फोन आएर तुरुन्तै रौतहट जानुपर्ने भयो।

प्रभु कति दयालु हुनुहुन्छ भन्ने कुरा फेरि महसुस भयो। मेरो दाजुलाई यति कार्यको लागि मात्रै प्रभुले बिहानै ल्याउनुभयो र साँझ नपर्दै उहाँ र्फकनुभयो। हामीले फेरि निष्कर्षनिकाल्यौं कि जीवन प्रभुबाट मात्रै आउँछ। हाम्रो बाबुलाई येशूले नै प्रार्थना उत्तरस्वरूप फेरि हामीलाई फिर्ता दिनुभयो। हाम्रो मन उहाँमा प्रफुल्लित छ किनकि उहाँले हामीलाई फेरि हाँस्ने कारण दिनुभयो।

हामीलाई यस्तो परिस्थितिमा विभिन्न किसिमले सहायता तथा प्रार्थना गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छौं। अस्पतालमै आएर हामीलाई सान्त्वना र ढाडस दिने पा. गुरुबाहरु राजेन्द्र रोंगोंग, रोल्याण्ड रोंगोंग, पुष्पा बज्राचार्य, पुहामी दिदी तथा उहाका पति एलेन लेप्चा, विद्या घले, राजकुमार र मिनु भण्डारी तथा अन्य सबैलाई जति धन्यवाद भने पनि कम हुन्छ। फेसबुक, इमेल, फोन तथा अन्य किसिमले हामीलाई हौसला र प्रेरणा दिने प्रत्येकको नाम उल्लेख गर्न अर्समर्थ भए पनि हामी येशूको नाममा सबैलाई धन्यवाद दिन्छौं। तपाईं सबैको प्रार्थनाको उत्तरमा येशूले नै हाम्रो बाबुलाई नवजीवन दिनुभयो। उहाँकै सर्वोच्च नामको सदार्सवदा महिमा होइरहोस्।

Facebook Comments

Category: Articles