कविता शीर्षक :सेवक जिन्दगी

[ 0 ] August 13, 2014 |

कविता
शीर्षक :सेवक जिन्दगी
रहस्य र चुनौतीका लहराहरुले
बेरिएको एउटा रुख जस्तै
कहिले पहाड छिचोलेर पल्लो क्षितिज पुग्नु पर्ने
कहिले बेंसीका खोंचहरुमा
कठिनाईका वास्ताविक क्षण मनन गर्नु पर्ने
आफ्नो पिंडा लुकाएर
अरुको पिंडा छाम्नु पर्ने
जस र अपजसका भारी बोक्दै
कतिजनाको प्रिय बन्नु पर्ने
कति जनाको आँखाको तारो बन्नु पर्ने
एउटा ख्रीष्टिय सेवक जिन्दगी

धेरै प्रश्नहरु पनि उठाइएकै हुन्
प्रभुसँग प्रत्येक दिन
कति प्रश्नं.को उत्तर
पनि पाएकै हो जिन्दगीमा
उतार चढावको माखेसाङ्लोमा जेलिएर
टुकु टुकु हिडीरहेछ
हृदयको विश्वास
रातमा अकासको मधुरो चन्द्रमा झैं
कहिले आशिषका झरीले
पुरिएका पहाड जस्तो
कहिले चैत्रको चर्को घामले
पात सबै झरेको रुख जस्तो
एउटा आत्मिक सुसाई
प्रार्थनाको सुस्केराहरुमा
प्रार्थनाको श्रृंखलाहरुमा
प्रत्येक दिन जोडीरहेछ
ख्रीष्टसँगको घनिभूत वार्तालाप
एउटा ख्रीष्टिय सेवक जिन्दगी

समयको चक्रसँगै
कहिले उल्टो बग्छ
कहिले सुल्टो बग्छ
जीवनको नदी
कहिले आत्माको जोशमा
सिङ्गो वस्ती, शहर
ख्रीष्टमा जित्ने
मनोवल जागृत भएर आउँछ
कहिले समस्याका थुप्रोले
थिच्नुसम्म थिचिएर
थकित थकित बन्छ मन
दुःख र सुःखको झोलुङ्गे पुलमा
झुण्डीरहन्छ एकतमासले
ख्रीष्टिय सेवक जिन्दगी
कहिले खल्तीभरी
आशिषको झरीले भरिन्छ
कहिले रित्तिएर
आभावमा जेलिन्छ
अनेक जिन्गीका कथा र उपकथाहरु लिएर
हिंडीरहन्छ यात्रामा
बाँचीरहन्छ अनि हाँसीरहन्छ
एउटा आशिषको आगमन
अनि अर्को आशिषको पखाईबीचको
संक्रमणकालीन विन्दुमा उभिएर
प्रभुसँग हिडीरहन्छ
खुशी बेखुशीका लामहरु
उसका बाटोमा लस्कर लागे पनि
उ तल्लीन नै छ
ख्रीष्टको महान सेवामा
संघर्षको कथा लिएर
हिंडी नै रहन्छ अनवरत
ख्रीष्टिय सेवक जिन्दगी

मनमा उर्लिएका छालहरु
कतै किनारामा नठोकिई
कति उतैबाट फर्किन्छन्
समुद्रका वेगवान गतिमा
र हराउँछन् कति सपनाहरु
ती मनमा उर्लिएका छालका झोक्काहरुसँगै
जसले जे भने पनि
छातीभरी ख्रीष्टकै माया
उनीरहेछ फूलको माला जस्तो
प्रार्थनामै लागीरहन्छ
र मनको कुरा पोखाउँछ ख्रीष्टसँग
उनका आफ्ना कथा र व्यथा
कति छन् कति
यही कथा व्यथालाई टेकेर
उ ख्रीष्टमा विजय बनेको हो
र सिकाईरहेछ सबैलाई
ख्रीष्टमा कसरी विजय बन्ने भनेर
यसरी नै उ बढीरहन्छ
ख्रीष्टको प्रमको चर्चा गर्दै
ख्रीष्टिय सेवक जिन्दगी
–रेशम कुमार सुनुवार

Facebook Comments

Category: Literature, Poetry