मृत्यु अन्त्य होइन…

[ 8 ] August 10, 2014 |
Rita Subedi

Rita Subedi

विहानै उठेर फोनमा हेर्दा श्रीकृष्ण श्रेष्ठको देहान्तको खबर पढ्नु पर्‍यो। त्यो खबर पढेर मलाई दिक्क लाग्यो। कस्तो विडम्बना? भन्छन् छोरा मान्छेको वैंस त ४० बसन्त पार गरेपछि बल्ल कलकलाउँदो हुन्छ रे। शायद त्यसैले होला विवाह पनि भरखरै मात्र गरेका रहेछन्। विगतका समयहरूमा उनका कैयन चलचित्रहरू नहेरेको पनि त होइन र उनको कामलाई एउटा आम दर्शक भएर वाह वाह नगरेको पनि होइन। तर आज उनको मृत्युको खबरले मलाई स्तब्ध पार्‍यो। एकछिन त पत्यार लागेन किनकी उनको नयाँ चलचित्र “कोहिनूर” रिलिजको क्रममा थियो। तर त्यसपछि मलाई उनकी नयाँ दुलही श्वेता खड्काको याद अनि उनको माया लाग्न थाल्यो। कठैबरा वैवाहिक जीवनको स्वाद चाख्‍न पनि नपाउँदै श्रीमानलाई गुमाउनु पर्‍यो।

यस्तै छ विडम्बना भनूँ कि रीत। मानिस जन्मन्छ अनि एकदिन सुटुक्कै परलोकमा जान्छ। त्यो मृत्यु कसरी कहिले आउँछ थाहै हुँदैन। यसले नता अबोध बालक भन्छ नता बृद्ध-वृद्धा। न यसले कलकलाउँदो जवानीको ख्याल गर्छ। जब समय आउँछ पत्तो नपाई सुटुक्क चुँडेर लैजान्छ आफ्नो प्यारोलाई मुटुको टुक्रालाई अनि विव्हल बनाएर छोडिदिन्छ आफन्तहरूलाई।

यसै क्रममा मैले सोंच्न थालें। “मृत्यु” आखिर किन? किन हामीले यो बिछोडको वेदनालाई सहनु पर्ने? किन??
उत्तर एउटै छ – हाम्रो पाप।

हो, परमेश्वरले संसारलाई सिद्धतामा सृष्टि गर्नुभयो। तर पछि पापको प्रवेश सँगै यो सिद्धता भङ्ग भयो र मृत्युले प्रवेश पायो। बाइबलले भन्छ¸ “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) अनि यस्तो पनि लेखिएको छ¸ “धर्मी कोहि पनि छैन¸ एकजना पनि छैन।” (रोमी ३:१०) त्यस्तै गरी यस्तो पनि लेखिएको छ¸ “किनकि सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन् ।” (रोमी३:२३)

हो, सांसारिक आँखाले हेर्दा “मृत्यु” नै अन्तिम टुङ्गो हो। मृत्यु भएपछि सम्पूर्ण कुरा त्यहीं शेष हुने झैं गरी हामी त्यस्तै व्यवहार पनि गर्छौं। एउटा भनाइ यस्तो छ: “खाए सार लाए सार मरेपछि लम्पसार”।

के हाम्रो यो जीवन यति मात्र हो र? के हाम्रो जीवन “मरेपछि लम्पसार”मा थामिन्छ त? कदापि होइन। हामी जसले प्रभु येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी ग्रहण गरेका छौं र आफैलाई चुनिएका जाति, राजकीय पूजाहारी भन्छौं के हाम्रो लागि जीवन यति नै हो त… मरेपछि लम्पसार??

निश्चय होइन। हामीले अनन्ताका परमेश्वरलाई चिनेका छौं र हामी जान्दछौं कि यस पृथ्वीमा त हामी केवल छोटो समयको लागि मात्र छौं। हाम्रो अन्तिम लक्ष्य त येशू हो, उहाँसँग रहने हो, अनि अनन्तको राज्यमा प्रवेश गर्ने हो, नकि मरेपछि लम्पसार।

त्यसैले पावलले भनेका छन्: “किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो।” (फिलिप्पी १:२१) यसो विचार गर्दा मर्नु कसरी लाभ हुन सक्छ र? मृत्युसँग त विछोड, वेदना, रोदन, अनिश्चितता, पीडा जोडिएको हुन्छ अनि कसरी लाभ?? निश्चय सांसारिक दृष्टिकोणले हेर्दा मृत्यु कसै गरी लाभदायक हुँदैन तर ख्रीष्टको अनुयायीहरू भएका हुनाले यो हाम्रो निम्ति अन्त्य होइन। तर अनन्त आशामा प्रवेश हो।

अब विचार गर्नुपर्ने कुरा: के हामी यो अनन्तको आशामा प्रवेश गर्नलाई तयारीमा छौं कि हामी उही तालमा छौं र भन्दैछौं “… मरेपछि लम्पसार”?

येशूले भन्नुभयो:

“मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिसले मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ। त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्‌, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।” (मत्ती ७:२१-२३)

हाम्रो अवस्था यस्तै पो छ कि? होशियार बसौं। मृत्यु हाम्रो अन्त्य होइन यो त अनन्तताको शुरुवात हो।

 

Facebook Comments

Category: Articles, Special