आस्थाको विशेषता

रेभ.डा.बाल कृष्ण शर्मा

Rev. Dr. Bal Krishna Sharma

Rev. Dr. Bal Krishna Sharma

नेपालको इतिहासलाई नियाल्दा हामीले असल र खराब दुबै किसिमका उदाहरणहरू पाउनसक्छौँ । इतिहासको अध्ययनको उद्देश्य पनि असल उदाहरणलाई पछ्याउनु र खराब उदाहरणबाट पाठ सिकी त्यस किसिमका कुराहरूलाई नदोहोर्‍याउनु हो । बुद्धिमान व्यक्तिले अरूहरूका भूलहरूबाट सिक्छ र गलत कुरालाई दोहोर्‍याउने कुरामा ऊ सचेत हुन्छ । उसले गलत कार्य गर्नका लागि आफ्नो स्रोत र साधनको प्रयोग गर्दैन र उसको सम्पूर्ण शक्ति, बुद्धि र धनचाहिँ निर्माण र अरूहरूका सेवाको लागि प्रयोग हुन्छ ।

मेरो यस लेखमा म धार्मिक आस्थाको महत्व र यसको स्थान कहाँ छ भन्‍ने बारेमा केन्द्रित गर्नेछु । यसको उद्देश्य बहुजाति, बहुसंस्कार, बहुधर्म, बहुभाषाको फुलबारी नेपालमा विविध धर्मको बीचमा निर्माण हुनुपर्ने सहिष्णुता अपरिहार्य छ भन्‍ने तथ्यलाई पस्कनका लागि नै हो । सबै धर्मका अनुयायीहरूले परमेश्‍वरको स्वरूपमा बनेको मानवको मानवतालाई सही किसिमले ध्यान दिनसकेमा सहिष्णुताको पक्ष प्रबल हुने कुरामा पक्‍का हुनसकिन्छ।

नेपालको इतिहासलाई नियाल्दा यहाँ हिन्दू धर्मको बलियो पकड हुनुभन्दा पहिले प्रकृतिपूजन धर्मको बाहुल्यता रहेको थियो । नेपालमा रहेको किराँतहरूको शासनकालमा उनीहरूले प्रकृतिपूजन धर्मलाई स्थान दिएका थिए । इसा पूर्व करीब १५०० तिर महेन्जोदारो र हरप्पा सभ्यतामा त्यहाँका आदिवासीहरू र आर्यहरूको सक्रियतमा शुरू भएको हिन्दू धर्म नेपालमा भारत वा वर्तमान पाकिस्तानबाट आयतित धर्म हो । ऋगवेद, सामवेद, यजुरवेद, अथर्ववेद, ब्राहमण्म, आरण्यक, र उपनिषदहरू त्यसबेला विकास भएका हिन्दू धर्मका ग्रन्थहरू हुन् । यी श्रूति शास्त्रहरूलाई हिन्दूधर्मका मुख्य शास्त्रहरू मानिन्छ । त्यसपछि विकास भएका स्मृति शास्त्रहरू विशेषगरी सामान्य हिन्दूहरूका बीचमा बढी लोकप्रिय बन्‍न पुगे । यी धर्मशास्त्रहरूलाई यहाँ धर्मको सन्दर्भमा उल्लेख गरिएका भए पनि अहिले मेरो मुख्य उद्देश्य यी शास्त्रहरूका बारेमा चर्चा गर्नु होइन । 1

प्रकृतिपूजन धर्मको उपस्थिति किराँत समुदायमा हुँदाहुँदै पनि उनीहरूले हिन्दू धर्मका विश्‍वासहरूलाई विरोध गरेको इतिहास छैन । हिन्दूहरूको पवित्रस्थल मानिने पशुपतिको परिसरमा किराँतेश्‍वर भन्‍ने देवतालाई पनि सृजना गरिएको पाइन्छ । प्रकृतिपूजन धर्म र हिन्दू धर्म सहिष्णुतामा अगि बढेको देखिन्छ । हिन्दूहरूले आफू सनातनदेखि आएका हौँ भनी दावी गरे पनि, ऐतिहासिक तथ्यचाहिँ इसा पूर्व १५०० पछि मात्र यस धर्मको शुरूवात भएको देखिन्छ र शुरूमा हिन्दू धर्मको आस्थालाई स्वीकार गर्नेहरू पनि प्रकृतिपूजन धर्मबाट नै आएका व्यक्तिहरू, समूहहरू नै थिए । यसैले हिन्दू धर्मले पनि धार्मिक आस्थाको परिवर्तन गरी आएका अनुयायीहरूबाट नै यस धर्मलाई निर्माण गरेको हो । नेपालको इतिहासमा पनि प्रकृतिपूजन धर्मबाटका लाखौँ व्यक्तिहरूले हिन्दू धर्म स्वीकार गरेका ऐतिहासिक उदाहरणहरू प्रशस्तै छन् । अहिले पनि हजारौँ व्यक्तिहरूले विश्‍वका विभिन्‍न देशहरूमा उनीहरूको धार्मिक आस्था परिवर्तन गरी हिन्दू भइरहेका उदाहरणहरू पनि प्रशस्त छन् ।

हिन्दू धर्मका बलिदानहरू, विधिहरू, पूजाहारीपन, जातप्रथाको विरोधमा शुरू भएको बौद्ध धर्म पनि हिन्दूहरूबाट विभिन्‍न कालखण्डमा सतावट भोग्दै नेपालमा अस्तित्वमा रहेको देखिन्छ । आदि शंकराचार्यको समयमा भारत लगायत नेपालमा पनि ठूलो नोक्सानी भोगेको बौद्ध धर्मले सहिष्णुताको मार्ग अपनाई यसको प्रभावलाई नेपालमा कायम राखेको छ । दक्षिण एशियाको नेपालमा शुरू भएको बौद्ध धर्मले यसको जन्मभूमि र नजीकका देशहरूमाभन्दा पूर्वी एशियाका देशहरूः थाइलैण्ड, क्याम्बोडिया, भियतनाम, मेनमार, चीन, जापान लगायत पूर्वी एशियाका अन्य देशहरूमा महत्वपूर्ण स्थान प्राप्‍त गर्‍यो । नेपालबाट ती देशहरूमा आयतित बौद्ध धर्मलाई त्यस देशका मानिसहरूले विदेशी धर्मको रूपमा स्वीकार गरेकोजस्तो लाग्दैन । यथार्थचाहिँ यो हो कि, कुनै पनि धर्म जो एक व्यक्तिको आस्थासँग सम्बन्धित छ, त्यो कहिल्यै स्वदेशी र विदेशी हुँदैन । बौद्धमार्गीहरू पनि हिन्दू धर्म र प्रकृतिपूजन धर्मबाट नै बौद्ध धर्ममा प्रवेश गरेका हुन् भन्‍ने तथ्यलाई जहिले पनि हेक्‍का राख्‍नुपर्छ । नेपालभित्र पनि बौद्ध धर्म र हिन्दू धर्मको बीचमा गहिरो सहिष्णुता रहेको छ ।

ॐकार समूहका जैन र सिख धर्महरूको पनि नेपालमा उपस्थित रहेको छ र उनीहरूले पनि आफूलाई उनीहरूका आफ्नै पहिचानमा स्वीकार गरेका चाहन्छन् । जैन र सिख धर्मका अनुयायीहरू पनि कुनै न कुनै धर्मबाट यस धर्ममा प्रवेश गरेका हुन् भन्‍ने तथ्यलाई बिर्सनुहुँदैन । यसैले इतिहासमा धर्म वा धार्मिक आस्थाको परिवर्तन जहिले पनि थियो र यो अझै छ र रहिरहन्छ भन्‍ने तथ्यलाई पनि भुल्नुहुँदैन । यो तथ्य भुल्नेबितिक्‍कै सहिष्णुता गुमिहाल्छ । धार्मिक सहिष्णुता कायम राख्‍नका लागि धार्मिक आस्था परिवर्तनसहितको धार्मिक स्वतन्त्रता अपरिहार्य हुन्छ ।

लामो समयदेखि नेपालमा मुस्लिमहरू र ख्रीष्‍टियनहरूको उपस्थिति रहेको छ । उनीहरूका आआफ्ना धार्मिक आस्थाहरू रहेका छन् । उनीहरू नेपालका नागरिकहरू हुन् र आफ्नो देशप्रति सबैको प्रेम र सदभाव रहेको छ । सबै धर्महरूमाजस्तै यी धर्महरूमा पनि आफ्ना आफ्ना आस्थाका आधारमा मानिसहरूले विश्‍वास गर्नपाउनुपर्ने अधिकार रहेको छ । यस आस्थालाई कसैले पनि हस्तक्षेप गर्नुहुँदैन।

नेपालको वर्तमान अन्तरिम संविधानमा समाहित भएको धर्मनिरपेक्ष शब्दले विभिन्‍न वृत्तमा चाहिनेभन्दा बढी छलफलको स्थान पाएको छ । यो नव शब्दमा छलफल गरिनु फाइदाजनक नै हुनसक्छ । नेपाल राजकीय प्रज्ञा-प्रतिष्‍ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा धर्मनिरपेक्ष शब्दलाई यसरी परिभाषित गरिएको छः “कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्‍ने तथा धर्मका मामलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने (राज्य, समाज) ” । यस परिभाषामा पनि राज्यले धर्ममा हस्तक्षेप गर्नुहुन्‍न र सबै धर्महरूलाई बराबर मान्यता दिनुपर्छ भन्‍ने आसय रहेको छ । धर्मनिरपेक्षको अवधारणा कुनै धर्मलाई कमजोर बनाउनु नभई सम्पूर्ण धार्मिक आस्थाहरूका बीचमा सहिष्णुता कायम राख्‍नु हो। यसका लागि नै विश्‍वव्यापी रूपमा मानव अधिकार वृत्तबाट यस शब्द र यससँगको अवधारणालाई जोड दिइएको छ । धर्मनिरपेक्ष शब्दले एक व्यक्तिको आस्थालाई सम्बोधन गर्छ र राष्‍ट्रले कुनै पनि एक धर्मलाई काखी च्याप्‍नुहुँदैन र राष्‍ट्रभित्र भएका विविध धर्म मान्‍ने वा कुनै पनि धर्म नमान्‍ने नागरिकहरूलाई समान व्यवहार गर्नुपर्दछ । आफ्नो मत वा विचारलाई स्वतन्त्ररूपमा अभिव्यक्त गर्नपाउने अधिकार पनि धर्मनिरपेक्षभित्र समाहित हुन्छ ।

नेपालमा भएको पहिलो ऐतिहासिक संविधान सभापछि धर्मनिरपेक्षका बारेमा त्यति बहस नभए पनि, दोस्रो संविधान सभाको चुनाबपछि धर्मनिरपेक्ष अवधारणाले ठूलो बहसको स्थान पाएको छ । राजनीतिक मुद्दाहरूका साथसाथै बहसमा यस धार्मिक मुद्दा प्रवेश हुनुमा राष्‍ट्रिय प्रजातन्त्र पार्टी, नेपालको २४ जना सभासदहरूको संविधान सभामा भएको प्रवेश हुनसक्छ । राप्रपा नेपालको घोषणा पत्रमा नेपाललाई हिन्दू राष्‍ट्र घोषणा गरिनुपर्छ भन्‍ने मूल मुद्दा पनि रहेको छ ।

कुनै पनि बहस, छलफल, दृष्‍टिकोणजस्ता सञ्‍चार माध्यमका कार्यक्रममा धर्मनिरपेक्षको विषयलाई घरिघरि उठाइएको पाइन्छ। यी सञ्‍चार माध्यममा भागलिने अवसर नपाए पनि सुन्‍ने अवसर मिलेको छ । यी बहसहरूमा विभिन्‍न व्यक्तिहरूका विभिन्‍न विचारहरूलाई सुन्‍न पाइन्छ । ती अभिव्यक्त शब्दहरूमा भावनाहरू र आक्रोस पनि अभिव्यक्त भएका हुन्छन् । धर्मनिरपेक्षको सवालमा जनमत संग्रह गर्नुपर्छ भन्‍ने अभिव्यक्ति दिनेहरू पनि थुप्रै छन् । केही दिन पहिले नेपाल १ टिभी च्यानलमा राजाले राजनीतिक पार्टी खोल्ने, वा राजाका नजीककाहरूले राजासँग मिलेर राजनीतिक पार्टी खोल्ने वा सभासद कमल थापाको विकल्पमा राजा निकट व्यक्तिहरूले राजनीतिक पार्टी खोल्ने विषयमा भएको चर्काचर्की बहसमा धर्मनिरपेक्षको कुरा पनि जोडियो । मानव अधिकारकर्मी चरण प्रसाइको अभिव्यक्ति अति सन्तुलित र राजनीतिक र धार्मिक सहिष्णुताले भरिएको थियो । बहसमा सहभागी हुनेहरूमध्ये कतिजनाले त २०६३ सालको आन्दोलनलाई विदेशी दलालहरूको विजय भन्‍ने अर्थ लगाएका थिए । त्यहाँ सहभागी हुनुभएका व्यक्तित्वहरूमध्ये कोही कोहीले जनताको रगत, पसिना, र बलिदानबाट ल्याएको यस राजनीतिक परिवर्तनलाई अवमूल्यन् गर्न पाइँदैन भनी प्रतिवाद गरेका थिए । जनताको बलिदानबाट प्राप्‍त यस राजनीतिक परिवर्तनलाई आत्मसात नगर्नेहरूले धर्मनिरपेक्षलाई सहज किसिमले बुझिहाल्लान भनी विचार गर्नु पनि हुँदैन । तर धर्मनिरपेक्ष भनेको मानव अधिकारको मामिला हो भन्‍ने निरन्तर प्रयासले दृष्‍टिकोणमा परिवर्तन आउन पनि सक्छ ।

अब म मानव अधिकारकर्मी चरण प्रसाइमा अभिव्यक्तिहरूलाई विश्‍लेषण गर्ने कोशिश गर्छु । धर्म एक आस्था हो र यो मानव अधिकारसँग गहिरो किसिमले जोडिएको छ । एक व्यक्तिले आफ्नो आस्थाअनुसारको धार्मिक विश्‍वास राख्‍न पाउनुपर्छ र यसमा राज्यले कुनै हस्तक्षेप गर्न मिल्दैन भन्‍ने अन्तरार्ष्‍ट्रिय मान्यता रहेको छ । आफूले चाहेको धार्मिक आस्था राख्‍न पाउने मानवको जन्म सिद्ध अधिकार हो । उहाँले जनमत संग्रहको बारेमा पनि केही अभिव्यक्ति दिनुभयो । अन्तरार्ष्‍ट्रिय मान्यताका विरूद्धका विषयमा पनि जनमत संग्रहमा जान मिल्दैन । नेपालाई प्रजातन्त्र चाहिन्छ वा निरङ्कुस शासन चाहिन्छ भन्‍ने विषयमा जनमत संग्रह गर्न मिल्दैन । मानव अधिकारका मान्यताका विरूद्धमा जनतालाई उक्साउन मिल्दैन । त्यही मान्यता अनुरूप नेपाललाई धर्मनिरपेक्ष चाहिन्छ वा हिन्दू राष्‍ट्र चाहिन्छ भनी जनमत संग्रह गर्न मिल्दैन किनकि मानव अधिकारको आधारभूत सिद्धान्त नै सबै धर्मका व्यक्तिहरूलाई समान अधिकार प्रदान गर्नु हो, यसको निम्ति धर्मनिरपेक्ष अपरिहार्य हुन्छ ।

सन् १९६३ को पञ्‍चायती संविधानमा मात्र नेपाललाई हिन्दू अधिराज्यको रूपमा घोषणा गरिएको छ । सन् १९५० पछिको संविधानमा धर्मको सम्बन्धमा कुनै कुरा नलेखिएको हुनाले, नेपाल अघोषित धर्मनिरपेक्ष देश रहेको थियो भन्‍न सकिन्छ । भारतको प्रजातन्त्रको अभियानले राणा शासनको अन्त्य गर्नमा सहयोगी भूमिका खेलेको हुनाले सन् १९६३ सम्म प्रजातन्त्रको ढाँचा पनि मानव अधिकार र धर्मनिरपेक्षको अवधारणामा रहेको थियो भनी मान्‍न सकिन्छ ।

मानव जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने धेरै थोकहरूमध्ये धर्म र राजनीति दुई अति प्रभावकारी सिद्धान्तहरू हुन् । दुवै सिद्धान्तहरू आआफ्ना आस्थाका स्तम्भहरू हुन् । धर्म र राजनीतिका अभ्यासका तरीकाहरू फरक भए पनि उनीहरूको उद्देश्यमा केही समानता छ । धर्मले यस पार्थिव जीवन र यस पार्थिव जीवनपछिको अर्को जीवनको बारेमा चर्चा गर्छ भने राजनीतिचाहिँ यस पार्थिव जीवनको अर्थ र साध्यसँग सरोकारित छ । दुवैको पार्थिव उद्देश्य मानवलाई शान्ति र समृद्धि दिनु हो । यसैले मानवअधिकारको क्षेत्रबाट होस् वा सुद्धिबुद्धिको क्षेत्रबाट होस् दावैलाई आस्थाका रूपमा परिभाषित गरिएको छ ।

सन् १९६० वा त्यसपछिका दशकहरूमा नेपालमा ख्रीष्‍टियनहरूलाई सतावट दिइएको थियो । उनीहरूलाई मुद्दा लगाउनुका साथसाथै झ्यालखानमा पनि हालियो । त्यसताका नेपालमा बन्देज राजनीतिक पार्टीका नेताहरूलाई पनि झ्यालखान हाल्ने चलन थियो । दुवैलाई राज्यको विरूद्धमा गरिएको अपराधको मुद्दा लगाइएको थियो । राजनीति दलका नेताहरूले आफ्नो राजनीतिक आस्था छोडेर पञ्‍चायतलाई मान्छु भन्दा छुटकारा पाउँथे भने, ख्रीष्‍टियनहरूले पनि येशूलाई त्यागी अब हिन्दू धर्ममा फर्कन्छौँ भनेपछि छुटकार पाउँथे । तर जो आफ्नो राजनीतिक वा ख्रीष्‍टियन धार्मिक विश्‍वास वा आस्थामा अटल रहन्थ्यो, ऊ कैदी भएरै झ्यालखानमा जिउनु पर्‍थ्यो । मैले यी दुवै घटनालाई तुलना गर्नुको कारणचाहिँ दुवैलाई आस्थाका बन्दिका रूपमा थुनिएको थियो ।

कुनै पनि देशको राजनीतिमा आफ्नो आस्था अनुसारको दल वा पार्टीमा सहभागी हुने स्वतन्त्रता हुन्छ र सन् १९५१ पछि त्यो स्वतन्त्रता नेपाली नागरिकहरूले प्राप्‍त गरेको थिए र सन् १९६१ पछि त्यो स्वतन्त्रता हनन् भयो र दलहरूमाथि प्रतिबन्ध लगाइयो। सन् १९९०को जनआन्दोलनपछि दलहरूमाथि लगाइएको प्रतिबन्धको फुकुवा भयो र दलहरूले आआफ्नो सिद्धान्तअनुसारको आस्थाको अभ्यास गर्नलागे र एउटा दलको सिद्धान्तप्रतिको आस्थामा असन्तुष्‍ट हुँदा अर्को दलमा परिवर्तन गर्न सकिने स्वतन्त्र अधिकार दिइयो । यसरी आज पनि एक दलबाटका सदस्यहरू अर्को दलमा सदस्य हुने क्रम जारि छ र विना प्रश्‍न यसो गर्न दिइन्छ ।

अब तपाईंले मलाई प्रश्‍न गर्नुहुन्छ । धर्म र राजनीति नितान्त अलग विषयहरू हुन् । यिनीहरूका विषयवस्तु र आस्था पृथक छन्, तब कसरी यस किसिमको तर्क गर्न सकिन्छ । मेरो तर्क यहाँ धर्म र राजनीतिले सिकाउने विषयवस्तुको एकता नभएर, दुवैको आस्थाको सिद्धान्तसँगको हो । दुवैलाई आस्थाको दृष्‍टिकोणबाट हेरिनुपर्छ । नेपालमा भएका धेरै दलहरूका सिद्धान्त वा आइडिओलोजी विभिन्‍न देशहरूबाट आयातित हुन् । कार्ल माक्स, लेलिन, माओजस्ता नामहरू नेपालको माटोभित्र जन्मेका नामहरू होइनन् । यी व्यक्तिहरू विभिन्‍न देशहरूमा जन्मेका र हुर्केका थिए । तर तिनीहरूले शुरू गरेका सिद्धान्तहरूको प्रभाव कुनै भौगोलिक क्षेत्रमा सीमित हुँदैन । यो कुनै देश वा जाति विशेषमा सीमित हुँदैन । सिद्धान्तले विश्‍वलाई प्रभाव पार्छ । कुनै व्यक्तिले गरेको आविश्कारको प्रभाव कुनै देशमा सीमित हुँदैन । यसको प्रभाव सबैलाई पर्छ । सिद्धान्त कहिल्यै स्वदेशी र विदेशी हुँदैन । यसैले कुनै पनि धर्म स्वदेशी र विदेशी हुँदैन । धर्म र राजनीति सिद्धान्तमा अडिने हुनाले यिनीहरूको भौगोलिक दायरा हुँदैन । नेपालको राप्रपा नेपाल, काँग्रेसी शासन जति स्वदेशी छ, त्यति नै कम्युनिष्‍ट शासन पनि छ । नेपालको हिन्दू धर्म जति स्वदेशी छ, त्यति ख्रीष्‍टियन वा मुस्लिम धर्म पनि छ । देशभक्ति सिद्धान्तमा नभएर सिद्धान्त बोक्‍ने व्यक्तिसँग हुन्छ, राष्‍ट्रप्रतिको उसको प्रतिबद्धतासँग हुन्छ ।

कसैकसैको विचारमा विभिन्‍न धर्महरूलाई स्थान दिइयो भने धर्म युद्ध हुन्छ । त्यो तर्क पनि आफ्नो ठाउँमा सत्य नै होला । विश्‍वका विभिन्‍न देशहरूमा धर्मका नाउँमा युद्धहरू पनि भएका छन् । ती युद्धहरूको इतिहासलाई केलायो भने, धर्मप्रतिको सहिष्णुताले नभएर धर्मप्रतिको प्रतिबन्धले त्यसो भएको हो । युद्ध हुन नदिनका लागि राज्यले सबै धर्महरूलाई बराबर व्यवहार गर्नुपर्छ र राज्यले यसो गर्छ भन्‍ने विश्‍वासको कडी संविधानमा धर्मनिरपेक्षलाई पक्‍का गर्नु हो ।

नेपालको इतिहासमा पहिलोपल्ट सन् २०१४ जुन ९ र १० तारिखमा एक धार्मिक समूहले काठमाण्डौ उपत्यका बन्दको आह्वान् गर्‍यो । यो सफल वा असफल के भयो भन्‍ने बारेमा छुट्टै बहस गर्न सकिन्छ, तर शान्तिको कामना गर्ने समूहले आक्रोसित भएर यसो गर्न सुहाउँछ? यस खालका गतिविधिले नै अशान्त समाजको सृजना गर्ने हो । ×हाम्रो धर्मयुद्ध माओवादीको भन्दा पनि चर्को हुनेछ” भन्‍ने गैर जिम्मेवार अभिव्यक्तिहरू पनि सुनिए । यस्तै खालका गतिविधिहरूले नै अरू धर्महरूसँगको सम्बन्धमा कुठाराघात हुनजान्छ र सम्बन्धित सबैले संयमताकासाथ विचार गर्नुपर्दछ । जानकारहरूको भावनात्मा आक्रोसले सामान्य मानिसहरूमा अति नै ठूलो नकारात्मक असर पार्छ भन्‍ने तथ्यलाई स्मरण गर्नुपर्दछ । विभिन्‍न धर्मालम्बीहरू मिलेर हामी यस देशलाई शान्तमय र बस्‍नलायक बनाउनुपर्छ ।

अब फेरि युद्धको बारेमा विचार गरौँ । यस देशमा विभिन्‍न धर्महरूलाई स्थान दियो भने धार्मिक युद्ध हुन्छ भनी मानिसहरूमा मनोवैज्ञानिक त्रास हाली कसैले पनि भयभीत बनाउनु हुँदैन । वास्तवमा विश्‍व इतिहासलाई नियाल्दा राजनीति सिद्धान्तका नाउँमा जति युद्ध भएका छन् त्यसको तुलनामा धार्मिक युद्ध नगन्य छन् । नेपालको वर्तमान इतिहासलाई नै हेरौँ न । राजनीतिक सिद्धान्तका कारण कतिजना व्यक्तिहरूको मृत्यु भयो । अझै कतिहरूले धेरै ठूलो युद्धको वकालत पनि गरिरहेका छन् । युद्ध गर्नुपर्छ भन्‍ने खालको सिद्धान्त वा आस्था बोकेकाहरूले पूर्ण स्वतन्त्रताको अनुभूति गरी सभा, जुलुस, र प्रचारको स्थान पाउनसक्छन् भने शान्ति, मिलाप, सेवा, त्यागको शिक्षाको घोषणा गर्नेहरूलाई बन्देज गर्नुपर्छ भन्‍ने तर्क यसैमा विरोधाभास छ ।

नेपालमा भएको ख्रीष्‍टियन उपस्थितिको बारेमा अब चर्चा गरौँ । प्रायःजसो विभिन्‍न सञ्‍चारका माध्यमहरूमा नेपालमा ख्रीष्‍टियनहरूको उपस्थितिको बारेमा चर्चा परिचर्चा हुने गरेको सुनिन्छ र पढिन्छ । विश्‍वमा भएका सबै देशमा उपस्थिति प्राप्‍त गरेको ख्रीष्‍टियन धर्म वा विश्‍वास नेपालमा प्रवेश हुनु कुनै नौलो कुरा होइन । अरू देशहरू लगायत नेपालमा यस विश्‍वासले स्थान पाउनुलाई ख्रीष्‍टियनहरूले उनीहरूका मसिह वा गुरू र प्रभु येशूको महान् आज्ञाको परिपूर्ति हो भन्‍ने विश्‍वास गर्छन् । येशूले क्रूसमा आफ्नो जीवनको बलिदान गरी तीन दिनपछि बौरिउठ्नुभई दिनुभएको आज्ञालाई पूरा गर्नुपर्ने प्रत्येक ख्रीष्‍टियनको दायित्व हो भन्‍ने ख्रीष्‍टियनहरूको मान्यता रहेको छ । यो दायित्व प्रेम, मिलाप र सेवाको आत्मासाथ पूरा गरिनुपर्छ । येशूले डाँडाको उपदेशमा यस पक्षलाई जोड दिएको कुरामा ख्रीष्‍टियनहरू आफू प्रतिबद्ध भएका अभिव्यक्ति दिन्छन् । ख्रीष्‍टियनहरूका गुरू येशूले ख्रीष्‍टियन उपस्थितिको बारेमा के भन्‍नुभएको रहेछ त, अब हामी त्यसलाई हेरौः

यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु (मत्ती २८:१९,२०)

इस्वी सम्मत् पहिलो शताब्दीबाट नै ख्रीष्‍टियनहरू आफूले आन्तरिक परवर्तनको अनुभूति गरेपछि, उनीहरूका गुरू येशूको आज्ञालाई शिरोपर गरी विभिन्‍न सतावटलाई झेल्दै भारत लगायत विश्‍वका विभिन्‍न देशहरूमा पुगे। उनीहरूले येशूको मिलापको सन्देश छर्ने कार्य गरे । थोमस नामका येशूका एकजना चेला भारतको चेन्‍नाइमा आई चर्चहरूको शुरूवात गरेका थिए । भारतमा ख्रीष्‍टियनहरूको इतिहास २००० वर्ष पुरानो छ ।

ख्रीष्‍टियनहरू पहिलोपल्ट अठारौँ शताब्दीमा नेपालमा प्रवेश गरेका थिए । इटालीबाट आएका कपुचिन फादरहरूले त्यसबेलाका तीन मल्ल राजाहरूसँग यही उपत्यकामा काम गरेका थिए । मल्ल राजाहरूले उनीहरूलाई पूर्ण धार्मिक स्वतन्त्रता प्रदान गरी उनीहरूका लागि आवासको पनि बन्दोबस्त मिलाएका थिए । ती क्याथोलिक पूजाहारीहरूले औषधि उपचारका साथसाथै तिनीहरूका विश्‍वासलाई बाँड्नसक्‍ने अधिकार पाएका थिए । यी पूजाहारीहरूको गोर्खाका राजा पृथ्वी नारायण शाहासँग पनि राम्रो सम्बन्ध थियो । गोर्खा दरबारमा बिरामीलाई उपचार गर्नका लागि राजाले यी पूजाहारीहरूलाई गोर्खा पुर्‍याएका थिए । यी ख्रीष्‍टियन मिशनरीहरू र उनीहरूले गरेका सेवासँग राजा पृथ्वी नारायण शाहाको कुनै समस्या भएको देखिँदैन। उनीहरूका क्रियाकलापहरूका बारेमा उनले मल्ल राजाहरूबाट जानकारी पाएकै हुनुपर्छ ।

त्यस बेला भारतमा इष्‍ट इन्डिया कम्पनीको सक्रियतमा बेलायतको शासन थियो । पृथ्वी नारायण शाहाले नेपाललाई एकिकरण गर्ने अभियानमा काठमाण्डौ उपत्यकामाथि पनि कब्जा गर्ने रणनीति लिएका थिए । पृथ्वी नारायण शाहाको आक्रमणबाट बच्न मल्ल राजाहरूले भारतमा रहेको बेलायत सरकारलाई गोहार गरे । मल्ल राजाहरूले काठमाण्डौमा रहेका गोराहरूको सहयोगमा यसो गरेका हुन् भन्‍ने सोच शाहा राजामा भयो । तर इटालीबाट आएका यी ख्रीष्‍टियन मिशनरीहरूको बेलायती सरकारसँग कुनै सम्बन्ध थिएन । उनीहरूले आफ्नो असंलग्‍नता रहेको कुराको जानकारी शाहा राजालाई गराउन खोजे पनि सो कुराको सुनुवाई भएन । पृथ्वी नारायण शाहाको उपत्यका विजयको साथसाथै सम्पूर्ण इटालियन मिशनरीहरू र मल्ल राजाका राज्यमा भएका नेपाली ख्रीष्‍टियनहरूले देश छोड्नुपर्‍यो । उनीहरू भारतको बिहार राज्यको बेतियामा गई बस्‍न लागे ।

सिद्धान्तगत रूपमा पृथ्वी नारायण शाहा ख्रीष्‍टियन विरोधी थिएनन् । उनले मुस्लिमहरूलाई पनि उनको देशमा स्थान दिएका थिए । तर गोरा मिशनरीहरूप्रतिको शंकाको कारण उनले ख्रीष्‍टियनहरूलाई देशबाट बाहिर जाने आज्ञा गरे । सन् १७६९ मा ख्रीष्‍टियनहरू नेपालबाट बाहिरीय । यो विशुद्ध असमझदारीको उपज थियो ।

ख्रीष्‍टियन धर्म प्रचार गर्नुहुन्‍न र यसले आफ्नो व्यवसायमा नकारात्मक असर पार्छ भन्‍ने इष्‍ट इन्डिया कम्पनीको अडानको कारण त्यसबेला भारतमा पनि ख्रीष्‍टियानिटीको प्रचार प्रसारमा कमी आएको थियो । तर सन् १७९२ मा भारत आइपुगेका विलिम केरीले ख्रीष्‍टियन सुसमाचारलाई जीवन्त दिए । उनले विभिन्‍न भाषाहरूका बाइबल अनुवाद गरी यसलाई छाप्‍ने र वितरणगर्ने कार्य गरे । नेपाली भाषामा बाइबलको नयाँ करार सन् १८२१ मा छापिएको थियो । नेपाली भाषामा छापिएका पुस्तकहरूमध्ये यो सबैभन्दा पहिलो पुस्तक हो ।

नेपालमा भएको लामो समयको राजनीतिक अस्थिरता र बेलायतले संरक्षण दिएको जहानियाँ राणा शासनको कारण बेलाबेलामा विभिन्‍न प्रयासहरू भए पनि सन् १९५० भन्दा पहिले ख्रीष्‍टियन सुसमाचार नेपाल देशमा प्रवेश गर्न सकेन । नेपालमा प्रजातन्त्रको उदयसँगै ख्रीष्‍टियन उपस्थितिको पनि प्रवेश भयो । ख्रीष्‍टको त्याग र बलिदानको जीवनबाट प्रभावित भई मानिसहरूले आफ्नो जीवनलाई सेवामा अर्पण गरे । नेपालमा शुरू गरिएका विद्यालयहरू, अस्पतालहरू, शिक्षाकेन्द्रहरू र चर्चहरूले असल र सभ्य समाजको दर्शन बोकेका छन् । बिस्तारै गति लिएको ख्रीष्‍टियन क्रियाकलापको उद्देश्य नेपाललाई समृद्ध र स्वस्थ बनाउनु हो । सबैसँग हातेमालो गरेर आफ्नो आस्थाको अभिव्यक्तिसाथ अगि बढ्ने ख्रीष्‍टियान समाजको प्रणलाई राज्यले बुझिदिनु आवश्यक छ ।

समाजलाई मार्गदर्शन दिने आध्यात्मिक बाटो नखोजेसम्म राष्‍ट्र सम्पन्‍न हुनसक्दैन किनकि मानवको सबैभन्दा प्रमुख समस्या राजनीतिक वा सामाजिक वा आर्थिक नभएर आध्यात्मिक हो । मानवले विभिन्‍न पक्षमा भएका सही सम्बन्धलाई गुमाएको छ । आध्यात्मिक पक्षलाई कसरी सम्बोधन गर्नुपर्छ भन्‍ने बारेमा बाइबलको स्पष्‍टता छ । त्यसैले विश्‍वविद्यालय तहमा समेत ज्ञानको खानी भनी चिनिने शास्त्रलाई स्थान दिइनुपर्छ । यसमा सबैको भलो हुन्छ, र कसैको पनि कुभलो हुँदैन ।

अन्त्यमा, मानव प्राणी स्वतन्त्र प्राणीका रूपमा यस धर्तिमा जन्मेको प्राणी हो । उसँग विचार, मन, ह्रदय, आत्मा, र ठीक र बेठीकको बीचमा छुट्याउने शक्ति छ । उसमा भएको धर्मको आस्थालाई सम्मान गरिनुपर्छ र राज्यले यसको निम्ति संरक्षण प्रदान गर्नुपर्छ । ख्रीष्‍टियनहरू पनि यही आस्था लिएर जिएका छन् र उनीहरू लगाएत अरूहरूका आस्थालाई सम्मान गरिनुपर्छ । यसलाई सम्मान गर्ने एक महत्वपूर्ण तरीकाचाहिँ नेपालको संविधानमा धर्मनिरपेक्षलाई सुनिश्‍चितता गरिनुपर्छ । सबैका खातिर यो गरिनुर्छ । शान्तिका लागि यो गरिनुपर्छ ।

(रेभ.डा.बाल कृष्ण शर्माले विभिन्‍न सेवाहरू प्रदान गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्‍वविद्यालयबाट अंग्रजी साहित्यमा एमए गर्नुभएको छ । उहाँले संयुक्त अधिराज्य बेलायतको वेल्स युनिभर्सिटीबाट सन् २०१० मा नेपालमा मृत्युसंस्कारः दहन, दफन, र ख्रीष्‍टियन पहिचान विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले सम्माननीय राष्‍ट्रपति डा. रामवरण यादब ज्युका बाहुलीबाट सन् २०११ को सेप्टेम्बर महिनामा उहाँको विद्यावारिधि वा पिएजडी उपाधिको निम्ति सम्मानजनक शिक्षापदक र प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ । उहाँ नेपाल पिएचडी एशोशियसनका आजीवन सदस्य हुनुहुन्छ र हाल उहाँ नेपाल थियोलोजिकल कलेजका प्रिन्सिपल हुनुहुन्छ । उहाँसँग यस लेख सम्बन्धि र अन्य विषयमा परमर्श, छलफल गर्नुपरेमा उहाँको इमेलमा सम्पर्क राख्‍नुहुन विनम्र अनुरोध गरिन्छ । उहाँको इमेल यस प्रकार छःbalkrishnasharma60@gmail.com)

 

Facebook Comments

Category: Socio-political