भर्चुअल लभ

[ 4 ] July 11, 2014 |

अरुणा छन्त्याल

म आफू जन्मजात बोल्न नसक्ने अपांगता भएकी व्यक्ति हुँ | चलनचल्तीको भाषामा भन्नुपर्दा आम मानिसले गिज्याएर वा टीठ्याएर ‘ए’ वा ‘बिचरी’को उद्गारसँगै भन्ने शब्द ‘लाटी’ हो |

सानोमा कसैले मलाई ‘ए लाटी !’ भन्यो भने मेरो कन्सिरी यति तात्थ्यो कि त्यो जोसुकै होस् त्यसको पाखुरा क्याप्पै टोकिदिन्थें वा त्यसको कपाल लुछिदिन्थें | मेरो आक्रमणमा पीडितको अभिभावकले आफ्नो नानीलाई सुम्सुम्याउँदै ‘लाटीसित नखेल भनेको होइन त ? लाटीको रीस धेरै हुन्छ के…|’ भन्दै फत्फताउँदै काखी च्यापेर लागेको देख्थें | मेरी आमाले मायाले मलाई सम्झाउनुहुन्थ्यो-‘त्यसरी रिसाउनुहुन्न नानु..’ तर मैले जति सम्झाए पनि आफ्नो साथीसित त्यसरी बाझ्दा मैले फेरि गालामा एक चड्कन पाउँथें | तत्क्षण, म आमासित पनि रिसाएर भातै नखाई बस्थें अनि त्यसैबेला आमा पनि रीसले कराउनुहुन्थ्यो-‘बुद्धिले अर्कालाई खा, रीसले आफैंलाई खा, आफैं लाटी भएपछि अरुले जे भनेपनि चुप लगेर सहेर पो बस्नुपर्छ, तेरो जिद्दीले केही हुनेवाला छैन बरु तेरै नाश पार्छ बुझिस् |’ हुन त आमाले ठीकै भन्नुभएको थियो तरै पनि आफ्नै आमाले आफ्नो पीडा नबुझेकोले मेरो मन भित्रैदेखि कुँडिएर आउँथ्यो | चिच्याएर सोध्न मन लाग्थ्यो-‘किन आमा ? म मान्छे होइन र ? मलाई अरुले किन गिज्याउन पाउने ? अनि मैले किन सहेर बस्नुपर्ने ?’ तर मेरा मनका प्रश्न मनमै सीमित भएकोले आँखाबाट बलिन्द्र आँसुका धारा खस्थे |

पछि-पछि हुर्कंदै गएपछि मैले टोक्ने र लुछ्ने बानी छाडें अनि सहनशील पनि हुँदै गएँ तथापि मेरो मनमा अनुत्तरित प्रश्नहरु यथावत थिए-‘के लाटीलाई धेरै रीस उठ्छ ? लाटीलाई रीस उठे लाटी रीस किन भन्ने ?’ आफूमाथि भएको यो विभेदलाई चिच्याई-चिच्याईकन विरोध गर्न मन लाग्थ्यो तर मेरो वाकहीन दुर्बलतामाथि पीडकहरुले गिल्ला गरिरहे गरिरहे | कतिखेर त म बिल्कुल बाहिरी भएको भए जाती लाग्थ्यो ताकि कसैको पनि बोलीको बाण मेरो मनमा गड्ने थिएन, अनि मलाई विधाताप्रति नै रीस उठ्थ्यो-‘मलाई लाटी त बनायौ-बनायौ, बहिरी किन बनाएनौ ? मलाई चोट पार्न है ?’ मेरो विरोध मात्र लेखाइमा वा हातका संकेतमा सिमित भएकोले परिवर्तनको राँको बाल्न सकिनँ | तर अब म बोल्न सक्छु किनकि म बोल्न नसके पनि मेरो कलमको एक-एक अक्षरले मेरो पीडाको आवाजलाई बुलन्द पार्नेछ |

कालान्तरमा मैले ख्रीष्टलाई पाएकोले मेरो विद्रोहमा जल्ने स्वभाव धेरै हदसम्म हटेको हो, ख्रीष्टझैं सहनशीलताको पथमा लम्किंदै छु पनि तर नियतिको क्रुरताले अहिले फेरि त्यस्तै विद्रोह सल्कियो | आखिर मान्छे रिसाहा जात न हो, मैले पहिले-पहिलेजस्तो सानातिना कुरामा रीसलाई वशमा राख्न जानिसकेछु तर यसपाली चाहिं जति रिसाउन्न भन्दा पनि रीस उठ्यो जसलाई शब्दमा पोखेरै यो मनको जलन शान्त पार्न खोज्दै छु |

अँ, मेरो रीसको कारण हो यो नौलो जमानाको नवीनतम प्रेम अर्थात् ‘भर्चुअल लभ’ जसलाई साँचो प्रेम ठान्दाठान्दै झुटो ठहरियो र अन्तमा मलाई आफैंप्रति टीठ्याएर भन्न मन लाग्यो-‘कठै सरु ! तैंले आफू लाटी भएको कुरा नबिर्सिनुपर्ने…|’

मोबाइलमा फेसबुकको बहार आएपछि हो मैले सन्तोषलाई च्याटमा भेटेको | ऊ पनि विश्वासी रहेछ, खुशी लाग्यो | उसका फेसबुक स्टाटस पढ्दा ऊ प्रभुप्रति साँच्चै समर्पित आत्मिकी युवकझैं लाग्थ्यो | हामीबीच प्रभुकै कुरा च्याटमा हुन्थ्यो तर अचानक एकदिन उसले भन्यो-‘म त तिमीलाई प्रेम गर्छु, तिमी गर्दिनौ हगी ?’ मलाई अचम्म लाग्यो, मैले त भाइजस्तै सोंचेकी थिएँ किनकि ऊ मभन्दा ५ वर्ष कान्छो थियो तर अचानक यो प्रेम निमन्त्रण पाउँदा म लाटीको मन त्यसै-त्यसै रमायो, त्यैपनि मैले आफ्नो होश पूरै गुमाइनँ किनकि कसैले मजस्ती लाटीसित नि:स्वार्थ प्रेम गर्न सक्छ भन्ने कुरामा मलाई शंकै थियो, त्यसैले उसको प्रस्तावको जवाफ झट्टै दिईनँ | मैले उसलाई अलि राम्ररी बुझेरै त्यसको जवाफ दिन चाहें | उसले फेरि-फेरि त्यही प्रश्न दोहोर्याउँदा म कुरा अन्तै मोडिदिन्थें तर मनमा एक किसिमको आशा पलाएको थियो, यो संसारमा मलाई प्रेम गर्ने पुरुष पनि रहेछ भन्ने भावले मन पुलकित भयो तर त्यस्तो उमेरले काँचो ठिटाको के भर ! उसले साँचो प्रेम नगरेको पनि त हुन सक्छ भन्ने सोंचेर म सजग भएँ | त्यसपछि मैले उसको मन जाँच्न थालें, उसले त्यही प्रश्न दोहोर्याउँदा मैले जवाफको सट्टा उसैलाई प्रश्न गरे-‘तिमीलाई थाहा छ ? म लाटी हुँ, म बोल्न सक्दिनँ अनि तिमीभन्दा उमेरले धेरै बूढी पनि हुँ |’ मैले त्यसो भन्दा उसले निकै नै समझदार पारामा भनेथ्यो-‘मलाई थाहा छ तर प्रेममा उमेर र शारीरिक कमजोरीको कुनै सरोकार हुँदैन…|’ बिस्तारै-बिस्तारै उसको हरेक कुरा मलाई मनपर्न थाल्यो किनकि ऊ एउटा परिपक्व पुरुषझैं कुरा गर्थ्यो | अझैपनि उसलाई जाँच्ने मनसायले सोधें-‘तिम्रो गर्लफ्रेन्ड छैन ?’ उसले सिधै छैन भन्यो र मैले यसैलाई सत्य मानें किनकि परमेश्वरमा विश्वासीले झुटो बोल्दैन भन्ने कुरामा म विश्वस्त थिएँ | त्यसपछि उसले फेरि त्यही पुष्प-गुच्छारुपी प्रश्न दोहोर्याउँदा मैले फेरि अन्तै कुरा मोड्ने प्रयास गरिनँ बरु घुमाएर उसको पुष्प-गुच्छालाई स्विकारें-‘तिमीलाई माया गर्दिनँ भनेर कहिले भनें र ? ल अब म साइन आउट भएँ, भोली फेरि भेटौंला..|’ त्यो दिन म औधी रमाएँ किनकि मैले त्यो पुष्प-गुच्छा सहर्ष स्वीकारेकी थिएँ जसमा मेरो निश्चल खुशी रंगिएको थियो |

स्यांग्जा सदरमुकाम पुतलीबजारमा आइएनजीओले खोलेको बहिरा स्कूलमा म पढाउँछु अनि त्यहाँको होस्टेल वार्डेन पनि म नै भएकीले मेरो निवास स्कूलमै छ | दिनभरी काममा व्यस्त हुने र बोल्न पनि नसक्ने हुनाले म आम पुरुषदेखि बिल्कुल अलग थिएँ तर च्याटबाटै भएपनि एउटा पुरुष मिल्दा म फुरुंगिएँ |

मलाई संसार रमाइलो लाग्न थाल्यो | दिनभरी व्यस्त भएपनि राति-राति उसलाई च्याटमा भेट्थें | दुःख-सुखका कुरा साथै प्रभुका कुरा अनि हाँसो-ठट्टा पनि हुन थाल्यो | सधैं ‘मिस’ भनी सम्बोधन गर्ने मान्छेले मैले केही कुरामा अनभिज्ञता जाहेर गरें भने ऊ मलाई ‘लाटी त लाटी नै हो के !’ भनी हाँस्थ्यो | त्यतिबेला मायाले लाटी भनेको भन्ने सोंची म पनि हाँस्थें | ऊ प्रीतको उत्सर्गमा पुगेर हो कि किन हो कुन्नि हुँदा-हुँदा मलाई ‘डार्लिङ’ सम्बोधन पनि गर्न थाल्यो | यो शब्द मायाकै शब्द भएपनि मलाई अश्लिल लाग्ने हुनाले उसलाई ‘यस्तो नभन न’ भन्थें तर ऊ ‘तिमीलाई मन नपरेपनि मलाई मनपर्छ, म त भन्छु, मरुन्जेल भन्छु |’ भनी अड्डी लिन्थ्यो, त्यसैले मैले पनि रोक्दिनथें |

मैले उसलाई विश्वास गरी मन सुम्पिएकी थिएँ, उसले मलाई धोका देला भनेर त मैले अलिकति पनि शंका गरिनँ किनकि उसले प्रभुका वचनमा दिलोज्यानले लागिपरेको प्रदर्शन गर्थ्यो तर हाय ! त्यो साँच्चै एउटा प्रदर्शन मात्र रहेछ | उसले ममाथि विश्वासघात गर्यो, मसित प्रेमको जाल बुन्दै मेरो पिठ्यूँपछाडि छुरा हान्यो | त्यो दिन मेरो नराम्रो दिन रहेछ, आफ्नो बाबु खसेको पीडामा म शोकित थिएँ, अघिल्लो रातको च्याटमा उसित मनको पीर पोखेर रोएँ, उसले मलाई टाढा भएपनि ढाडस त दियो तर त्यो ढाडसले अलिकति शान्त भएको मनमा उसैले अकस्मात पोलेको घाउमा नुन छर्किदियो | त्यो दिन एक्कासी उसले फेसबुकमा ‘मेरी प्रिय गर्लफ्रेन्ड निशा’ भनेर एउटी केटीसित बसेको फोटो राख्यो | त्यो देखेर अचानक मलाई भाउन्न छुट्यो, उसको गर्लफ्रेन्ड भएर पनि मलाई ढाँटेको कुरामा पत्यार लाग्न एकदम गाह्रो भो, म रीस र आवेशमा आउन थालें किनकि उसले मलाई त्यतिन्जेलसम्म मुर्ख बनाएको थियो | पछि उसैसित सत्य-तथ्य बुझ्न च्याटमा आएँ | त्यसबेला साँच्ची छेपारोले रंग बदलेझैं ऊ बदलिएको थियो, उसका शब्दमा मिठास एकाएक हराएर क्रुर अट्टहास छाडिरहेको थियो र म घायल पक्षीझैं मर्माहित हुँदै थिएँ |

म-‘आज के फोटो राख्या यस्तो ? तिम्रो गर्लफ्रेन्ड छ र ?’

उ-‘छ नि मिस, त्यही भएर त आज सबलाई देखाको |’

म-‘मलाई किन पहिल्यै भनेनौ त ?’

ऊ-‘भन्न सकिएन |’

म-‘अनि मलाई माया गर्छु किन भन्यौ त ?’

ऊ-‘माया गर्छु पो भनें, बिहे गर्छु भनें त ?’ (यो शब्दबाणले मेरो मुटुमा प्रहार गर्यो) निशासित मैले बिहे गर्ने निर्णय लिएको छु…|’

म-‘जे भएपनि तिमीले मलाई पहिल्यै भन्नुपर्ने, मैले सोध्दा पनि नभनेर आज तिमीले मलाई धोका दियौ…|’

ऊ-‘धोका ? हाहाहा जोक नगर न, मैले तिमीलाई बिहेको सपना देखाथें र ? अनि मैले तिमीसित बिहे गर्नु त ? (उसको यो प्रश्नमा सिधै मेरो अपांगत्वप्रति खिल्ली उडाएको आभाष पाएँ, मेरो भावनामा नराम्ररी चोट पर्यो तर भावुक हुँदै मैले उसित स्पष्टिकरण माग्दै गएँ | )

म-‘मैले “गर्लफ्रेन्ड छ ? भनिसोध्दा किन “छैन” भनी ढाँट्यौ त ? विश्वासी भनाउँदोले यसरी यस्तो गम्भीर कुरामा झुटो बोल्न सुहाउँछ ?’

ऊ-‘मैले तिमीसित झुटो बोलेको होइन मिस | तिमीलाई सबै सत्य त्यतिखेरै भन्न नसकेको मात्र हो |’ (वाह ! कस्तो पानीमाथि ओभानो बन्न जानेको | कस्तो बहाना बनाएर चोखिन जानेको | म उसको यो जवाफ पढ्दै हतप्रभ भएँ | मैले आजसम्म परिपक्व सोंचेको त्यो पुरुषले यसरी अपरिपक्व जस्तै हावामा जवाफ देला भन्ने सोंचेकी पनि थिइनँ | मेरो हृदय छिया-छिया भयो साथै आक्रोशले पनि भरियो |)

म-‘अनि किन मलाई खुबै आत्मिक प्रेमिका भन्थ्यौ त ? के सोंचेर भनेको त ?’

ऊ-‘हेर म अहिले पनि भन्छु कि तिमी मेरी आत्मिक प्रेमिका हौ तर आत्मिक मात्र हो, शारीरिक होइन |’ (ए आम्मै नि ! कस्तो विचार बोकेको महान पुरुष रहेछ त्यो जसले प्रेमिका पनि दुई थरी सोंच्दो रहेछ, मलाई झन रीस उठ्यो |)

म-‘ए अनि “डार्लिङ” किन भनेको नि ?’

ऊ-‘ए “डार्लिङ’ भन्दैमा के हुन्छ र ? यो शब्दले तिम्रो पारो तातेको हो भने के म त अझै भन्छु, मरुन्जेल भन्छु डार्लिङ ! लु जा हाहाहा |’

ऊ क्रुर अट्टहास छाडिरहेको थियो मानौं उसलाई मलाई चोट पुगेको रत्तिभर पनि ख्याल छैन | जीवनमै पहिलोपल्ट म महामूर्ख साबित भएँ | मैले भर्चुअल मान्छेको शब्दमा विश्वास गर्न नहुने रहेछ | प्रभुमा समर्पितजस्तो देखिए पनि बाहिर बोक्रो भित्र खोक्रो हुने रहेछ | भन्दै थियो ‘आज मैले फेसबुकमा गर्लफ्रेन्ड चिनाइदिएकोमा बधाई नदिने मलाई ? हाहाहा के सारो तातेको होला त्यसै | मैले तिमीप्रति त्यस्तो केही सोंचेको छैन के लाटी त लाटी नै रैछ, हाहाहा | (त्यसबेला चाहिं ‘लाटी’ भन्दा रीस उठ्यो किनकि त्यसमा प्रेम होइन व्यंग्यबाण छोडिएको आभाष पाएँ |) एउटा कुरा भनिहालुँ, निशासितको चिनजान अहिले होइन, धेरै वर्षदेखि हो, उहिल्यै नै हामीबीच मायाप्रीति थियो अनि ऊ भर्चुअल प्रेमिका होइन, यहीं दुबइमा छे | बेलाबेलामा हाम्रो ठाकठुक भइरहन्थ्यो, अस्तिन पनि ठाकठुक भएर हामी दुवैको बोलचाल बन्द भाथ्यो, त्यत्तिकैमा तिमीलाई च्याटमा भेटियो | निशासित त मेरो उमेर पनि मिल्छ, मन पनि मिल्छ अनि अझै एउटा कुरा सुन, निशासित मैले मन मात्र होइन तन पनि साटिसकेको छु (यो वाक्यले एक झट्का भूइंचालोमा सबै भताभुंग भएझैं लाग्यो मलाई),…अब बिहे गर्न मात्र बाँकी छ, मेरो बिहेमा आऊ ल हाहाहा’ |  आवेशमा मलाई मनमा आएजत्तिको सब गाली दिउँजस्तो भयो तर अरु जस्तो भएपनि आफू पनि त्यस्तै हुनुहुँदैन भन्ने सोंची मैले उसलाई प्याच्चै गाली गरिनँ तर मेरो मनमा भुँइचालो गइरह्यो गइरह्यो |

उसले मसित प्रेमको नाटक रचेर टाइमपास गरेको रहेछ, म मुर्खले त्यसको सुइँकोसम्म चाल पाइनँ | जसको हृदयमा मप्रति साँचो माया नै रहेनछ, उसप्रति मैले आशा राखेको ? च्व च्व च्व ! मलाई आफैंमाथि टीठ लाग्यो | आँसुले मेरा आँखा राता भए | वास्तविकतामा मैले थुप्रै मान्छेको चरित्र उनीहरुको हाउभाउ/बोलीचाली देखेर पनि चिन्न सक्थें, त्यसैले कसैले पनि मलाई चिल्लो कुराले फसाउन सक्दैनथ्यो | च्याटमा पनि जे पायो त्यही बोल्ने मान्छेलाई म गतिलो सोंच्दिनथें तर उसले मलाई सुरुमा सुन्दर-गम्भीर कुराले नै फसायो | मेरो मन बेचैन भयो | मेरो पनि भावना छ, लाटी भन्दैमा कसैले जे पायो त्यही भन्छ भने म उसलाई निको मान्दिनँ र मान्ने पनि छैन |

झट्ट मैले अघिल्लो रात गरेको प्रार्थना सम्झें, मैले भनेथें ‘प्रभु ! उसको माया साँचो हो कि झटो ? मलाई छिट्टै देखाइदेऊ…|’ नभन्दै अर्को दिनमा मैले जवाफ पाएकी थिएँ | कस्तो बिर्सेकी ! रुँदै प्रभुलाई धन्यवाद दिएँ किनकि उहाँले मलाई अझै मूर्ख हुनबाट जोगाउनुभयो | त्यो पीडाबाट म बल्ल-तल्ल प्रभुकै वचनलाई शिरोपर गर्दै उम्किएँ, जीवनमा अब फेरि यस्तो धुर्त मानिससित झुक्किएर पनि भेट नहोस् भनी प्रार्थना गरिरहें | उसको गर्लफ्रेन्डकै सम्बन्ध दिगो रहोस् भनी प्रार्थना गरें किनकि निशा त उसले देखे-भेटेकै केटी रहिछ नि, अन्तत: भर्चुअल प्रेमभन्दा नन-भर्चुअल प्रेम नै वास्तविक प्रेम हो भन्ने कुरा स्विकारें |

त्यसपछि लामो समय (चार महिनाजति) म बोलिनँ, पछि उसैले ‘जय मसीह दिदी ! कस्तो हुनुहुन्छ ?’ भनी बोलायो | उसले पहिलोपल्ट ‘दिदी’ सम्बोधन गर्दा मलाई मेरो मूर्खता याद दिलाईदिएको भान भयो, ठीकै छ, उसले मलाई दिदीजस्तो मात्र सोंचेको होला, मैले मात्र मूर्ख भएर एकतर्फी रुपमा प्रेम सोंचेको होला भनी विगतका सारा कुरा भुलेर उसलाई मात्र मित्र सोंची साधारण शिष्टाचारमा बोल्न थालें किनकि म ख्रीष्टलाई प्रेम गर्छु भने आफ्नो भाइसित रिसाएर बस्न कहाँ सक्छु र ? ख्रिष्टको पाइला पछ्याउँदा ख्रिष्टकै खातिर मैले व्यक्तिगत रीसलाई तिलान्जली दिनैपर्छ |

बेलाबेलामा मैले उसलाई ‘निशासित पिरती कस्तो चल्दै छ ?’ भनी सोध्थें | केही समय त उसले ‘राम्रै चल्दै छ’ भन्यो तर एकदिन झर्केर ‘हाम्रो ब्रेकअप भयो, सिद्धियो’ भन्यो, मैले जिज्ञासामा ‘किन, कसरी ?’ भनी सोध्दा उसले झर्केर ‘मसित यस्तो कुरा नगर’ भन्यो | अचम्म मान्दै उसको निम्ति प्रार्थना गरिरहें तर लुकाएको कुरो कहाँ लुकिन्छ र ? उसको ब्रेकअप नभएको बरु दुवै भ्यालेन्टाइन्स डेको स्पेसल डेटिङमा गएको कुरा मैले अर्की साथीमार्फत सुनें | अनि म फेरि मर्माहत भएँ, मैले उसलाई असल मित्र सोंचेकी थिएँ तर उसले किन मसित त्यसै झुटो बोल्यो ? मलाई ब्रेकअप भयो भन्नुमा उसको के स्वार्थ लुकेको छ ? कतै मलाई फेरि मूर्ख बनाइ अट्टहासको आनन्द लिन त होइन ? अचम्म लाग्यो साथै भावनामै चोट पर्यो किनकि पहिलो झुट क्षमा दिइसकेथें तर फेरि अहिले बिनासित्ती अर्को झुट थाहा हुँदा असह्य भो | भनिदिएँ-‘किन मलाई फेरि उल्लु बनाएर हाँस्न हो झुटो बोलेको ? तिम्रो यो रवैया देखी मेरो मन दुख्यो |’ खासगरी मैले मन दुख्यो भनेपछि उसले ‘सरी’ भन्ला अनि म सब कुरा बिर्सीदिउँला भन्ने सोंचेकी थिएँ किनकि म ऊसंग मित्रता तोड्न चाहन्नथें तर हठात उसले भनिहाल्यो-‘मन दुख्छ भने साथी भन्न भुले पनि हुन्छ |’ उफ् ! म उसको यो रुखो जवाफले झनै मर्माहत भएँ | सुरुसुरुमा मलाई हौसला दिने, म निराश हुँदा मलाई प्रभुका वचन भनी उत्साह दिने मित्र त्यतिखेर जे पायो त्यही प्याच्च बोल्ने हुतिहारा भएको थियो | उसलाई मसँग मित्रता गाँसिरहन मन रहेनछ अनि म मात्र अंगालो किन हालूँ ? यस्तै सोंची मन साह्रै दुखेर उसलाई फेसबुक फ्रेन्ड लिस्टबाटै हटाइदिएँ | एक महिनापछि उसैले एसएमएसमा ‘मलाई किन हटाको ?’ भनी सोध्यो, मैले जवाफ दिइनँ किनकि जवाफ दिनुको कुनै औचित्य नै थिएन जबकि कारण त उसैलाई थाहा थियो, मात्र थाहा भएर पनि थाहा नभएजस्तो गरिरहेको थियो | त्यसबीचमा मैले एकान दोकानबाट उसको अर्को झुट फेला पारें | उसले एकजना मैले चिन्ने भाइलाई यसो भनेछ-‘हेर न त्यो लाटीलाई मैले बिचरी भनेर माया के गरेको थें, त्यसले त मलाई प्रोपोज पो गरी गाँठे, मैले मेरो गर्लफ्रेन्ड छ भनी सम्झाउंदा उल्टो मैले धोका दिएँ भनी रिसाएर मलाई फ्रेन्ड लिस्टबाट उडाइदिएकी छ |’ उफ् ! मैले प्रोपोज गरें रे, कुनैपनि प्रेममा केटाले पो पहिले प्रोपोज गर्छ अनि म कुन बेढंगकी स्वास्नीमान्छे हुँ र मैले पहिले प्रोपोज गर्दी हुँ ? त्यसरी पानीमाथि ओभानो बन्न ऊ कसरी सक्यो ? मलाई पागलप्रेमीको संज्ञा दिई आफू चोखिन कसरी जान्यो ? म फेरि रीस, बेचैन र आँसुले भरिएँ | एक मन त बेस्सरी गाली गरिदिऊँ हुन्थ्यो तर जसमा अरुको भावना बुझ्ने समझ नै छैन, त्योसित वादविवाद गर्नुको औचित्य पनि छैन | त्येसैले म घाइते मन लिएर मेरो मनमा मल्हम दलिदिन प्रभुलाई प्रार्थना गरिरहें |

त्यसको दुई महिनापछि प्रभुले मेरो दुखेको मनमा मल्हम दलिदिनुभयो | मेरो मन दुखेको कुरा उसलाईभन्दा प्रभुलाई राम्ररी थाहा छ | त्यसैले दुई महिनापछि एकदिन अचानक उसले मसित क्षमा माग्यो, भन्यो-‘बितेको समयमा जे-जस्तो भएपनि मलाई माफ गरिदेऊ र अब हामी फेरि पहिलेको जस्तै असल मित्र भइरहौँ भन्ने म चाहन्छु, प्लिज मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर ल |’ अनि प्रभुको वचन झट्ट सम्झिएँ जसले गल्ति गर्ने भाइले क्षमा मागे सात गुणा सत्तरीपल्टसम्म क्षमा दिनुपर्छ र आपसमा मिलेर बस्नुपर्छ भन्ने सिकाउँछ, अँ यही वचनकै खातिर मैले उसलाई क्षमा दिएँ र फ्रेन्सिप एक्सेप्ट गरें अनि बल्ल मेरो हृदयको तमाम बेचैनी मेटियो र म शान्तिमा रहन सकें | अन्तमा सबै कुराको लागि जुन मोडमा मैले प्रेम के हो ? प्रेमपीडा के हो ? यी सबैको गहिरो अनुभूति गर्न सकें, यी सबै अनुभूतिको लागि परमप्रभु परमेश्वरलाई धन्यवाद चढाएँ |

Facebook Comments

Category: special