खोइ त बाँडेको…?

[ 4 ] July 2, 2014 |

हामी मानिस खुशी कति छिटो अनि सजिलै सँग बाँड्छौं। यति मात्र हो र? हाम्रो खुशी हामी व्यक्तिगत रुपमा

Rita Subedi

Rita Subedi

भेट्ने साथीलाई मात्र नभएर, फोनमा भन्छौं, इमेलमा लेख्छौं अनि यतिले मात्र नपुगेर हामी फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालमा समेत पोस्ट गर्न भ्याउँछौं।

हामी किन यसो गर्छौं त? यति मात्र कहाँ हो र हाम्रो खुशीमा सबै सहभागी होऊन् र हामीसँगै आनन्दित होऊन् भन्ने चाहँदैनौं र? निश्चय हो, हामी हाम्रा खुशी बाँड्न कति हतार गर्छौं। कति पटक त हामीलाई खुशी कसरी पोखौं भएर उफ्रिन्छौं नाच्छौं अनि गाउँछौं पनि।

हामीले पाउने यस्ता क्षणिक खुशी हामी सबैलाई बाँड्छौं तर हामीले पाएका अनन्तताको खुशी नि? के हामीले त्यसलाई त्यति नै उत्सुक भएर बाँड्छौं? के हामीले पाएको अनन्त जीवनको खुशीमा सहभागी हुन सबैलाई निम्त्याउँछौं- फेसबुकमा, ट्वीटरमा भेट भएकाहरूसँग र अन्य यस्तै यस्तै…।

हो हामी क्षणिक खुशीलाई केके न हो सम्झन्छौं तर हामीले पाएको अनन्त जीवनको बारेमा कसैसँग खुशीको क्षणको रुपमा बाँड्न त परै जाओस् कसैले  म ख्रीष्टियान भएको कसैले थाहा नपाइदिए हुन्थ्यो भनेर भित्रभित्रै आफूले पाएको खुशीलाई दबाएर राख्‍ने प्रयास गर्छौं। हो हामी डरको कारण यसरी प्रतिकृया गर्छौं। तर त्यसबेला हामी बिर्सन्छौं कि जसलाई पाएर हामी यति खुशी भएका छौं उहाँ सर्वश्क्तिमान हुनुहुन्छ डर मान्नु पर्ने कुनै कुरा नै छैन।

परमेश्वरले हामीलाई बारम्बार “नडराऊ” भन्नुभएको छ। घरिघरि नडरा भन्नुभएको छ। अझ यति मात्र होइन उहाँले त “नडरा”ले मात्र पुग्दैन भन्ने जानेर हामीलाई धेरै पटक “म तँसँग छु” पनि भन्नुहुन्छ। यद्यपि हामी डराउँछौं। मलाई लाग्छ डर नलाग्ने मानिस शायदै कोही होला।

डर किन लाग्छ त? हुन सक्छ भविष्यको डर‚ अरुले मभन्दा राम्रो गर्ला कि भन्ने डर‚ कसैले मलाई उछिनेर जाला कि भन्ने डर। यसरी हामीले विभिन्न झिनामसिना कुराहरूमा डर मानिरहेका हुन्छौं। अनि लहरो तान्दा पहरो थर्किन्छ। यही डरको कारण हामीभित्र इर्ष्या‚ डाह‚ लोभ रीसजस्ता कुराहरूले हाम्रो हृदयमा ठाउँ पाउँछ। मलाई कसैले जित्लाकि भन्ने डरले म त्यसको इर्ष्या गर्छु पाएसम्म त्यसको खुट्टा तान्छु‚ त्यसको उन्नतिमा रीस गर्छु‚ डाहले भित्र भित्रै छटपटिन्छु। यस्ता कुराहरूले हामीलाई अलमलाइरहन्छ र जति खुशी हुन्छु भन्दा पनि अनुहार अँध्यारोको अँध्यारै‚ आफू निराशको निराशै। हामी दिनरात खट्छौं‚ न भोक न प्यस केही वास्ता नगरी मरीमेटी काम गर्छौं‚ आँखिर किन? केवल यति नै होइन कि हामी डराउँछौं?

यसकारण प्रीय मित्रहरू यदि हामी येशू ख्रीष्टले दिनुभएको स्वतन्त्रतामा जिउने हो भने यस्ता सानातिना कुराहरूलाई छोडौं। यस्ता कुराहरूले हामीलाई चील झैं उड्न दिन्न तर हामीलाई भूईं नै कोट्याइराख्‍ने कुखुरा जस्तै बनाउँछ। परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति र प्रेमको आत्मा दिनुभएको छ उहाँले हामीलाई इर्ष्या र डाहको होइन तर प्रेमको आत्मा दिनुभएको छ। (२ तिमोथी १:७)। यदि हामीभित्र प्रेमको आत्मा हुनुहुन्छ भने हामीले कसरी प्रभुमा आफ्नो सहकर्मीको डाह र रीस गर्न

बाइबलले भन्छ: “प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन। प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्‍छ।” १कोरिन्थी १३:४-७।
यो खण्डअनुसार त यदि हामीमा त्यो प्रेमको आत्मा हुनुहुन्छ भने हामी त हाम्रा सहकर्मीको उन्नतिमा रमाउनुपर्ने‚ खोइ त त्यो निश्चल रमाहट? खोइ त त्यो सहने प्रेम? कतै हामीभित्र भएको यो प्रेमलाई त्यो डरको भूतले त खाएन?

बाइबलबाट केही पदहरू जसले हामीलाई उत्साह दिन सक्छ र डरबाट छुटाउन सक्छ:
यशैया ४१:१३ किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।

भजनसंग्रह २७:१ परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?

यशैया ४३:१ “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌।

यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?… परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ भने, दण्‍डको आज्ञा दिने को हो?… कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? (रोमी ८: ३१-३३)

यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होऔं‚ खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होऔं साथै विश्‍वासको ढाल उठाऔं, जसबाट हामीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौं। मुक्तिको टोप लगाऔं, र पवित्र आत्‍माको तरवार लिऔं, जोचाहिँ परमेश्‍वरको वचन हो र हामीले पाएको अनन्तको खुशी सबैलाई बाँडौं। डर, रीस, डाह, इर्ष्याजस्ता सानतिना कुराहरूमा नअल्झिऔं।

🙂

Facebook Comments

Category: Articles, Special