बन्दुक होइन बाइबल

[ 0 ] December 12, 2013 |
Dr. Rames Khatry

Dr. Rames Khatry

येशू ख्रीष्‍टको एक भक्तमाथि हाम्रो प्यारो देशमा कति पूर्वाग्रह हुँदो रहेछ भन्‍ने कुरा बैशाख २२को ‘नेपाल’ मा छापिएको मेरो लेखपछिका  प्रतिक्रियाहरूले देखाए । अरू धर्म मान्‍नेहरूले पनि आफ्ना रचनाहरू यस पत्रिकामा छपाएका हुन् । तर, उनीहरूले त्यस्ता नकारात्मक टिप्पणीहरू सामना गर्नपर्दैन । के हाम्रो देश एक धर्म निरपेक्ष राष्ट्र हो ? यहाँ उपस्थित लगभग दस  लाख ख्रीष्‍टियानहरूले आफ्ना प्रभु येशू ख्रीष्‍टको नाम लेखमा कोर्न पाउँदैनन् ?  तैपनि, आफ्ना विचार पठाइदिने सबै मित्रहरूप्रति म धन्यवादी छु। सकारात्मक आलोचनाको लागि मैले कृतज्ञता जनाउनु तर आधारहीन दावीलाई सच्याउनु मेरो कर्तव्य हो ।

त्रिभुवन विश्वविद्यालयका पेशलकुमार निरौलाले येशू ख्रीष्‍टको चेला भएकोमा मैले गौरव मानेको कुरा औंल्याउनुभएको रहेछ । अवस्य ! गौरव मान्‍ने कारण दुई छन् । (१) येशू ख्रीष्‍टको बलिदानको कारणले मैले पापक्षमा पाइसकेको छु । यसको मतलब मैले मुक्ति पाउन तीर्थवर्त, दानपुन्य  गर्नुपरेन । येशू ख्रीष्‍टद्वारा  संसारको पापको लागि बलिदान स्वीकार गरेको कारणले मैले सित्तैँमा मुक्ति पाएको छु । मलाई पूरा विश्वास छ म आजै मरें भने स्वर्ग जानेछु, मेरो धर्मकर्मले होइन तर येशू ख्रीष्‍टको बलिदानले ।  (२) येशू ख्रीष्‍टले दिनुभएको आत्मिक शक्तिको कारणले मैले बाबुराम भट्टराईलगायत मेरा भाइका अरू सबै हत्याराहरूलाई क्षमा दिन सकेँ । प्रतिशोधको भावनाले म जलिरहेको छैन ।

पेशलकुमारजीको अर्को दावी भने हावादारी  छ । उहाँ भन्‍नुहुन्छ, ‘यहुदी-इसाई धर्म अँगालेका राष्ट्रहरूमा हिंसाका कारण कम्युनिस्टहरूले गरेभन्दा बढी विनाश भएको इतिहासमा व्यापक उल्लेख छ ।’ कुन इतिहास ? उहाँबाट ठोस प्रमाण चाहन्छु । उहाँले पहिलो विश्वयुद्धलाई ख्रीष्‍टियान ख्रीष्‍टियानबीचको मारकाट ठान्‍नुहुन्छ भने माइक्रोसफ्टको  इनकार्टा (इन्सैक्लोपेडिया) अनुसार त्यसमा लगभग एक करोड  मरे । दोस्रो विश्वयुद्धमा साढे पाँच करोडले ज्यान गुमाए । तर, पहिलो र दोस्रो विश्वयुद्धहरूलाई कसैले पनि ख्रीष्‍टियान ख्रीष्‍टियानबीचको धार्मिक लडाइँ भन्दैन ।

मुस्लिमहरूले इस्राएल राष्ट्र कब्जा गरी यूरोपमा आँखा लगाएपछि पश्चिमी मुलुकका ख्रीष्‍टियानहरूले सन् १०९६देखि येशू ख्रीष्‍टको जन्मभूमि फेरि आफ्नो अधीनमा ल्याउन र आफ्नै मुलुक जोगाउन  ‘क्रुसेड’ थाले । यी युद्धहरूद्वारा  मुस्लिमहरूलाई नरोकेको भए ख्रीष्‍टियानहरूको अस्तित्व नै गुम्‍ने खतरा थियो ।  क्रुसेडमा  तरवार, धनुकाँड र भालाहरू प्रयोग भए । तसर्थ, मर्नेहरूको संख्या हजारौं वा लाखौंमा गनिन्छ, करोडमा होइन ।

जुङ्‌ चांग र जन हालिडेले लेख्‍नुभएको पुस्तक ‘माओ, द अनटोल्ड स्टोरी’ मा सात करोडभन्दा बढी चिनियाहरू माओत्सेतुङको अभियान र शासनमनि मरे भनी जनाइएको छ । तसर्थ, मैले मोटामोटी आठ करोडको अङ्‌क लिएको हुँ । आणविक हतियारको लागि पैसा  बटुल्ने माओत्सेतुङको नीतिअन्तर्गत जनताले खानुपर्ने अन्‍न जबरजस्ती निकासी गर्दा भएको अनिकालमा दुई करोड चिनिया मरेको तथ्याङ्क हेनरी किसिन्जरले आफ्नो कृति ‘अन चाइना’ मा दिएका छन् । युद्धमा कति मरे,  किसिन्जरलाई सो बताउने चासो छैन । जोसेफ  स्टालिनको समयमा  कम्तीमा पनि दुई करोड रुसीहरूले ज्यान गुमाए । कतिले छ करोडसम्म अड्कल काटेका छन् । क्याम्बोडियाको कमुनिस्ट शासनले आधा करोड मारे । यी अङ्‌कहरूमा उत्तर कोरिया, क्युबा, भिएतनाम, अल्बानिया र  पूर्व जर्मनीका कमुनिस्टहरूले मारेका व्यक्‍तिहरूको संख्या जोडेमा  पेशलकुमारजीको अनुमान सरासर गलत ठहर्छ ।

‘रैथाने जातिको धर्म-सँस्कृतिको विनास, जातीय कलह, र राष्ट्र विखण्डन’ यहुदी-ख्रीष्‍टियानहरूले गरेका उदाहरणहरू पेशलकुमारजीले दिनुभए राम्रो हुन्थ्यो । खालि दावीले पुगेन । अहिलेको मध्यपूर्वमा,  यहुदीहरूले प्यालेस्टिनीलाई दमन गर्नु ठीक होइन तर अरब मुलुकहरूले पनि इस्राएलको अस्तित्व स्वीकार गर्नुपर्छ ।  नेपालमा ख्रीष्‍टियानहरूले साझा स्वास्‍नी राख्‍ने चलन, बालविवाह, बहुविवाहलाई विरोध गरी विधवाविवाहलाई प्रोत्साहन दिएका छन् किनभने बाइबलले एक पति एक पत्‍नीको आदर्श सिकाउँछ । के सबै रैथाने जातिको धर्म-सँस्कृति पालनयोग्य छन् ? कतिमा अझै पनि बालकलाई बलि दिने प्रथा  छ । सो कायमै राख्‍ने ?  सच्‍चा ख्रीष्‍टियानहरू जांड, रक्सी, चुरोट, खैनी खाँदैनन्, रण्डीबाजी गर्दैनन्, जात-भात मान्दैनन् । तसर्थ, येशू ख्रीष्‍टका चेलाचेली भएपछि धेरैले पारिवारिक शान्ति पाएका छन्, अम्मलमा लगाउने पैसा उपयोगी चीजमा खर्च गरी प्रगति गरेका छन् । नेपालमा बाबुराम भट्टराई, पुष्पकमल दाहाल र मोहन बैद्य जस्ताले  नै  जातीय कलह र राष्ट्र विखण्डनको बिउ रोपे, पहिचानसहितको संघीयताको अव्यवहारिक तर भोट जित्‍ने आदर्श बाँडेर । उनीहरूकै कर्तुतले लोकतन्त्र सदाको लागि गुमाउन सक्छौँ । मंसिरमा चुनाव हुने के निश्चयता ?

नेल्सन मन्डेलाले भनेका कुरा बडो गर्वसाथ पेशलकुमारले प्रस्तुत गर्नुभयो, ‘पहिले हामीसँग राष्ट्र थियो, उनीहरूका हातमा बाइबल, अहिले हाम्रा हातमा बाइबल छन्, उनीहरूसँग हाम्रो राष्ट्र ।’ पेशलकुमारजी, अहिले  नेल्सन मन्डेलाको काला जातिसँग बाइबल र अति विकसित राष्ट्र दुवै छन् । दक्षिणी अफ्रिकामा ९२ % जनता ख्रीष्‍टियान छन् र अफ्रिकी महाद्वीपमा सो सबभन्दा बढी प्रगतिप्राप्त  मुलुक हो ।  बाइबललाई जति गाली गरे पनि, जहाँ त्यसैले प्राथमिकता पायो त्यहाँ विकास आयो । यसको प्रमाण बेलायत, यूरोपका देशहरू, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजील्यान्ड  र कति  ल्याटिन अमेरिकी मुलुकहरू हुन् । पृथ्वीनारायण शाहले सन् १७६९मा नेपाली र इटालिएन  ख्रीष्‍टियानहरूलाई निकाल्दा आधुनिक शिक्षा र औषधीउपचारलाई  पनि देशबाट धपाए । उनका छोरा प्रतापसिंह शाहले बाबुको भूल सुधार्न फेरि डाके नेपालमा ती मिसनरीहरूलाई जो फर्कन सकेनन् ।

दुईतीन जना पाठकहरूले मलाई धर्म प्रचारकको सम्मान दिएका छन् । मेरो प्रश्‍न छ, ‘आफूलाई फाइदा लागेको चीज कसले प्रचार गर्दैनन् ?’ अरूले कमुनिस्ट सिद्धान्तलगायत आफ्ना गुरु र मतको बारे निबन्ध रच्नु हुने, येशू ख्रीष्‍टको भक्तले उहाँको नाम कुनै लेखमा किन लिन नहुने ? म ख्रीष्‍टियान धर्म (रितिविधि, चलन, आदि) लाई मान्दिन तर येशू ख्रीष्‍टलाई भने प्राणभन्दा बढी प्रेम गर्छु । विमार ठीक पार्ने औषधीको विषयमा अरू रोगीलाई नबताउनु अपराध हो । सबै पापी छन् र येशू ख्रीष्‍टमात्र संसारको पापको लागि खास औषधी हुनुहुन्छ भनी  नबताए म अपराधी गनिन्‍छु । सप्ताह लगाएर सात दिनसम्म  बिहान तीन बजेदेखि मध्यरातसम्म सबैलाई हल्ला गराई लाउडस्पिकरबाट फुकेका कुरा; मार्क्स, लेनिन, स्टालिन र माओत्सेतुङसम्बन्धी लेखहरू, भारतबाट आएका गुरुका प्रवचनहरू प्रचार हुन् कि होइनन् ?

जनार्दनजूले वेबसाइटमा  लेख्‍नुभएको रहेछ, ‘रमेशजी तपाईंको लेख पढ्दा त तपाईंलाई भाई मारिएको भन्दा बाबुराम खिस्टियनको चेला भएर पनि खिस्टियन बन्न नसकेको र येशु खि्स्टमा पाप-क्षमा छ भन्ने कुरा बुझ्न नसकेकोमा दुख लागेको जस्तो लाग्यो ।’ यसको जवाफमा म भन्छु—मलाई दुवै कुरामा दु:ख छ । माओवादीले मारेको भाइ कहिले फर्कदैन । बाल्यकालदेखि सँगै खेलेको साथी अकालमा गुमाएँ, भट्टराई, दाहाल र  बैद्यले शुरु गरेका स्वार्थी युद्धका कारणले । भट्टराईले आफ्ना गुरु र गुरुमाले मानेका  प्रभु येशू ख्रीष्‍टलाई ग्रहण गरेको भए उनी बन्दुक होइन बाइबल बोक्‍ने थिए र हजारोँ नेपालीहरूले नाहकमा ज्यान गुमाउनु पर्ने थिएन ।

 

(यस निवन्धको छोटकरी, सम्पादित रूप २ असार, २०७०को ‘नेपाल’ पत्रिकाले छापेको छ । हेर्नुहोस्: http://www.ekantipur.com/nepal/article/?id=5457 । यहाँ यसको पूर्ण रूप प्रस्तुत छ । रमेश खत्री, डिसेम्बर ९, २०१३)

Facebook Comments

Category: Socio-political


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4