म तपाईकै हुँ

[ 6 ] November 13, 2013 |

म यी बाटोहरुमा हिँडिरहेछु ।
मेरा खुट्टाहरु जवान मृगका जस्ता छन् ।
यसैले,
म मेरो चर्च, दगुर्दै एकैछिनमा पुग्छु ।
तर, यस्तो पनि दिन आउनेछ,
कुनै दिन यही दूरी छिचोल्न
म एकघण्टा अगाडि नै यात्रा थाल्नुपर्नेछ ।
अर्थात् म पैदल हिँड्न असमर्थ हुनेछु ।
तापनि परमेश्वर !
म तपाईलाई भूल्नेछैन ।

अहिले म सुरिलो स्वरमा गाउँछु ।
विभिन्न धुनहरुमा तपाईको प्रेमको भाका गाउँछु ।
यिनै बोलीहरुले तपाईको महानताको बयान गर्छन्,
तपाईको प्रेमको गवाही दिन्छन् ।
तर मलाई यो गलाले सधैं साथ दिनेछैन ।
एकदिन यो स्वर फाटेर जानेछ ।
आवाजहरु सुकेर जानेछन् ।
तापनि परमेश्वर !
मेरो अन्तरात्माले सधैँ तपाईको प्रेमको गीत गाउनेछ ।
तपाईको गुणगानमा यी ओठहरु चलमलाउनेछन् ।

अहिले जब म ऐना अगाडि उभिन्छु,
अनि आफैँलाई हेर्छु ।
तपाईले मलाई कति सुन्दर बनाउनुभएको !
वाह ! परमेश्वर !
यो माटोको डल्लोलाई जुन आकार दिनुभयो,
यसबाटै तपाईका प्रशंसा गर्ने थुपै्र कारणहरु छन् ।
तर कमलको फुलझैँ म सधैँ फक्रिरहनेछैन ।
गुलाबको फूलझैँ सधैँ हाँसिरहनेछैन ।
ओइलिएर जब नुहिन्छु,
मानिसहरु बूढो रुख जत्ति पनि मलाई हेर्नेछैनन् ।
जब मेरो पटुका अर्कैले कसिदिनेछ,
अनि मैले नचाहेको ठाऊँमा मलाई लगिइनेछ ।
त्यतिखेर पनि,
यसरी नै ऐनामा म आफूलाई हेर्नेछु ।
चाउरिएका छाला र फूलेको केशले मलाई पहिर्याउनुहुँदा पनि
म तपाईको हातको अद्भुद सीपको बयान गर्नेछु,
कि म तपाईको हातबाट बनिएको थिएँ ।

अहिले मेरो बाइबलको आकार सानो छ,
अनि सानै छन् यसका अक्षरहरु पनि ।
जब यी अक्षरहरुमाथि
मेरो आँखाको नानी डुल्दै जान्छ,
तपाईका वचन मेरो हृदयमा भिज्दै जान्छ ।
तर, कुनैदिन मेरो बाइबलको आकार बढ्दै जानेछन्,
अनि यसका अक्षरहरु पनि ।
जब तपाईले मेरो आँखालाई कुहिरोले ढाक्दै जानुहुन्छ ।
जब म मेरो दौडको अन्तिम फन्को मार्दै रहनेछु ।
अन्त्यमा,
तपाईका जनहरुले म मरेको घोषणा गर्नेछन् ।
तर ती आवाजहरु,
मेरो लागि अर्को सु–समाचार हुनेछ ।
मलाई कति इच्छा छ–
बरु विदा भएर ख्रीष्टको साथमा सँधै रहिरहने ।

सुमन राइ, इटहरी

Facebook Comments

Category: Poetry, कबीता