भट्टराईसँग मेरो नाता

[ 89 ] October 22, 2013 |
Dr. Ramesh Khatry

Dr. Ramesh Khatry

नचाहेर पनि डाक्टर बाबुराम भट्टराईसँग मेरो  टाढाको नाता जोडिन गयो । पहिलो कारण थियो सन् २००२ अक्टोबर १७ मा उनका माओवादी कार्यकर्ताहरूद्वारा  मेरा भाइ,  नेपाली सेना छाडेर बसेका मेजर मोहन खत्री, को सिन्धुपाल्चोक जिल्लाको मूडे गाउँमा निर्मम हत्या हुनु । भोलिपल्ट, भतिजाहरूले भाइको लाश उनकै घर-आँगनमा ल्याए, पोष्टमार्टमपछि प्लास्टिकमा पूर्ण रूपले बेह्रिएको ।  भतिजाहरूको अनुरोध थियो, “दाइ, खोलेर नहेर्नुस् ।  राति निदाउन सक्‍नुहुन्‍न !” तसर्थ, अझसम्म भाइको अन्तिम रूप मेरो सम्झनामा गाडीमा पल्टिएको एक प्लास्टिकको पोको मात्र छ ।

भतिजाहरूको भनाइमा माओवादीहरूले गोली बचाउन खुकुरी नै प्रयोग गरे । निधारबाट चोइटा ताछिएको थियो रे । एउटा हातमा चारवटा औंलाहरू थिएनन् रे । गर्धनमा खुकुरीका गहिरा चोटहरू ! कार्तिक १६-३०, २०५८को “हिमाल” पत्रिकामा खगेन्द्र सङ्ग्रौलाले यसरी वर्णन गर्नुभयो, “साँझपख परिवारसँग बसेको निहत्था मानिसलाई दलबलले घेरेर लखेट्दै मार्नु, त्यो पनि मूला काटेझैं छियाछिया पारेर ! अझ त्यसमाथि क्रान्ति सम्वन्धी माओको दर्शनलाई रक्षाकवच बनाएर…मारिने पशु होइन, मानिस हो । दशैंमा खसी काट्दा पीडा त्यस पशुले चालै नपाओस् भनी एकै चोटमा त्यसको गर्धन छिनाउने कुरामा ध्यान दिइन्छ…” मेरो भाइले  बाबुराम भट्टराईका बगरेहरूबाट दशैंमा काटिने खसीले जति पनि सहानुभूति पाएन ।

युद्धमा मेरो भाइ मारिएको होइन । छल गरी  घरबाहिर डाकेर, एक जनामाथि बीसौँ जना जाइ लागेर, कायरतापूर्ण ढंगले ऊ ढालिएको हो । माओवादीहरूले त्यस हत्यालगायत हजारौं अरूलाई कथित “जन युद्ध” को नाममा पखाल्ने गर्छन् । भनिन्छ,  माओवादी अगुवा अग्‍नि सापकोटाको निर्देशनमा मेरो भाइ मारियो ।  त्यस दश वर्षे युद्धका योजनाकार हुन् डाक्टर बाबुराम भट्टराई । तसर्थ, एउटा प्रश्‍नले मलाई छोडेको छैन—भट्टराईको जन्म नभएको भए मेरो भाइ अझै बाँचिरहन्थ्यो कि ?

डाक्टर बाबुराम भट्टराईसँग मेरो नाता जोडिनुको अर्को कारण भयो उनका गुरु र गुरुमा थमस र मेरी भर्गिससँग मेरो मित्रता । सन् १९७२मा येशू ख्रीष्‍टमा पाप-क्षमा छ भनी जानेर उहाँको चेला बन्‍ने निर्णय मैले गरेको केही वर्षपछि थमस र मेरी भर्गिसलाई भेटेको थिएँ। दाइ र दिदीको साइनो चल्थ्यो ।  दिदी मेरी भर्गिस प्रार्थनामा जोड दिनुहुन्थ्यो, र पुतलीसडकको चर्चमा एक घण्टासम्म स्वर्गिय पितालाई हामी दुवैले सँगै पुकार्‍यौँ । सन् २००३, अप्रिल २५-मे १को अंकमा “नेपाली टाइम्स” साप्ताहिक पत्रिकाले लुइँटेल अमर जोति स्कूलका पूर्व प्रिन्सिपल र गुरुमा थमस र मेरी भर्गिससँग लिएको अन्तरवार्तामा आधारित लेख छापेको रहेछ । दुवैले बाबुराम भट्टराईसँग नभेटेको १५ वर्ष भएछ । भेट भएमा थमस भर्गिस सोध्‍न चाहनुहुन्थ्यो, “बाबुराम, भन तिमी कहाँ चुक्यौ ?” अनि, थमस भर्गिसले “नेपाली टाइम्स” का पत्रकारलाई जवाफ दिनुभयो, “बाबुरामका उद्देश्यहरू राम्रै छन्, तर साध्यले साधनलाई ठीक ठहराउँदैन । हिंसाले हिंसा निम्त्याउँछ । बाबुराम चलाक केटा छन् । उनले इतिहासबाट सिक्‍नुपर्ने हो ।”

प्रधानमन्त्री भएको केही महिनापछि छोटो अवधिको लागि साथीसँग अमेरिका बसेका थमस र मेरी भर्गिसलाई भेट्न भट्टराई गए । त्यस बेला थमस भर्गिसले “बाबुराम, भन तिमी कहाँ चुक्यौ ?” भन्‍ने प्रश्‍न राख्‍नुभयो भएन सो अनुमानको विषय बन्यो, तर आफूले पढाएको विद्यार्थी १६००० नेपालीका असामयिक मृत्युको कारक बनेको कुरा पचाउन गुरुबा, गुरुमालाई सहज अवस्य भएन ।

मिशन स्कूलमा पढेको भट्टराई एक हिंशावादी क्रान्तिकारी हुनुमा  रुसी इतिहास नेपालमा दोहोरिएको हो । भट्टराईका एक गुरु जोसेफ स्टालिनको त्यस्तै कथा छ ।  जवान हुँदा  जोसेफ जुगासभिलीले चर्चकै स्कूलमा गई प्रारम्भिक अध्ययन गरे । पछि, उनी  तिफ्लिस सहरको  बाइबल कलेजमा पढ्न गए । त्यहाँ उनी बाइबल पढ्नुको साटो लुकिछिपी कार्ल मार्क्सका कृति पढ्थे । सो थाहा पाएर बाइबल कलेजले उनलाई निकालिदियो । पछि गएर जोसेफ जुगासभिलीले “स्टालिन” नाम लिए । भ्लादिमिर इलिच लेनिनपछि जोसेफ स्टालिनले रुसी कमुनिस्ट पार्टीको एकलौटी निरंकुश शासन अन्तर्गतको सोभियत यूनियन राष्ट्र स्थापना गरे । तर, स्टालिन मर्नुअघि २ करोड रुसीहरूले ज्यान गुमाउनु पर्‍यो । आम जनसंहारमा जोसेफ स्टालिनलाई माथ गर्ने केवल चीनका माओत्सेतुङ थिए जसले ८ करोड चिनियाहरूलाई समय नआउँदै परमधाम पुर्‍याए । प्रधानमन्त्री हुँदा  डाक्टर बाबुराम भट्टराईको कार्यालयमा अटूट  माओत्सेतुङको मूर्ति हुन्थ्यो रे । आखिर एक नास्तिकले पनि कसैलाई पुज्दो रहेछ र जस्तालाई पुज्यो ऊ पनि त्यस्तै बन्दो रहेछ !

गुरु थमस भर्गिसले चाहेझैं  बाबुरामले इतिहासबाट पाठ लिएनन् । भर्गिसहरूले हिंसा सिकाएनन् । सो सिके भट्टराईले दिल्लीको जवाहरलाल विश्वविद्यालयमा अध्ययनको क्रममा । विश्वविद्यालयले पनि हिंसा सिकाएन । भट्टराई आफैले संसारका  अरू आमहत्याराहरूबाट प्रेरणा पाई आफै हिंसाको बाटो रोजे ।   धेरै पत्रकारहरूलाई दिएका अन्तरवार्ताहरूमा भट्टराईले आजीवन बोली (मत) र गोली  दुवै प्रयोग गर्ने अठोट व्यक्त गरेका छन् । तसर्थ, उनी र उनका माओवादी कार्यकर्ताहरूले अहिलेसम्म हिंसा त्यागेका छैनन् ।

रगतको आहालबाट सत्तामा पुगेका क्रान्तिकारीहरूले शासन गर्न सक्छन्, तर असल सरकार दिन सक्दैनन् । त्यही कुरा प्रचण्ड र बाबुरामले आआफ्ना प्रधानमन्त्रीत्व कालमा पुष्टि गरे । प्रचण्डको सरकार त्यस बेला ढल्यो जब उनले प्रधानसेनापति रुक्मांगत कटुवाललाई समयअघि हटाउने प्रयास गरे । प्रधानमन्त्री हुँदा उनको भाषणमा बरोबर यो वाक्य दोहोरिन्थ्यो, “आखिर, हाम्रो अनुभव पनि त थिएन !” दिनको तीन चोटि कुरा फेर्ने प्रचण्डले यसरी  सत्य बोलेकोमा धेरै खुशी भए । आठ  वर्षसम्म  भारत बसीबसी नेपालमा माओवादी युद्ध हाँक्‍न उनको अनुभव थियो, दस वर्षमा नेपाललाई स्विचरल्याण्ड बनाउने खूबी उनमा थिएन ।

डाक्टर बाबुराम भट्टराईको प्रधानमन्त्रीत्व त्यस्तै भयो । शेर बहादुर देउवाको असक्षम तर लोकत्रांतिक सरकारविरुद्ध सन् १९९६मा हतियार उठाएर १६००० नेपालीको ज्यान गएकोमा बाहिर जति नै दह्रो मुहार देखाए पनि भित्रभित्र उनको विवेकले बाबुरामलाई सताउँछ भन्‍ने कुरा उनकै अभिव्यक्तिबाट प्रस्ट हुन्छ । हेटौंडाको सातौँ माओवादी आम-अधिवेशनमा भट्टराईले अचानक अन्तर्राष्ट्रिय अदालत हेगको कुरा ल्याए। यस्तो  व्यवहारले “बनको बाघले खावोस् नखावोस्, मनको बाघले खान्छ” भन्‍ने उखानलाई पुष्टि गर्छ । हुँदै नभएका ३००० माओवादी लडाकुको नाममा दुई अर्व रुपीयाँ देशको ढुकुटीबाट रित्याएको, घाइते लडाकुले पाउनुपर्ने लगभग १ अर्व ११ करोड ९० लाख  भट्टराई सरकारले नै लिएको   (“हिमाल”, १-१५ माघ, २०६९), र अपांगका नाममा ६७ अर्व लूट (“हिमाल”, १-१५ अशोज, २०६९)  उनकै सरकारले गरेको प्रस्ट भयो । तसर्थ, माओवादी शासनमा देश विकास कसरी होस् ? यस्ता ब्रह्मलुटका कुरा खोतले शान्ति पक्रिया भाँडिन्छ भनेर भट्टराईले आलोचकहरूलाई चूप गराए; तर उनको पगरी भयो, “सबभन्दा भ्रष्ट सरकारको प्रधानमन्त्री” !

पत्रकार डेकेन्द्र थापाको मूल हत्याराले आफ्नै मन-शान्तिको लागि  अपराध स्वीकार गरी सजाय भोग्‍न तयार भए भने ढीलोचाँडो यही परिस्थिति भट्टराईलाई पनि आउन सक्छ । जति चाँडो आयो उति देशलाई फाइदा । झन् कर्नेल कुमार लामाको बेलायतमा पक्राउले त  माओवादी नेतृत्वमा ठूलो हलचल ल्याइदिएको छ । उनीहरूमध्ये कोही प्रधानमन्त्री भए पनि भारत (माओवादीका रक्षक) र चीन (माओवादीका गुरु-भूमि) बाहेक अरू देशमा पाइला टेक्‍न अब डराउनु पर्छ । गत जनवरी महिनामा यही त्रासले  महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान अमेरिका जान सकेनन् । माओवादी कानूनलाई अन्तर्राष्ट्रिय जगतले मान्दोरहेनछ ! तसर्थ, नेपालमा अहिले माओवादी नेतृत्व जिइरहेको छ, तर जिउँदै मरेर । यहाँ  जति नै भाले भए पनि विदेशमा त उनीहरूले आफैँलाई सोध्‍नुपर्छ,  “मलाई पनि कुमार लामालाईझैं पक्रन्छन् कि ?” विनाफिक्री अरू देशमा जान माओवादी नेताहरू अब सक्दैनन् ।

डाक्टर बाबुराम भट्टराईलाई मैले दुई चोटि भेट्न सक्थेँ तर बाधा दियो भाइको अन्तिम रूपले—गाडीमा पल्टिएको एक प्लास्टिकको पोको । सोल्टी होटलमा भएको एक कार्यक्रममा उनी तीन फिट जति  पर थिए । रगतको आहालमा डुबेको उनको हातसँग मेरो मिलाउन सकिन । उनी प्रधानमन्त्री भएपछि नोभेम्बर, २०११मा उनको निवास बालुवाटारमा थुप्रैलाई निमन्त्रणा थियो । ठीक समयमा म पुगेको हुनाले धेरै पाहुनाहरू मअघि  थिएनन् । चाहेमा उनलाई अभिवादन गर्न सक्थेँ । फेरि प्लास्टिकको पोकोरूपी भाइको अन्तिम आकृतिले रोक्यो ।

आफूविरुद्धका सबै अपराधीलाई क्षमा दिन येशू ख्रीष्‍टले मलाई सिकाउनुभयो । तसर्थ, मैले डाक्टर बाबुराम भट्टराईलाई पनि क्षमा दिइसकें । क्षमाको अर्थ मेरोलागि के हो ? भट्टराईविरुद्ध म कहिले मुद्दा हाल्ने छैन, नत उनीमाथि  बदला लिने कुनै काम म गर्नेछु । तर, आफै पश्‍चात्ताप नगर्ने, बालकृष्ण ढुंगेलजस्ता हत्यारालाई काखी च्यापीच्यापी हिंड्ने, सबै माओवादी अपराधीहरूलाई कानूनभन्दा माथि राख्‍ने, र  नारीविरुद्ध हिंशा रोक्‍न बालुवाटारमा धर्नामा दिएका दिदीबहिनीहरूलाई वाइ. सि. एल. लगाई कुट्ने डाक्टर बाबुराम भट्टराईलाई  खास आदर दिन भने मेरो विवेकले मानेको छैन । आखिर नैतिकता भनेको प्रधानमन्त्रीको कुर्शीभन्दा ठूलो हुँदोरहेछ । कुर्शीले भट्टराईलाई शक्ति अवस्य दियो तर आदर दिएन ।

भट्टराईले सबैबाट आदर पाउने कसरी ? यहाँ फेरि लुइँटेल अमर जोति स्कूलका पूर्व प्रिन्सिपल र गुरुमा थमस र मेरी भर्गिस काम लाग्‍न सक्छन् । वास्तवमा, थमस भर्गिसको प्रश्‍न “बाबुराम, भन तिमी कहाँ चुक्यौ ?” मा नै भट्टराईको मन-शान्तिको उपाय छ । कहाँ चुके भट्टराई ? १६००० नेपालीको असामयिक मृत्युको कारक बनेर । गल्ती गरेपछि पश्‍चात्ताप गर्नुपर्छ भनेर अवस्य थमस र मेरी भर्गिसले भट्टराईलाई सिकाए । पश्‍चात्तापको अर्थ हो अपराधको जीवन-शैली पूर्ण रूपमा फेर्नु । ग्रीक भाषामा यसले यस्तो माने दिन्छ—पूरा दिशा फेर्नु, जस्तै पूर्वतर्फ लागेको व्यक्‍ति पश्चिमतिर मोडिनु वा, यस प्रसंगमा, हत्याहिंशा छोडी करुणा अपनाउनु ।

साँचो पश्‍चात्ताप नगरीकन भट्टराईले संसारभरकै  शक्ति भविष्यमा बटुले पनि आदर पाउने छैनन् । बाहिर जति नै शान देखाए पनि १६००० मृतका आत्माले उनलाई सदा खेद्‍नेछ ।  उजान श्रेष्ठ, मुक्तिनाथ अधिकारी, डेकेन्द्र थापाका आत्माहरू, र  भट्टराई-अनुयायीहरूले बेग्लै मत मान्‍नेहरूका  टाउको छप्काएर  सिर्जेका अनगिन्ती आत्मा !   अन्तिम साससम्म उनलाई अन्तर्राष्ट्रिय अदालत हेगको डरले छोड्ने छैन । निडरसाथ उनी विदेश जान सक्‍ने छैनन् । अधिकाँश नेपाली नागरिकहरूसँग उनको केवल टाढाको नाता हुनेछ, जस्तो मसँग छ ।

(यस निबन्ध वास्तवमा “कान्तिपुर” लाई पहिला पठाएको थिएँ । “कान्तिपुर” ले “बहिनी” प्रकाशन “नेपाल” लाई जिम्मा लगाइदिएछ । “नेपाल” मा निस्कियो यसको झन्डै आधा छोटो, सम्पादित रूप २२ वैशाख, २०७०मा । “नेपाल” ले यसलाई नाम दियो: “अनादरका पात्र” । हेर्नुस्:  http://www.ekantipur.com/nepal/article/?id=5223 । सम्पादक कुमार विष्टले यसको पूर्ण रूप  असार २०७०को “तुरही” मा छापिदिनुभयो, जसको लागि उहाँप्रति धन्यवादी छु ।  कुमार विष्टज्यूकै अनुमति लिएर यो www.nepalchurch.com  मा पठाएको छु ।  रमेश खत्री, अक्टोबर १७, २०१३)

 

Facebook Comments

Category: Articles, Socio-political


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4