क्रिश्चियनहरुको सामाजिक उत्तरदायित्व

[ 5 ] October 1, 2013 |

Originally Posted at www.youthcircle.org

नेपाली भूमिमा जन्मेर पनि जीवित परमेश्वरको प्रिय छोराछोरी भएर जिउने अवसर प्राप्त गर्नु हामी हरेकको निम्ति निकै नै अहोभाग्यको कुरा हो । हाम्रा धेरै मानिसहरुले नपाएको साँचो शान्ति र मुक्तिको निश्चयता आज हामीले प्राप्त गरेका छौं । हामी ख्रीष्ट येशूलाई बिश्वास गर्ने विश्वासी भएकोमा गर्व गर्छौं भनेर सार्वजानिक रुप मै भन्न पनि हामीलाई संकोच लाग्दैन ।

देशका गाउँगाउँ सम्म पनि मण्डली बिस्तार भएको खबरहरु सुन्दा हामी सबैको मन हर्षित हुन्छ । हामी हरेकले प्रभुको राज्यबिस्तारको निम्ति आफुले सक्दो पहल पनि गरेकै छौं । यस अवस्थाले निश्चय नै स्वर्गमा विराजमान हुनुहुने हाम्रा पितालाई आनन्दित बनाएको हुनुपर्छ । हामीहरुको देशमा खुलेर प्रभुलाई महिमा दिनको लागि स्वतन्त्रता छ । आज हामीहरुको कुनै पनि गतिविधि रोक्न कोहि पनि खडा हुदैन ।

अझै पनि त्यस्ता कयौं देशहरु छन् जहाँ सबै खाले क्रिश्चियन गतिविधिहरु पूर्णतया:  प्रतिबन्धित छन । प्रभुलाई ग्रहण गरेकै कारणले कयौं सहिद भएका छन्; धेरैले घरबार गुमाएका छन्; जेलनेल भोगेका छन् । तर कुनै समय क्रिश्चियन प्रतिबन्धित मुलुकको रूपमा चिनिने नेपाल देशमा आज यसरि पूर्ण स्वतन्त्रता प्राप्त हुनुलाई हामीहरुले पाएको ठुलो आशिषको रूपमा लिनै पर्छ ।

हामीले प्रभुको निम्ति धेरै कामहरु गरेका छौं, नगरेका होइनौं । तर एकपटक छातिमा हात राखेर सोचौं त- के हामीले गर्न सक्ने भनेको  यति नै हो त? यहाँभन्दा बढी अरु हामीले केहि गर्न सक्दैनौं ?

पाकिस्तान तथा साउदी अरेबियामा त्यहाँको जनसंख्याको ३/३ प्रतिशत क्रिश्चियन छन् । अनि नेपालमा नि ? नेपालमा चाहिं १.४ प्रतिसत (राष्ट्रिय तथ्यांक विभागको आधिकारिक प्रतिबेदनले १.४ प्रतिशत नै भन्दछ, हामीसंग यसको बिकल्पमा अर्को कुनै आधिकारिक रेकर्ड छैन ।) । यतिबेला मलाइ धर्मशास्त्रको एउटा खण्डको याद आयो । पश्चाताप नगर्ने सहरहरु शिर्षकमा मत्ती ११:२१ मा येशू प्रभुले यसो भन्नुभएको छ: ” धिक्कार तँलाई , ए खोराजीन ! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरुमा गरिएका शक्तिशाली कामहरु टुरोस र सिदोनमा गरिएका भए तिनीहरुले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चाताप गरिसक्ने थिए ।” यहाँ हामी देख्न सक्छौं प्रभुले आशा गर्नुभएको सहर “खोराजिन ” र “बेथसेदा” लाई उहाँले धिक्कार भन्दैहुनुहुन्छ ।

एकपटक हामीले सोच्नु आवस्यक छ; कतै प्रभुले हाम्रो देशको बारेमा पनि यस्तै भन्दै त हुनुहुन्न ? धिक्कार तँलाई, ए नेपाल ! धिक्कार तँलाई !! किनकि यदि यो देशलाई प्रदान गरिएको छुटकारा साउदी अरब, पाकिस्तान वा इरानलाई दिइएको भए उनीहरुले उहिल्यै ख्रीष्टको ज्योति चम्काएर तिनका देश बदल्ने थिए, त्यहाँका विश्वासीहरुले उनीहरुलाई प्राप्त भएको स्वतन्त्रताको भरपुर सदुपयोग गर्ने थिए । सोचौं त; प्रभुले कतै हामीलाई पनि धिक्कार भन्दै पो हुनुहुन्छ कि ? किनकि सत्य यहि हो कि हामीहरुले गर्न सक्ने जति गरेका छैनौं । गर्नसक्ने त धेरै थियो; तर चलेकै छ भन्ने हिसावले हामीहरु सधैं आफ्नै सुसेधन्दामा व्यस्त हुन्छौं ।

हामीले गरेझैं गरेका कामहरु नै अन्तत: हाम्रा सेवाकाइ ठहरिन्छन । के यसै गरेर सारा यूरोप जितेका थिए होलान त हाम्रा अग्रजहरुले? केहि पाठकहरुले मेरो लेखाइ मनगढन्ते पाराको हुन्छ भनेर आरोप लगाउनुहुन्छ, तर मैले बुझेको कुरो यहि हो कि सबै सुधारका कुराहरु स्वभाबैले प्रारम्भमा मनगढन्ते नै लाग्छन ।

परमेश्वर भन्नुहुन्छ: तैंले गर्न सक्छस; सैतानले भन्छ: तैंले केहि जानेको छैनस, पढेको पनि छैनस, बोल्न पनि जान्दैनस, त्यसैले तैंले केहि गर्न सक्दैनस । दु:खको कुरा धेरै पटक हामीले अन्जानमै आफुलाई परमेश्वरको नभएर सैतानको आवाज सुन्ने बनाइराखेका हुन्छौं; अनि पुर्पुरोमा हात राख्दै भन्छौं: म केहि गर्न सक्दिन । परमेश्वरले हामीमा राखिदिनुभएको अपार सम्भावनाहरु बारे हामी बेखबर रहन्छौं । उहाँ त त्यहि परमेश्वर हुनुहुन्छ: जसले गोठालो दाउदलाई राजा चुन्नुभएको थियो । दाश दानियललाई बडाहाकिम बनाउनुभएको थियो । निश्चय नै उहाँले हामी हरेकबाट महान ठानिएका कामहरु गर्न सक्नुहुन्छ ।

हामीले गर्न सक्ने हजारौं सम्भावनाहरुलाई हामीले नजरबन्दमा राखेका छौं । हामीले ति सम्भावनाहरु माथि अन्याय गरेका छौं । विभिन्न मण्डलीहरुको आराधना सेवामा भाग लिने क्रममा त्यहाँका जोशिला जवानहरु देख्दा मलाई कताकता एउटा सपनाले झक्झक्याउछ, अनि नेपालमा क्रिश्चियनहरु कमजोर छन् भनेर सोच्ने मेरो मानसिकतालाई ठाडो चुनौती दिन्छ ।

वास्तवमा भन्ने हो भने नेपाली क्रिश्चियन जगतमा जनशक्तिको अभाव होइन, बरु जनशक्ति खेर फाल्ने काम भईराखेको छ । समस्या  हामीसंग के छ, के छैन अथवा के भएको भए हुन्थ्यो ? भन्ने प्रश्नमा होइन । हामीले के गर्नसक्थ्यौं तर गरेनौं ? भन्ने प्रश्नमा अड्किएको छ । एक हजार जति जवानहरु मिलेर संयुक्त रुपमा प्रभुको नाममा केहि अत्याबश्यक सामाजिक कामहरु गर्ने हो भने नेपाल देशमात्रै होइन एकपटकको निम्ति संसारको आँखा हामीले हामी पट्टि खिच्न सक्दछौं । हामी हाम्रा ज्योति मानिसहरुका सामु चम्काउन सक्दछौं । जसरि मत्ति ५:१६ मा येशू प्रभुले भन्नुभएको छ: यसरि नै तिमीहरुको ज्योति मानिसहरुका सामुन्ने चम्कोस र तिनीहरुले तिमीहरुका सुकर्म देखुन्, र स्वर्गमा हुनुहुने तिमीहरुका पिताको महिमा गरुन ।

हामीहरु पनि यस देशका जिम्मेवार नागरिक भएको हिसावले देशको हरेक गतिविधिमा हाम्रो पनि उत्तिकै सहभागिता हुनुपर्छ । यदि यस देशमा १.४ प्रतिशत क्रिश्चियनहरु छन् भनेर हामीले भन्ने हो भने यो देशमा हुने हरेक कामहरुमा कम्तिमा पनि १.४ प्रतिशत सहभागिता त हाम्रो हुन नै पर्छ । यो देशलाई लागेको जम्मा ऋणको घटीमा पनि १.४ प्रतिशत हाम्रो ऋण हो । चर्चित पत्रकार रबिन्द्र मिश्रको टोलीले हेल्प नेपाल नेटवर्क मार्फत १० करोडको परोपकारी कोष स्थापना गर्ने लक्ष्य राखेर अगाडी बढ्दै गर्दा घटीमा पनि १० करोडको १.४ प्रतिशत अर्थात १४ लाख रुपैंया उठाएर दिनुपर्ने हाम्रो जिम्मेवारी हो । मेरो मतलव यो देशलाई सम्प्रादायहरुको नाममा प्रतिशतको आधारमा टुक्रा टुक्रा पारौं भन्ने होइन, तर कतै हामी नेपाली क्रिश्चियनहरु हामीले गर्नुपर्ने न्यूनतम कामहरु पनि नगरेको अवस्थामा त छैनौं भनेर सचेत गराउनु मात्रै हो ।

समस्या हाम्रो काम गर्न सक्ने क्षमतामा होइन, आफैंलाई कमजोर सोच्ने हाम्रो मानसिकतामा छ ।  हामीले गर्न नसक्ने पनि होइन, हामीले असल कामहरु गर्न नचाहने पनि होइन, खालि हामीलाई गरौँ भन्ने साहसको अभाव छ ।  नेपाली क्रिश्चियन अगुवाहरुको अगुवाइ अनि हजारौं हजार जवानहरुको सहभागितामा अब हाम्रा गाउँ अनि सहरहरुमा ख्रीष्टको ज्योति हामीले किन नचम्काउने? कहिले सम्म हामीहरु हात बाँधेर बस्ने? हामी नेपाली क्रिश्चियनहरुको आज जुन पारा छ; त्यो निश्चय नै हामीलाई सुहाउने पारा चाहिं होइन । बिश्व इतिहासले साक्षी दिन्छ: सद्भाव, सहयोग र भातृत्वप्रेम भनेको क्रिश्चियन शब्दको पर्याय नै हो । हामी पनि सक्छौं, धेरै गर्न सक्छौं ; क्रिश्चियनहरुको समाजसेवी इतिहास हाम्रो देशमा पनि दोहोर्याउन सक्छौं । दुइ हजार जनाले प्रभुको नाममा हुने सामाजिक कामको निम्ति मासिक १०० रुपैंया छुट्टयाउने हो भने हामीसंग  महिनाको दुइ लाख हुन्छ । अनि हामीले  संकष्टमा परेकाहरुलाई नियमित रूपमा सहायता पुर्याउन सक्दैनौं र ? के नेपालमा मासिक रू.१०० दिन सक्ने दुइ हजार क्रिश्चियनहरु छैनन् र?  मलाई लाग्छ; दुइ हजार मात्रै होइन दस हजार भन्दा बढी छन्  ।

क्रिसमस नजिकिदै छ; जब क्रिसमस आउँछ: संसारले हर्षोल्लास मनाउँछ । हाम्रै देशका गैह्र क्रिश्चियनहरुमा पनि एउटा नौलो जोश र जाँगर भित्रिन्छ; उनीहरु एकथरी रमाइलोमा ब्यस्त हुन्छन अनि हामीहरु अर्को थरि रमाइलोमा ब्यस्त हुन्छौं । संसारका अन्य पर्वहरु जस्तै क्रिसमस पनि आउँछ र जान्छ । के हामी त्यति साह्रो निरिह छौं ताकि क्रिसमसलाई हाम्रा टोलछिमेक अनि साथिभाइहरुको दिमागमा कामलाग्दो अनि स्मरणीय उत्सव बनाउन नसकौं? काठमाडौंको सबैजसो टोलहरुमा घटीमा एउटा मात्रै भएपनि मण्डली छ भन्दा हुन्छ । काठमाडौंका सडकमा जताततै फालिएका फोहोरले सहरलाई नै कुरुप बनाएको छ । के हामीले क्रिसमसको अवसरमा काठमाडौंका सडकहरुलाई फोहोरमुक्त गराइदिन सक्दैनौं? के यस्तै काम पोखरा, धरान,धनगढी अनि देशका अन्य सहरहरूमा हुन सक्दैन? हामीहरु एक घन्टाको निम्ति सडकमा निस्केर केहि परिवर्तनको सुरुवात गर्न हामीलाई कहिले छेक्दैन । हाम्रा सुकर्म देखेर मानिसहरुले स्वर्गका पिताको महिमा गरुन भनेर प्रभु येशूले राख्नुभएको इच्छा यसो गर्दा पक्कै पूरा हुनेछ ।

जसरि साधारण जुत्ता सिलाउने काम गर्ने विलियम केरीले समस्त ब्याप्टिष्ट मण्डलीलाइ प्रभुको निम्ति साहसिक काम गर भन्ने चुनौती दिदैं जो कसैले सोच्न पनि नसक्ने महान काम गरेर देखाएका थिए, आज यस्तै प्रकारको जोश र जाँगर नेपाली क्रिश्चियनहरुमा पनि चाहिएको छ । हाम्रा जवानहरुले कतै मण्डलीलाई हाँस्ने, खेल्ने, रमाउने अनि दोस्ती बनाउने ठाउँहरु मात्रै बनाउंदै त छैनन्? प्रभुको बचनलाई शिरोपर गरेर इसाई अगुवा तथा अग्रजहरुले क्रिश्चियन जवानहरुको तागतलाई मूर्त रुप दिने काममा अगाडी बढ्नुपर्छ ।

क्रिश्चियन जवानहरुले पनि आफुंलाई संसारको अगाडी पृथक देखाउन सक्नुपर्छ । आफ्ना सारा चालचलन देखि अन्य सबै पक्षमा संसार भन्दा फरक भएको प्रमाणित नगरेसम्म साँचो अर्थमा प्रभुको महिमा हुन सक्दैन भनेर बुझ्नु जरुरि छ । यो लेख लेखिनुको उद्देश्य खालि पढ्ने, राम्रो वा नराम्रो लेख भनेर प्रतिक्रिया दिने मात्रै होइन; हामी हरेक नेपाली क्रिश्चियनहरुले आँखा चिम्म गरेर एकपटक सोच्ने र प्रार्थनामा प्रभुलाई हामीहरुलाई ठुला ठुला कामहरुको निम्ति चलाउनलाई बिन्ति गर्ने पनि हो । परमेश्वर पिता हाम्रो यहि पुस्ताले नेपाल देशमा ठुलो परिवर्तनको नेतृत्व गरेको देख्न चाहनुहुन्छ, संसारकै निम्ति उदाहरणीय कामहरु गरेको देख्न चाहनुहुन्छ । संसार जता ढल्कन्छ त्यतै ढल्कने र लाउने, खाने, बोल्ने सबै कुरामा संसारकै ढांचा नक्कल गर्ने जवानहरु नभएर समाज रुपान्तरणको निम्ति पसिना बगाउन तयार जवानहरु परमेश्वरको इच्छा हो । आउनुहोस; हामी सबै प्रार्थना सहित प्रभुबाट आउने महान कामहरुको निम्ति आफैं आफैंलाई तयार गराऔं ।

Facebook Comments

Category: Articles, Socio-political


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4