पृथ्वीको सबै सम्बन्ध, झैझमेला सामान र नाता, कागज पुस्तक पत्र, गितार, किबोर्ड, कम्प्यूटर, मोबाइल र जिम्मेवारीहरू थन्काएर अब जानुपर्छ भनी मलाई सूचना आयो भने म के गर्न चाहन्छु? अब तेरो मगजले काम गर्दैन, लेख्ने हातले पनि काम गर्दैन भनी मलाई केही बेर वा केही दिनको म्यादमात्र प्राप्त भयो र त्यस्तो अनुमानित स्थितिको सन्दर्भमा के गर्छौ भनेको खण्डमा म भन्छु, मेरा प्रिय मित्रहरू र पाठकहरूको लागि म नेपाल चर्च डट कममा एउटा अन्तिम आर्टिकल लेख्न चाहँन्छु। किनभने जानु ठूलो कुरो होइन। जानै पर्ने हो। तर मनमा लागेको कुरा भन्न पाएर जान पाउँदा केही सन्तुष्टि हुन्छ। एक दुई रहस्य बताउन चाहन्छु। तपाईहरू आफै पनि जान्नुहुन्छ तर दोहो-याउँदा पनि हानि त हुँदैन। मलाई यति भन्ने अनुमति दिनुहोस्। नयाँ करार पुस्तक परमेश्वरको अन्तिम प्रकाश हो। तर यो पुस्तक नै होइन। पुस्तक मात्र होइन। यो पुस्तकभन्दा धेरै माथि, धेरै चौडा अनि धेरै अप्ठेरो अनि सजिलो केही हो। हरेक ख्रीष्ट विश्वासीको निम्ति यो जान्नु अति नै जरूरी छ। नयाँ करार एउटा संसार हो। यसको आकाश छ, धरती छ, माटो छ धूलो, खोला, बालुवा अनि साँघुरो बाटो जंगल र पहाडहरू सबै छन्। यहाँभित्र एउटा विशिष्ट जातिले वास गर्छ। यसको म्यानेजर, प्रबन्धक, प्रमुख शिक्षक र सल्लाहकार पवित्र आत्मा हुनुहुन्छ। तर उहाँले अदृश्यमा काम गर्नुहुन्छ र ख्रीष्ट येशूको सम्झना हामीलाई घरीघरी गराउनुहुन्छ। र ख्रीष्टले भन्नुभएको कुराहरू हामीलाई सिकाउनुहुन्छ। त्यो सिकाउने काम उहाँले प्रेरित, अगमवक्ता, प्रचारक पास्टर र शिक्षकहरूबाट गर्न चाहनुहुन्छ। यसकारण यी वरदान भएका मानिसहरूको नजीक जानुहोस् अथवा आफ्नो वरदान यो नयाँ करारको संसारभित्र प्रयोग गर्नुहोस्। यो नौलो अदृश्य तर साँचो संसारको अर्को असली नाम हो स्वर्गको राज्य। यो त्यो चौडा, भव्य भवन जस्तै हो जसको निर्माण लगभग सिद्धियो र व्यापक प्रचार, ठूलो हल्ला अनि जोडदार उत्सवमा यसको उद्घाटन हुनु बाँकी छ। राज्यको खास घोषणा हुने दिन आउँदैछ। यो सब नयाँ करारमा खोज्नुहोस्, पाउनुहुनेछ। नियालेर हेर्नुहोस् तपाईले आफैलाई पनि नयाँ करारको पानाहरू स्पष्ट देख्नुहुनेछ। आज म यो लेखमा बाइबल पदहरू बताउन चाहँदिनँ। मेरो इच्छा आफ्नो लागि र तपाईको लागि यही हो। हामीले आवाजहरू सुन्नुपर्छ र सत्य असत्य थाहा पाउनुपर्छ। हामीसँग यही संसारमा मग्न, मस्तसँग बाँचिरहेको अर्को व्यक्तित्व पनि छ। उ हो शैतान, दियाबलस। नयाँ करारको संसारमा उसले वास गरेको छ तर घर जमाएर होइन शत्रु, दुस्मनको रूपमा। सारा संसार उसको मुठीमा छ। उ भौतिक संसारपट्टिको राजा हो, पिता हो र परमेश्वर हो। “यस संसारको देव” भनी पढ्नु भएको छ २ कोरिन्थी ४ मा। त्यो शब्दलाई हुबहु लेख्नु अप्ठेरो हुन्छ। देव होइन ‘परमेश्वर’ नै हो पावल चलाएको शब्द। यसकारण तपाई, हामी, प्रभु ख्रीष्ट, असंख्य विश्वासीहरू, स्वर्गदूतहरू मात्र यो नयाँ करारमा बाँचेका छैनन्। यहाँभित्र हिँड्डुल गर्ने एउटा प्रमुख शक्ति हो दियाबलस, शैतान। उसको एउटा उद्देश्य हो नयाँ करारको महत्वलाई लुकाइदिनु र झूटो शब्द झूटो बत्ती, झूटो चाँडबाड, अनि सबै झूटतिर लगेर हामीलाई खास सत्य नै त्यही हो भनी ढुक्क बनाउनु उसको एकमात्र योजना हो। नयाँ करार सेना, समाज र राष्ट्रको तपाई एउटा सिपाही हुनुहुन्छ। डिउटी गर्ने सिपाही हो भने दुश्मनलाई राम्रो गरी चिन्नुहोस्। ख्रीष्ट सुप्रिम कमान्डरको तपाई सिपाही हो भने कमान्डरको रणनीति र योजनाहरू राम्रो गरी चालपाउने काम गर्नुहोस्। नयाँ करार पढेको पढेकै गर्नुहोस्। थाहा पाउनुहुनेछ। यो संसारभित्र तपाईको जात र थर पनि पक्का गरिएको छ। परमेश्वरको निजी प्रजा, पवित्र जाति, चुनिएको वंश। त्यो सबै लेखिएको छ। तपाईलाई पहिराइएको छ यी शब्द लेखिएका परिधान, पगरी, पटुका। यसकारण आजदेखि तपाईले प्रमिस गर्नुपर्छ। प्रणप्रतिज्ञा गर्नुपर्छ, हिन्दू शास्त्र र नेपालको जातजातिसँग जोडिएको कुनै पनि जातिको नाम लिएर तपाईले जोक गर्नु हुनेछैन अनि उनीहरूलाई उचाल्ने वा खसाउने बोली मात्र होइन विचार पनि गर्नु हुनेछैन। उच्च मर्यादा र शिष्टाचारमा हामी बाँच्नुपर्छ र सबलाई यो राज्यको सन्तानको स्वाद चखाउनुपर्छ। तर तपाई झोला कि हातमा मात्र बाइबल बोक्ने व्यक्ति हो भने जे बोले पनि हुन्छ, जे सोचे पनि हुन्छ। तर नयाँ करार राज्यको खास नागरिकहरूको विचार र व्यवहार फरक छ। कारण उनीहरूले दिन रात यो पुस्तकलाई मनन गरेका छन्। आम जनतालाई हेर्नुहोस्। उनीहरूले यो नयाँ सृष्टिलाई भेट्टाएका छैनन्। यहाँ पस्नु र बस्नु बाँकी छ। तर एक दिन उनीहरू हामीजस्तो हुनुपर्छ। तर कुनै एक दिन, एक पलको निम्ति पनि हामी उनीहरूजस्तो हुनुहुँदैन। सोचमा, बोलीमा र व्यवहार र धारणाहरूमा हामीले माथि स्वर्गीय स्थान झल्काउनुपर्छ। डाँडामा बसालिएको सहर बन्नुपर्छ। काँडाघारीमा खसालिएको सहर होइन। छाल, बतास, मानिसहरूका जालझेल। यी तीन कुरालाई मनमा राख्नुहोस्। एफिसीको पत्रमा छ। छालले नहुत्याओस्, बतासले नउडाओस्, मान्छेको जालझेलले नउडाओस् भनेको छ। कम्मरसम्म छाल आयो भने पल्टाइहाल्छ, खतम नै पार्छ। बतासले उडाउने भनेको पातपतिङ्गर हो। त्यतिसम्म हामी हल्का, सुकेको काठपात हुनुहुँदैन। खँदिलो बन्नुपर्छ। झरिलो रहनुपर्छ। मानिसहरूलाई खँदिलो र बलियो बनाउनको निम्ति प्रेरित, अगमवक्ता, पास्टर शिक्षकहरू छन् उनीहरूबाट सिक्नुहोस् अथवा उनीहरूलाई जिम्मेवारी सम्झाइदिनुहोस्। तपाई शिर होइन शरीर हो शरीर पनि होइन शरीरको एउटा अङ्ग हो। संस्था संस्था हो, मण्डलीभन्दा माथि होइन। संस्थाको “सेवा” लाई बढी महत्व दिनुहोस् त्यसको नामलाई होइन। मानिस, मानिस हो, सबै हाम्रा दाजु, भाइ,दिदी बैनी हुन् कोही बढतै आदरणीय होइनन्। सबै नै आदरणीय हुन्। परमेश्वरको दृष्टिमा खास को आदरणीय हो त्यो हामीलाई थाहा छैन। परमेश्वरबाट पाइने श्याबासी वा प्रंशसा खास कुरो हो। कसैको निम्ति होइन तर ख्रीष्ट हाम्रा उच्चतम कमान्डरको लागि मात्र जोडदार ताली बजाउनुहोस्। मैले भन्दै थिएँ। हामी अलग संसारका नागरिक हौं। हाम्रो ध्यान ख्रीष्टको विचार, भावना, शिक्षा र भावी योजना तिर खिँचिनुपर्छ। यसमा सघाउनको लागि पवित्रआत्मा सधै. तयार हुनुहुन्छ। अनि त्यसबाट विचलित बनाउनलाई दियाबलस पनि हरदम बिजी छ। जुन व्यक्तिले जानीबुझी अथवा पागल सरह पनि नयाँ करार पढ्छ, रट्छ र पढि नै रहन्छ उसलाई शैतानको रापले भेट्दैन। तब प्रभु ऊसँग कुराकानी गर्न थाल्नुहुन्छ। आजभोलि म येशूको प्रेमको भन्दा येशूको क्रोधको कुरामाथि ध्यान गर्दैछु र डराइरहेको छु। परमेश्वर यतिसम्म रिसाउनुभो उहाँले जलप्रलयबाट सबैलाई सखाप पारिदिनुभयो। हरेक जाति, जनजातिको इतिहासमा विभिन्न कथाको रूपमा त्यो जलप्रलयको तुक्का बाँचेको छ। त्यसपछि विश्वव्यापी होइन तर स्थानीय तहमा उहाँले घरी आगो वर्षाउनुभो, घरी लडाइँ मचाउनुभो र मानिसहरूलाई मार्नुभयो। जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरो हो। प्रभु येशूले अन्तिम दिनको अग्नि र गन्धकको कुरा नलुकाई बताउनुभएको छ। आखिरी दिनमा निनवेको पश्चातापी जनताले येशूको मानव अवतारका दिनका पुस्तालाई औंला ठडाएर दोष लाउने छन्। उहाँको आगमनमा अनि न्याय आसनको अघि कुन पुस्ताका मानिसहरूले हाम्रो पुस्ताका मानिसलाई दोष्याउने हुन् ? एउटा पुस्ता थियो नेपालमा जोसँग बाइबल थिएन, भजनको पुस्तक थिएन तर प्रभुमा उनीहरू लिप्त थिए। त्यो पुस्ताले हामी सुविधाभोगीहरूलाई केही प्रश्न गर्लान् कि ? धिक्कार, धिक्कार भन्ने हुन् कि ? कारण हामीले हामीमाथि भएको कृपा—दृष्टिको दिनलाई चिनेनौ। यरूशलेमलाई उहाँले भन्नुभयो कृपा दृष्टिको दिनलाई तैंले चिनिनस्। “अब तेरो दृष्टिबाट त्यो लुकेको छ”। अब बन्द भयो। सकियो। फाल्द्यौ यसलाई आगोमा भनिनेछ। म तिमीहरूलाई चिन्दिन भनी प्रभुले भन्नुभएको कुरा पढ्दापढ्दै म कति दिन प्रेम, क्षमा र मिलाप, शान्तिको माला जपौं ? समय सिद्धेपछि रिस उठेपछि ढोका बन्द हुने रहेछ। उहाँलाई इन्कार गर्नेहरूको बारेमा भन्नुभो, ती दिनमा सदोमको अग्निवृष्टि बरू सहन सकिन्छ। त्यो कुन संकट हो जसले सदोमको भतभती पोल्ने आगोझरीलाई शीतल ठहराउने छ? प्रेममा, मिलाप र आनन्दमा अदनको बंगैचा बनियो। तर क्रोधमा, घृणामा र कडा प्रश्नहरूको माझमा मानिसलाई धूलो खरानी बन्ने सराप मिल्यो र गेटको बाहिर निस्किजाने, माटो खनी खाने सजाय र आदेश भयो। क्रोधको स्वभाव बोकेको परमेश्वरसँग होसियार गर्नुपर्छ मैले, हामीले। हेर्नुहोस् मत्ती अथवा लूकामा मात्र “त्यो दिन” उहाँले देखाउने क्रोधको बारेमा कति धेरै चेताउनी दिनु भएको छ। ढोका बन्द भएको, ढिला भएको कथाहरू र बाहिरको अन्धकारमा फालिएका शिक्षाहरू त्यो पुस्तकमा पढ्नु हामीले भुल्नु हुँदैन। पृथ्वीमा हामीले गर्ने प्रत्येक क्रियाकलाप र गतिविधिमा अर्थ हुनुपर्छ। तपाई जीवित परमेश्वर राजा र पिताका सन्तान। अर्काको नकलमा जीवन नफाल्नुहोस्। उदाहरणको लागि तपाईलाई सम्झाउँ, कसैले तपाईलाई क्रिसमस बोट र क्रिसमस फादर र उसले लाउने त्यो सफेद घेरो, रातो टोपीको अर्थ सोध्यो भने तपाईले नयाँ करार खोलेर साहससँग र सफासँग सबै बताउनुपर्छ। बताउनसक्नुपर्छ। होइन भने तपाईले हासिल गर्नुभएको डिग्री, सर्टिफिकेटको इज्जत जान्छ। नयाँ करार, स्वर्ग राष्ट्रको अर्थपूर्ण नागरिक, गौरवशाली नागरिकको इज्जतदार स्थानलाई त्यागेर संसारको नकल हामीले गर्ने होइन। अर्को वर्षको क्रिसमसमा सम्पूर्ण काठमाडौलाई शैतानले रातभरि नचाउने छ। मित्र राष्ट्रका महान हस्ती कलाकारहरू आएर दक्षिण एशियालाई नै थर्काउने छन्। के त्यो क्राइस्टको क्रिसमस हो? कि कसको? हामीले त्यसमा भाग लिने कि अलग बस्ने? ज्योतिर्मय स्वर्गदूत अन्धकार राज्यका महान सेनापति शैतान र यस संसारका राजा दियाबलसले सिर्जना गरेको भ्रमको ज्योतिमा चर्चका सदस्यहरू पुतली दिवाना भएको धेरै सुहाइरहेको छैन। नयाँ करार ख्रीष्टको रगतले कोरेको करारनामा हो। यो एउटा जीवनशैली र राज्य व्यवस्था हो। रातो रगतको कथालाई रातो फुर्के टोपीको कथामा परिणत गर्ने चर्च लिडरहरू न्यायको दिनको केही ख्याल गर्नुहोस्। नसोची नबुझी अन्धविश्वासहरूको निर्माण नगर्नुहोस्। धार्मिक सिद्धान्तको प्रत्येक शैतानिक बतासबाट हामीले एक अर्कालाई जोगाउनुपर्छ। एक अर्कालाई सच्याउनुपर्छ यी कुराहरू बताइरहनुपर्छ। परमाधिपति, सम्राट येशू ख्रीष्ट, प्रधान पूजाहारी र मृत्यु र पातालको चाबी पक्रनुहुने एकलेयिाका मालिकको आगमनको चर्चा र विवेचना हामीले गरिरहनुपर्छ अनि हाम्रो यस लोकको प्रस्थानको कुराकानी गर्नु पनि भुल्नु हुँदैन। अन्तिम कुरो, यो फोटो। यो एउटा समारोहमा खिचिएको फोटो हो। त्यो दिन म बस्न मात्र सक्थे हिँड्न र डुल्न सक्दिन थिएँ। हार्ट एटेक भाको थियो। दारीको रहस्य पनि त्यही हो। दिन रात नहल्ली बस्नुपर्ने। अपरेशनलाई पर्खेको बेला (इश्वी २००८)। म बाध्यतामा त्यहाँ थिएँ। भरै एक छोरीले मलाई, अंकल हाम्रो गाडीमा घर पु¥याउँ ? भनी सोधिन्, मैले तुरन्तै हुन्छ भने र कारमा छिरे। समारोह जारी थियो। म कसरी डेरामा पुगे थाहा छैन तर त्यो दिन म ढलेको पलंग मेरो लागि स्वर्गको फूलबारी जस्तै मिठो विश्राम बन्यो। चुपचाप बस्दा पनि त्यो रोगले त्यहाँसम्म थकाउसक्दो रहेछ। पछि अस्पताल गएँ। ठिक भो। चर्च डट कमको प्यारो भाइ टंक सुवेदीलाई यस्तो झिल्के फोटो नराख भाइ भनूँ भन्छु तर ठीक छ, यो मेरो लागि परमेश्वरको भारी अनुग्रहको निशानी हो भनी अप्ठेरो मान्दै पनि यसलाई सहन्छु। तपाईसँग परमेश्वरको अनुग्रहको कुनै तस्वीर, कथा र अनुभव छ ? त्यसलाई कहिल्यै नभुल्नूहोस्। त्यो पनि नयाँ करार राज्यसदस्य, स्वर्ग नागरिकको एक टुक्रा कथा हो। प्रेरितको पुस्तक जारी छ। जीवन जति नै लामो भए पनि त्यो छोटै हो। तर शरीरको जीवन एउटा छ छोटो। अनि स्वर्गीय शरीरको जीवन अर्कै छ नसकिने। परमेश्वरको घरमा सदासर्वदा बस्नलाई बनिएको नयाँ करार दुनियाको सन्तानले प्रभु शिर, म शरीरको अङ्ग भनेर सधैं याद गरिरहुनपर्छ र शरीरको निर्माणमा सहभागी बन्दै राज्य उद्घाटनको दिनलाई पर्खनुपर्छ। यही लेख आर्टिकलबाट म कतिपय पाठक मित्रहरूलाई मसँगको हिँड्डुलको सन्दर्भमा, मेरो मूर्खतामा, क्रोधमा वा अन्जानमा तपाईलाई कुनै पनि चोट लागेको छ, चित्त नबुझेको ठोकर खाएको केही छ भने त्यो पाप हो , दोष हो र मेरो गल्ती हो, मलाई क्षमा गर्नुहोस् भनी म यहाँ अनुरोध राख्छु। धन्यवाद।
Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site May 6 2013
Comments from previous site
written by Tap Raj Bhatta , March 24, 2013Ekdam Mann Chhoyo.
May God bless you !!!
written by खगेन्द्र , January 21, 2013सृजित परिस्थिको अावस्यकता हो यो लेख् जस्तो मेरो बुझाइ छ । धन्यवाद लोकनाथ मनेन ज्यूलार्इ । क्रीश्चियन समुदायमा विद्यमान गलत संस्कारको विकासक्रमलार्इ खवरदारी गर्न कसैले त अग्रसर हुनै पर्दथ्यो । अन्धधुन्द संस्कृति शुरूगर्ने, नक्कल गर्ने परम्परामा ब्रेक नलगाउने हो भने, हाम्रा सन्ततीले हप्तै पिच्छे चर्च गएपनि ख्रीष्टलार्इ र ख्रीष्टको बलिदानको कथालार्इ भुल्नेछन् । र संसारका सस्ता संस्कारसँग ख्रीष्टको महिमालार्इ नसाट्लान् भन्न सकिन्न ।
Discussion about this post