नयाँ जन्म पाउनुभयो कि नयाँ नाम?

[ 0 ] August 2, 2013 |
N D Lama

एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

आदरणीय पाठकहरू तपाईको बाइबल मनन र अध्ययनको म हृदयदेखि कदर गर्दछु। तपाईहरू त मलाई बेरियाको मण्डलीको विश्वासी जस्तो लाग्छ, जसले “पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।” (प्रेरित १७:११)।

यो लेख लेख्नको कारणचाहिँ, कति धेरै मानिसहरू विश्वासमा कदम चाल्छन अनि शंकामा जीवन जिउँछन्। कति ख्रीष्टियन पत्रपत्रिका तथा साइटमा प्रकाशित लेखहरू पढ्दा परमेश्वरको वरदान मुक्तिलाई ख्रीष्टियनहरूले आफ्नो कर्महरूसँग (काम) साटफेर गरेर बन्धनको जिएको महसुस भयो। मानिसहरू ख्रीष्टियन दुई तरीकाले हुन्छन्। एउटा नयाँ जन्म पाएर (मुक्ति पाएका-ख्रीष्टलाई विश्वास र ग्रहण गरेका) र अर्को नयाँ नाम पाएर (मुक्ति नपाएका-ख्रीष्टलाई विश्वास गरेका तर ग्रहण नगरेका)। येशूका १२ चेलाहरूमा ११ चेलाहरू मुक्ति (नयाँ जन्म) पाएकाहरू थिए भने १ जना मुक्ति नपाएका (नयाँ नाम) थिए। कति धेरै नयाँ नाम पाएकाहरूले पनि मण्डलीमा शिक्षा पाएँपछि या व्यक्तिगत बाइबल अध्ययनपछि नयाँ जन्म पाउँने कदम उठाउँछन् भने कति नयाँ नाममै सिमित रहन्छ।

मुक्ति हाम्रो कर्मले (असल काम) होइन तर यो त परमेश्वरको सित्तैको वरदान हो। हाम्रो वोलावट “अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।” रोमी ११:६। ख्रीष्ट येशू नपाएका तर राजनैतिक दलमा प्रवेश गरेजस्तै गरेर ख्रीष्टियन भएकाहरूको हालत मत्ती २२ को विवाहको भोजमा पनि झलक्क देख्न पाउँनुहुन्छ, (मत्ती २२:११-१३) उक्त व्यक्तिलाई विवाहको भोजबाट रुवाइ र दाह्रा किटाइ हुने ठाउँमा मिल्काइन्छ। यी दुईखाले ख्रीष्टियनलाई जनाउँन बाइबलमा “असल बीऊ र सामा” (मत्ती १३:३८), “भेडा र बाख्रा” (मत्ती २५:३२), “गहुँ र भूस” (मत्ती ३:१२) जस्ता शब्दहरू चलाएका पाइन्छ। परमेश्वरको समय पूरा भएपछि ती दुईलाई पनि छुटाउनुहुन्छ। बाइबल सबै संसारकोलागि परमेश्वरको सन्देश हो। उहाँलाई नपाइकन जीवन जिउँदा हुने दुर्दशा दर्साउने तथा प्रभु येशूलाई पाएपछि जीवनमा आशा जनाउने परमेश्वरको सन्देश हो। संसारमा भएका सबै मानिसहरू परमेश्वरसँग सम्बन्ध विच्छेद भएर शरणार्थी जीवन जिइरहेका छन्। बाइबलले भन्छ, “जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।” यूहन्‍ना १:१२। ख्रीष्ट येशूलाई ग्रहण गर्नेहरूको हैषियत शरणार्थीबाट परमेश्वरको सन्तान बन्छ। अब तिनीहरूमाथि शरणार्थीको नियम लागू हुन्न। शरणार्थीलाई लगाएको नियम नागरिकलाई लागू हुन्न त्यसरी नै प्रभु नपाउँदा हुने दुरदशा, प्रभु पाएर परमेश्वरको सन्तान भएकाहरूले खेप्नु पर्दैन।

कति धेरै ख्रीष्टयनहरू दोस्रोखाले ख्रीष्टियनलाई दिइएका शिक्षा, चेतावनी तथा आज्ञा बाइबलका खण्डहरूलाई लिएर आफै आतिन्छन्। यदि तपाईले बाइबललाई सन्दर्भमा हेर्न र अध्ययन गर्न सिक्नुभएन तर बाइबलका शब्द तथा पदहरूमा मात्र ध्यान दिनुभयो भने तपाईले सबैखाले अर्थ निकाल्न थाल्नुहुन्छ। अनि एसिया बासीहरूले परमेश्वरको सित्तैका वरदानलाई हाम्रो पूरानो आदत अनुसार कर्मलाई जोड दिन थाल्नुहुन्छ। यदि त्यसो गर्न थाल्नुभयो भने बाइबलका शिक्षाहरू जस्तै यूहन्ना ३:१६ को अनन्त जीवन भन्ने शब्दलाई कसरी बुझ्ने? चर्च गएको दिनमा स्वर्ग जाने अनन्त जीवन र नगएको दिनमा नरक जाने जीवन जस्तो देखिन्छ। बीचमा टुक्रियो भने त्यसलाई अनन्त जीवन भन्न मिल्दैन। यसले त के जनाउँछ भने ख्रीष्टको बलिदान हामीलाई स्वर्ग लान प्रयाप्त भएन र हाम्रो कर्मको आवश्यकता परेको जस्तो देखिन्छ। रोमी ८:३४-३५ मा हामीलाई ख्रीष्टबाट केहीले खोसेर लान सक्दैन जस्ता बाइबलका शिक्षाहरूको विरोधाभाष हुन्छ। त्यतीमात्र होइन, हामीहरू विधी र विधानको दास बन्न सक्ने धेरै चुनौति तिर धकेलिन्छौँ। रोमन क्याथोलिकहरूको सबैभन्दा ठूलो भूल यही रहयो। परमेश्वरले येशू नपाएकाहरू एकखालको चेतावनी दिनुहुन्छ भने उहाँको आफ्नो सन्तानलाई फरकखालको आज्ञा दिनुहुन्छ तर कति धेरै पटक हामीले ती दुईको फरक छुटाउँन सक्दैनौ। मानौ मैले मेरो सत्रुलाई एउटा कडा चेतावनी दिए, तर मेरो दुई नानीहरूले त्यो चेतावनी आफूहरूलाई दिएको हो भनी सम्झे कस्तो हुन्छ होला?

यसको नतीजना स्वरुप हाम्रो ख्रीष्टियन स्वभाव विरालोको जस्तो भ्रमित जीवन बन्न पुग्छ। विरालोले भन्छ “यसले मलाई माया गर्छ, खुवाउँछ, पिलाउँछ, वास्ता गर्छ। सायद मचाहिँ यसको मालिक हुनुपर्छ।” त्यसैले उ प्राय बेखुशी रहन्छ अनि तपाईलाई स्वागत गर्न ढोकामा पनि आउँदैन। तर तपाईले बाइबललाई ठीक तरिकाले अध्ययन मनन गर्न सिक्नुभयो भने तपाईको जीवन कुकुरको जस्तो जोशिलो हुन्छ। कुकुरले भन्छ, “यसले मलाई माया गर्छ, खुवाउँछ, पिलाउँछ, वास्ता गर्छ। त्यसैले यो मेरो मालिक हुनुपर्छ।” अनि ऊ प्राय खुशी हुन्छ र तपाईलाई स्वागत गर्न पुच्छार हल्लाइ हल्लाइ हर्षित भएर घरदेखि पर परसम्म पनि आउँछ। बाइबलले भन्छ, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ। तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।” यूहन्‍ना ८:३१-३२। ख्रीष्ट येशूमा हुनेहरू नरक पुगिएला कि भनी डरमा जिउँनु पर्दैन। स्वर्ग जाने पक्का हो त्यसैले मालिकको असल कुकुर झै स्वतन्त्र र आनन्दको जीवन जिउँन सक्छ। नरकको डरमा जिउने र स्वर्गको लोभमा जिउँने ख्रीष्टियनमा आकाश पातालको फरक हुन्छ। परमेश्वरका सन्तानहरू परमेश्वरमा प्रसन्न, मुक्तिको सन्देशमा जोसिलो, एकअर्काको सेवामा ततपर हुन्छन्। यही कुरालाई राम्रोसँग व्याख्या गर्न पावललाई गलातीको किताव लेख्नु परयो।

यहाँसम्म आइपुग्नुहुँदा तपाईको मनमा निम्न प्रश्नहरू उठेको हुन सक्छ। त्यसोभए ख्रीष्टियनहरूले किन राम्रो काम गर्नुपर्यो? किन गरीबहरूलाई वास्ता गर्नुपर्यो? अब त जस्तो जीवन जिए पनि ख्रीष्टमा छौ भने भइ हाल्दो रहेछ, स्वर्ग गइ हाल्ने रहेछ त। किन बाइबल पढ्नु पर्यो? किन प्रार्थना गर्नुपर्यो? किन चर्च जानुपर्यो? अब हाम्रो हैषियतमा फरक आयो त्यसैले हामीले हैसियत अनुसारको काम पनि गर्नु पर्छ। अब हाम्रो इच्छा, अभिलाषाहरूसँग लड्नुपर्छ। ख्रीष्टियनहरूमा आत्मिकी र अनात्मिकीको जातपात नभए पनि परिपक्व र अपरिपक्व ख्रीष्टियन भने अवश्य हुन्छ। जसरी मानिसको रगतमा उच्च र निच हुँदैन त्यसरी उच्च खाले र निच खाले ख्रीष्टियन हुँदैन तर पाको र काचो भने अवस्य नै हुन्छ। रीस, लोभ, इर्स्या, जस्ता कुराहरू स्वर्ग जाँदैन। त्यसैले हामीले चेलापनमा हुर्कनु पर्छ। एकदिन हामी ख्रीष्ट जस्तै सिद्ध हुन्छौँ। यो सिद्धता यात्रालाई हामी सुद्धीकरण भन्छौँ। ख्रीष्टलाई ग्रहण गरेको दिनमा सुरुभएर हाम्रो मृत्यूमा पूरा हुन्छ। जसरी असल सुन्तलाको बोटले मिठो सुन्तलाको फल दिन्छ त्यसरी नै मुक्ति पाएकाहरूको जीवनको फल असल कर्म हो। कर्मले मुक्ति दिने बाटव होइन तर मुक्ति पाएको चिन्ह हो। बाइबलको अन्य ठाउँमा काम विनाको विश्वास मरे सरह हो भनी सिकाउँछ। यो विषयमा आउने दिनहरूमा चर्चा गरौला तर हाम्रो नयाँ जन्मको विषयमा नै फर्कन चाहन्छु र यहाँहरूको सामु म दुइवटा उदाहरण प्रश्तुत गर्न चाहँन्छु ताकि तपाईहरूले ख्रीष्टियन जीवनमा हामीले हाम्रो मुक्ति र हाम्रो असल कामको महत्व तथा सम्बन्धलाई प्रश्ट बुझ्न सक्नुभएको होस्।

भूटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा लैजानु अघि प्रत्येक व्यक्तिलाई आफ्नो परिचय खुल्ने आधिकारिक परिचय-पत्र दिइन्छ। जुन उनीहरूले कमाएको होइन तर सित्तैको वरदान हो। अझैपनि त्यो वरदानलाई इन्कार गर्ने छनौट उनीहरूसँग रहन्छ। उनीहरू अहिले विभिन्न मुलुकमा पुनर्स्थापना भइरहेका छन् त्यसमा पनि हामी अमेरिकाको उदाहरणलाई लिएर चर्चा गरौँ। जुन व्यक्तिले अमेरिकाले दिने सित्तैको वरदानलाई विश्वास गर्छ र एकदिन गएर फोटो खिच्छ तब उनीहरूको आधिकारिक परिचय बन्छ। अब अमेरिका प्रस्थान गर्दा, अमेरिकी सिमना सुरक्षामा खटिएका व्यक्तिले त्यो व्यक्तिको हातमा अमेरिका प्रवेश गर्ने आधिकारीक अनुमति पत्र छ कि छैन त्यो हेरिन्छ। उनीहरूको सुन्दरता, रंग रुप हेरिन्न। त्यसरी मानिसहरूलाई स्वर्ग लाने आधिकारिक परिचय पत्र येशू ख्रीष्ट हुनुहुन्छ।

जब ती व्यक्तिहरु अमेरिका देशमा पुग्छन् अब उनीहरुको शरणार्थी हैसियत मेटिन्छ र आफ्नै नाममा घर जग्गा जोड्न पाइने हैसियतको बन्छ। अब त्यो मानिस शरणार्थी जस्तो भएर बस्न सुहाउँदैन। अथवा जीवनमा कुनै परिश्रम नगरी अर्काको भरमा शरणार्थी जस्तै जीवन जिए पनि त्यो अमेरिका भित्रैछ तर उनले मेहेनत गरेमा राम्रो गाडी चढ्न पाउँछ, iPhone बोक्न पाउँछ। ल्यापटप चलाउँन पाउँछ। त्सरी नै ख्रीष्ट येशूमा हुनेहरू नयाँ भइसकेका छन्। स्वर्गीय राज्यमा प्रवेश गराउने काम येशूको हो। अब ख्रीष्टमा हुनेहरूले कसैलाई एक कचौरा पानी दियो भने पनि त्यसको इनाम पाउँछ। त्यसैले ख्रीष्टियनहरूलाई असल, पवित्र र निष्कलङ्क जीवन जिउँन केले निशास बनाउँछ? ख्रीष्टमा जिउँनेहरू असल जीवन जिउँने प्रशस्त आशा छ। करमा, भयमा, निराशामा जिउँनु पर्दैन।

ती शरणार्थीहरूलाई अमेरिकाले नागरिकको हैसियत दिलाएकाले उनीहरू अब आफ्नो देश अमेरिका प्रति धन्यवादी भएर इमानदार र वफादारी जीवन जिउँछन्। आफ्नो राष्ट्रको लक्ष्य र उद्देश्यलाई आफ्नो लक्ष्य र उद्देश्य बनाउँछन्। त्यसरी नै हामीलाई पनि परमेश्वरले आफ्नो परिवारको सन्तान बनाउँनुभएकोले हामी स्वर्ग देशका नागरिकहरू हौँ। हामीलाई बाइबलका नियम र कानूको आज्ञा पालन गर्दै जिउँन केले रोक्न? यदि कसैले संसारकै नाम चलेको कम्पनी काम गर्न पाएँ मानिसहरू गर्व गर्छन्, त्यसरी नै सृष्टिकर्ताको सेवा गर्न पाएकाहरूलाई केले निराशा बनाउँने?

मुक्ति हाम्रो नाममा पास भइसकेको खेत जस्तो हो। खेतको मालिकले मेहेनत गरेर खनजोत गरेको जग्गा आफ्नो नाममा मिल्ला कि भनेर होइन तर फल खानलाई हो। ख्रीष्ट येशूमा हुनेहरूले स्वर्ग जाने कुरा आफ्नो नाममा पारीसकेका छन् अब हामीले गरेको असल काम इनामकोलागि हो। तर धर्मकर्म भनेको कसैको खेत अध्यायमा कमाएको जस्तो हो। कडा मेहेनत गरेर प्रशस्त अन्न फलाए पनि त्यो कडा मेहेनतले अर्काको खेत आफ्नो नाममा सार्न सक्दैन भने मुक्ति आफ्नो नाममा पारेकाहरूले मुक्ति पाइसकेकाहरूले मुक्ति नपाएकाहरू जस्तो भएर पनि जिउँनु पर्दैन। धन्यवाद, यहाँहरूले लेखलाई पढीदिनुभयो। प्रस्ट बनाए या झन अलमलमा पारे थाहा भएन। तपाईको अमुल्य सुझावहरूको सदैव स्वागत गर्दछु।

अरूको प्रतिक्रियाहरू पढ्न यहाँ जानुहोस् अथवा क्लिक गर्नुहोस्।

Facebook Comments

Category: Bible Study & Teaching