ख्रीष्टिय सिद्धान्तको प्रस्तुति

[ 0 ] April 8, 2013 |

Written by P.A. Thomas

“साधारण मानिसको जीवनमा परिवर्तन ल्याउन नसकिने सिद्धान्तहरु मेरोलागि कुनै महत्वको हुँदैनन्” भनी वचनको शिक्षक मैकल इटनले लेख्छन्। धेरैले सिद्धान्तलाई मानिसको जीवन र व्यवहारसँग कुनै सम्बन्ध नराख्ने र तिनीहरुलाई तर्साउने तर्क र ज्ञानको रुपमा मात्र सोच्ने गर्छन्। ‘सिद्धान्त होइन आत्माहरु बचाउनु हो मुख्य कुरा’ भनी प्रचार गर्नेहरु पनि छन्। सिद्धान्त भने शब्द सुन्ने बित्तिकै निम्नलिखित विचारहरु धेरैको मनमा आउनसक्छ भनी डा.एच विल्मिङ्गडनले आफ्नो किताबमा लेखेका छन् (Willmington’s Guide to the Bible, CLC 1995, pp589) यस्ता खालका गहिर्रर्ँइ नभएको र अर्थहीन भनाईहरुको उत्तर उनले नै दिएका छन्।

१. कुनै उपलब्धि नभएको र बहसको निम्ति मात्र काम लाग्ने अनावश्यक दार्शनिक विचारहरु हुन् सिद्धान्तहरु

बाइबल सिद्धान्तहरु दार्शनिक विचारहरु नभई परमेश्वरले प्रकट गर्नुभएका सत्यताहरको समग्र र व्यवस्थित अध्ययन हो। यसले मात्र हामीलाई सन्तुलित रुपमा ख्रीष्टिय जीवनमा डोर्याउन सक्दछ यूहन्ना ८:३२)।

२. सिद्धान्तले विभाजन ल्याउँछ र प्रेमले एकता

जसरी वास्तविकताले ज्योतिलाई अँध्यारोबाट अलग देखाउँछ, त्यसरी नै ठीक शिक्षाले सत्य र असत्य, मृत्यु र जीवन तथा ठीक र बेठीकलाई विभाजन गर्ने काम अवश्य गर्छ। तर यो बिना पापी मानीस र पवित्र परमेश्वरको बीचमा मिलाप ल्याउन असम्भव हुन्छ र यसले नै वास्तविक प्रेमको परिचय र आभास दिन्छ (रोमी ५:५)।

३. आत्मा बचाउने कुरामा सिद्धान्त मिसाउनु हुँदैन

सत्य सिद्धान्तको प्रस्तुति, जानकारी र स्वीकारले मात्र आत्मा बाँच्न सक्दछ। करकापले, फाइदाको निम्ति वा लोभ-लालसा देखाई गर्ने आत्मा बचाउने काम परमेश्वरको वचन अनुसारको होइन। मत्ती २८:१९,२० मा येशूले “मैले सिकाएका कुराहरु पालन गर्न सिकाई चेला बनाउन” आज्ञा गर्नुभएको छ। आत्मा बचाउने नभई सिकाउने र चेला बनाउने काम पो दिनुभएको छ। आत्मा बचाउनु सुसमाचार मात्र सुनाई निर्णय गराउने काम हो भनी सम्झनु गलत हो। सिकाएर चेला बनाउने कामको जिम्मा हामीले पाएका छौं। शिक्षा र चेला बनाउने काम नभए सुसमाचार प्रचार लक्ष्यहीन र अर्थरहित हुन्छ। बाइबलमा भएको महान सुसमाचार प्रचारक पावल नै बाइबलको सबभन्दा महान परमेश्वरशास्त्रि पनि हो भने सत्य चिन्तनीय छ।

४. सिद्धान्त अरोचक र अव्यवहारिक कुरा हो।

सिद्धान्तको शिक्षा अरोचक नभई हृदयलाई उत्तेजित पार्ने र प्रेरणा दिने कुरा हो। इम्माउसतिर हिडीराखेका चेलाहरुलाई येशूले सिद्धान्तहरु खोलीदिनुहुँदा तिनीहरुको हृदय प्रज्वलित भएको कुरा लूका २४:३२ मा छ। अगमवक्ताहरुको शिक्षा सुन्ने, सुनाउने र पालन गर्नेहरु धन्य हुन् भनी प्रकाश १:३, २२:७ ले भन्छ।

५. सिद्धान्त साधारण विश्वासीले पचाउन सक्दैनन्

आत्माबाट प्रकाशित भई जीवनमा प्रयोगमा आउने भएकोले जसले पनि परमेश्वरीय सिद्धान्तहरु बुझन र अनुभव गर्न सक्दछ। मत्ती ११:२५,२८-३०मा येशूले गर्नुभएको प्रार्थना अनुसार जसले पनि परमेश्वरको वचनको प्रकाश प्राप्त गर्न सक्दछ। जसले खोज्छ र माग्छ त्यसले आवश्य पाउँछ (प्रेरित १७:११, भजन ११९:१८)। परमेश्वरको वचन बन्धनमा छैन र सबैको हृदयमा र मुखमा छ।

६. थाहा भएकै सिद्धान्तमा जिउन नसकिने वेला किन अझै सिकाउने?

प्रत्येक परमेश्वरका छोरा छोरीहरु सधै बालक रहनु हुन्दैन बरु सत्यको ज्ञान पाई परिपक्वतातर्फर ख्रीष्टको कदसम्म हुर्कनुपर्दछ। हिब्रू ५:११-१४ र एफिसी ४:१२ले यही कुराको आवश्यकता प्रस्तुत गर्छ र १ कोरिन्थी ३:१,२ मा शिक्षा नपाईे शारीरिक ख्रीष्टियनहरु भएको उल्लेख गर्छ।

७. हामी वचनलाई मन्थन गर्ने होइन वचनले हामीलाई पो अधीनमा पारोस्।

यो भनाई ठीक जस्तो लाग्न सक्छ तर त्यसले वचनको अध्ययनबाट हामीलाई निरुत्साहित पार्न सक्छ। परमेश्वरको वचनको अध्ययन घुँडा टेकेर प्रार्थना गर्दा पाउने आत्माको वरदान नभई निरन्तर र अनुशासित रुपमा गर्नुपर्ने प्रयत्न र व्यवस्थित काम हो (१ तिमो ४:६,७,१३,१६, २ तिमो २:१४,१५)।

व्यवस्थित रुपमा बाइबलीय सिद्धान्तहरुको अध्ययनबाट हामीले निम्न उपलब्धिहरु प्राप्त गर्र्छौं।

१. झूठो शिक्षाको आक्रमण र प्रभावबाट सुरक्षित राख्छ (१ तिमो ४:१, १३-१७, २ तिमो ४:१-४)

२. ख्रीष्टिय जीवनलाई स्थिर र ख्रीष्टको कदसम्मको वृद्धिलाई निरन्तरता दिन्छ (एफि ४:१४)

३. अनन्त जीवन र परमेश्वरीय योजनाहरुको जानकारी र आशा दिन्छ (रोमी ११:२५, १ कोरी १०:१, १२:१, १ थिस्स ४:१३, २ पत्रू ३:८-१०)

४. झूठो शिक्षाको विरोध गर्न र हाम्रो आत्मिक मद्दत गर्छ (२ तिमो ३:१३-१७, एफि ६:१०-१७)।

पहिलो शताब्दिको मण्डली सुव्यवस्थित सिद्धँन्तको शिक्षामा नै स्थापित भएका थिए। येशू आफै आफ्नो सेवा कालमा र बौरी उठ्नुभए पछि प्रेरितहरुलाई सिकाउनुभएको थियो (मत्ती ७:२८, २२:३३, मर्कू १:२२,२७, लूका ४:३२, प्रेरित १:२,३)। तिनीहरुले पाएका यो शिक्षालाई नै मण्डलीले आधारको रुपमा स्वीकार गर्नुभयो (प्रेरित २:४२) र पछि प्रेरितहरुको शिक्षाको रुपमा प्रस्तुत भएका पत्रहरु समेत समावेश गरी नयाँ करार बाइबलको निर्माण भएको छ।

तर बाइबलका सिद्धान्तहरु समय सापेक्ष नभएकोले विश्वासीको जीवनको सबै पक्षहरुलाई समेट्न सकेका छैनन् भनी सिकाउने आधुनिक आत्मिक समूहहरु आज प्रशस्त उम्रेका छन्। तिनीहरुले बाइबलमा नभएका विभिन्न सिद्धान्त, आत्मिक अनुभव, अनुभूति, वरदानहरु र क्रियाकलापहरु प्रतिपादन गरी विश्वासीहरुलाई प्रभाव पार्ने र चित्त बुझाउने काममा सफल भएका छन्।

हजारौं वर्षबिते पनि मण्डलीमा सिकाइएका बाइबलीय सिद्धान्तहरु यथावत रहन्छ। त्यसको व्याख्या र सामयिक प्रयोग मण्डलीले सिकाउनुपर्ने कुरा हो। मण्डलीमा बाइबलको आधारमा विश्वासको सार र व्यावहारिक सिद्धान्तहरु गरी दुइ किसीमको शिक्षा दिएको हुन्छ।

१. विश्वासको सार

हाम्रो विश्वास, धारणाहरु र हेर्राई यही सारमा आधारित हुन्छ। ऐतिहासिक रुपमा प्रेरितहरुले मण्डलीमा स्थापित गरेका आधारभुत शिक्षाहरुको सार नै यसमा प्रस्तुत भएको हुन्छ। एक जनाको व्यक्तित्व उसले अप्नाएको आधारभुत धारणा र सिद्धान्तहरुले प्रकट गर्छ र त्यही नै उसको बोली र व्यवहारको आधार बन्दछ। येशू नै परमेश्वरको पुत्र र ख्रीष्ट हुनुहुन्छ (प्रेरित ९:२०,२२) भनी कायल भई विश्वास गर्ने एक जना ख्रीष्टियनले यही सारको घोषणा गर्छ। झूठो शिक्षाहरुलाई निस्तेज पार्न र सत्य सिद्धान्तलाई स्थापित गर्न शुरुको मण्डलीमा यो सारहरुको प्रतिपादन भएका थिए। नयाँ विश्वासीहर यो स्वीकारी बप्तिस्माको समयमा साक्षी दिनुपर्थ्यो। यही सार नेपाली ख्रीष्टिय भजनको अन्तिमतिर छापिएको छ र विश्वव्यापी मण्डलीको साझा विश्वासको आधार भएको छ।

२. व्यावहारिक सिद्धान्तहरु

२ कारिन्थी ५:१७ मा लेखेका नयाँपना एक ख्रीष्टियनको जीवन र व्यवहारमा प्रकट हुन शुरु हुन्छ। त्यसरी आफ्नो शरीरलाई एक नयाँ ढाँचा र पद्धतिको अधीनमा ल्याई फरक रवैया प्रकट गर्न उ बाध्य हुन्छ (रोमी ६:१९, १२:१,२)। यसको निम्ति आवश्यक व्यावहारिक सिद्धान्तहरु नियम र आचरसंहिताको रुपमा प्रस्तुत हुन्छ।

क. नियमहरुः

मण्डलीले सधैंको निम्ति गर्नु र नगर्नु भनी किटान गरी तोकिएका र सबैले पालन गर्नुपर्ने कुराहरु नै नियमहरु हुन्छन्। इस्राएलीहरुलाई प्रस्थान २०:१-३१:१८ सम्म यस्ता नियमहरु दिएका थिए। त्यहाँ व्यक्तिगत, सामाजिक र धार्मिक आचरणका सबै पक्षहरको निम्ति नियमहरु प्रस्तुत भएका थिए।

नयाँ करारको मण्डलीमा पनि यस्ता नियमहरु प्रतिपदित भई स्थापित भएका छन्। १ कोरि ९:२१ र गलाती ६:२ मा यसलाई ख्रीष्टको व्यवस्था भनिएको छ। प्रेरितहरुको समयमा सिकाइएका र स्थापित भएका यी नियमहरको निम्ति नयाँ परिभाषा वा व्याख्याको आवश्यकता हुँदैन। मण्डलीको प्रत्यक्ष उद्घाटन भएको पेन्टिकोसको दिनमा पत्रूसले दिएका पहिलो भाषणमा यी कुराहरुको आधार व्यक्त भएको छ (प्रेरित २:३७-४२)। यहाँ सातवटा ख्रीष्टिय नियमहरु उल्लेख भएका छन्।

१. मन परिवर्तन २. बप्तिस्मा ३. पवित्रआत्मा प्राप्त गर्नु ४. अलग हुनु

५. सँगतिमा आउनु ६. प्रभु भोज ७. प्रार्थनाको जीवन

ख. आचारसंहिता वा आचरणको मार्गदर्शनः

सम-सामयिक रुपमा वा स्थान र देश अनुसार मण्डलीमा र ख्रीष्टिय आचरण्मा अवलम्बन गर्नुपर्ने केही कुराहर हुन्छन्। कोरिन्थ मण्डलीमा त्यस वेला भएका कति समस्याहरु आज हाम्रो निम्ति सान्दर्भिक नहोला तर १ कोरिन्थी ६,८ र १० अध्यायहरुमा प्रतिपादित सिद्धँन्तहरु हाम्रो आचरणको निम्ति मार्गदर्शन दिन्छ। यहाँ त्यस्ता चार मार्गदर्शनहरु छन्।

१. स्वतन्त्र वा कमाराः १ कोरिन्थी ६:१२

खाना, दुर्व्यवहार, मुद्दा मामिला आदिको बारेमा बोल्दा पावलले ख्रीष्टिय जीवनमा प्राप्त स्वतन्त्रता कसरी प्रयोग गर्ने भनी मार्गनिर्देशन दिएका छन्। कम्पूटर, इन्टरनेट, सिनेमा, म्यूसिक, टी भी, खेलकुद आदिको प्रयोगमा हामी रोक लगाउन सक्दैनौ तर हामी कदापी त्यसको कमारा बन्नु हुँदैन र तिनीहरुको प्रयोगमा रोमी ६:१५-१८ र २ पत्रूस २:१९ आदिको ख्याल राखि व्यक्तिगत निर्णय गर्नुपर्ने हुन्छ।

२. तगारो वा प्रोत्साहन : १ कोरिन्थी ८:९

प्रसाद खाने, मूर्तिलाई चढाएको मासुको प्रयोग, भोजमा भाग लिने आदिको बारेमा बोल्दा पावलले एक महत्वपूर्ण सिद्धान्त सिकाएका छन्। यस्ता कुरामा हामीलाई ठीक बेठीक लाग्नुभन्दा पनि हामीले गर्ने कुराले अरुलाई (विशेष अन्य विश्वासीहरुलाई) कस्तो प्रभाव पार्छ भने कुरामा हामी ख्याल गर्नुपर्ने कुरा यहाँ प्रस्तुत भएको छ। अरुलाई नकारात्मक रुपमा प्रभाव पार्नु पाप हो (१ कोरि ८:१२)।

३. बनाउने वा भत्काउने : १ कोरि १०:२३

हामलिे गर्नपाउने सबै कुरा गर्न आवश्यक वा उपयुक्त नहुन सक्छ। गर्न पायो भन्दैमा गर्न पर्छ र ? कति कुरा हाम्रै ख्रीष्टिय जीवन निर्माणमा अनुत्पादक हुन्छ र कति कुरा अरुको निर्माणमा बाधक हुन्छ। यस्ता कुराहरुमा हामी होशियार र चनाखो हुन आवश्यक छ।

४. कसको प्रशंसा, मेरो वा परमेश्वरको ? १ कोरि १०:३१

परमेश्वरले सबै थोक आफ्नो योजना पूरा गर्न आफ्नो महिमाको निम्ति बनाउनुभएको छ (यशै ४३:७)। हाम्रो शरीर उहाँकै काम पूरा गर्न बनाइएको हो र तर्सथ सबै कामबाट उहाँ प्रसन्न हुनुपर्छ (१ कोरि ६:२०, २ कोरि ५:९, फिलि १:२०) र उहाँको काम पूरा भई उहाँ महिमित हुनुपर्छ। यही कुरा रोमी १२:१-२ ले पनि प्रष्ट पार्छ।

व्यक्रिगत तथा सामूहिक ख्रीष्टिय जीवन र व्यवहारको सबै पक्षहरुमा यही मार्गदर्शनहरुले हामीलाई बाटो देखाउँछ। हामी आफुलाई चित्त बुझने र आफुलाई मात्र फाइदा हुने कुरामा जिउन वा सोच्न सक्दैनौं बरु सबै कुरामा परमेश्वर, येशू प्रभु, पवित्र आत्मा र अरु मानिसहरुको ख्याल राखि जिउन बाध्य छौं। हामी परमेश्वरको पत्रहरु, समाचार वाहकहरु, राजदुतहरु, कारिन्दाहरु र पूजारीहरु हुन् र त्यो हैसियतमा जिउन बाध्य छौं। ख्रीष्टिय जविन ख्रीष्टमा, ख्रीष्टसँग र ख्रीष्टकोनिम्ति जिउने जीवन हो।

क्रमश …

Republished on new layout June 9,2013

Facebook Comments

Category: Bible Study & Teaching, False Techings