मातृभाषाको चिन्ता

[ 0 ] September 26, 2019 |

आजकाल मानिसहरुले आफ्नो मातृभाषा छाड्दै आइरहेको पाइन्छ। यो एउटा गम्भीर चिन्ताको विषय हो। अंग्रेजी भाषाको पछि लागेमा पद, पैसा र प्रतिष्ठा पाउँछ भन्ने सोच मानिसहरुमा रहेको छ । देशका निति निर्माताहरुले अंग्रेजी भाषा नै देश विकासको मेरुदण्ड ठानेका छन्। अभिभावक पनि आफ्ना बच्चाहरुले अंग्रेजी बोल्दा मख्ख पर्दछन्। देश नै अंग्रेजी भाषाका पछि लागि रहेको देखिन्छ। तर अंग्रेजी भाषाले देश विकासमा ठूलो योगदान पुर्‍याउँछ भन्ने सोच्नु एउटा गम्भीर गल्ती हो। अंग्रेजीको पछि नलागेर पनि देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने एउटा उदाहरण रुस हो। रुसले आफ्नै मातृभाषा रसियन भाषाबाट नै शिक्षादिक्षा दिएर देशलाई महाशक्ति बनायो। इजरायल देशले पनि आफ्नै मातृभाषामा शिक्षा तथा प्रशासनका कार्यहरु गर्दछ, जुन देश आज सैनिक शक्तिमा एशियाकै अब्बल मानिन्छ।

श्रीलंका, ब्राजिल, मेक्सिको, चिली, कोलम्बिया, क्यूबा, जापान, चीन, कोरिया, इण्डोनेशिया, म्यान्मार, मलेशियाले मातृभाषा अपनाएर नै बिकासको मार्ग प्रशस्त गरेका छन्। सामाजिक, आर्थिक, प्राविधिक, वैज्ञानिक र अन्य समसामयिक  कामको विस्तार मातृभाषामा नै गरे। चीन र जापान त यस्तो अनुकरणीय उदाहरण हुन्, जसले मातृभाषाको माध्यमबाट विकास गरेर विश्व आर्थिक शक्तिको रुपमा स्थापित भए। सन् १९४९ सम्म भोकमरीको समस्या भैरहेको चीन आज विश्वको आर्थिक शक्तिको रुपमा उदय भएको छ। यसको श्रेय चीनको मातृभाषामा ज्ञानविज्ञानको अध्ययन र सोधकार्यलाई जान्दछ।

हाम्रो ऊर्जा सबै अंग्रेजी भाषा सिक्नमा गइरहेको छ। जसले गर्दा हामीले सिर्जनात्मक काम गर्न सकिरहेका छैनौं। स्थानीय मातृभाषा बोल्ने बच्चाहरु स्कूल जान हिच्किचाउँछ कारण स्कूलमा सिकाउने भाषा उनीहरुले घरमा बोल्ने भाषा होइन। देश विकासको लागि मातृभाषा अति आवश्यक छ। मातृभाषा बचाउनु भनेको भाषिक विविधतालाई बचाउनु हो। मातृभाषाले राष्ट्रको विकास प्रक्रियामा सहायक बनेर शान्तिलाई बढावा दिने कार्य गर्दछ। कुनै पनि व्यक्तिको मातृभाषा भनेको उसको संस्कृति, परम्परा र इतिहासको कोष हो। कुनै पनि क्षेत्र विशेषको मातृभाषा त्यस क्षेत्रको सामाजिक, सास्कृतिक परिवेशको पहिचान हुन्छ यहीकारण मातृभाषाले सांस्कारीक जीवन जीउन प्रेरणा पनि दिन्छ। मातृभाषाको यहि महत्वलाई दर्शाउनको लागि युनेस्कोले २०१९ साललाई “स्वदेशी भाषाहरुको वर्षको” रुपमा मनाइरहेको छ।

नोबेल पुरस्कारको आंकडालाई हेर्न हो भने पनि इजरायलका १७ जना नोबेल पुरस्कार प्राप्त गरेका मध्ये १० जनाले आफ्नै हिब्रु भाषाबाट शिक्षा प्राप्त गरेका थिए। छिमेकी राष्ट्र भारतका प्रख्यात वैज्ञानिकहरुले पनि आफ्नै मातृभाषाबाट शिक्षा प्राप्त गरेका छन्। यीमध्ये अब्दुल कलामलाई लिन सकिन्छ, जो पछि भारतका राष्ट्रपति पनि भए।

उनले स्वयंको अनुभवको आधारमा भनेका छन् कि मैले गणित र विज्ञानको शिक्षा मातृभाषामा प्राप्त गरेको हुनाले नै म एक जना राम्रो वैज्ञानिक बन्न सकेको हुँ । विश्वको कुल ग्राहस्थ आय (जीडीपी) को आंकडालाई हेर्ने हो भने पनि शीर्ष २० देशमा आफ्नै मातृभाषामा शिक्षा दिइन्छ। यसमध्ये ४ चार देश अंग्रेजी भाषी देश छ कारण तिनीहरुको मातृभाषा नै अंग्रेजी हो। कुल ग्राहस्थ आय (जीडीपी) को आंकडामा सबैभन्दा पछि परेका २० देशमा विदेशी भाषा वा आफ्नो र विदेशी दुवै भाषामा उच्च शिक्षा दिइरहेका छन् र शासन प्रशासनको कार्य पनि यही प्रकारले गरिन्छ।

भाषा भनेको संवेदनशील क्षेत्र हो। भाषाले कुनै पनि समाजको संस्कृतिलाई जीवित राख्दछ। आधुनिक संसारमा भाषाहरुको मिश्रण तिब्र गतिमा भइरहेको देखिन्छ। जसको कारणले मातृ भाषाहरु लोप भएर जाने स्थितिमा पुगिसकेको छ। मातृभाषालाई संरक्षण गर्नु आवश्यक छ किनभने कुनै पनि भाषाको संसार र जीवनलाई हेर्ने तरिका आफ्नै हुन्छ। कुनै पनि भाषा बचाउनु भनेको भाषिक विविधतालाई बचाउनु हो। नेपालमा मातृभाषाहरु बचाउन सरकारले हाल गरिरहेको कार्य सन्तोषजनक मान्न सकिदैन। कमसेकम नेपालमा बोलिने मातृभाषाहरुका शब्दहरुको अभिलेखिकरण र अडियो भिडियो रेकर्डिङ मात्र सन्तोषजनक रुपमा गरे पुग्छ। अब मातृभाषा बोल्नेले मातृभाषा आयोगको माग गम्भीर रुपमा संसदमा उठाउने बेला आएको छ।

राष्ट्रिय मातृभाषा निति बनाउन सांसदहरुलाई घच्घचाउनु पर्‍यो। मातृभाषा बोल्ने व्यक्तिलाई नै प्रमुख बनाएर मातृभाषा आयोग बनाउनु पर्‍यो। संसदमा पनि मातृभाषा आयोगको सिफारिस कार्यान्वयन गराउन मातृभाषा आयोग संसदीय समिति बनाउने जोडदार माग गर्नुप¥यो। यदि युद्धस्तरमा मातृभाषा बचाउने कार्य गर्न सकिएन भने आउँदो ५०–६० वर्षमा नेपालको ५०  प्रतिशत मातृभाषा लोप हुन सक्छ।

(२५ भदौ २०७६ को राजधानी दैनिकमा प्रकाशित भएको)

Facebook Comments

Category: Articles, Socio-political


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4