माननीय गृह मन्त्री रामबहादुर थापा “बादल” ज्यूको ध्यानाकर्षण गरिएको बारे

[ 0 ] December 31, 2018 |

नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष तथा महासचिव क्रमशः पास्टरद्वय सूर्यबहादुर बल (हनोक) तामाङ र शेरबहादुर ए.सी. र नेपाल ख्रीष्टियन समाजका अध्यक्ष तथा सचिव पास्टरद्वय कृष्णबहादुर (बर्णबास) श्रेष्ठ र मुकुन्द शर्मा उपस्थित् भई गृह मन्त्रीज्यूलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

 

मिति : २०७५ पुस १५ गते ।
माननीय गृह मन्त्री रामबहादुर थापा “बादल” ज्यू,
गृह मन्त्रालय सिंहदरवार, काठमाडौं, नेपाल ।

विषयः ध्यानाकर्षण गरिएको बारे ।

महोदय, उपरोक्त सम्बन्धमा विगत केही समयदेखि हामी नेपालका सम्पूर्ण ख्रीष्टियनहरूलाई लक्षित गरी निरन्तर रूपमा विभिन्न किसिमका भ्रामक समाचारहरू केही पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा सम्प्रेषण गर्ने, हाम्रो आस्था र विश्वासमाथि आघात पर्ने खालका गतिविधिहरू सञ्चालन गर्ने र ख्रीष्टियनहरूले नगरेका काम वा गतिविधिहरूमा अतिरन्जित तरिकाले दोषारोपण गर्ने र व्यक्तिगत वा सामाजिक रूपमा नै डर–धम्की दिने काम गरिएको कुरा माननीय गृह मन्त्रीज्यूलाई जानकारी गराउन चाहन्छौँ । हामी सम्पूर्ण अल्पसंख्यक ख्रीष्टियन समुदायलाई वर्तमान संविधान २०७२, विद्यमान कानुन र विश्वव्यापी मानवअधिकार घोषणापत्र विपरीत विभिन्न क्रियाकलापहरू गरी मानसिक आघात पुर्याउने कामहरू गरिएको हुँदा माननीय गृह मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षाको व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। हालसालै हाम्रा विरुद्ध संगठित रूपमा सञ्चालन गरिएका गतिविधिहरू निम्नानुसार छन् –

१. श्री रामकृष्ण उपाध्यायद्वारा सञ्चालित एक अतिवादी “हिन्दू जागरण” समूहद्वारा यही मिति २०७५ पुस १० गते तदानुसार डिसेम्बर २५ का दिन सारा संसारका ३ अरबभन्दा बढी मानिसहरूले पवित्र धर्मशास्त्रका रूपमा स्वीकारेको पवित्र बाइबललाई ख्रीष्टियनहरूकै महान् चाडका दिन गृह मन्त्रीज्यूको गृह जिल्ला चितवनमा जलाइएको ।

२. सोही दिन सोही समूहले नेपालको संविधानले मान्यता दिई राष्ट्रले एक धार्मिक समूहका रूपमा स्वीकारेको ख्रीष्टियनहरूका विरुद्धमा सामाजिक सद्भाव बिगार्ने, धार्मिक सहिष्णुता खल्बलाउने र अन्तर धार्मिक समूहबीच द्वन्द्व निम्त्याउने खालका चर्का नारा लगाइएको ।

३. हिन्दू जागरण समूहद्वारा सञ्चालित “इसाईकरण विरुद्ध जनचेतना अभियान” फेसबुक पेजका नाउँमा सम्पूर्ण ख्रीष्टियनहरूलाई गाली–गलौज गरिएको र ख्रीष्टियनहरूका आस्था र विश्वासमा नै आँच आउने गरी विभिन्न अश्लिल सामग्रीहरू ख्रीष्टियनहरूको नाउँ जोडेर समावेश गरिएको ।

४. संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका धार्मिक तथा सामाजिक संस्थाहरूलाई आ–आफ्नो उद्देश्यअनुसार क्रियाकलापहरू गर्दा गर्दै पनि ख्रीष्टियन भएकै कारण राज्यका सम्बन्धित निकायहरूबाट सोधपुछको बहानामा सत्य–तथ्य कुराहरूको खोजी तथा अनुगमन नगरी अनावश्यक दुःख दिने क्रमलाई निरन्तरता दिइएको ।

५. केही पत्रपत्रिका, टेलिभिजन र अनलाइन प्रकाशन सामग्रीहरूले कुनै सत्य–तथ्य आधारबिना विभिन्न भ्रामक समाचारहरू ख्रीष्टियनहरूका विरुद्धमा एकपछि अर्को गरी प्रकाशन तथा प्रसारण गरिएको ।

६. नयाँ संविधानअनुसार नेपाल एक धर्मनिरपेक्ष राष्ट्र भइसकेको तीन वर्ष बितिसक्दा पनि ख्रीष्टियन चर्च तथा संघ–संस्थाहरूलाई कानुनी मान्यता दिई सेवा–सुविधा दिनुको सट्टामा सरकारी तबरबाटै असहयोग गर्ने प्रवृत्ति विकास गरिएको ।

७. नेपाली नागरिकहरूलाई ख्रीष्टियन भएकै कारण विभिन्न देश, समूह र शक्तिसँग जोडेर हेर्ने र कुनै संलग्नता नभएका क्रियाकलापहरूमा पनि ख्रीष्टियनहरूको नाउँ जबरजस्ती प्रयोग गर्दा पनि सरकार वा सम्बसन्धित निकायबाट स्पष्टीकरण माग्ने वा कार्यबाही गर्ने कुनै पहल नै नगरिएको ।

यहाँ माथि उल्लेखित विषयहरूका कारण हामी सम्पूर्ण ख्रीष्टियन समुदायले अपहेलित र असुरक्षित महसुस गरेको हुनाले माननीय गृह मन्त्रीज्यूलाई उल्लेखित विषय–सन्दर्भहरूमा पूर्ण ध्यान दिनुभई हामी सबै ख्रीष्टियन समुदायलाई शान्तिसँग बस्न पाउने र आफूले विश्वास गरेको आस्था–विश्वासलाई बिना डर अभ्यास गर्न पाउने व्यवस्था मिलाई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

भवदीय
………………………… ………………………….
कृष्णबहादुर श्रेष्ठ सूर्यबहादुर बल तामाङ
अध्यक्ष, अध्यक्ष,
नेपाल ख्रीष्टियन समाज नेपाल राष्ट्रिय मण्डली सङ्गति

Facebook Comments

Category: News & Events, Religious Freedom