सपथ र सत्यता

[ 0 ] July 12, 2018 |
Rajesh Bhujel

       Rajesh Bhujel

आजको युगमा सत्य व्यक्ति भेट्नु भनेको परालको थुप्रोमा हराएको सियो खोज्नु जत्तिकै कठीन हुन जान्छ। प्राय हरेक क्षेत्रमा मानिसले झुट बोल्ने गर्दछ। कार्यालयमा कर्मचारीले, साथीले साथीलाई, छोराछोरीले अभिभावकलाई, श्रीमान श्रीमतीमा एकले अर्कालाई प्राय गरेर केहि न केहि विषयमा झुट बोल्ने गर्दछन्। बाइबलमा हामी पाउँदछौँ जहाँ येशू ख्रीष्टले एउटा महत्वपुर्ण कुरा भन्नुभएको छ सत्यतामा जिउने विषयमा (मत्ती ५:३३–३७)।

प्राचिन समयका मानिसहरुलाई पुरानो करारको पुस्तकमा भनिएको थियो कि “तिमीहरुले मेरो नाउँमा झूटा सपथ नखानू, त्यसो गर्नाले तिमीहरुले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ, म परमप्रभु हुँ” (लेवी १९:१२)। यो कुरालाई फरिसिहरुले यसरी बुझे कि परमेश्वरको नाउँमा मात्र सपथ नखानु भनेको हो त्यो भन्दा अरु नाउँमा त सपथ खान हुन्छ भन्ने उनीहरुको बुझाइ रहेको थियो। अनी उनीहरु परमेश्वरको नाउँमा त सपथ खाँदैन थिए तर अरु विभिन्न नाउँमा भने सपथ खाने गर्दथे। फरिसीहरुले गलत बुझेको कारण येशूले बुझ्ने गरि भन्नुभयो कि कसम भनेको खाँदै नखानु। यसको अर्थ प्रतिज्ञा पनि नगर्नु भनेको होइन तर गरेको प्रतिज्ञा पूरा गर्नु भनिएको हो। पुरानो समयमा कसले ठुलो ठुलो कसम खान्छ भन्ने महत्वपुर्ण मानिन्थ्यो, त्यसैले कतिले आफ्नै नाममा, कतिले परिवारको सदस्यको नाउँमा, कसैले विभिन्न मन्दिरहरुको नाउँमा कसम खाने गर्दथे अनि परमेश्वरको नाउँमा खाएको कसम चाहिँ जसरी नि पूरा गर्नेुपर्ने तर सानातीना नाउँमा खाएको कसम चाहिँ त्यति महत्वको नहुने मानिसिकता थियो। वास्तवमा कसको नाउँमा कसम खाएको हो भन्नेमा हैन तर हामी कत्तिको सत्य बोल्छौँ भन्ने कुरा चाहीँ महत्वपूर्ण रहन्छ।  किनकि स्वर्ग परमेश्वरको हो, पृथ्वी परमेश्वरले नै बनाउनुभएको हो र यो शरिर पनि हाम्रो स्वामित्वमा छैन यो त उहाँकै स्वामित्वमा छ भने के का नाममा कसम खाने त, यो कसम खानु हृँदैन। सत्य बोल्ने व्यक्तिले कसैको नाउँमा सपथा खाइरहनु पदैन। किनकि सत्य बोल्नेको लागि हो वा होइन भन्नु नै पर्याप्त हुन्छ।

यहूदी व्यवःथाअनुसार, जसले शपथ खायो अथवा किरिया हाल्यो, त्यसलाई शपथ पूरा गर्न एकदम कर लाग्थ्यो. तैपनि यहूदीहरूको सोचाइअनुसार, जुन शपथमा परमेश्वरको नाम उच्चारण गरिएको थिएन, त्यो शपथ पूरा गर्न आवश्यक थिएन। त्यसकारण, आफ्ना शपथहरू पूरा गर्नु नपरोस् भनेर यहूदीहरूले स्वर्गको नाउँमा, पृथ्वीको नाउँमा, यरूशलेमको नाउँमा शपथ खान्थे। तर ती सबै कुरा परमेश्वरका कुरा नै हुन्। स्वर्ग परमेश्वरको सिंहासन हो पृथ्वी परमेश्वरको पाउदान हो यरूशलेमचाहिँ महाराजाको (अथवा परमेश्वरको) शहर हो (यशैया ६६:१, प्रेरित ७:४९)। अरु कुराका नाउँमा र परमेश्वरको नाउँमा शपथ खानु उही कुरा हो। त्यसकारण ‘‘शपथ खाँदै नखाओ’’ भनेर येशूले सिकाउनुभयो। शपथ खानु आवश्यक छैन। जसको नाउँमा शपथ खाए पनि सबै शपथहरू पूरा गर्नुपर्छ। विनाशपथ पनि मानिसले आफ्नो हरेक प्रतिज्ञा र हरेक वचन पूरा गर्नुपर्छ। त्यसकारण शपथ खानु बिलकुल अनावश्यक छ। शपथको मतलब नै छैन।

यहूदीहरूले कहिलेकहीँ आफ्नै शिरको नाउँमा शपथ खान्थे। तर त्यो झन् बेमतलब थियो। मानिसले कुनै पनि कुराको नाउँमा शपथ खानु व्यर्थ छ, किनभने कुनै शपथ पक्का बनाउनलाई मानिसको केही शक्ति छैन। त्यसले आफ्नो केशको रङ्ग पनि बदली गर्न सक्दैन। ‘‘हो’’ भनेर भन्यौं भने, हाम्रो अर्थ ‘‘हो’’ भनेर होस्। ‘‘होइन’’ भनेर भन्यौं भने, हाम्रो अर्थ ‘‘होइन’’ भनेर होस्। त्यसमा कुनै शपथ खाने कुरा थप्नुपर्दैन। हामीले नवौँ आज्ञा मान्नुपर्छ, झूटो गवाही नदिनू (प्रस्थान २०:१६)।

धेरैजसो आफ्नो साक्षी झूटो छ भन्ने कुरा लुकाउनलाई मानिसहरू शपथ खान्छन्। सत्य बोलेका छौं भने, हामीले कुनै किसिमको शपथ खानुपर्दैन। शपथ– हरूचाहिँ शैतानका उपाय र जुक्तहरू मात्र हुन् (याकूब ५:१२)। हामीले हो लाई हो र होइन लाई होइन भन्नु पर्छ तर झुट बोल्नाले परमेश्वरसँगको सम्बन्ध बिग्रिन्छ, झुट बोलेकै कारण दाम्पत्य जीवनमा खटपट हुन जान्छ, साथीभाइहरु टाढिन्छन्, झुट बोल्नेको मन जहिल्यै अशान्त र आक्रान्त हुन्छ। किनकि एउटो झुट लुकाउन अरु थुप्रै झुटहरु बोल्नुपर्ने हुन्छ। जति झुट बोलेर लुकाउन खोजे पनि आखिर त्यो झुटो धेरै समय टिक्न सक्दैन तर सत्य कहिल्यै पनि डग्दैन।

झुट बोल्नु परमेश्वरको आचरण र चरित्र विपरितको कुरा हो। बाइबलमा धेरै ठाउँमा परमेश्वरलाई सत्यको परमेश्वर भनेर सम्बोधन गरिएको पाइन्छ। परमेश्वर जहिले पनि सत्यको पक्षमा हुनुहुन्छ। सत्यले हामीलाई स्थिर गराउँछ। तर सत्यता प्रेममा बोल्नुपर्छ (एफिसि ४:१५)। कोही मानिसहरूले विनाप्रेम सत्य मात्र बोल्दछन्। कतिले ठान्छन् कि सत्यता त्यति आवश्यक छैन त्यसभन्दा त प्रेम पो मुख्य कुरा हो। तर दुवै, सत्यता र प्रेम बराबरै आवश्यक छन्। प्रेमविनाको सत्यता कडा हुन्छ सत्यताविनाको प्रेम लुलो हुन्छ। यदि मण्डलीमा सत्यता र प्रेम दुवै छन् भने, त्यो मण्डली र त्यसका सदस्यहरू ख्रीष्टसम्मै बढ्दैजानेछन्। कोही मानिसहरू विचार गर्छन् कि अरूलाई दुःख नहोस् भनेर अलि–अलि झूट बोल्नु बेला–बेलामा आवश्यक हुन्छ। तर यो विचार ठीक छैन। दुःखको कुराको बारेमा केही नबोले पनि हुन्छ, तर झूट बोल्नुचाहिँ कहिल्यै हुँदैन। नत्रता येशूले झुट बोलिदिनुभएको भए उहाँ क्रुसमा टाँगिनु नै पर्दैनथियो नि। त्यसो नभएको भए परमेश्वरको योजना पुरा हुने थिएन। फैरि उहाँ कसरी मुक्तिदाता बन्नुहुने थियो र ? त्यसैले झुट बोलेर संसारमै रम्ने हो कि सत्य बोलेर जीवीत परमेश्वरको आज्ञा मान्दै स्वर्गतिर नजर लगाउने हो?

इमान्दारितामा जिउने मान्छे, सत्यतामा जिउने मान्छे कहिल्यै पनि र कुनै पनि घटना परिस्थीतिमा सम्झौता गर्दैन जसरी नयाँ पुरानो वा खुम्चिएको नोटको मूल्य एउटै हुन्छ घटिबढी हुँदैन तर परिस्थितीमा चिप्लीएर झुटो बोल्ने मानिस जोड्न नमिल्ने गरि च्यातिएको (नक्कली) नोट जस्तै हो त्यो कुन कम मुल्यमा पनि चल्दैन। सबै झूटहरू, सबभन्दा साना झूटहरू पनि शैतानको तर्फबाट आउँछन्। त्यो– चाहिँ झूटको पिता हो, र झूट बोल्नेहरूको पनि पिता हो (यूहन्ना ८:४४)। जसरी परमेश्वरमा कुनै झूटो कुरा हुँदैन, त्यसरी नै शैतानमा कुनै पनि सत्य कुरा हुँदैन। हामीमाथि आक्रमण गर्ने शैतानको मुख्य उपाय र तरीका हामीलाई झुक्क्याउनु नै हो त्यसले दुष्टलाई धर्मी र धर्मीलाई दुष्ट भन्छ। त्यसले झूटलाई सत्य र सत्यलाई झूट भन्दछ। त्यसले मानिसहरूलाई कमारो बनाउँछ र तिनीहरूलाई स्वतन्त्र भन्छ!

झुट बोल्ने मानिस त शैतानको सन्तान हो। यदि हामी परमेश्वरलाइ विश्वास गर्दछौँ भने हामी परमेश्वरको सन्तान हुँदछौँ र हामी परमेश्वरको सन्तान हौं भने हामीमा परमेश्वरको गुन देखिनुपर्छ। त्यसो हो भने कहिल्यै झुट नबोल्नुहुने परमेश्वरको सन्तान हामी चाहँ किन झुट बोलिरहेका छौँ त? के बाख्राको सन्तान भेडा जस्तो ऊन भएको हुन्छ र ? के बाघको सन्तान हरिणको जस्तो घाँसपात खाने हुन्छ? के कुखुराको सन्तान हाँस जस्तो पानीमा पौडिने हुन्छ र? हुँदैन। त्यसो हो भने झुट बोल्ने मानिसहरु कसका सन्तान हुनुपर्छ ? त्यसैले हामी परमेश्वरको सन्तान होँ भन्ने लायकको जीवन जिउने हो भने हाम्रो बोली सत्य हनुपर्छ, परमेश्वरको गुण, चरित्र र आचरण अनुसरन गर्नु पर्दछ। होइन भने झुटलाई अँगाल्ने त शैतानको सन्तान हुँदछ किनकी शैतान झुटको पिता हो। त्यसैले हामीले चाहीँ हो लाई हो, होइनलाई होइन, ठीकलाई ठीक, बेठीकलाई वेठीक भन्नुपर्छ, त्यो भन्दा बढाइचढाइ गरेर वा कुरा घुमाएर र लुकाएर बोल्न आवश्यकै छैन। किनकि सत्यको परमेश्वरलाई पछ्उयानुको मतलव सत्यतामा जिउनु पनि हो।

“परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ” हितोपदेश १२:२२। झुटो बोल्नेहरु स्वर्गको हकदार हुन सक्दैनन्, गन्धक र आगो दन्कने कुण्डमा जलेर दोस्रो मृत्यू चाख्नेछन् (प्रकाश २१:८)। यो अनुग्रहको समय हो, विश्वास गरेपछि सिधै स्वर्ग पुगिन्छ भन्ने भ्रम पालेर बसेकाहरुले यो महत्वपूर्ण अगमवाणी पदले जवाफ विहिन हुँदछन्। यहाँ लेखिएको छ कि अविश्वासी र मुर्तीपुजकहरु मात्रै होइन नरक जाने तर हत्याराहरु, व्याभिचारीहरु र झुट बोल्नेहरु सबैको हालत उही हुनेछ। परमेश्वरले तपाइलाई सत्यतामा जिउने समर्पणताको जीवन जिउन सहायता गर्नुभएको होस्। जय मसीह।

rjshbhjl@gmail.com

facebook.com/rajesh.bhujel2

राजेश भुजेल

 

Facebook Comments

Category: Bible Study & Teaching