स्वर्गीय घरमा प्रार्थनाकी योद्धा सोनी मसिही

[ 0 ] July 9, 2018 |

 

नेपाली चर्च इतिहासकै अग्रणी विश्वासीमध्येकी एक व्यक्ति सोनी सिंहको जन्म सन् १९२२ (१९७७ साल जेठ १३ गते) मा दार्जिलिङ सहरमा भएको थियो। सोनी सिंहले सानै छँदा बाबाआमा गुमाउनुभएको थियो। उहाँ गोरखपुरमा अभिभावकविहीन बालबालिकाको स्कुलमा हुर्कनुभयो। उहाँको बाल्यकाल, शिक्षा र हुकाई भारतको गोरखपुरमा भयो। त्यहाँ रहँदा नै उहाँले प्रभु येशूलाई पाउनुभयो र येशूलाई आप्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्नुभयो। उहाँले ख्रीष्यिटन मिसनरीहरूद्वारा सञ्चालित छात्रावासमा रहेर पठनपाठन गर्ने र हुर्कने मौका पाउनुभयो। यसै क्रममा उहाँले २० वर्षको उमेरमा बप्तिस्मा लिनुभयो।

सन् १९५६ मा उहाँको पवित्र विवाह दाऊद मसिहीसँग भयो। दाऊद मसिहीसँग उहाँको चिनजान गराउने दुई जना मिसनरीहरू— मिस अयेंजर र सिस्टर ठिल्दा हुनुहुन्थ्यो। दाऊद मसिही सिस्टर ठिल्दा र हेलेनसँग काम गर्नुहुन्थ्यो। विवाहपछि उहाँलाई सोनी मसिही भनेर चिन्न थाले।

सोनी मसिहीको जीवनयात्रा पास्टर तथा प्रचारक दाऊद मसिहीसँगै उहाँकी जीवन संगिनीका रूपमा निरन्तर अघि बढ्दै गयो। उहाँहरू भारत नेपाल सिमाना क्षेत्रमा रहँदा र नेपालबाट आवतजावत गर्ने क्रममा नेपालीहरूलाई सुसमाचार सुनाउनुहुन्थ्यो र नेपाल देशमा सुसमाचारको ढोका खोलियोस् र धेरैले प्रभुलाई चिन्न पाऊन् भनेर प्रार्थना गर्नुहुन्थ्यो। प्रभुले उहाँहरूको र अरू धेरै जनाको प्रार्थना सुन्नुभयो र नेपालमा सुसमाचारको ढोका खोलिदिनुभयो। त्यस बेलाका मिसनरीहरू, पाष्टर डेबिड मुखिया, दाऊद मसिही, बुद्धिसागर गौतम र फिलिप गुरुङ लगायतको समूह सुसमाचार र मिसन कार्यको थालनी गर्न नेपाल प्रवेश गरेर कास्की पोखरामा आप्mनो कामको थालनी गर्नुभयो। केही मिसनरी र सुरुका नेपाली विश्वासीहरूको झुण्ड जसलाई नेपाल इभान्जेलिस्टिक ब्यान्ड भनिन्थ्यो र यो पछि आई.एन.एफ. भनेर चिनिन थाल्यो। यसै कार्यको विस्तारित रूपमा साइनिङ अस्पताल र पछि हरियो खर्क अस्पताल सुरु भयो। साथसाथै सुसमाचार सुनेर विश्वास गरेकाहरू जम्मा भएर त्यस समयको संगति सुरु भयो, जुन आज रामघाट चर्च भनेर सबैले चिन्दछन्।

विवाहपछि मसिही दम्पती नौतनवामा एक वर्षजति बसेर पोखरा आउनुभयो। पोखरा आएपछि उहाँहरू रामघाटमै बस्नुभयो। दाऊद मसिहीले तत्कालीन रामघाट चर्चका दोस्रो पास्टरको रूपमा केही वर्ष सेवा गर्नुभयो। सोनी मसिहीले दाऊदको सेवकाइका साथै चर्चका दिदीबहिनीहरूको बीचमा सक्दो सेवकाइ गर्नुभयो।

केही समय पछि उहाँहरू सेवकाइका लागि पोखराबाट गोरखाको आँपपीपल जानुभयो। त्यहाँ पनि दाऊद मसिही पास्टरीय सेवाका साथै सुसमाचार प्रचारकको भूमिका निभाउनुभयो र सोनी मसिहीले पनि गुरुआमाको भूमिका निभाउनुभयो। उहाँहरू त्यहाँ करिब ९÷१० वर्ष बस्नुभयो।

पोखरा फर्केपछि सोनी मसिहीले साइनिङ अस्पतालमा ८÷९ वर्ष सेवा गर्नुभयो र आई.एन.एफ.मा पनि ८ वर्ष जति कर्मचारीको रूपमा काम गर्नुभयो। सोनी मसिही हरियोखर्कमा दिदीबहिनीहरूको हस्तकला र सिलाइबुनाइ कार्यको रेखदेख गर्ने इन्चार्जको रूपमा हुनुहुन्थ्यो।

सोनी मसिही भारतीय भूमिमा हुर्किएको कारण हिन्दी मात्र जान्नुहुन्थ्यो। नेपाली भाषा नजानेको कारण सुरुसुरुमा एकदम कम बोल्नुहुन्थ्यो। मानिसहरू चाहिँ उहाँलाई रिसाएको जस्तो, ठूलो भएको जस्तो ठान्दारहेछन्। दानमित शर्मा सोनी मसिहीलाई संक्षेपमा यस्तो व्यक्ति भन्न चाहनुहुन्छ— प्रेमिलो, सहनशील, आनन्दित। वास्त ागर्ने, दिने मन भएकी, प्रार्थना गर्ने जीवन भएकी।

भाषाकै कुरा गर्दा दानिमित शर्माले सम्झनुभएको एउटा घटना यस्तो छ— सोनी मसिही साइनिङ हस्पिटलको ओपिडीमा कार्ड तयार गर्ने काम गर्नुहुन्थ्यो। एक जना बिरामीलाई उहाँले भन्नुभएछ— “यो कार्ड लिएर पर्सि आउनू।” तर त्यो मान्छेले त फर्सी पो लिएर आएछ। भएछ के भने उहाँको लवजले पर्सि आउनू भनेको त फर्सी ल्याउनू भनेको बुझिएछ।

पास्टर दाऊद मसिही सुसमाचार प्रचारक र विश्वासीहरूलाई भेटघाट गरेर उत्साह प्रदान गर्ने व्यक्ति हुनुभएको हुँदा उहाँ धेरै यात्रा गरिरहनुहुन्थ्यो। सुसमाचार प्रचार गरेकै कारण दाऊद कतिपटक पुलिसहरूले पक्रेर थानामा समेत पर्नुहुन्थ्यो। सोनी मसिही भने श्रीमान् दाऊदको सेवकाइ र सुसमाचारको निम्ति निरन्तर प्रार्थना गर्नुहुन्थ्यो र अरू दिदीबहिनीहरूलाई पनि समेटेर नियमित प्रार्थना चलाउनुहुन्थ्यो। सकेसम्म सबै मण्डलीहरू र देशभरका विश्वासीहरूका लागि प्रार्थना गर्नुहुन्थ्यो।

पक्षाघात (प्यारालाइसिस) का कारण दाऊद मसिहीको शरीरको एक हर राम्रोसँग चल्दैनथ्यो। तापनि दाऊद नेपालको पूर्वदेखि पश्चिमसम्म घुमेर सुसमाचार प्रचार गर्नुहुन्थ्यो र छरिएर बसेका नेपाली विश्वासीहरूलाई भेटघाट गरेर संगति दिनुहुन्थ्यो, उत्साह दिनुहुन्थ्यो। त्यतिबेला अहिले जस्तो यातायात सहज थिएन, धेरै ठाउँमा पैदल यात्रा गर्नुपथ्योृ। त्यसकारण दाऊद घरबाट सेवकाइका लागि निस्केपछि धेरै दिनपछि मात्र घर फर्कनुहुन्थ्यो, कहिले त महिनौं लाग्थ्यो। सोनी मसिहीले घर परिवार सम्हाल्नुहुन्थ्यो र श्रीमान्को सेवकाइको लागि खुरुन्धार प्रार्थना गरिरहनुहुन्थ्यो।

प्रचारक रेशमराज पौडेल विगततर्फ फर्कनुहुन्छ— “सुसमाचारमा जाने बेलामा सोनी मसिही, सीता पौडेल, दाऊद दाजु र म आफैं प्रार्थनाको लागि आँखा बन्द गथ्र्यौं। दाऊदको प्रार्थना यस्तो हुन्थ्यो, “हे प्रभु, तपाईंलाई थाहा छ लाखौंलाख आत्मा मुक्ति नपाई मर्दै छन्। हामी प्रचारमा दुई भाइ जाँदै छौं। हामीलाई फर्काई ल्याउनुहोस्। यदि यहाँ फर्काई ल्याउनुहुन्न भने पनि हामी जान्छौं। हुन सक्छ जेलमा पर्छौं, हुन सक्छ कसैले मार्छ, हे प्रभु त्यसो भए पनि हामी तपाईंको सुसमाचारको लागि तयार छौं।” श्रीमती सीता पौडेल सम्झनुहुन्छ— “दाउद दाजु र मेरा श्रीमान् सुसमाचार प्रचारका लागि निस्कनुहुन्थ्यो। उहाँहरूको प्रचार भ्रमण दुई तीन महिना त सामान्य नै थियो। उहाँहरू बाहिर रहने समयमा म र सोनी भाउजूले केही खबर पाउँदैनथ्यौं, कारण सञ्चारको सुविधा हुलाक बाहेक अरू थिएन, तापनि हामी धैर्य गथ्र्यौं, श्रीमान्हरू प्रभुको सुसमाचारको लागि जानुभएको छ भन्ने कुरा मात्र मनमा आउँथ्यो।”

कतिपटक घरमा खानाको लागि समस्या हुन्थ्यो, आर्थिक समस्या हुन्थ्यो तापनि श्रीमती सोनी मसिही परमेश्वरमा भरोसा गरेर बस्नुहुन्थ्यो। परमेश्वरको सेवाका लागि जानुभएको हो भन्ने बुझेर सोनी मसिहीले श्रीमान्सँग कहिल्यै घरमा किन ढिलो आएको वा घरमा आर्थिक समस्या पर्यो भनेर गनगन गर्नुभएन। बरु उहाँले श्रीमान् दाऊदलाई निरन्तर उत्साह दिइरहनुभयो।

पास्टर डेबिड मुखिया र प्रेमी गुरुङलाई सोनी मसिही आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्थ्यो। सुरुका दिनमा पास्टर मुखियाले दाऊदलाई सुसमाचार प्रचारमा लैजानुहुन्थ्यो। प्रभुमा भर्खरमात्र आएको हुनाले दाऊद परिपक्व हुनुपर्ने थियो। पास्टर डेबिडको सहायताले दाऊद परिपक्व हुनुभयो। यसको प्रभावले सोनी मसिहीको जीवनमा पनि परिपक्वता ल्यायो।

प्रेमी गुरुङ सोनी मसिहीलाई बैनी भन्नुहुन्थ्यो। उहाँ बेलाबेलामा सम्झाइरहनुहुन्थ्यो —“प्रभुको सेवामा निरन्तर अघि बढ्नुपर्छ, तिम्रो श्रीमान्ले जसरी प्रभुको निम्ति दुःख भोगेर उहाँको सेवा गर्नुभएको छ, तिमी पनि त्यसरी नै प्रभुको सेवामा समर्पित बन्नुपर्छ।” साँच्चै प्रेमी गुरुङलाई सोनी मसिही आफ्नो जीवनको जग बन्न रुचाउनुहुन्थ्यो। प्रेमी गुरुङसँगको भेटलाई उहाँ एक सज्जन आमा फेला पारेको रूपमा वर्णन गर्नुहुन्थ्यो।

सोनी मसिहीलाई प्रेरणा दिने व्यक्तिमा पास्टर अतन छिरिङ लामा र शर्मिला लामालाई सम्झनुहुन्थ्यो। श्रीमती शर्मिला लामाले साहस दिँदै भन्नुहुन्थ्यो— दाइ (दाऊद) प्रभुको सेवामा धेरै बाहिरबाहिर यात्रा गर्नेहुनाले उहाँलाई अलि बढी वास्ता पुर्याउनुपर्छ।”

सोनी मसिही वर्तमान पुस्ताका बारेमा भन्ने गर्नुहुन्थ्यो— “हामी आफैं पनि उनीहरूको अगाडि एक असल नमुना बनेर जिउनुपर्छ र उनीहरूको जीवनमा ठक्कर खाने खालको कुरा हामीमा हुनुहुँदैन। हाम्रा खराब चालद्वारा उनीहरूलाई संसारतिर धकेल्नु हुँदैन। हाम्रो जीवनमा उनीहरूले असल कामहरू देख्न पाऊन्। उनीहरूले पुरानो स्वभाव, जुन कुराले उनीहरूलाई बाधा दिइराखेको छ, त्यसलाई छाडेर, पश्चात्ताप गरेर प्रभुमा हिँड्ने,वचन अध्ययन गर्ने, प्रार्थना गर्ने गरेर अघि बढ्नपुर्छ।”

नयाँगाउँ चर्चका पास्टर ग्रीष्म पराजुली सोनी मसिहीलाई आत्मिकी अभिभावक, परमेश्वरलाई अति नै प्रेम गर्ने नम्र व्यक्ति, उमेरको मतलब नगरी मण्डलीका अगुवाहरूलाई साह्रै आदर गर्ने व्यक्तिका रूपमा सम्झनुहुन्छ।

सन् १९८७ (२०४४ साल) मा दाऊद मसिही, सोनी मसिही, रेशमराज पौडेल, ग्रीष्म पराजुली, स्टिफनस गुरुङ, मोशा मिया लगायतका व्यक्तिहरू मिलेर नयाँगाउँमा चर्च सुरु भयो। त्यतिबेला उहाँहरू १५÷१६ जना मात्र हुनुहुन्थ्यो। परमेश्वरले आशिष दिनुभयो र आज नयाँगाउँ चर्चमा लगभग १,००० जना सदस्यहरू छन्।

उमेरसँगै शारीरिक रूपमा कमजोर हुँदै गए पनि दिदीबहिनी संगति, प्रार्थना संगति र चर्चको अगुवापनमा सल्लाहकारका रूपमा सक्रिय हुनुहुन्थ्यो। ९० नाघिसकेपछि पनि आफू त्यसरी सक्रिय हुनु पाउनुमा परमेश्वरको आशिष् र उहाँको अनुग्रह हो भनेर उहाँ भन्नुहुन्थ्यो। नेपालमा परमेश्वरको राज्य निरन्तर बढेको देख्दा औधी खुसी हुनुहुने सोनी मसिही २०७५ असार ५ गते ९८ वर्षको उमेरमा स्वर्गीय घरमा प्रस्थान गर्नुभयो। उहाँ निधन हुने हप्ताको अघिल्लो शनिवार राम्रै अवस्थामा चर्च संगतिमा जानुभएको थियो। राम्रै अवस्थामा साँझपख एकाएक अस्वस्थ भएर गण्डकी अस्पताल लगी आईसीयुमा उपचार गर्दै गर्दा सबैलाई आश्चर्यमा पार्दै उहाँले संसार छाड्नुभयो। हाल उहाँको परिवारमा १ छोरा, १ छोरी, १ जवाइँ, ५ जना नातिनातिना, ३ जना नातिनी जवाइँ र १ जना पनातिनी छन्।

 

सन्दर्भ स्रोत

पोखरेली ख्रीष्टिय समुदाय स्मारिका २०७४

नेपाली इसाई जगत्की पहिलो गुरुआमा, पोखरेली दिदीबहिनी प्रार्थना संगति २०७०

दाऊद मसिही स्मृति ग्रन्थ, नयाँगाउँ चर्च, २०५९

सोनी सिंह मसिहीको अन्त्यष्टि कार्यक्रम, नयाँगाउँ चर्च २०७५ असार ६

Facebook Comments

Category: Story