मकवानपुर इसाई आवाज र आर एल एफ नेपालको संयुक्तमा आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

[ 0 ] May 23, 2018 |

गत बैशाख ३१ गते मकवानपुर इसाई आवाज र रिलीजियस् लिबर्टी फोरम नेपालको संयुक्त आयोजनामा होटेल अोशिन हेटौंडामा नयाँ मुलुकी अपराध (संहिता) ऐन, २०७४ को सन्दर्भमा “धर्म तथा आस्थाको स्वतन्त्रता” र अल्पसंख्यक धार्मिक समुदायमाथि सुनियोजितरूपमा थोपरिइन लागेको सतावटबारे एक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर इसाई आवाजका अध्यक्ष पा. रामकृष्ण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हेटौंडा नगर र वरपरका ५२ जना पाष्टर अगुवाहरूको सक्रिय उपस्थिति रहेको थियो ।

दिउँसो २ बजेदेखि करिब ३ घण्टासम्म चलेको सो अन्तरक्रिया कार्यक्रममा कार्यपत्रसहित रिलिजियस लिबर्टी फोरम नेपालका अभियान संयोजक तथा जनजागरण पार्टी नेपालको महसचिव बि.पी. खनालले सहजीकरण गर्दै सहभागीहरूबाट सोधिएका प्रश्नहरूको जवाफसमेत दिनुभएको थियोे ।मुलुकले लामो संघर्षमार्फत ल्याइएको धर्मनिरपेक्षताको अवमूल्यन हुनेगरी आएको मुलुकी अपराध संहिता ऐन २०७४ ले अल्पसंख्यक धार्मिक समुदायलाई विभेद गर्न सक्ने प्रष्ट पार्नुभयो। मुलुकका केही भागहरूमा भरखरै मण्डलीमाथि गरिएको आक्रमण यसको उदाहरण हो खनालले भन्नुभयो।

राज्यले नागरिक तथा राजनीतिक अधिकासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र र मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत थुप्रै सन्धी-अभिसन्धीहरूमा गरेको हस्ताक्षरबाट पछि हटेको कुरा उहाँले बताउनुभयो। अल्पसंख्यक धार्मिक समुदायहरूलाई निरुत्साहित गर्ने यो मुलुकी ऐनले देशमा धार्मिक सद्भाव भड्काउने, धार्मिक एवं जातीय द्वन्द निम्त्याउने कुरामा सम्बन्धित पक्षले समयमै ध्यान नपुर्‍याए मुलुक भयानक समस्यातर्फ धकेलिने कुरा पनि सहजकर्ताले औंलाउनु भयो। यसै क्रममा अल्पसंख्यक धार्मिक समुदाय र खासगरी नेपाली ख्रीष्टियन समुदायका नियमित धार्मिक गतिविधिहरूमा प्रत्यक्षतः अंकुश लगाउने खुरन्धार प्रयत्न भैरहेको अवस्थामा मण्डलीका अगुवाहरूले अत्यन्तै सतर्कतासाथ काम गर्नुपर्नेमा जोड दिँदै देशमा धर्म तथा आस्थाको स्वतन्त्रता सुनिश्चित गराउने सम्बन्धमा क्रियाशील रिलिजीयस लिबर्टी फोरम नेपालको भुमिकाबारे पनि सहजकर्ताले प्रष्ट पार्नुभयो।

समाचारदाता: बिरू दोङ, हेटौंडा

 

Facebook Comments

Category: News & Events, socio-political