मान्छेलाई मान्छे नै रहन दिऔं

[ 0 ] February 14, 2018 |
Bhuvan Devkota

Bhuvan Devkota

-भुवन देवकोटा
विज्ञान, प्रविधि र आर्थिक उन्नतिका नाममा वर्तमान मानव समाज यति अगाडि बढेको छ कि त्यसको अगुवाइ गर्नेहरूले आफूलाई सर्वशक्तिमान र ईश्वरतुल्य मान्न थालेका छन् । येशूलाई नचिन्ने कति सम्प्रदायमा मानिसलाई ईश्वर मानेर पूजा गर्ने चलन साधारण कुरा हो । आफैंलाई पुजिएको मान्ने चर्चित मान्छेहरू र त अन्धाहरू हुन् । अन्धाले अन्धालाई डोर्यायो भने दुवै खाल्डोमा पर्नेछन् । तर त्योभन्दा पनि दुःखको कुरा यस्ता व्यक्ति र प्रवृत्तिहरू ख्रीष्टियन समाजभित्र र मण्डलीमा पनि देखा पर्न थालेका छन् । मान्छेले आफैंलाई येशूको स्थानमा देख्न र राख्न खोजेका छन् । बाबेलको धरहरामा गरेझैं परमेश्वरलाई त्यागेर आफ्नै नाम राख्ने प्रयासमा समय, शक्ति र पैसा खर्च गर्न लागेका छन् ।
हो, भौतिक परिवर्तन र सामाजिक क्रान्तिको अगुवाइ गर्नेहरूले यो संसारमा कुनै न कुनै किसिमको परिवर्तन अवश्य नै गरेका छन् । मानव जीवनलाई उपयोगी र सहज बनाउनका लागि भएका यस्ता परिवर्तनहरू प्रशंसाका लागि योग्य पनि हुन् । तर सारा संसारका रचयिता परमेश्वरका अगाडि भने यस्ता कुरा नगन्य नै हुन् । यो कुरा बिर्सेर आज ख्रीष्टियन समुदायभित्रैका केही व्यक्तिहरू कुनै परिवर्तनका लागि अगुवा र हिस्सा बन्न पुगेकामा आफूलाई ईश्वरतुल्य मान्दछन् र ख्रीष्टको समान सोच्दछन् भने योभन्दा घृणित कुरा अरू हुन सक्दैन ।
यो कुरा साँचो हो कि मानिसहरू व्यक्तिगत र संस्थागत हिसाबले विभिन्न कुरामा सफल भइरहेका छन्, आर्थिक उन्नति गरिरहेका छन् । भौतिक जीवनमा ठूलो प्रगति गरिरहेका छन् । यो खुसीको कुरा हुन सक्छ, हाम्रो लागि गौरवको कुरा पनि हो । तर यसको श्रेय जब हामीले परमेश्वरलाई दिन बिर्सेर आफैंले लिन खोज्दछौं, तब हाम्रो पतनको दिन सुरु हुन्छ । किनभने हाम्रो जति पनि प्रगति भएको छ, त्यो सबै प्रभुको अनुग्रहकै कारण भएको हो । परमेश्वरले नै मानिसलाई घुरानबाट उठाएर सिंहासनमा बसाल्नुभएको हो । मानिसले आफ्नो कानले नसुकेका र आँखाले नदेखेका कुरा आज प्राप्त गरिरहेको छ । यो सबै परमेश्वरले हामीलाई प्रेम गरेर तयार पार्नुभएको योजना हो । परमेश्वरको योजनाअनुसार नै आजको भौतिक विकास सम्भव भएको हो । तर जब विज्ञानमा नाममा संसारमा भइरहेका भौतिक विकासको श्रेय मानिसले आफूलाई नै दिन खोज्दछ, त्यो हामी ख्रीष्टका विश्वासहरूलाई दुर्भाग्यको कुरा हुन पुग्दछ । त्यसैले हामीले यी सबै विकास र प्रगतिका लागि प्रभुलाई धन्यवाद दिनै पर्दछ । र, उहाँको महिमा गर्नै पर्दछ ।
ख्रीष्टियन समुदायभित्र समेत विकास भइरहेको यो नमिठो कुराप्रति हामी सजक बन्नै पर्दछ । कुनै पनि किसिमले सफल भएका वा माथि पुगेका मानिसलाई आफैंमा प्रभुको स्थान लिने रहर जाग्नु ठीक होइन भन्ने कुरा हामीले सिकाउनै पर्दछ । यसरी आफूलाई येशू समान ठान्नु र परमेश्वरको महिमा आफूले लिन खोज्नुले येशू ख्रीष्टको महिमा हुन सक्दैन । आफ्नो काममा भएका सम्पूर्ण सफलता र प्रगति श्रेय परमेश्वरलाई दिनुको सट्टा आफैंले लिने प्रयास गर्नु अज्ञानता र मुर्खतासिवाय केही हुन सक्दैन । येशूको सेवा गर्ने भनेर खुलेका संस्थाहरूको नाम पनि कतिले आफ्नैबाट राखेका छन्, त्यो मरणसिल मानिसले गरेको विद्रोहको परिणाम हो । प्रशंसा थाप्ने र आफैंलाई म यस्तो वा उस्तो भनेर घोषणा गर्ने वा आफ्ना आसेपासेलाई घोषणा गर्न लगाउनु अत्यन्तै ठूलो मूर्खता हो ।
कतिपय यस्ता मानिसहरू बाहिरी देखावटीका लागि परमेश्वरको महिमा होस् त भन्दछन्, तर व्यवहारमा आफैंलाई महिमा दिन चाहन्छन् । दुर्भाग्यको कुरा, यस्ता मानिसहरूलाई समाजका अन्य मानिसहरूले समेत गलत काम र महिमाको लागि प्रोत्साहन गरिरहेको पाइन्छ । यसरी प्रोत्साहन गर्नेहरूमा कसैको व्यक्तिगत स्वार्थ देखिन्छ भने कतिपय अज्ञानताका कारण यसो गरिरहेका हुन्छन् । यी दुवै थरिका कामहरू परमेश्वरको दृष्टिमा घीनलाग्दो काम हो । परमेश्वरका जनहरूले यी कुरा गर्न सुहाउँदैन । अर्थात् हामी सन्तहरूको बीचमा यी कुरा हुनुहुँदैन । किनभने हामी ख्रीष्टियनहरूले सबै कामको महिमा ख्रीष्टलाई नै दिनुपर्दछ । याद राखौं, सबै किसिमका महिमा ख्रीष्टले नै पाउनुपर्छ । कुनै पनि व्यक्ति, समाज, पद, स्रोत–साधन, प्रविधि अथवा दाताले होइन । यी सबै त परमेश्वरले परिचालन गर्नुभएका साधन मात्र हुन्, त्यसमा तपाईं हामी पनि पर्दछौं ।
मानिस नाकको प्वालमा सास हुने प्राणी हो भनेर बाइबलले भन्दछ । साथै मानिस भरोसालायक छैन भनेर पनि बाइबलमा भनिएको छ । त्यस्तै मानिसको हृदय सबैभन्दा छली हो भनेर पनि बाइबलले हामीलाई सिकाएको छ । यो बाइबलको सत्यता हो । त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन । जब मरणशील मानिसले आफूलाई परमेश्वरको बाराबरी तुल्याउन खोज्दछ, त्यसपछि बिनाश आउँछ भनेर बाइबलले भनेको छ । यो कुरा सत्य पनि हो किनभने पतनको अगाडि जहिले पनि घमण्ड आउँछ । जब कुनै व्यक्तिले परमेश्वरलाई छोडेर आफैंमा घमण्ड गर्न थाल्दछ र आफ्नै महिमा गर्न थाल्दछ, त्यो मानिसको विनाश नजिकै छ । यहाँनेर विनाश भन्नाले यस्ता मानिस पत्तासाफ भएर जाने वा गरिब हुने भन्ने कुरा नहुन पनि सक्छ । तर उसको आत्मिक जीवन भत्किँदैजाने कुरा पनि निश्चित छ । उसको परमेश्वरसँगको सम्बन्ध, पिता र पुत्रको जस्तो हुनेछैन किनकि यस्ता मानिस परमेश्वरको बराबरी हुँ भन्ने किसिमको घमण्डमा बाँच्छन्, जुन कुरा परमेश्वरका जनहरूका लागि सुहाउँदैन किनभने परमेश्वर त सर्वशक्तिमान हुनुहुन्छ । आफूलाई सर्वोच्च महामहिमामय समान बनाउनु भनेको शैतानको पदमार्गतिर लाग्नु हो । उसले म भनेर आफैंलाई माथि उचाल्ने प्रयास गरेको थियो ।
मान्छे पनि सानोसानो ईश्वर हो वा हुन सक्छ भन्ने झुटो शिक्षा सिकाउने कति मानिसहरू छन् । केनेथ कोपल्याण्डजस्ता सुसमाचारले भौतिक सम्पन्नता ल्याउनैपर्छ भनेर सिकाउने मानिसहरूले यस्ता कुरा सिकाएका छन् । अदनको बगैँचामा शैतानले हव्वालाई दिएको अफर यही हो । तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ भनेर शैतानले भनेको थियो ।
हामी उहाँको अनुग्रहले बचाइएका पापीहरू मात्रै हौं । ख्रीष्टको अनुग्रहमा मात्र हामी आफ्नो जीवनमा खडा हुन सक्छौं । ख्रीष्टको अनुग्रहमा रहेर मात्र हामी परमेश्वरमा जीवित रहन सक्छौं । ख्रीष्टको अनुग्रहले मात्र हामीलाई नयाँ जीवन दिन्छ । ख्रीष्टको अनुग्रहले मात्र हामी नयाँ जीवनको आशा र भरोसा प्राप्त गर्न सक्छौं, अरू कुराले होइन । त्यसैले कसैलाई पनि देवत्वकरण नगरौं ।

Facebook Comments

Category: Articles