शुक्रवार, सेप्टेम्बर २३, असोज ७
‘मरियम र हारून मोशाको विरुद्धमा बोल्न लागे।’ —गन्ती १२:१
स्थिर रहिरहने शक्तिले पारिवारिक विरोधमाथि विजय प्राप्त गर्छ। जब मोशाकी दिदी मरियम र उनका दाज्यू हारूनले परमेश्वरसँग उनको सम्बन्धको बारेमा गुनासो गरे, तिनीहरूले विरोध गरे तापनि मोशा भद्र र विनम्र रहे। ‘मर कि टिकिराख’ अर्थात् आफ्नो योजना त्याग्ने वा लागिपर्ने भन्ने चुनौतीको सामना गर्नुपर्दा, डेभिड लिभिङस्टोनले स्थिर रहिरहने शक्ति प्रदर्शन गरे। उनकी पत्नी मेरीले सधैँ गुनासो गर्दै र आलोचना गर्दै उनलाई यति धेरै समस्या खडा गरिदिइन् कि तिनले उनको जीवन कार्य नै प्रायः असम्भव बनाइदिइन्। उनीहरू बिचको तनाव यति गम्भीर भयो कि लिभिङस्टोनले तिनलाई बाह्र वर्षभन्दा लामो समयको लागि इंग्ल्याण्डमा रहेको घरमा पठाए, जुन अवधीमा उनले ख्रीष्टको लागि कष्ट भोगे, रगत बहाए र अन्त्यमा अफ्रिकामा मृत्यु वरण गरे। जब येशू उहाँ हुर्कनुभएको नासरथ शहरका मानिसहरूको सेवा गर्न आफ्नो घर जानुभयो, तिनीहरूमध्ये केहीले उहाँलाई भिरबाट झारिदिन खोजे। अनि उहाँका शिक्षा र आश्चर्यकर्महरू सुने र देखे तापनि उहाँका परिवारले उहाँलाई पागल ठाने। के त्यो कुराले उहाँलाई चोट पुर्यायो ? हो। तर त्यस कुराले आफूलाई रोक्न उहाँले अनुमति दिनुभएन। उहाँले भन्नुभयो ‘यदि कोही मकहाँ आउँछ, र आफ्ना बाबु, आमा, पत्नी छोराछोरीहरू र दाज्यू–भाइ, दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत् तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन … पहिले मूल्य हिसाब नगरी मेरोपछि नलाग’ (लूका १४:२६–२८)। तपाईंको परिवारले तपाईंको विरोध गर्दा, उनीहरूलाई प्रेम गर्नुहोस् र उनीहरूको लागि प्रार्थना गर्नुहोस्, कारण परमेश्वरले उनीहरूको हृदय परिवर्तन गर्न सक्नुहुन्छ। अनि उहाँले त्यसो नगर्नुभएसम्म, उहाँको सेवा गरिरहनुहोस्।
आत्मिक भोजनः१ कोरिन्थी १–३, मर्कूस १५:२१–३२, भजन १३, हितोपदेश २५:४–८
Discussion about this post