शुक्रवार, जुलाई २९, साउन १४
‘…हरेकले आ–आफ्नो छिमेकीसँग सत्य बोल।’ —एफिसी ४:२५
सत्य बोल्नु सरल जस्तो लाग्छ, तर यसको लागि तीन तहमा प्रतिबद्धताको खाँचो पर्छः
१) वचनमा वा बोलीमा। यदि तपाईं कुनै झुटो कुरा बोलेकोमा पक्राउ पर्नुभयो भने, यसले अरू मानिसहरूले तपाईंमा राखेको भरोसालाई नष्ट गर्छ। उदाहरणको लागि, कुनै पति वा पत्नीले पारिवारिक बजेट वा आयव्ययलाई दुरूपयोग नगरेको, वा मादक पदार्थ पिउने समस्या छैन भनी ढाँटेको छ भने, अन्त्यमा समस्या उत्पन्न हुन्छ। तर यदि एक–अर्काले ‘प्रेमसित सत्य बोल्छ’ भन्ने दुवै जनालाई थाहा छ भने, तिनीहरूको सम्बन्ध अझ बलियो हुन्छ अनि कुनै पनि समस्या पार गरेर टिकिरहन्छ (एफिसी ४:१५)।
२) व्यवहारमा वा काममा। ‘तिमीहरू थोरै कुरामा इमानदार भएनौ भने धेरै कुरामा पनि इमानदार हुनेछैनौ। यदि तिमीहरू सानो कुरामा बेइमान भयौ भने, ठूलो कुरामा पनि तिमीहरू इमानदार हुनेछैनौ’ (लूका १६:१०)। चेरिल रिचार्डसनले भनेकी छिन्, ‘एक वास्तविक जीवन जिउनको निम्ति इमानदारी प्रमुख कुरा हो।’ आफ्नो वचन पालन गरेर तपाईं इमानदार व्यक्ति कहलिनुहुन्छ। यसकारण, तपाईंले कुनै प्रतिबद्धता जनाउनुहुन्छ भने, त्यसलाई पूरा गर्नुहोस्— त्यसको लागि तपाईंले मूल्य चुकाउनुपरे तापनि, अनि तपाईंले त्योभन्दा उत्तम अवसर पाउनुभए तापनि।
३) यथार्थमा। सत्य कुरा बोल्नु किन यति महत्वपूर्ण छ ? किनकि तपाईंको जीवनको हरेक सम्बन्ध भरोसमा अडेको छ। तपाईंले सत्यपूर्वक व्यवहार गर्नुभएन भनेः
क) तपाईंले अरू मानिसहरूमाथिको प्रभाव र उनीहरूको आदर गुमाउनुहुनेछ।
ख) आफ्नो झूटो कुरा मानिसहरूले पत्ता लगाउलान् र पक्राउ परिएला भनेर तपाईं डरमा जिउनुहुनेछ। यसले तपाईंलाई असुरक्षित महसुस गराउनेछ र तपाईंलाई दुई तहमा जिउन बाध्य पार्नेछः एकातर्फ सार्वजनिक रूपमा एउटा छवी र अर्कोतर्फ व्यक्तिगत जीवनमा गोप्य संघर्ष।
ग) आफूले के भनेको थिएँ र कसलाई भनेको थिएँ भनेर तपाईं चिन्तित बन्नुहुनेछ।
घ) तपाईं यस्तो अवस्थामा पुग्नुहुनेछ जहाँ तपाईंले अरूमाथि भरोसा राख्न वा विश्वास गर्न सक्नुहुन्न, किनभने ‘तपाईंले आफ्नो जीवन जसरी जिउनुहुन्छ, त्यसरी नै आफ्नो छिमेकीको न्याय गर्नुहुन्छ।’
ङ) ‘सबैले झूट बोल्छन्’ भन्दै तपाईंले आफैंलाई असल अनुभव गराउनुहुन्छ। तर त्यस्तो सोचाइको समस्या के हो भने, तपाईंले पनि तिनीहरूमाथि भरोसा गर्न सक्नुहुन्न !
आत्मिक भोजनः एज्रा ६–८, मर्कूस १: ३५–४५, भजन ७८: १७–३१, हितोपदेश १९: २७–२९
Discussion about this post