हैसियत प्रतिनिधित्वको

[ 4 ] June 26, 2016 |
B. P. Khanal

B. P. Khanal

आजको सन्दर्भ

प्रारम्भिक सन्दर्भः हालै डा. के. बी. रोकायालगायत केही व्यक्तित्वहरूले आफूलाई ख्रीष्टियन समुदायको प्रतिनिधीका रूपमा उभ्याएर प्रतिगमनयुक्त अभिव्यक्ति सार्वजनिक गर्न थाल्नुभएको सन्दर्भलाई पृथक ढङ्गले सोच्न र विचारबिमर्स गर्न सहज होस् भनी मेरो पुस्तक “पृथक विचार” पहिल्यै प्रकाशित लेखलाई केही परिमार्जन गरी पुन प्रकाशित गरेको छु।

केही वर्षअघि एउटा झाँकी देखिएको थियोः पूर्वराजा ज्ञानेन्द्र शाहको कू’पछि बलजती वैधानिक तुल्याइएको जनाधारहीन कथित् सरकारले मनोनित गरेका स्थानीय निकायका पदाधिकारीहरूले पदभार ग्रहण गरेको शत्दैनिकी मनाइँदै थियो।  सो सरकारको सयदिन पुगेकै दिन आयोजित एउटा नियोजित उत्सवमा “काठमाडौँ उपत्यका ख्रीष्टियन समुदाय” को समेत सक्रिय सहभागीता दर्ता गराइएको रहेछ — त्यही नाउँमा एक टुकडी जुलुशले ‘राजावादी’ जयगान गाउँदै नगरपरिक्रमा गर्‍यो र त्यसमा ‘सम्पूर्ण ख्रीष्टियन समुदाय’ को प्रत्यक्ष सहभागीता छ भनेर प्रचार पनि गराइयो।

त्यस्तै किसिमका झाँकीहरू त्यसअघि र पछि पनि घरिघरि देखा पर्ने गर्छन्। मुलुकभर हजारौंको हत्या गर्ने अभियान चल्यो, माओवादी जनयुद्धको नाउँमा। अनि जनयुद्ध गर्ने वा त्यसलाई निःस्तेज गर्ने दुवै बहानामा दुवैखाले सेनाहरूले देशै आतड्ढित पारे र हजारौंले बिनाकारण ज्यान गुमाए, लाखौंले हठात् अन्यायको अनुभूति गरे, पूरै मुलुकले वर्षौं पछिल्तिर सर्न बाध्य हुनुपर्‍यो। हो, त्यस त्राशदीको युगमा नेपाली ख्रीष्टियन समुदायको कित्ता कहिले यता अनि कहिले उता बनाउने काम रोकिएन। बाध्यताले भए ठीकै थियो, तर कोहीकोही “अगुवा”हरू हाम्रा प्रतिनिधी बनेर शाही सेनाका ‘सुराकी’ बने, अनि कोहीचाहिँ जनसेनाका बफादार सहयोगी पनि बने। त्यही झाँकी पछिल्लो जनआन्दोलनमा देखियो र जनआन्दोलनकै पछिल्लो विकसित एजेण्डा बनेको ‘धर्मनिरपेक्षता’को श्रेय बटुल्न पनि कोहीकोही हतारिएकै देखिए, त्यो पनि सम्पूर्ण समुदायकै ‘एकमात्र’ वा ‘सर्वस्वीकृत’ प्रतिनिधी बनेर।

सामुहिक लाभ, सामुहिक चासो तथा सामुहिक सवालहरूमा काम गर्छु भन्ने ‘इमान्दार’ मान्छेहरू आफ्नो सर्वस्व गुमाएर पनि सफल नभएका उदाहरणहरू हाम्रा आँखाले देखेको छ।  म हामीले पनि त्यो तीतो यथार्थ भोगेको छु।  प्रभुको खातिर साँचो हृदयले आफ्नो जायजेथा बन्धकी राखेर ‘सेवकाइ’ गर्नेहरू हाम्रो समुदायमाझ मूर्ख साबित भएका छन्।  तर विद्वता खरिद गरी अर्काको दर्शनमा र झट्ट समयले कोल्टो फेर्दाको मौका हेरी बुर्लुक्क बुर्कुसी मार्नेहरूले रातारात अवसर कुम्ल्याएको देख्दा सोझो हृदयमा आघात् किन नपरोस्?  त्यही अमीलो अनुभूतिमा बोल्दा, गुनासो गर्दा र दुखेसो पोख्दा उसको हैसियत खोज्ने स्वघोषित् दिग्गजहरूले त्यसदिन आफूसित नभएकै हैसियत जँताएर सम्पूर्ण समुदायको ‘एकमात्र स्वीकृत अगुवा’ बनाउँदै अनावश्यक र विवादित विचार ओकलिरँदा हामी सबै किन चूपचाप बसिरहेका छौं भन्ने जवाफको खोजी हुनुपर्दछ।

हामी आफैंले चलाएको उखान हो, लाटा–लठेब्राहरूको देशमा गाँड् हुनेहरू मस्त तन्नेरी हुन्छन् रे  लाटाहरू सधैंभरि लाटै बसिरहे ती गाँडा तन्नेरीहरूको जवानी सदाबहार बन्दो हो।  तर समयमा सबै रोगका उपचार हुनसक्दछन् भन्ने नबुझेका ‘तन्नेरीहरू’ले कहिल्यै आफ्नो हैसियतको पर्वाह गरेनन् नि ? तिनीहरू त आफूलाई सदाबहार हैसियतवाला र तालुकदार ठान्छन् र मनलागी गर्छन्।  मानो “तिनलाई कसैसित सल्लाह गर्नु जरूरत छैन, समर्थन पाउनु पनि पर्दैन, बरू उल्टै” अहम् जताउँछन् र सबैलाई आफ्नो पछि लुरूलुरू हिँड्न ढिपी कस्छन्।  त्यसो र आग्रह फेरि पनि त्यही छ, तिनीहरू किन सधैंजसो आफू नै सर्वोच्च हैसियतमा छु भनेर झूटो दाबी गर्न अघिसरिरहेका ?

सर्वसत्तावादी अगुवा छ भने उसले कुनै पनि अवसरमा साधारण मानिसहरूको इच्छा, चाहना र सुझाव स्वीकार गर्दैन।  त्यो चरित्र सधैँ सबैथोकको सिङ्गोप्रतिनिधित्व गर्न उद्दत् हुन्छ। यो आफैलाई मात्र ठीक ठान्ने एककिसिमको मानसिक रोग हो, त्यही रोगले ग्रसित मान्छेहरू आफूलाई सिङ्गोनेपाली ख्रीष्टियन समुदायको एकमात्र अगुवा हुँ भनेर अझै कुर्लिरहेका छन्। त्यही रोगको लक्षण हो, यहाँ कसको प्रतिनिधित्व कसले गर्ने भन्ने रडाको शुरूदेखि नै रहँदै आएको छ।

वास्तविकता, एकमात्र, सर्वोच्च वा स्वीकृत प्रतिनिधित्वकै आवश्यकताबोध भएर हो, मुलुकमा छाता र गलैँचाको प्रस· चर्को विवादमा परिणत भयो, छिनाझम्टी र लुछाचुँडी बढ्यो।  तर त्यो आवश्यकताको मापदण्ड, स्वभाव, आचरण, चरित्र र व्यवहार कस्तो हुनुपर्छ भन्न कोही अघिसरेन। कस्तो पात्र–चरित्रबाट त्यो आवश्यकता पूर्ति हुनसक्छ भनेर कहिल्यै सोचिएन। त्यसैले आम नेपाली मण्डलीको पक्षमा प्रतिनिधित्व गरिदिने एउटा सच्चा व्यक्ति कि निकायको खाँचो आज पनि खड्किएकै छ।  नेपाली मण्डली चाहन्छ, कसैले त आफ्नो पीरमर्का बुझेर साँचो र जिम्मेवार प्रतिनिधित्व गरिदिओस्।

प्रतिनिधित्व गरिदिने सच्चा मानसिकताको एकातिर अपरिहार्य खाँचो बनेकै छ, अर्कोतिर स्वनामधन्य तथाकथित् प्रतिनिधिहरूको बिगबिगी अचाक्ली बन्दै गएको छ। तालुकदारहरू स्वार्थी महत्वाकांक्षा बोकेर अहोरात्र गलत लक्ष्यतर्फ परिश्रम गरिरहेका छन्।

अब प्रश्न गर्नैपर्ने भएको छ, नेपाली मण्डलीको एकमात्र साझा प्रतिनिधित्व गर्ने हैसियत कसैसँग छ ?  के एन.सी.एफ., एन.सी.एस., महासंघ वा अरू साम्प्रदायिक संस्थाहरूले त्यो हैसियत बटुलेका छन् ?  कसले गर्ने निर्बिकल्प प्रतिनिधित्व अब नेपाली मण्डलीको ?  जवाफमा कम्तिीमा पनि भन्नुपर्ने हुन्छ, जसले जसका लागि ‘प्रतिनिधित्व’ गर्छु भन्दै गरेको हो, उसैको पूर्ण सहमति त लिनु पर्‍यो नि। एकातिर विषम परिस्थिति मण्डलीसामु खडा भइरहेकोछ। मुलुकको राजनीति, संविधान, कानून, सरकारी तथा मूलधारमा रहेका सबैजसो संस्था वा निकायहरूको रवैया अब ख्रीष्टियनहरूका विरूद्धमा धु्रबीकरण भैरहेको छ।  अनि अर्कोतिर ?  एकाध समयमा लाटाहरूमाझ तन्नेरी भैखाएका गाँड्वालाहरू आफूसित अहिले नभएको हैसियत प्रदर्शन गर्न निर्लज्ज छन्।  कुनै बेला, अन्तरराष्ट्रिय जगत्मासमेत नेपाली ख्रीष्टियन समुदायको प्रतिनिधित्व गर्न आफ्नै छनौटमा आफ्नै मण्डलीलाई समेत सुइँको नदिई सुटुक्क सहभागी हुन पुग्ने झूटा प्रतिनिधिहरू अहिले पनि त्यही धङ्धङीमा बाँचिरहेका छन्।

निकै वर्ष अघिको कुरो, एकपल्ट म आफैंसमेत संलग्नतामा प्रकाशित एउटा प्रेस विज्ञप्तिले सन्सनी फैल्याएको थियो, “सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायको तर्फबाट” भनेर लेखिएको सो विज्ञप्तिले वैधता प्राप्त गर्न साँच्चिकै हम्मे पर्‍यो। पच्दो रहेन छ  प्रश्न उठ्यो, एकाध् व्यक्तिहरूको हस्ताक्षर चलाउन मिल्छ कि मिल्दैन “सम्पूर्ण नेपाली ख्रीष्टियन समुदाय” को नाममा ? त्यो प्रश्न जायज थियो, किनभने त्यो हैसियत सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायले प्रदान गरेको नभएर हामीजस्तै स्वनामधन्य हैसियत् वालाहरूको जमात्बाट “वैधानिक” तुल्याइएको मात्रै थियो।  हो, मण्डलीमाझ त्यस्तो स्वघोषित हैसियत पाच्य नहुने रहेछ भन्ने कुरा हामीले उसैघडी बुझेका हौ।

त्यसर्थ, अब लाटाहरूको जमात्सरह प्रयोग हुँदै आएका ख्रीष्ट–विश्वासीहरूले सोध्नुपर्ने भएको छ — “हाम्रो टाउकोमाथि बिना अनुमति गीरखेल्ने अख्तियारी तिमीलाई कसले दियो ?  एक वचनसम्म नसोधी, सड्ढेतै नगरी मेरो प्रतिनिधित्व गर्ने अधिकार तिमीलाई कहाँबाट मिल्यो ?”

नेपाली ख्रीष्टियन समुदायले बेला–अवसर हेरी राजनीतिक र· पोतिइएका कार्यक्रमहरूमा भाग लिनु, बदलिँदो राजनीतिक सन्दर्भमा आफ्ना भनाइ सार्वजनिक गर्नु वा आवश्यक परे कुनै निर्दिष्ट गन्तव्यका लागि आमसहमतिमा निर्णय लिनु नराम्रो हुने केही होइन। तर सस्तो लोकप्रियताका लागि वा आफूलाई लागे जे पनि ठीक भन्ने मनोरोगबाट ग्रसित बनेर बिना सहमति “सबैको प्रतिनिधी” बन्नु हुँदैहुन्न भनेको। वर्षौंअघिदेखि मेरो कलम यस्तै आग्रह गर्न कस्सिएको हो, र आज पनि नेपाली मण्डलीसमक्ष त्यही आग्रह मेरो रहिआएको छ, आउनोस् हामी मुलुकको अग्रगति, विकास, निर्माण र सुव्यवस्थाको खातिर संवाहक बनौँ।

कुनै खास संस्थामा आफूलाई निर्बिकल्प अगुवा तुल्याएर आजीवन रजाईं गरेकै भरमा “सम्पूर्ण” ख्रीष्टियन समुदायको नाउँ सापटी लिएर होहल्ला मच्चाउन, नारा जुलुश गर्न, वक्तव्यबाजी गर्न वा प्रतिकूल राजनैतिक स्थितिलाई ठाडो चुनौती दिँदै यस्तै किसिमका सार्वजनिक महत्वका गतिविधि सञ्चालन गरेर सिङ्गोनेपाली मण्डलीलाई नै धरापमा थाप्न मिल्दैन। भनाइ छ, कुकुरले पुच्छर हल्लाएको राम्रो। तर  पुच्छरले पूरै कुकुरको शरीर हल्लाउने धृष्टता गर्‍यो भने के हुन्छ ? कुनै व्यक्तिको निहित स्वार्थका लागि सिङ्गोमण्डलीलाई लहैलहैमा धपाउँदै हिँड्ने दुष्प्रयास किन यहाँ घरिघरि दोहोर्‍याउँछन् स्वनाम्धन्य मान्छेहरू ?  अचाक्ली हुन लाग्यो, हामीले गरिदिएकै आदरलाई दुरूपयोग गरी जे गरे’नि हुने मानसिक रोगले ग्रसित मान्छेहरूको हर्कत्ले सीमा नाघ्यो  त्यसकारण त, अब हामीले भन्नुपर्छ, “सेवकको पदमा रहेर रजाईं गर्ने, मनलागी निरंकुशता लाद्ने अधिकार तिमीलाई छैन।  पदको अपचलन गरेको, नैतिक दायराभन्दा बाहिर गई नेपाली मण्डलीको नाउँमा अनधिकृतरूपमा प्रतिनिधित्व गरेको र राज्यको तात्कालिन प्रतिकूल राजनैतिक अवस्थालाई देखेर पनि जानाजान मण्डलीलाई प्रतिगमनको दिशातर्फ धकेल्ने दुस्प्रयास गरेको कारणले गर्दा तिमीले नैतिकरूपमा जिम्मेवारीबोध गर्दै आफूलाई पश्चातापको तख्तामा उभ्याउनुपर्छ।” अन्यथा अब सिङ्गोमण्डली स्वनाम्धन्य महामहिमहरूको निरङ्कुशता कायमै रहोस् भनेर प्रार्थना गरिदिन बाध्य हुनेछैन।

प्रतिक्रियाका लागि :bpisot@gmail.com

 

Facebook Comments

Category: Articles, Socio-political