लिलामीको बजारमा जब मेरो मोल तोकियो

[ 0 ] June 15, 2016 |
lalita_magar

मगर ललिता कलवरी चर्च हंग कंग

मेरो परिवारले तोकेको मूल्य

मेरो विद्यालयले तोकेको मूल्य
समाजले तोकेको मूल्य
साथीभाईले तोकेको मूल्य
भगवानले तोकेको मूल्य
संसारले तोकेको मूल्य… अनि
म आफैले तोकेको मूल्यको जोड र घटाउ गर्दागर्दै
मेरो मोल नै हुनसकेन … कसले पो चुकाउन तयार हुन्छ होला र
यो मरेको लासको मूल्य ?
जब मोल तोक्ने काम बन्द भयो
म स्मसानघाटमा छोडिएको लास जस्तै एक्लै त्यागिएँ !
बाचुन्जेल मोल मात्र तोक्ने काम भयो कसैले मूल्य चुकाउने
हिम्मत नै गरेन !
दोषैदोषको खोट लगाएर कुरुप पारी छोडिदिए
आखिरमा प्रमाणित गरिदिए कि यो संसारमा
मलाई दोषी ठहराउने मात्र छन्, मेरो दोष मेटाउने कोहि छैन रहेछ !
मेरो दोष मेटाउने कोहि छैन रहेछ !
मौनताको मौसम थियो… !
मलाई दोषी ठहराउनेहरु सबै मेरो हारको उत्सव मनाइरहेका थिए !
तब स्मसानघाटमा एउटा मधुरो आवाज आयो
तिम्रो अन्तिम मोल तोक्न म तयार छु यदि तिमीले मलाई विश्वास गर्छौ भने
म चकित भएँ … यो कस्तो मोल होला मरेको लासको लागि तोक्ने ?
उसले मलाई प्रश्न सोध्यो “यदि तिमी मलाई विश्वास गर्छौ भने ” ?
उत्तर नै नदिई मैले पनि प्रश्न सोधे
“यो कस्तो मोल होला मरेको लासको लागि ?”
हामी दुवैको प्रश्नले फेरि केहिबेर सन्नाटा छायो …!
तर पनि उ चुपचाप लागेर मेरो उत्तरको प्रतिक्षामा पर्खिबस्यो …
उसको मप्रतिको हेराइको दृष्टिकोण प्रेम र दयाले भरिएको थियो !
त्यहाँ कुनै स्वार्थ देखिंदैन थियो , कुनै अभिलाषा पनि देखिंदैन थियो !
किनकि मसंग उसको स्वार्थ पुरा गर्ने केहि त्यस्तो कुरा बाँकी थिएन !
बरु मत लाज र सरमको घुम्टो भित्र आफैलाई लुकाउने प्रयास गरिरहेको थिएँ
जहाँ मेरो दोषैदोषले लतपतिएको मेरो कुरुपतालाई लुकाउने कात्रो खोजिरहेको थिएँ
मैले जति प्रयास गरे उतिनै उसको “प्रेम” साँचो हो भनेर प्रमाणित भईरहेको थियो !
किनकि उ मलाई दोष लगाउन होइन तर मेरो दोषहरु मेट्टाउन निम्ति आएको रहेछ !
मैले उसलाई खोजेको थिइनँ, तर उ मलाई खोज्दै आएको रहेछ !
मैले उसलाई भेटेको थिइनँ , उसले मलाई भेट्टाएको रहेछ !
यो सन्नाटालाई तोड्दै उसले आफ्नो मुख खोल्यो
र भन्यो तिम्रो लाज ढाक्ने वस्त्र मसँग छ ,
तिम्रो दोषहरुलाई आफ्नै रगतले ढाकिदिनेछु ,
तिम्रो कुरुपतालाई जीवनको ज्योतिले सजाईदिनेछु ,
तिम्रो मूल्य आफ्नै प्राणको वलिदान तोकिदिनेछु !
मलाई मात्र तिम्रो विश्वास चाहिएको छ …
उसले मसँग घरिघरि विश्वास मागीरहेको थियो
मैले तिम्रो लागि तोकेको मूल्य तिम्रो विश्वासद्वारा मात्र पक्का हुनेछ
उ बोलिरहेको थियो म सुनिरहेको थिएँ …. !
 
मेरो लागि विश्वास यस्तो महँगो कुरा भयो कि त्यो जुटाउने हिम्मत पनि थिएन मसँग
किनकि कतै हिम्मत जुटाएर उसले मागेको कुरा “विश्वास “
मैले दिइहालें भने म त सर्वश्वै लुटिन्छु कि भन्ने ड़र,
फेरि मलाई लिलामीको बिक्रीमा राख्नेहरु मेरो विरुद्वमा उठ्लान कि भन्ने डर !
“तर”, तर उसको निस्वार्थ प्रेमले मलाई विश्वास गर्ने हिम्मत जुटायो
स्मसानघाटबाट उठ्ने साहस दिलायो
उसले तोकेको मूल्य मन्जुर गर्न राजि बनायो
हो मैले उसलाई विश्वास गरें
अनि फेरि एकपल्ट लिलामीको हल्ला मच्चियो
म बिक्री भएको खबर छापियो !
अनि हिजो मलाई लिलामीको बजारमा मोल तोक्नेहरु नै आज मलाई बिक्री भएको आरोप लगाउन थाले
त्यो बजारसम्म लगेर मलाई बिक्रीमा राख्नेहरु नै आज फेरि मेरो विद्रोहको नारा लगाएर हिड्न थाले
कस्तो बिडम्वना उफ् …चल्दाचल्दैको स्वास रोकिएको जस्तो
तर जुन प्रेमले मभित्र विश्वास जन्माएको छ , त्यो विश्वासले मलाई “नयाँ जन्म ” “नयाँ जीवन ” दिएको छ !
मलाई बाच्ने नयाँ आशा दिएको छ !
मबाट लुटिएका मेरा खुशी र आनन्द दिएको छ !
प्रसस्तताको जीवन दिएको छ !
यसैले म चुपचाप उसले देखाएको बाटोमा हिंडीरहेको छु
किनकि उसले मेरो हात समातेको छ , अनि यो हात कहिल्यै नछोड्ने प्रतिज्ञा गरेको छ !
मेरो निम्ति प्रेम, शान्ति र मुक्त्तिको प्रतिक बनि कलवरीको क्रूसमा झुन्डिएको छ !
हो म उसलाई विश्वास गर्छु किनकि उसले मलाई पहिले विश्वास गर्यो !
मलाई दास होइन, तर आफ्नै सन्तान बनायो,
अनि मेरो नामसँग उसले आफ्नो नाउँ जोडिदिएको छ ” येशू ” !
आज मलाई संसारले ख्रिष्टियन भनेर चिन्छ ,
यो मैले कमाएको उपाधि होइन, सित्तैमा पाएको अधिकार हो !
जसले सम्झौता होइन, विश्वासको सम्वन्ध स्थापित गरेको छ
जसले सम्झौता होइन, विश्वासको सम्वन्ध स्थापित गरेको छ
आमेन !
मगर ललिता
कलवरी चर्च हंगकंग
Facebook Comments

Category: Poetry, कबीता