२७ जेठ २०७३ – आज बिहिवार चरिकोटस्थित माउण्ट भ्याली बोडिङ स्कूलमा धर्म प्रचार गरेको आरोपमा ७ जना पक्राउ परेको सम्बन्धमा नेपाल ख्रीष्िटयन समाजको बैठक भएको छ। प्रार्थना सहित नेपाल ख्रीष्टियन समाजको एउटा समूह दोलखा चरिको जाँदैछ भने अर्को समूह गृह मन्त्रालय जाने निर्णय गरेको छ। भोलि विहान प्रार्थनाको लागि नेपाल ख्रीष्टियन समाजले आह्वान पनि गरेको छ। सबै चर्चहरूलाई प्रार्थना गर्न अनुरोध पनि गरेको छ। नेपाल धर्म निरपेक्ष राष्ट्र भइसक्दा पनि राज्यले उठाएको कदमको बारेमा नेपाल ख्रीष्टियन समाजले विस्तृत रूपमा बुझेर सम्बन्धित निकायमा भेट्ने निर्णय गरेको हो।
माउण्ट भ्याली बोडिङ स्कूल चरिकोटमा येशू ख्रीष्टको बारेमा लेखिएको पुस्तक महान कथा बाँडेर धर्म प्रचार गरेको आरोपमा स्कूलका सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमाहरूमा टिच नेपाल काठमाडौंबाट आएका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोर्खाका फिलिप तामाङ, ललितपुरका किरण दाहाल र रामेछापका भीमबहादुर तामाङ छन्। कान्तिपुर संवाददाताका अनुसार चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही सहित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध व्यक्तिहरुलाई प्रहरीले पक्रेको छ। प्रिन्सिपलहरु विद्यालयबाट र अन्य पाच जना चरिकोटस्थित सातदोवाटो चोकबाट प्रक्राउ परेका छन्। प्राप्त जानकारीअनुसार, माउण्टभ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमाल र महान कथा पत्रिका बाडेको आरोप लगाइएको छ । टिच नेपालबाट प्रचारमा प्रयोग भएको एउटा मोटर पनि प्रहरीले बरामद गरेको जानकारीमा आएको छ ।
डिएसपी बेलबहादुर पाण्डेका अनुसार बुधबार माउण्टभ्यालीमा र विहिवार मोर्डन नेपालमा विद्यार्थीहरुलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचनसमेत गरेको भनाई छ। स्कूलमा धर्म प्रचार गरेको आरोपमा प्रहरीले सबैजनालाई धर्म प्रचार तथा धर्म परिवर्तनसम्बन्धि मुद्दा चलाउन तयारी गरेको छ । मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइने तयारी गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताएका छन्।
Discussion about this post