मंगलवार, मे ३१, जेठ १८
‘तिमीहरू ममा रह्यौ भने…त्यो तिमीहरूका निम्ति गरिनेछ ।’ —यूहन्ना १५:७
आफ्ना प्रार्थनाहरूको उत्तर कसरी पाउने (१)
के तपाईंले कुनै विशेष् कुराको बारेमा हप्तौ, महिनौँ, वा वर्षौंसम्म प्रार्थना गर्नुभएको छ ? के तपाईं यसो भन्दैहुनुहुन्छ, ‘प्रभु, तपाईंको वचनले के भन्दछ, मलाई थाहा छ । तर मेरो लागि यो कुरा किन भइरहेको छैन ?’ तपाईंले प्रार्थना गरिरहनुभएको परिणाम प्राप्त गर्न, तपाईंले यी तीनओटा प्रश्नको उत्तर दिन सक्षम हुनुपर्छः १) के तपाईंले परमेश्वरको इच्छाको निम्ति प्रार्थना गरिरहनुभएको छ ? येशूले भन्नुभयो, ‘यदि तिमीहरू ममा रह्यौ भने र मेरा वचन तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ’ (पद ७) । ‘रहनु’ भन्ने शब्दले घनिष्ठता र नजिकको सम्बन्धको बारेमा बताउँछ । यसले एउटा घरको चित्र प्रस्तुत गर्दछ— त्यो ठाउँ जहाँ तपाईंले पालनपोषण र हेरचाहको अनुभव गर्नुहुन्छ । जब तपाईंले परमेश्वरसँग त्यस्तो सम्बन्ध निर्माण गर्नुहुन्छ, तब तपाईंले उहाँको हृदय र उहाँको इच्छालाई यति राम्ररी बुझ्नुहुनेछ कि तपाईंको इच्छा उहाँको इच्छासँगै मिल्नजानेछ । परिणामस्वरूप, तपाईंले जे माग्नुहुन्छ त्यही कुरा पाउनुहुनेछ । तपाईंले जे कुराको निम्ति प्रार्थना गरिरहनुभएको छ त्यो कुरा परमेश्वरको इच्छा अनुसारको छ भनी अनुमान मात्र नगर्नुहोस् । बरु तपाईं उहाँमा अनि उहाँको वचन तपाईंमा ‘रहने सिद्धान्त’ प्रयोग गर्दै तपाईंको प्रार्थनाको जाँच गर्नुहोस् । उहाँको इच्छामा रहनाले आत्मिक परिपक्वता ल्याउँछ । अनि जब तपाईं आत्मिक रूपमा परिपक्व बन्नुहुन्छ, तब तपाईंले भिन्नै तरिकाले प्रार्थना गर्न सुरु गर्नुहुनेछ । तपाईंका प्रार्थनाहरू आत्म–केन्द्रित र स्वार्थी हुनेछैनन् । तपाईंले प्राप्त गर्न चाहनुभएको अन्तिम परिणामभन्दा तपाईंले सबैभन्दा धेरै प्रेम गर्नुहुनेको उपस्थितिमा तपाईंले बिताउनुहुने समय नै तपाईंको निम्ति बढी महत्वपूर्ण हुनेछ । अनि त पर्खनु परे तापनि तपाईंलाई आपत्ति हुनेछैन किनभने परमेश्वरको समय सधैँ सिद्ध हुन्छ भन्ने कुरा तपाईंले बुझ्नुहुनेछ । अनि उहाँले तपाईंको निवेदनलाई ‘हुँदैन’ भन्नुहुँदा पनि तपाईं आनन्दित हुनुहुनेछ र भन्नुहुनेछ, ‘त्यसोभए तपाईंसँग मेरो निम्ति अझै असल केही कुरा छ, र म तपाईंमा भरोसा गर्छु ।’ के उहाँसँगको यात्रामा तपाईं त्यो बिन्दुसम्म पुग्नुभएको छ त ?
आत्मिक भोजनः आमोस १: १–५:१७, मत्ती १४: १३–२१, भजन ११७, हितोपदेश १४: ९–१२
Discussion about this post