सोमवार, मे ३०, जेठ १७
‘कमजोरहरूलाई मद्दत गर ।’ —१ थेसलोनिकी ५:१४
कमजोरहरूप्रति विचारशील÷कोमल हुनुहोस्
प्रत्येक विद्यालयमा कमजोर वा निम्न समाजिक हैसियतमा रहेका बालबालिकाहरू अवश्य हुन्छन् । तिनीहरूमध्ये कतिपय शारीरिक रूपमा कुरूप हुन्छन्, कोही सिक्नमा ढिला हुन्छन्, अनि कतिपयले चाहिँ साथीहरू बनाउन र विद्यालयको वातावरणमा सहज स्थान बनाउन सक्दैनन् । (काम गर्ने ठाउँमा र मण्डलीमा पनि यो कुरा लागु हुन्छ ।) । मुख्य प्रश्न यो होः यस्ता बालबालिकाहरूलाई तिनीहरूका साथीहरूले हाँसोमा उडाइरहेको र अपमान गरिरहेको देख्दा शिक्षकहरूले के गर्नुपर्छ त ? कतिपयले भन्नेछन्, ‘केटाकेटीहरू केटीकेटीहरू नै हुन् । तिनीहरूको झगडामा नफस । तिनीहरूलाई आफ्नो समस्या आफैँ समाधान गर्न देऊ ।’ तर ‘कमजोरहरूलाई मद्दत गर’ भनी बाइबलले हामीलाई भन्दछ । जब एक बलियो, प्रेमिलो शिक्षकले कक्षामा सबैभन्दा तुच्छ ठानिएको बच्चालाई सहायता गर्छन्, तब त्यो कोठाको भावनात्मक वातावरणमा केही नाटकीय कुरा घट्न पुग्छ । त्यहाँको प्रत्येक बच्चाले प्रष्टै सुनिने राहतको सास फेर्छ । धेरै जना बालबालिकाहरूको मस्तिष्कमा एउटै विचार उत्पन्न हुन्छः ‘यदि त्यो केटो हाँसो उडाइनबाट सुरक्षित छ भने, म पनि सुरक्षित छु ।’ कक्षाको सबैभन्दा कम प्रिय बालबालिकाको रक्षा गर्दा शिक्षकले के कुरा देखाइरहेका हुन्छन् भने उनले सबैलाई आदर गर्छन् अनि कसैमाथि दुव्र्यवहार भएमा उसको रक्षा गर्न उनी तयार छन् । बालबालिकाहरूले सबैभन्दा बढी मन पराउने गुणहरू मध्येको एकचाहिँ न्याय हो । (वयस्कहरूले पनि यो मन पराउँछन् !) त्यसको विपरित, अन्याय र दुव्र्यवहार हुने संसारमा तिनीहरूले अत्यन्तै असहज महसुस गर्छन् । यसकारण, हाम्रा विद्यालयहरूमा असल संस्कारमा जोड दिएर बालबालिकाहरूलाई अरूप्रति करुणा र आदर सिकाउँदा हामीले आउँदो भविष्यका वयस्कहरूको संसारको निम्ति मानवीय करुणाको जग निर्माण गरिरहेका हुन्छौ । यसकारण, तपाईं आज जहाँ हुनुभए तापनि, ‘कमजोरहरूलाई मद्दत गर्न, सबैसँग धीर बन्न’ प्रयत्न गर्नुहोस् ।
आत्मिक भोजनः विलाप ३: ४०–५:२२, मत्ती १४: १–१२, भजन ८२, हितोपदेश १४: ५–८
Discussion about this post